भ्यूटावर नबनाउने भनेर कांग्रेसले हाम्रो गौरवलाई कम आँक्यो : ओली

नेपालभ्युज

भ्यूटावर नबनाउने भनेर कांग्रेसले हाम्रो गौरवलाई कम आँक्यो : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले भ्यूटावर नबनाउने भनेर नेपाली गौरवलाई कम आँकेको टिप्पणी गरेका छन्। स्थानीय निर्वाचनपछि पहिलोपटक मीना श्रेष्ठको कविता संग्रह विमोचनका लागि सार्वजनिक कार्यक्रममा सहभागी ओलीले नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन घोषणा पत्रका विषयमा छोटो अभिव्यक्तिबाहेक अन्य राजनीतिक अभिव्यक्ति दिएनन्।

काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले कांग्रेसले आफ्नो घोषणापत्रमा भ्यूटावर नबनाउने भनेकोमा आपत्ति जनाए। भ्यूटावर नबनाउने भनेर कांग्रेसले नेपालको गौरवलाई कमजोर आँकेको उनको भनाइ थियो। “एउटा पार्टीले आफ्नो घोषणापत्रमा नै भन्यो हामी भ्यूटावर बनाउँदैनौँ। फ्रान्सको आइफेल टावर बनाउने व्यक्ति बुद्धि नभएका मान्छे रहेका क्या हो?,” ओलीले अगाडी भने, “आइफेल फ्रान्सको प्रतीक भएको छ, आम्दानीको स्रोत भएको छ।”

साहित्यिक कार्यक्रममा सहभागी भएको बताउँदै ओलीले राजनीतिक अभिव्यक्ति नदिने बताए पनि कांग्रेसको घोषणापत्रप्रति भने कटाक्ष गरेका हुन्।

स्थानीय तहको निर्वाचनमा ओली नेतृत्वको पार्टीले अघिल्लो स्थानीय तहको निर्वाचनको तुलनामा करीब सय स्थानीय तह गुमाउँदैछ। यस विषयमा उनले केही अभिव्यक्ति दिएनन्। स्थानीय तहको निर्वाचनअघि आफ्नो पार्टी पहिलो हुने दाबी गरेका ओलीले स्थानीय तह निर्वाचनका विषयमा केही नबोलेर महाभारतको प्रसङ्ग उप्काउँदै ओलीले भने, “म समय हूँ, मलाई भविष्यतर्फ बढ्नु छ, जुन भविष्य पर्दा पछाडि अनभिज्ञ छ।”

स्थानीय तहको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका विषयमा केही अभिव्यक्ति नदिएका एमाले अध्यक्ष ओलीले नेपाली राजनीतिमा आफ्नो सम्भावना अझै  रहेको दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved