लिवाङ : दुई कविता

नेपालभ्युज

लिवाङ : दुई कविता

लिवाङबाट चिठी

राजकुमार केसी

खबरदार मलाई नछोऊ
र अर्थ माला लगाउने कोशिश नगर
हामी विजयको माला लाउँछौ
युद्ध जितेपछि माला लगाउनु स्वाभाविक हुन्छ
हामी लगाउँदैनौं युद्धविराम गरेर बस्ने मान्छेको हातमा माला
हामी लगाउँदैनौं सिन्दुर युद्धविरामको बेला
अहिले कुन मुखले मलाई बधाई भन्छौ ?
र, किन हात मिलाउन खोज्छौ ?
भैगो जाऊ यहाँबाट, यो लिवाङ हो
लिवाङले बिर्सेको छैन ती युद्धका दिनहरू लिवाङ उस्तै छ
लिवाङको घाउबाट रगत बगिरहेछ
अब नटेक यहाँ यो माटोमा
अब नआऊ यहाँ कहिले पनि
नदेखाऊ तिम्रो अनुहार
फर्क यहाँबाट र आफैँ लगाऊ त्यो माला
तिमी आफैँ लगाउ सिन्दुर
तिमी युद्धविराम गरेर बसेका मान्छे
तिमी थाकेको मान्छे
नआऊ मलाई थपथपाउन
युद्धविराम गरेर बसेको मान्छेले
युद्धरत सिपाहीहरूलाई माला लगाउनु हुँदैन
कृपया अब माला लगाउने कोशिश नगर
अँगालो मार्ने कोशिश नगर
हामी युद्धबाट थाकेकाहरूसँग माला लगाउँदैनौ
शकुनीहरूसँग अंकमाल गर्दैनौं
एक हात बन्दुक अर्को हातमा ग्रेनेट लिएर
तिमी जाऊ यहाँबाट, गइहाल
मलाई माला लगाएर युद्धबाट
बिदा गर्ने कोशिश नगर
मलाई सानो नसम्झ, म योद्धा हुँ
अब म तिम्रो अनुहार हेर्न सक्दिन
तिमी युद्ध जितेको भ्रममा नबस, थाहा छ ?
हामी अझै अन्तिम युद्ध लडिरहेछौं।
म फेरि भन्छु
मलाई माला लगाउने कोशिश नगर
जाऊ आफैँ लगाऊ टाउको पुरिने गरेर माला
मलाई चाहिँदैन तिम्रो माला
नआऊ मलाई युद्धभूमिबाट बिदा गर्न
यो लिवाङ हो
जहाँ म युद्ध लडिरहेछु
म अन्तिमसम्म युद्ध लडिरहन्छु।


लिवाङको चिसो

पदम गौतम

हरेक बिहान उसैगरी
उज्यालो बाँडेजस्तो गर्दै
समय निल्दै हिँड्ने घाम
परै टल्किन्छ सिस्नेमा
र, लिवाङ आङ तन्काउँदै उठ्छ।

आकाश छ अनन्त
बाँकी विश्वको जस्तै
जून टल्किन्छ बेलाबेला
र, चिसो हावाको सिरेटो
बहकिन्छ दक्षिण पूर्वतिर
घाम ढल्किन नपाउँदै
लिवाङ सुत्छ चिसो स्याँठसँगै।

माडीचौर, सुलीचौर
थवाङ, भवाङ, इरिवाङ
माडीखोलाको धूनसँगै
जर्‍याकजुरुक उठ्छन्
जलजला छुन
लिवाङ बिस्तारै हाई काढ्छ
र, आफ्नो अनुहार हेर्छ ऐनामा।

घाङ्सी खोलाको पानीसँगै
बग्दै जान्छन् दक्षिणतिर
कालो इतिहासका अवशेषहरू
रगतका फाल्सा बग्छन् सँगसँगै
त्यसैका चित्कारबाट उब्जन्छन्
ठेट भाषाका लोकगीतहरू
जस्तो कि–
‘उजेलो भएको छैन, झुक्यायो जून पापी ताराले’
हो, अरू सदरमुकामजस्तै
यहाँ पनि घाम उसैगरी
उज्यालो बाँडेजस्तो गर्दै आउँछ
र, समय निल्दै जान्छ।

अग्ला डाँडाहरूमा छेकिँदै
लिवाङ छिरेको घामको किरण
फेरि ठोकिन्छ अग्ला महलमा
र, चिसो हुन्छ उसैगरी
लिवाङको माटो
लिवाङको बाटो
र, लिवाङको अर्को पाटो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved