स्याङ्जाको तीन पालिका प्रमुख, अध्यक्षमा उम्मेदवारी दिएका तीनै महिला पराजित

नेपालभ्युज

स्याङ्जाको तीन पालिका प्रमुख, अध्यक्षमा उम्मेदवारी दिएका तीनै महिला पराजित

वालिङ। स्याङ्जाकाे तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीनै जना महिला उम्मेदवार पराजित भएका छन्।

११ पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका हुन्।

पुतलीबजार नगरपालिकाको प्रमुखमा सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा माया रानाले उम्मेदवारी दिएका थिए।

नेकपा एमालेबाट पुतलीबजार नगर प्रमुखमा उम्मेदवारी दिएकी क्षेत्री यसअघि नगर प्रमुख थिइन्। विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका तुल्सीराम रेग्मीलाई पराजित गरेकी क्षेत्री अहिले रेग्मीबाट नै पराजित भएकी हुन्।

नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बनेका रेग्मी १२ हजार ४९४ मत पाएर पुतलीबजारको नगर प्रमुखमा निर्वाचित भएका हुन् भने पराजित भएकी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन्।

अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी गुरुङ नेपाली कांग्रेसका प्रकाश तिवारीसँग पराजित भएकी हुन्। गाउँपालिकाको अध्यक्षमा विजयी तिवारीले पाँच हजार २९१ मत ल्याउँदा उनकी प्रतिस्पर्धी गुरुङले तीन हजार ३४७ मत ल्याइन्। गुरुङ २०७४ मा गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी थिइन्।

त्यस्तैगरी कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकातर्फबाट उम्मेदवारी दिएकी राना एमालेका उम्मेदवार खिमबहादुर थापासँग पराजित भएकी छिन्। अध्यक्षमा विजयी भएका थापा छ हजार ७०० मत ल्याएर विजयी हुँदा राना पाँच हजार ५५ मत ल्याएर पराजित भइन्।

विसं २०७४ को निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए। यो उनको दोस्रो कार्यकाल हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved