सल्टिएन क्षिरेश्वरनाथको विवाद, तीन दिनदेखि मतगणना अवरुद्ध

सल्टिएन क्षिरेश्वरनाथको विवाद, तीन दिनदेखि मतगणना अवरुद्ध

जनकपुरधाम। मंगलबारदेखि अनिश्चित समयका लागि स्थगित गरिएको धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना आजसम्म सुचारु हुनु सकेको छैन । एमालेले मत परिणाममा धाँधली भएकाे आरोप लगाउँदै पुनः मतगणना गर्नुपर्ने अडान राखेपछि मतगणना अवरुद्ध भएकाे हाे।

निर्वाचन अधिकृत विकास बस्नेतले बुधबार तीन घण्टा चलेको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएकाे जानकारी दिए। गणना गर्ने प्रयास गरिएको भएपनि सहमती हुन नसक्दा गणना शुरु हुन नसकेको उनले बताए।

‘‘सबै मतपत्र गनेर रुजु भइसकेको छ। रुजु नभएका बाँकी ३९ वटा मतपत्र पुनः रुजु हामी तयार छाैँ,’’ निर्वाचन अधिकृत विकास बस्नेतले भने, ‘‘तर एमालेले एउटा केन्द्रकाे पूरा मत गणना पुनः गर्नुपर्ने अडान कायम राखेकाले मतगणना शुरु हुन सकेको छैन।’’

निर्वाचन अधिकृत बस्नेतले बिवादबारे केन्द्रीय निर्वाचन आयोगकाे ध्यानकर्षण गराए पनि उताबाट कुनै निर्देशन नआएको बताए। माथिबाट आउने निर्देशन बमोजिम अघि बढ्ने उनकाे भनाइ छ।

उनले अहिले पनि दुवै पक्षलाई एकै ठाउँमा राखेर विभिन्न छलफलको गरिएकाे जानकारी दिए। विवाद भएको वडाको मतगणना थाँती राखेर बाँकी रहेको ६ वटा वडाको मतगणना अगाडि बढाउने सन्दर्भमा पनि सहमती जुटाउने प्रयास भइरहेकाे उनले बताए।

३० वैशाखमा भएको स्थानीय निर्वाचन अन्तर्गत वडा नम्बर–५ को क्षिरेश्वर मावि (ङ) मतदान केन्द्रको मतगणना कार्य भइरहेका बेला दलका प्रतिनिधिहरुले सो विषयमा विवाद सिर्जना गरेपछि मतगणना स्थगित भएकाे थियाे। आफ्नो उम्मेदवार एक मतले विजयी भएपनि निर्वाचन अधिकृतले पक्षपात गरेर कांग्रेसका उम्मेदवारलाई दुई मतले जिताउन खोजेको एमालेकाे आरोप छ।

यस नगरपालिकामा कांग्रेसबाट निवर्तमान मेयर योगेन्द्र पजियार, एमालेबाट सुखदेब यादव र एकीकृत समाजवादीबाट शिवशंकर प्रसाद सिंह उम्मेदवार छन्। निवर्तमान मेयर पजियार र सुखदेव यादवबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। पछिल्लो समय यादवले अग्रता लिएका छन्। पजियार कांग्रेसका जिल्ला सभापति समेत हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved