बर्दिबासमा मतगणनामा लापरबाही, परिणाम घोषणापछि भेटियो मतपेटिका

उक्त वडामा सात सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेर सिंह लामा विजयी भएको घोषणा समेत भइसकेकाे छ।

बर्दिबासमा मतगणनामा लापरबाही, परिणाम घोषणापछि भेटियो मतपेटिका

जनकपुरधाम। महोत्तरीमा मतपरिणाम घोषणापछि सिल भएकाे मतपेटिका भेटिएकाे छ।

बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न भएर परिणाम समेत घोषणा भइसकेपछि एउटा मतपेटिकाकाे गणना नै छुटेकाे पाइएकाे हाे।

निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले बर्दिबासका १३ वटा वडाको गणना सकेर अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप मतपेटिका फेला परेको जानकारी दिइन्।

बर्दिबास ८ अन्तर्गत बेलगाछी– ६ को २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मतगणना भएको र अर्काे बाकस अर्कै वडाको बाकस राखिएको ठाउँमा फेला परेको तामाङले बताइन्। मतदान अधिकृत, कर्मचारी र राजनीतिक दलले समेत मत गन्ने बेलासम्म सबै बाकसको खोजी नगरेकाले अन्य वडाका बाकससँग त्रुटिबस छुटेको उनकाे भनाइ छ।

वडा नम्बर ८ को ९ वटा मतपेटिकामध्ये ८ वटाको मात्रै गणना गरेर मत परिणाम सार्वजनिक भएकाले अब सर्वदलीय बैठक बसेर सहमती गरेर मतगणना गरिने बताइएको छ। छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम स्वीकार्य गराएर गणना शुरु गरिने निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ।

बर्दिबासको मतगणना वडा नम्बर ८ बाटै शुरु भएको थियो। उक्त वडामा सात सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेर सिंह लामा विजयी भएको घोषणा भइसकेकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved