‘मतगणनामा ढिलाइको कारण कर्मचारी होइन, प्रणाली हो’

प्रक्रिया सुधार गर्न हामीले सुझाव दिन त सक्छौँ नि। जस्तो इभिएम मेसिन ल्याउँ। मेसिनबाट गरौँ।

‘मतगणनामा ढिलाइको कारण कर्मचारी होइन, प्रणाली हो’

देशभरि मनोनयनदेखि मतगणनाका प्रक्रिया जटिल देखिएका छन्। हाम्रा निजामती कर्मचारीहरू दशौं दिनदेखि रातदिन नसुती, नखाई काम गरिरहेका छन्। हिजो (५ जेठ) मात्रै प्रमुुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग गम्भीर छलफल गर्‍यौँ। हामी जस्तो न्यायालयमा छुट्टै छवि बनाएका न्यायाधीशहरूले पनि अर्काे चुनावमा जान नपर्ने परिस्थिति सिर्जना भयो भने के हुन्छ ? भन्यौँ।

हामीले त्यति कडा शब्द पनि प्रयोग गर्‍यौँ किनभने रातभरि गणना गर्दा पनि एउटा कर्मचारीले पाँच सयभन्दा बढी पैसा पाउने देखिएन। यसरी त सकिँदैन। के मरेर त्यो काम (मतगणना) गर्नुपर्छ र ? हामीले कडा शब्द प्रयोग गरेपछि ‘आजै निर्देशिका परिवर्तन गर्छाैँ’ भन्नुभएको छ।

भक्तपुरमा हामीले राम्रो म्यानेज गरेर छिट्टै सक्यौँ तर देशभरीका क्षेत्रमा हेर्नुस् त। आजको मितिसम्म पनि मतगणनाको परिणाम दिन सकेको छैन। त्यो कर्मचारीको गल्तीले भएको होइन। त्यो प्रक्रियाको कारण त्यस्तो भइरहेको छ। हामी प्रक्रिया सुधार गर्न किन चाहँदैनौँ ? हामीले निर्वाचन प्रणाली पो सुधार गर्न सक्दैनौँ किनकि त्यो संविधानमा लेखिएको छ। संघीय सांसद(प्रेम सुवाल) र प्रदेश सभा सांसद(सुरेन्द्रराज गोसाइँ) भएको ठाउँमा म यो विषय उठाउन चाहन्छु।

निर्वाचनको प्रक्रिया सुधार गरौँ। काठमाडौंमा पहिले इभिएम मेसिन(विद्युतीय भोटिङ मेसिन) थियो। मेसिन प्रयोग गर्दा यत्रो सारा प्रतिनिधि, जनता, कर्मचारीलाई दुःख त नहुने रहेछ। मतगणनाको लागि दलहरूका प्रतिनिधि दशौँ रात जाग्राम बस्नुपरेको अवस्था छ। काठमाडौंमा अझै १० दिन सकिँदैन। यसरी सकिन्छ ? मान्छे मरेर के शहीद हुने हो र यसको लागि ? त्यसैले प्रक्रिया सुधार गरौँ।

प्रक्रिया सुधार गर्न हामीले सुझाव दिन त सक्छौँ नि। जस्तो इभिएम मेसिन ल्याउँ। मेसिनबाट गरौँ। त्यो सकिँदैन भने मतदान यहि प्रक्रियाबाट गर्ने मतगणनाको लागि लोकसेवा आयोगले केही कापी जाँच गर्न मेसिन प्रयोग गर्दाेरहेछ। त्यस्तै मत गणनाको लागि थाइल्याण्डमा मेसिन प्रयोग भइरहेको रहेछ। त्यो मेसिन हाम्रोमा पनि प्रयोग गरौँ। त्यो पनि सकिएनछ रे, खर्च धेरै लाग्दो रहेछ रे। अहिलेको प्रक्रियामा जाने हो भने मैले भक्तपुरको सबै क्षेत्रको मतदाताको सूची अध्ययन गरेको छु। चार सय ७३ जना मतदाता एउटा सानो केन्द्रमा छन्। ठूलो केन्द्रमा एक हजार  ६६ जना छन्। हजारमा भनेको असी प्रतिशत खस्यो भने पनि ८००/८५० हुन्छ। त्यहाँ हाम्रो कर्मचारी पाँच जना, स्वयंसेवक तीन जना, सुरक्षाकर्मी १२/१५ जना गरी ठूलो शक्ति छ। एक हजार मतदाता भएको ठाउँमा ८०० खस्यो भने त्यहाँको कर्मचारीले दुई घण्टामा मतगणना गर्न सक्छ। जहाँ मतदान भयो, त्यहीँ गनौँ। त्यसो भयो भने भोलिपल्टै रिजल्ट दिन सकिन्छ।

कुनै प्रक्रिया हामी परिवर्तन गर्न नसक्ने, परम्परागत रूपमा अगाडि बढी राख्ने अनि जनतालाई दुःख दिएको दिएकै गर्ने, तपाईं हामी आवाज उठाइरहने, कहीँ पनि सम्बोधन नहुने। यस्तो गरेर मरेर लानु त छैन। यो विषयलाई हामी गम्भीर रूपमा उठाउन चाहन्छौँ। म सांसद प्रेम सुवाललाई यो विषय संसद्‍‌मा उठाउन अनुरोध गर्छु। यसरी हुँदैन है भन्ने कुरा उठाउनुपर्छ। विचार भनेको सानो ठूलो भन्ने हुँदैन। पार्टी भनेको सानो ठूलो हुँदैन।

मुख्य निर्वाचन अधिकृत भएको नाताले हामी, प्रमुख जिल्ला अधिकारी ज्यू लगायतले धेरै मतदान केन्द्रहरू हेर्‍यौँ। भक्तपुर नगरपालिकाको गःहिटीको ओरालोमा मतदान केन्द्र छ। जागृति मावि खौमा भनिएको छ तर स्कुलको प्रयोग हुँदैन, बाटोमा मतदान गर्नुपरेको छ। कमलबिनायकको सरस्वती विद्यागृह भनिएको थियो। त्यहाँ एकदम ठूलो फिल्ड छ तर स्कुलको प्रयोग नै हुँदैन। पानी पर्‍यो भने घुँडाघुँडासम्म जम्दो रहेछ। जेठ/असारमा चुनाव हुने भो भने त खुला ठाउँले त झन् समस्या हुन्छ।

अझ नगदेश र मध्यथिमिको हेर्ने हो भने त स-सानो पाटीमा ५/६ वटा निर्वाचन केन्द्र छन्। लोकन्थलीको उपस्वास्थ्य चौकी बाटोमा सानो छ। ६ हजार मतदाता छन् त्यहाँ। त्यस्तो समस्या छ। भोलि फेरि कात्तिकमा चुनाव आउँदैछ। त्यसको लागि मतदान केन्द्रहरू पनि सुधार गर्न अहिले नै पहल गर्न जरुरी छ। हामी पनि यसमा गम्भीर रूपमा छलफल गर्न चाहन्छौँ। यसपालि अनिवार्य टेन्ट लाउन उर्दी गरियो। सँधै भरी त्यो उर्दी हुँदैन। बर्खाको बेलामा मतदान भयो भने त्यस्ता मतदान केन्द्रमा चुनाव गराउन गाह्रो हुन्छ। एकदिन चुनाव बिथोलियो भने भोलि गराउनुपर्‍यो भने कति समस्या आउँछ। त्यसैले अहिलेदेखि मतदान केन्द्र परिर्वतन गराउन राजनीतिक पार्टी अग्रसर होउन्।

(भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यहरूलाई ६ जेठमा शपथ ग्रहण गराइसकेपछि मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले कार्यक्रममा राखेको विचारको सम्पादित अंश।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved