प्रिय कथा

आँसु

शृंगारपटारमा चिटिक्क भएर ओठमा हल्का मुस्कान छर्दै लक्ष्मी यताउता रेखदेखको पारामा रल्लिरहेकी थिई। ऊ निलो जिनको पाइन्ट र सेतो सर्टमा निकै खुलेकी थिई। कलेजी लिपिस्टिकमा रंगिएका ओठ, रगत चुहिएला जस्ता गाला र उठेका नितम्बले आगन्तुकहरूलाई भोजमा थप आकर्षण दिइरहेका थिए।

आँसु

रचनागर्भ

मेरो कथा लेखन सामाजिक परिवेशका उपजहरू हुन्। सामाजिक यथार्थ घटनामा आधारित भएता पनि त्यसमा कल्पनाशीलता र कथ्यात्मक पुट पनि रहेको हुन्छ। छिमेकमा घरेलु कामदार माथि एउटा सम्भ्रान्त पढे–लेखेको शिक्षित–दीक्षित घरमा कामदारले भोगेका अशिष्ट व्यवहार र क्रुरता देखेर म विचलित हुन्छु। मन त्यसै कुँडिन्छ। उकुसमुकुस हुन्छ भित्रभित्रै र छटपटीले अशान्त हुन पुग्छु। त्यो घरलाई झ्यालबाट नियाल्छु, होहल्ला, मान्छेको भीड, रोदन–क्रन्दन र चिच्याहटबीच खैलाबैला सुनिन्छ। दौडेर म पनि भीडमा सामेल हुन्छु।

काम गर्ने केटो बेहोस छ। ऊ घरको पेटीमा लम्पसार परेको छ। घरको बरण्डामा काम गर्ने केटी सुक्सुकाउँदै रोइरहेकी छे। दुइटा अजंगका कुकुरहरू पर्खाल बाहिरका मानिसहरू देखेर भुकिरहेका छन्। चिल्लो तालु भएको घरमालिक छिमेकीहरूलाई “के हेर्न आएको ? गै हाल ! ” भनेर हप्काइरहेको छ।

यो घटना र परिवेश मेरो मनमा हट्नै नमानेर टाँसिइरहन्छ। अब यसको निकास मेरा लागि कथामा अभिव्यक्त गरेर मात्र हुन सक्छ भन्ने महसुस हुन्छ र मेरो कलम सादा कापीका पानाहरूमा दौडिन थाल्छन् । त्यो मनभित्रको पीडा अलिकति कल्पना, अलिकति कथात्मकता र केही सम्वादहरू मार्फत पोखिन्छ ‘आँसु’ कथा बनेर।

जीवनका भोगाइहरू सधैँ एकैनासले चल्दैन। जबजब जीवनका मोडहरूमा बिब्ल्याँटाहरू आउँछन् र मनलाई कोपर्न थाल्छन्, दिमाग अर्कै मोडमा भाँडिन थाल्छ, असजिला परिवेशहरूलाई पचाउन बाध्य हुनु पर्दछ। त्यस बेला म केही नलेखी शान्त हुनै सक्दिनँ र जन्मन्छ एउटा रचना। यस्तैयस्तै मनस्थितिको उपज हो कथा ‘आँसु’


काठमाडौँ शहरको एउटा सुन्दर बस्तीमा ठुलाठुला परिसरभित्र बनेका आधुनिक घरहरू छन्। तिनै घरहरूमध्ये एउटा खरानी रङ्गको आधुनिक बङ्गला छ। त्यस बङ्गलाको परिसरभित्र आँगन अगाडि विभिन्न किसिमका गुलाफहरू, जुही र जाईका फूलहरूको एउटा सुन्दर बगैंचा छ। बगैंचामा केही भाग हरिया दुबोहरू लगाएर चौर पल्टाइएको छ। त्यो बगैंचाको बीच भागमा परालले छाएको गोल कटेज छ। कटेजमा आगन्तुकहरू बस्न गोलो टेबुलको वरिपरि छओटा मेचहरू राखिएका छन्। त्यही गोल कटेजमा लक्ष्मणबहादुर कार्की जाडो महिनामा आगन्तुकसँग बसेर कफी पिउने गर्दछन् र गर्मी महिनामा साँझको समयमा शीतल ताप्ने गर्दछन्। भर्‍याङ, ढोका र बङ्गलाको छतमा समेत फूलका गमलाहरू सजाइएका छन्। दक्षिणपट्टिको सानो कौशीमा हावा चल्दा टाङ्टुङ् बज्ने घण्टीहरू झुण्ड्याइएका छन्। घरमा कार्की, उनकी पत्नी शर्मिला र उनीहरूका दुई सन्तान निमेष र नियती अनि दुई नोकरहरू छन्। कार्कीका दुवै सन्तान अहिले भारतको बेङ्गलोरमा पढ्छन्। त्यसैले विगत छ महिनादेखि घरमा कार्की दम्पती र काम गर्नेहरू मात्र छन्। नोकरहरूमा पूर्वी पहाड ओखलढुङ्गाबाट ल्याइएकी लक्ष्मी गुरुङ्ग र पश्चिम तराइ बर्दियाबाट ल्याएको पुरन चौधरी छन्।

कार्की एक उद्योगपति हुन् र समाजमा उच्च आदर्शको प्रतिविम्ब छोड्न चन्दा दिन्छन्। विद्यालय र कलेज खोल्न निकै सहयोग गर्दछन्। त्यसैले कलेज र विद्यालयहरूको सञ्चालक समितिमा पनि छन्। यसैले समाजमा उनको परिचय एक प्रतिष्ठित शिक्षाप्रेमी र समाजसेवीको रूपमा लिइन्छ। उनकी पत्नी शर्मिला उच्च शिक्षित भएकीले कन्या क्याम्पसमा पढाउँछिन्। उनको पनि शिक्षित महिलाहरूको समूहमा छुट्टै परिचय बनेको छ। त्यतिमात्र होइन शर्मिला आफ्नै कश्मिरा उद्योगको बोर्डकी अध्यक्ष पनि हुन्। उद्योगको कारोबारमा श्रीमान् कार्कीलाई भन्दा श्रीमती कार्कीलाई बढी ज्ञान छ।

नोकर्नी लक्ष्मीको काम बैठक सजाउनु, लुगा धुनु र मालिकको आवश्यक सेवा सुश्रुषा गरी घर व्यवस्थापनको जोहो गर्नु नै मुख्य काम हो। यस बाहेक ऊ कहिलेकाहीं पुरनलाई सघाउन घर–कोठा सफा पनि गर्थी। पुरनको मुख्यतः बजार खरीद गर्ने, आँगन–बगैंचा तन्दुरुस्त राख्ने र भाँडा माझ्ने काम जिम्मामा थियो। यस बाहेक आइपर्ने घरका अन्य कामको सम्पूर्ण जिम्मा पुरनको नै हुन्थ्यो। पुरन चौधरी कालो, दुब्लो र कहिले ननुहाएझैं फोहोरी पनि देखिन्थ्यो। उसका हातका हत्केला र खुट्टाका कुर्कुच्चाहरू पुस–माघको चिसोले छियाछिया भएर फुटेका थिए। ऊ दुई वर्षअघि बर्दियाबाट ल्याइएको थियो। पुरन कार्कीको मौजामा काम गर्ने कृषि मजदूरको छोरो हो।

लक्ष्मीलाई कार्कीले सिँगारपटार गर्न ऊ यस बङ्गलामा छिरेको दिनदेखि नै लगाएका थिए। ऊ तेर्‍ह वर्षकी थिई कार्कीको घरमा आउँदा। अहिले यस बङ्गलामा लक्ष्मीको चहकमहक र छनक जताततै छरिएको पूरा पाँच वर्ष भइसक्यो। उसका हातखुट्टाहरू र देह सफासुग्घर थिए तथा लवाइ र यौवनका कारण सुन्दर देखिन्थी। छरछिमेक र देख्नेहरू कसैले पनि नोकर्नी भनेर हेप्ने आँटसम्म गर्दैनथे। उसको हैसियत कार्कीको घरमा पनि परिवारकै बराबरको थियो। ऊ जोसँग पनि खुलेर  कुरा राख्न सक्थी। यसको मूलकारण त कार्की दम्पतीले उसलाई दिएको माया र स्नेह नै हो। लक्ष्मण कार्कीलाई त झन् कम्पाउण्ड छिर्नेबित्तिकै लक्ष्मी चाहिन्थ्यो। उनी कार ग्यारेजमा छिराउने बित्तिकै कराउँथे– ‘लक्ष्मी ! ए लक्ष्मी !!’

श्रीमती कार्की बिहान नौ बजे घर छोड्छिन् र साँझ छ बजेतिर घर फर्किन्छिन्। उनको यो दैनिक दिनचर्या हो, बिदाका दिन बाहेक। लक्ष्मण बिहान आठ बजे चिया नास्ता खाएर निस्कन्छन् र दिउँसो बार्‍ह बजे आएर खाना खान्छन्। दुई घण्टाजति आराम गरेपछि उनी तीन बजेतिर बाहिर निस्कन्छन्। दिउँसोको खाना र तीन बजेतिर बाहिर निस्कने बेलामा दुइटा अण्डाको अम्लेट र चिया लक्ष्मीकै हातबाट खुवाउनु पर्दछ। उनलाई अरूले तयार पारेर दिएको खाना मन पर्दैन। कार्की बाहिर निस्कने बेलामा सधैँ लक्ष्मीले दराजबाट सुट, टाई र सर्टहरू झिकी दिनुपथ्र्यो। उनी कपडा लगाउँथे अनि खुलेको छ कि छैन ? हिँड्ने बेलामा लक्ष्मीलाई सोध्ने गर्थे। लक्ष्मी मन्द मुस्कानसाथ सुहाएको छ भनिदिन्थी। कार्की लक्ष्मीको गाला निचोर्दै बाहिर निस्कन्थे। कार्की बाहिर निस्केपछि ऊ ढोका खोलिदिन्थी। कारभित्रबाट कार्की मुस्काउँदै बाहिरिन्थे। ऊ पनि बलजफत हाँसिदिन्थी र ढोका लगाउँथी। त्यसपछि लक्ष्मी कोठामा गएर ऐना अगाडि आफूलाई नियाल्थी, आफ्नै अनुहार र शरीर हेरेर मुस्काउँथी र एक तमासको कुत्कुती अनुभूत गर्थी। उसलाई कताकता डर पनि लाग्दथ्यो भित्रभित्रै किन हो छट्पटी हुन्थ्यो मनभित्र र औडाहाको हुरी उर्लन्थ्यो कार्कीको गाला निचोर्‍याइले। कहिलेकाहीं उसलाई जीवन उदासउदास लाग्दथ्यो। यो घर कम्पाउण्डको सीमित परिधिभित्र उकुसमुकुस भएर निसासिएझैं लाग्थ्यो जीवन। लामो श्वास फेर्थी र कुनै दिन त बाथरुम पसेर सबै शृंगार पखाल्थी तर भरे कार्की घर आउँदा शृंगार नगरी बसेको भए खप्की खानु पर्दथ्यो। त्यसैले त्यो सम्झेर ऊ अक्सर शृंगार पखाल्दैनथी र पखाली हाले पनि केही छिनमै फेरि शृंगार गर्दथी।

उसको शृंगारको सामान कार्की बैंकक गएको बेला एकसेट नै ल्याइदिएका छन्। केही चाहियो भने पनि कि त किनेर ल्याइदिन्छन् कि त पैसा दिएर चौधरीलाई किन्न पठाउँछन् तर उसलाई एक्लै बाहिर जाने अनुमति भने छैन। त्यसैले यो बस्ती वा यो शहरमा आएको पाँच वर्ष पुग्दा पनि ऊ यहाँको बाटोघाटो र मानिसहरूसँग परिचित छैन। चौधरी जाडोमा चिसो पानीले एकनाससँग भाँडा मस्काइरहेको बेला ऊसँग केही कुरा गरुँगरुँ लाग्थ्यो लक्ष्मीलाई। तर कार्कीले देखे वा ऊसँग कुरा गरेको सुने भने नराम्ररी रिसाउँदै भन्थे– ‘बिहे गराइदिउँ ? त्यसैसंग….??’ त्यसैले चौधरीसँग एकान्तमा कुरा गर्न पनि डराउँदथी।

चौधरी एक्लै बसेको बेलामा रुने गर्दथ्यो। धेरै दिन पहिलेदेखि नै उसले मालिकसँग पटकपटक घर जाने इच्छा बताएको थियो। तर उसको इच्छा कहिल्यै पूरा भएन। घरमा मालिक छँदा आमा बाबुको याद आयो भने इच्छाशक्तिले मनभित्रै दबाउँथ्यो  भावनालाई र काममा केन्द्रित गथ्र्यो आफूलाई। घरको सम्झनाले उसका आँखा कहिलेकाहीं एक्कासी आँसुको दहमा परिणत हुन्थे तर कार्कीले भनेको “यस घरमा कसैले पनि रोएर आँसु झार्‍यो भने त्यसले पिटाइ खाने छ” भन्ने सम्झन्थ्यो र मनमा निबुवा निचोरेर आँसु रोक्दथ्यो। यसैले ऊ मर्माहत थियो। चौधरी यो घरमा दुखेको मन बोकेर धेरैधेरै मर्म र पीडाहरू गुम्स्याएर बाँचेको थियो। उसलाई लक्ष्मी पनि पटक्कै मन पर्दैनथी किनकि ऊ चौधरीलाई कहिल्यै मालिकहरूको गलत व्यवहारबारे टिकाटिप्पणी सुनाउँदिनथी। दुःखसुखको कुरा एक आपसमा गर्दिनथी। उसलाई लाग्दथ्यो मानौं कुनै हराभरा जङ्गलमा ऊ मात्र एउटा सुकेको सालको रुख हो।

लक्ष्मीका गाला असोजमा पाकेको हेलम्बुका स्याउजस्तै थिए र कार्कीको चरम आकर्षणको केन्द्रविन्दु त्यही थियो। दिनहुँ भुक्कभुक्क उक्सिएका गुलाबी स्याउ निचोरेर रस निकालुँला झैं गर्दथे उनी। लक्ष्मीलाई एकतमासको शारीरिक झङ्कार पैदा गर्दथ्यो उनको स्पर्शले र अलिकति मृदु स्वरमा मोहकताको मात चढेको भावमा लक्ष्मी कार्कीको हात हटाउँदै भन्ने गर्थी– ‘छया् ! के गरिस्या हजुर्ले, कस्तो दुखिसक्यो आर्कालाई ! ! काम नपाको मान्छे, कसैले देख्यो भने……?’ यस्तो बेला कार्की हि..हि हाँस्थ्यो र दारा किट्थ्यो।

यिनै क्रम–उपक्रममा एकदिन यस्तो पनि भयो….

श्रीमती कार्की  व्यावसायिक कामको सिलसिलामा केही दिन विदेश यात्रामा थिइन्। भारतीय समकक्षी व्यापारीहरू नेपाल भ्रमणमा थिए। कार्कीले आफ्नै घरमा भव्य सन्ध्याकालीन भोजको आयोजना गरेका थिए। कार्कीका अफिसका सहायकहरू र पुरनलाई भ्याइनभ्याई कामले च्यापेको थियो। कोही काउच मेच टेबुल मिलाउँदै थिए। कोही भान्सामा खाना तयार पार्न खटिएका र कोही पेय पदार्थ र गिलासहरूको जोहो गरिरहेका थिए। कसैलाई कसले के गरिरहेको छ भन्ने हेर्नसम्म फुर्सद थिएन। लक्ष्मी कहाँ के गर्दैछे अत्तोपत्तो थिएन। कसैले सोध्ने त कुरै भएन स्वयम् कार्कीले बाहेक अरू कसको तागत उसलाई खोज्ने र काम लगाउने ? ऊ यहाँ देखिएकी भए पनि कार्कीले काम अह्राउँदैनथे। यो त बितेका दिनहरूबाटै अनुभव भइसकेको कुरा हो।

पुरनले बिहानको भात बाहेक दिउँसो केही खान पाएको थिएन। अरू दिन लक्ष्मीले चिया नास्ता बनाउँथी। आज कार्कीका अफिसका सहायकहरूले भान्सा चलाएका छन् तर कसैले उसलाई केही बनाएर दिएको छैन। त्यसैले ऊ निकै थकित भएर लामो सुस्केरा हाल्दै बगैंचाको एउटा कुनामा थुचुक्क बस्यो। ऊ सुस्ताएको कताकताबाट कार्कीले देखी हालेछन् र टाढैबाट हप्काए– ‘कलुवा ! काम ठग्छस् !!’ अक्सर रिस उठेको बेलामा कार्कीले उसलाई सम्बोधन गर्ने शव्द हो– “कलुवा”

पुरनले मालिकको अनुहारमा हेर्‍यो। कार्कीको अनुहारमा अनौठो उन्माद छताछुल्ल पोखिएको देखिन्थ्यो। ऊ मनमनै काँप्यो र नतमस्तक भएर प्लाष्टिकको बाल्टिन उचाल्दै भान्छा कोठातिर छिर्‍यो। पुरनको मनमा खल्लो अनुभूतिले छोयो। मनमनै भन्यो– जति काम गरे पनि जस दिने होइन। एकछिन असहाय भएकोमा ऊ आफैँ टोलायो र उसलाई रुन मन लाग्यो तर आँसु पहिल्यै झरिसकेका रहेछन्। उसले देब्रे हातले आँसु पुछ्यो। बाबु आमा सम्झियो र  घर। तर सबै बेकार जस्तै लाग्यो उसलाई। उसले जे भोगिरहेको छ यथार्थ र सत्य जीवन यतिमात्र नै हो। अरू सब बेकारका कल्पनाका संसार ठान्यो। किनकि वर्तमानसँगको सम्झौता बाहेक अरू के नै पो गर्न सक्छ र उसले ? उता कोठाबाट लक्ष्मी र कार्की ठुल्ठुलो स्वरमा हाँसेको संयुक्त आवाज सुन्यो।

चौधरी भान्छामा गए पछि अफिसका सहायकहरू मासु पकाउने जिम्मा लगाएर बाहिरिए। एक्लो चौधरी खाना मिलाउन व्यस्त थियो। कम्पाउण्डभित्र मोटर पसेको आवाज सुनेर लक्ष्मीसँग जिस्किंदै कार्की मूलगेटतिर लाग्यो। सहायक कुलबहादुर खत्री र पूर्णप्रसाद पौडेल मोटरबाट रक्सी, बियर र कोकाकोला लगायतका सामग्री झिक्दै थिए। कार्कीले घडी हेर्‍यो र भान्छातिर छिर्दै भन्यो– ‘ए चौधरी ! अब आधा घण्टा मात्र बाँकी छ, खाना सबै तयार भयो ?’

‘मासु अलि पाकेको छैन अरू सबै तयार भइसक्यो हजुर।’ चौधरीले थर्केको आवाजमा भन्यो। यसो भनिरहँदा उसका आँखामा आँसु पलाए। उसले मालिकको अनुहारमा हेर्दै भन्यो– ‘प्याज काट्दा आँखामा राग परेर कस्तो पीरो भयो हजुर ! आँसुमात्र आइरहन्छ।’ मन रोएर आँसु आएको थाहा पायो कि भनेर उसले यसो भनेको थियो। कार्कीले माथिल्लो ओठ टोकेर कटुतापूर्ण मलिन मुस्कान ल्यायो ओठमा तर केही बोलेन र भान्छाबाट बाहिरियो। कार्कीको यो भाव चौधरीले बुझ्नै सकेन र ठान्यो मालिकले पत्यायो।

केहीबेरमै निम्तालु अतिथिहरू आए। सानदार पार्टी शुरु भयो। धेरै बोतलका बिर्काहरू खोलिए। कोही आपसी भलाकुसारी र गफमा थिए। कोही पिउँदै र नाच्दै थिए। मन्द स्वरमा गीत–संगीत बजिरहेको थियो। आगन्तुकहरूमा भारतीय बाहेक केही कुइरे पनि थिए। कार्की एउटा विदेशी केटीसँग रक्सीको चुस्कि लिँदै गफ गरिरहेका थिए। मुख्यतः पुग नपुग र खानेकुरा थप्ने काममा कुलबहादुर खत्री र पूर्णप्रसाद पौडेल खटिरहेका थिए। यतिबेला चौधरी भान्साको सामान पार्टीस्थलसम्म लानको लागि व्यस्त थियो।

शृंगारपटारमा चिटिक्क भएर ओठमा हल्का मुस्कान छर्दै लक्ष्मी यताउता रेखदेखको पारामा रल्लिरहेकी थिई। ऊ निलो जिनको पाइन्ट र सेतो सर्टमा निकै खुलेकी थिई। कलेजी लिपिस्टिकमा रंगिएका ओठ, रगत चुहिएला जस्ता गाला र उठेका नितम्बले आगन्तुकहरूलाई भोजमा थप आकर्षण दिइरहेका थिए।

कार्कीले सबैलाई डान्सको निम्ति निम्त्याए। सबैजना समूहमा नाच्न थाले। लक्ष्मीको हात समातेर कार्की पनि सँगसँगै नाच्न थाले। नाच्दानाच्दै लक्ष्मीको कान र गालानिर मुख लगेर बिस्तारै फुस्फुसाए– ‘मोरी कति राम्री देखिएकी ?! म छोड्दिन है आज तँलाई।’

‘अँ ! हजूर पनि !!’ लक्ष्मीले लाडिएको स्वरमा भन्दै कार्कीको हात जोडले च्याप्प पारेर समाती र आफूतिर तानेर एक फन्को घुमाई दिई।

‘वाह ! लक्ष्मी मजा आयो। तँ त मज्जाले नचाउन पनि सक्दिरै’छस्’ भन्दै उसले लक्ष्मीको हात चुम्न खोज्यो। हत्तपत्त लक्ष्मीले हात छुटाएर अलग्गिई।

रातको दश बजेपछि पाहुनाहरूका गाडीहरू बाहिरिन थाले। गाना बजाना बन्द भयो। साढे दश बजे पूरै सुनसान छायो कार्की भवनमा। अफिसका सहायकहरू कुलबहादुर खत्री र पूर्णप्रसाद पौडेल पनि खानै नखाई पाहुनाभन्दा अगाडि नै दम्पच भइसकेछन्। कार्कीले चौधरीलाई खोजे, ऊ भान्छा कोठामा नै भित्तामा अडेस लगाएर निदाएको भेटे। भाँडा–कुँडा सफा गर्नुदेखि अन्य सामानहरू थन्क्याउन बाँकी नै थियो। सबै सामान असरल्ल छरपष्ट थिए र व्यवस्थित गर्नु जरुरी थियो। कार्की रिसले चड्किए र चौधरीको कोखामा एकलात हाने।

‘साला ! कलुवा कहीं नभएको काम ठग !!’ त्यसपछि उनका हात चौधरीका विभिन्न अङ्गमा बज्रिए। असंख्य वेदनाले चौधरी चिच्याएर रुन थाल्यो। चौधरी रोएको आवाजले लक्ष्मी पनि तल ओर्ली र कार्कीलाई रोक्न खोजी। कार्की अझ चर्को स्वरमा ‘अझ कराउँछस् भतुवा ! मेरो भात नपचेको तँलाई। निक्ली हाल ! अहिल्यै निक्ली हाल् !!’ भन्दै रिसले चुर भएर घोक्य्राउन थाले। लक्ष्मीले हात रोक्न खोज्दा खोज्दै कार्कीले हात फेरेर घोक्रोमा समाती ढोकातिर हुत्याई दिए। लक्ष्मीले कार्कीलाई समातेर माथि कोठातिर लगी। माथि कोठामा पुगेर कार्कीले एक गिलास पानी खान मागे लक्ष्मीसँग। लक्ष्मी तल आएर चौधरीलाई ‘जा भित्र गएर सामान थान्कोमान्को गर र सुत’ भनी घरभित्र छिराएर मूलढोका बन्द गरी एक गिलास पानी लिएर कार्कीको कोठामा गई।

कार्की शान्त भइसकेको थियो। लक्ष्मीले पानी ऊतिर बढाई। पानी दिएको हातलाई गिलास समेत च्याप्प समाएर अर्को हातले पानी पिउँदै लक्ष्मीलाई तान्यो। पानीको गिलास टेबुलमा राख्दा पनि उसले लक्ष्मीको हात छोडेन र आफूतिर तानी नै रह्यो। लक्ष्मीलाई छातीमा टाँस्दै सर्टको टाँकहरू खोलेर हात घुसार्‍यो। उसले अत्यास अनुभूत गरी र उम्कनका लागि व्यर्थ प्रयास गरी। लक्ष्मीको गालामा  चिउँडो रगड्दै ओठ चुस्न थाल्यो। दुवै हातले अङ्गालोमा बेरेर लक्ष्मीलाई पलङमा लगी सुतायो र उसका सर्वाङ्ग छाम्न थाल्यो। लक्ष्मीले मुटुको वेगमा एक्कासी तीव्रता आएको अनुभव गरी र श्वास फेर्न नै गार्‍हो भए झैं गरी लामोलामो श्वास फेर्न थाली। कार्कीले बेस्सरी अँठ्याएकाले उम्किनका लागि उसले गरेकी प्रयास सवै व्यर्थ भइरह्यो। उसले हातखुट्टा चलाएर केही भन्न खोज्दै थिई तर कार्कीले लक्ष्मीको मुख देब्रे हातले थुनेर पाइन्ट पनि खोलिदियो। लक्ष्मीको आँखाबाट आँसुका थोपा यौवनपूर्ण गालाहरूबाट तप्किएर ओछ्यानमा खस्दै बिलाउँदै गए।

तलबाट कुकुरहरू बाझेको र भाँडाहरूको टङ्र्‍याङ् टुङ्रुङ् आवाज आइरहेको थियो। यो आवाज कार्कीले सुन्यो सुनेन तर लक्ष्मीले चौधरीको याद गरिरहँदा स्पष्ट सुनिरहेकी थिई। चौधरी एक्लै तल कोठामा पिटाइको असंख्य चोटले मर्माहत भएर मनको दुःख आँसुले पखालिरहेको थियो। आकाशमा विनाबादल एक्कासी बिजुली चम्के झैं देखियो र आकाशबाट तत्कालै एउटा तारा खस्यो र लोप भयो बीचैमा।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved