‘ब्युटी कन्टेस्ट’ यौन हिंसा फलोअप : पीडित र आरोपित दुवै प्रहरीको सम्पर्कमा

सौन्दर्य प्रतियोगिताका आयोजकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी युवतीको घरमै पुगेर प्रहरीले काउन्सिलिङ गरिरहेको छ। प्रहरीले आरोपित प्रतियोगिताका आयोजक सदस्यलाई पनि सम्पर्क गरी अनुसन्धान शुरु गरेको छ।

‘ब्युटी कन्टेस्ट’ यौन हिंसा फलोअप : पीडित र आरोपित दुवै प्रहरीको सम्पर्कमा

काठमाडौं। सौन्दर्य प्रतियोगिताका आयोजकले आफूलाई बलात्कार गरेको आरोप लगाएकी युवती प्रहरीको सम्पर्कमा आएकी छन्। शुक्रबार मध्याह्न काठमाडौंंस्थित पीडितको घरमा पुगेर युवतीलाई भेटेर प्रहरीले अनुसन्धान शुरु गरेको महानगरीय अपराध महाशाखाका प्रमुख बसन्त कुँवरले बताए।

पीडितसँग सम्पर्क गरेर अपराध महाशाखाले पीडितलाई काउन्सिलिङ गरिरहेको छ। साथै उनले लगाएको आरोपबारेमा अनुसन्धान अघि बढाएको छ। ‘‘हामी पीडितको घरमा पुगेका छौं। सत्य तथ्य बुझ्ने र उहाँलाई काउन्सिलिङ गर्ने प्रक्रिया अगाडि बढाएका छौँ,’’ अपराध महाशाखाका प्रमुख एसएसपी कुँवरले बताए।

अहिले पीडितको घरमा महिला अधिकारकर्मीहरू समेत पुगेका छन्। पीडितका आफन्त समेत घरमा पुगेकाले भीड रहेको प्रहरीले बताएको छ। पीडितलाई भेट्नेहरूको भीड लाग्दा झन् मानसिक रूपमा तनाव हुनसक्ने भन्दै प्रहरीले नजान आग्रह गरेको छ। महाशाखाका प्रमुख एसएसपी कुँवरले भने ‘‘अहिले पीडितको घर धेरै मानिसहरूको जमघट छ। यसले पीडितलाई थप नकारात्मक असर पर्न सक्छ। हामीले पीडितलाई काउन्सिलिङ गरिरहेका छौँ। महिला अधिकारकर्मीहरू तथा आफन्तको भीड छ। यसैले अहिले केही दिन अरुलाई नजान आग्रह गरेको छ।’’

भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको ती युवतीको आरोप छ। सन् २०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’मा सहभागी ती युवतीले आयोजकले आफ्नो नाङ्गो फोटो खिचेर ब्लाकमेलिङ गर्दै ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी हुन्। उनले प्रहरीमा भने उजुरी दिएकी छैनन्। सामाजिक सञ्जालमा भेटिएको भिडिओकै आधारमा प्रहरीले पीडितले नाम लिएका व्यक्तिहरूमाथि समेत निगरानी बढाएको छ। पीडित युवतीलाई न्याय दिलाउन माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ।

सुन्दरी प्रतियोगिताका आयोजकबाट बलात्कृत युवतीलाई प्रहरीको आग्रह- छिटो सम्पर्कमा आउनुस्

समय धेरै बितेकाले अनुसन्धान जटिल, आरोपित पनि प्रहरीको सम्पर्कमा

२०७४ भदौ १ मा जारी मुलुकी अपराध संहिता सम्बन्धी ऐनमा बलात्कारसम्बन्धी मुद्दामा एक वर्षभित्र उजुरी दिनुपर्ने उल्लेख छ। नाबालिगको उमेर बढाएर १८ बनाएको छ। ती युवतीले आफू १६ वर्ष हुँदा बलात्कृत भएको बताएकी छिन्। घटना २०७१ भदौतिरको हो। त्यो समयमा कायम रहेको मुलुकी ऐनले बालिगको उमेर १६ उल्लेख गरेको थियो। ती युवतीले भिडियोमा दाबी गरे अनुसार उनको हकमा यी दुवै हदम्याद नाघिसकेको देखिन्छ।

हदम्याद नाघे पनि घटना संवेदनशील भएको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ। आरोपितलाई समेत प्रहरीले सम्पर्क गरेको छ। बलत्कारको मुद्दा लागेका सुन्दरी प्रतियोगिताका आयोजक सदस्य समेतलाई पनि प्रहरीले सम्पर्क गरेर घटनाका विषयमा सोधपुछ थालेको प्रहरी स्रोतले बताएको छ।

यौनहिंसामा परेको भन्दै सामाजिक सञ्जालमा आएकी युवतीको पक्षमा प्रदर्शन (फोटोहरू)

के छ युवतीको आरोप

युवतीले सुन्दरी प्रतियोगितापछि सक्सेस पार्टी दिने बहानामा होटलमा बोलाएर बेहोस बनाई बलात्कार गरेको कारुणिक भिडियो पोस्ट गरेकी हुन्। भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको ती युवतीको आरोप छ।

सुन्दरी प्रतियोगितामा सहभागी युवतीलाई आयोजकले बलात्कार गरेको आरोप

युवतीले सार्वजनिक गरेको भिडियोमा भनिएको छ

‘‘त्यो बेलामा एउटा अनलाइनको एउटा नाम चलेको फोटोग्राफर र उसले मलाई फोटो सुटका लागि बोलाए। मेरो फोटो खिचे र ५ हजार रुपैयाँ दिए। त्यो बेला म एकदम उत्साहित भएँ। किनभने, म मोडल हुन चाहन्थेँ। म त्यो प्रतियोगितामा सहभागी भएँ। म त्यो कार्यक्रममा फस्ट रनर अप भएकी थिएँ। विजेता भएपछि ‘सक्सेस पार्टी’ मा बोलाइयो। एभरेस्ट होटलमा बोलाइएको थियो। म पुगेँ। तर, त्यहाँ कोही पनि थिएन। मैले सोधेँ, अरू खै ? उसले भन्यो, तिमी छिटो आयौ, बस्दै गर, अरू आउँदै छन्। म बसेको केही समयपछि ‘वेलकम ड्रिंक्स भनेर वेटरले आइस हालेको लेमन पानी ल्याएर दियो। त्यो मैले खाएँ। त्यसको १०, १५ मिनेटपछि मलाई चक्कर लाग्यो। म बिरामी भएँ, म घर जान्छु भने।

उसले लेडिजहरुलाई गाह्रो होला हुन्छ भनेर एउटा रुम लिएर राखेको छु, त्यहाँ गएर आराम गर्नु भन्यो। यसले मलाई रुममा लिएर गयो। कार्यक्रम शुरु भएपछि कसैलाई लिन पठाउँछु, तिमी आराम गर भन्यो। मलाई पटक पटक थोरै–थोरै होस खुलेको थियो। साडे ४, ५ बजेतिर पूर्ण रूपमा होस खुल्दा उ म सँग नाङ्गै सुतिरहेको थियो। बेडभर रगतैरगत थियो। त्यो देखेर म धेरै रोएँ। त्यसपछि उसले तिम्रो ब्यागमा २० हजार रुपैयाँ हाल्दिएको छु,भन्यो। मैले किन यस्तो भनेर सोध्दा तिमीले हिलो मलाई पैसाको आवश्यकता छ, मलाई जे गरे पनि गर्नुस् भन्यौ, त्यही भएर मैले यो सबै गरेको हुँ भन्दै म्याननुप्लेट गर्न थाल्यो।

म हिँड्न खोजेँ। तर उसले मेरो नग्न भिडियोहरू आफूसँग भएको बतायो। यो कुरा कसैलाई भन्यो भने फोटो, भिडियो पब्लिक गर्ने बतायो। अनि म ट्याक्सी बोलाएर घर गएँ। केही दिनपछि उसले मलाई फोन गर्न थाल्यो। र मेरो नग्न फोटो सार्वजनिक गरिदिने बहानामा जबरजस्ती गरिरह्यो। त्यो समय मलाई आत्महत्या गर्न पनि मन लागेको थियो। यो घटनाले मलाई सारै पीडा थियो। सहनै सकिन। र अहिले आएर सार्वजनिक गरेको हुँ।’’

बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउनुपर्छ – गगन थापा (भिडिओ)


Comment

One thought on “‘ब्युटी कन्टेस्ट’ यौन हिंसा फलोअप : पीडित र आरोपित दुवै प्रहरीको सम्पर्कमा

  1. अहिले ‘काठमाडाै‌ उपत्यका अपराध अनुसन्धान कार्यालय’ भइसक्याे पत्रकार महाेदय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved