अरु सबै खुल्दा वीर अस्पताल आइतवार बन्द, निर्देशक भन्छन् – सरकारको निर्णय मानेका हौँ

वीर अस्पतालका निर्देशक बस्नेतले भने, “अस्पताल हामीले बन्द गरेका होइनौँ, यो त सरकारले बिदा गरेको हो सम्झिनुपर्छ, हामीले त सरकारको नियम मानेको मात्रै हो। अरुले त्यो नियम किन मानेन् हामीलाई थाहा छैन।”

नेपालभ्युज

अरु सबै खुल्दा वीर अस्पताल आइतवार बन्द, निर्देशक भन्छन् – सरकारको निर्णय मानेका हौँ

काठमाडौं। सरकारले आइतबारसहित सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि काठमाडौंका अधिकांश सरकारी अस्पताल आज (आइतबार) खुला छन्। लगातार दुई दिन अस्पताल बन्द हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पतालले सेवा सुचारु राखेका हुन्।

उपत्यकाको त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शहीद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार अस्पताल सञ्चालन गरेका छन्।

तर देशकै ठूलो अस्पताल मानिने वीर अस्पतालले भने आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेको छ। काठमाडौंका अरु सरकारी अस्पताल खुलिरहेको बेला वीर मात्र बन्द हुँदा आलोचना पनि भएको छ। तर अस्पतालले भने सेवा बन्द गर्नु स्वभाविक भएको बताएको छ।

अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले सातामा दुई दिन बिदा दिनु सरकारी निर्णय पालना गरेको बताए। सरकारको निर्णयविपरीत सार्वजनिक बिदाको दिन अस्पताल खोल्न नसकिने बताउँदै उनले भने, “अस्पताल हामीले बन्द गरेका होइनौँ, यो त सरकारले बिदा गरेको सम्झिनुपर्छ, हामीले त सरकारको नियम मानेको मात्रै हो। अरुले त्यो नियम किन मानेनन् हामीलाई थाहा छैन।”

उनले मन्त्रिपरिषद्ले राजपत्रमै बिदाको निर्णय सार्वजनिक गरिसकेकाले आइतबार अस्पताल बन्द रहने बताए।

वीर अस्पतालमा हरेक दिन करीब १५ सयदेखि दुई हजार बिरामीले सेवा लिने गरेका छन्।

सरकारले यही १ जेठदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। सरकारले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म तोकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved