स्थानीय निर्वाचन : खुम्चियो महिलाको नेतृत्व

स्थानीय निर्वाचन : खुम्चियो महिलाको नेतृत्व

काठमाडौं। दलहरू गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्दा यहाँका स्थानीय तहमा महिलाहरूको नेतृत्व संख्यात्मक रूपमा खुम्चिएको छ। सक्षम भएर पनि महिलाहरू स्थानीय तहको नेतृत्वमा आउनबाट बञ्चित हुनुपरेको हो।

यहाँ पनि नेकपा (एमाले)का विरुद्ध पाँचदलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा थियो। गठबन्धनबाट अधिकांश स्थानीय तहको प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष पदमा पुरुष उम्मेदवार थिए।

राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिकरूपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि गठबन्धनकै कारण उनीहरू नेतृत्वमा आउने बाटो रोकिएको हो।

गठबन्धनबाट स्थानीय तहको प्रमुखमा एकमात्र महिला उम्मेदवार नेपाली कांग्रेसकी गण्डकी थापा अधिकारी बडिगाड गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको छ। गठबन्धनमा आवद्ध दलले अरु स्थानीय तहको प्रमुख-उपप्रमुखमा महिलालाई उम्मेदवार नै बनाएनन्।

एमालेले भने बागलुङ नगरपालिकाबाहेक नौवटै स्थानीय तहको उपप्रमुख-उपाध्यक्षमा महिला उम्मेदवार बनाए पनि सबै पराजित भए। प्रमुख-अध्यक्षमा भने एमालेले पनि महिला उम्मेदवार खडा गर्न सकेको थिएन।

तमानखोला गाउँपालिकामा गठबन्धन नगरी एक्लै लडेको कांग्रेसले उपाध्यक्षमा हिराकुमारी छन्त्याललाई जिताउन सफल भएको छ। गठबन्धन गरिएको भए उक्त पदमा अन्य दलबाट पुरुष नै आउने स्थिति बन्थ्यो। गठबन्धन गरे पनि दलहरुले महिला उम्मेदवारलाई अघि सार्न नसक्दा नेतृत्वमा पुरुष नै हाबी भएका हुन्। दलहरुले उम्मेदवार छनोटमा पुरुषलाई नै प्राथमिकता दिएपछि महिलामा असन्तुष्टि पनि बढेको थियो।

टिकट नपाएपछि केही महिलाले एकाएक दल फेरेर उम्मेदवारी दिने आँटसमेत गरे। विसं २०७४ को स्थानीय चुनावमा यहाँका छ स्थानीय तहको उपप्रमुख-उपाध्यक्षमा महिला निर्वाचित भएका थिए। तीमध्ये यसपटकको चुनावमा कोही पनि उम्मेदवार बन्न पाएनन्।

अघिल्लो चुनावमा पनि केही स्थानीय तहमा दलहरूबीच गठबन्धन भएकाले दुवै पदमा पुरुष आएका थिए। यसपटकको चुनावमा एक अध्यक्ष र एक उपाध्यक्ष गरी दुई महिला नेतृत्वमा आएका छन्। दश स्थानीय तहमा रहेका ८५ वडाको वडाध्यक्षमा पनि पुरुषकै प्रतिनिधित्व छ। गठबन्धनका नाममा महिलाहरूलाई मुख्य पदमा आउनबाट रोक्न नहुनेमा यहाँका राजनीतिक दलका महिला संगठनले चुनावको मनोनयनअघि नै ध्यानाकर्षण गराए पनि खासै सुनुवाइ हुन सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved