रोमाञ्जक बनेको ईपीएलले आज पाउँदै छ च्याम्पियन, १० वर्षपछि बन्यो इतिहास

राति हुने चार खेलबाट रेलिगेशन जोनमा पर्ने टिमहरू पनि टुंगो लाग्नेछन्। शीर्ष चार टिम र रेलिगेशनमा पर्न अन्तिम खेल कुर्नुपरेको प्रिमियर लिगको १० वर्षपछिको इतिहास हो।

रोमाञ्जक बनेको ईपीएलले आज पाउँदै छ च्याम्पियन, १० वर्षपछि बन्यो इतिहास

काठमाडौं। इंग्लिस प्रिमियर लिगले आज राति च्याम्पियन पाउँदै छ। राति हुने चार खेलबाट रेलिगेशन जोनमा पर्ने टिमहरू पनि टुंगो लाग्नेछन्। शीर्ष चार टिम र रेलिगेशनमा पर्न अन्तिम खेल कुर्नुपरेको प्रिमियर लिगको १० वर्षपछिको इतिहास हो।

लिगको आजको अन्तिम चरणका खेलमा सबै (२० टिम) प्रतिस्पर्धामा हुनेछन्। जसकारण पनि जारी लिग थप रोमाञ्चक बनेको हो। यी सबै खेल नेपाली समयअनुसार साझ ८ः४५ बजे शुरु हुनेछन्।

म्यान्चेष्टर सिटी र लिभरपुल उपाधि भिडन्तमा

विशेष गरी आज राति लिगले लिभरपुल वा म्यानचेस्टर सिटीमध्ये एकलाई आफ्नो विजेता घोषणा गर्दै छन्। पछिल्ला चार वर्षमा सिटी र लिभरपुलबीच ईपीएल उपाधि भिडन्त अन्तिम दिनसम्म पुगेको यो दोस्रो पटक हुनेछ।

यी दुईबीच मात्र एक अंकको फरक छ। लिग लिडर सिटीको अन्तिम खेलअघि ९० अंक छ भने लिभरपुलको ८९ अंक। सिटीले २८ खेलमा जित निकाल्दा ६ खेल बराबरी र ३ खेलमा पराजय भोगेको छ। यस्तोमा लिभरपुलले भने २७ खेलमा जित निकाल्दा ८ बराबरी र २ हारे बेहोरेको छ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको सिटीका प्रशिक्षक पेप ग्वार्डिओला आफ्नो छैँटौं सिजनमा सिटीका लागि चौथो प्रिमियर लिग उचाल्ने तयारीमा छन्। अन्तिम खेलमा सिटीको भेट घरेलु मैदान इत्तिहाद स्टेडियममा एस्टन भिल्लासँग हुँदैछ।

उपाधि रक्षा गर्न सिटीले लिगको १४ औँ स्थानमा रहेको भिल्लासँग जित निकाल्नैपर्छ। तर ऊ विजेता हुन लिभरपुलको खेलको नतिजा पनि महत्वपूर्ण हुन्छ। लिभरपुर र सिटी दुवैले हारे वा जिते वा बराबरी गरे पनि सिटीले लिग उचाल्छ। अनि सिटी हार्दा लिभरपुलले बराबरी खेले पनि लिग सिटीले लैजान्छ।

लिभरपुललाई भने उपाधि जित्न वोल्भरह्याम्पटनसँगको अन्तिम खेलमा जितको विकल्प छैन। यी दुईबीचको गोलअन्तरमा पनि सिटी धेरै माथि छ।

यो सिजन दुई ओटा घरेलु उपाधि एफए कप र कार्बाओ कपको उपाधि जितिसकेको लिभरपुल ऐतिहासिक चार उपाधि जित्ने दाउमा छ। त्यसका लागि युरोपियन च्याम्पियनस् लिगको फाइनलमा रियल मड्रिडको सामना गर्नुअघि आज रातिको खेलको नतिजा लिभरपुलले आफ्नो पक्षमा पार्नु जरुरी छ।

शीर्ष चारमा अटाउन आर्सनल र टोटेनहमको संघर्ष

लिगको शीर्ष चारमा पर्ने टिमले अर्को सिजन सीधै युरोपियन च्याम्पियनस लिग खेल्न पाउँछन्। लिगमा सिटी, लिभरपुल र चेल्सीले शीर्ष तीनमा स्थान पक्का गरिसकेका छन्। अब अन्तिम दिनको खेलबाट लिगको चौथो स्थानका लागि आर्सनल र टोटेनहमबिच प्रतिस्पर्धा हुँदैछ। अन्तिम खेल खेल्नु अगाडि ६८ अंकसहित टोटेनहम लिगको चौथो स्थानमा छ भने पाँचौ स्थानमा रहेको आर्सनलको दुई अंक कम छ।

शीर्ष चारमा पर्न नर्विच सिटीसँगको अन्तिम खेलमा टोटेनहमलाई बराबरी नै पर्याप्त हुनेछ। आर्सनल भने चौथो स्थान कब्जा गर्न आफ्नो अन्तिम खेलमा एभर्टनलाई हराएर मात्र पुग्दैन कि टोटेनहमको हारको लागि प्रार्थना पनि गर्नुपर्ने हुन्छ।

उता लिगको छैटौं स्थानमा रहको म्यान्चेष्टर युनाइटेडलाई पनि आजको अन्तिम खेलमा क्रिष्टल प्यालेसलाई हराउँदै अर्को वर्षको युरोपा लिगमा स्थान सुरक्षित गर्ने चुनौती छ।

युनाइटेडले यो खेल हारे वा बराबरी खेले र लिगको सातौँ स्थानमा रहेको वेष्ट ह्यामले अन्तिम खेल जितेमा म्यान्चेष्टर युनाइटेड सातौँ स्थानमा झर्नेछ। र युरोपा लिग छनोटका लागि पनि प्ले अफ खेल्नुपर्ने हुन्छ।

रेलिगेसन भिडन्त

वाटफोर्ड र नर्विच सिटी यो सिजनको इंग्लिस प्रिमियर लिगबाट रेलिगेशनमा परिसकेका छन्। अब अन्तिम दिनको खेलबाट रेलिगेशनमा पर्ने अर्को एक टिमको टुंगो लाग्नेछ। त्यो एक टिम बर्नले र लिड्स युनाइटेडमध्ये एक हुनेछ। दुवैको ३७ खेलबाट समान ३५ अंक छ भने गोल अन्तरमा बर्नली माथि छ। अब आजको अन्तिम चरणको खेलपछि यी दुईमध्ये एक टिम प्रिमियर लिगबाट दोस्रो डिभिजनमा झर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved