चौधरी फाउण्डेशनले कान्ति बाल अस्पतालको इमर्जेन्सीमा थपिदियो ११ बेड

नेपालभ्युज

चौधरी फाउण्डेशनले कान्ति बाल अस्पतालको इमर्जेन्सीमा थपिदियो ११ बेड

काठमाडौं। ६० वर्षदेखि १४ ओटा बेडबाट आकस्मिक सेवा सञ्चालन गरिरहेको कान्ति बाल अस्पतालले चौधरी फाउन्डेसनको सहयोगमा अब २५ बेडबाट सेवा सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा रोशन पाखरेल र चौधरी फाउन्डेशनकी महासचिव सारिकादेवी चौधरीले आज ११ बेडको आकिस्मिक कक्ष उद्घाटन गरेका हुन्।अस्पताललाई इतिहासमै पहिलो पटक कसैले ११ ओटा आकस्मिक बेड सहयोग गरेको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले बताए।

“बच्चामा कुनै पनि समस्या भयो भने भोलि भनेर पखेर बस्न हुँदैन उनीहरूलाई छिटो नै अस्पताल लग्नुपर्ने हुन्छ,” उनले भने, “तर कान्ति बाल अस्पतालमा दैनिक हजारको संख्यामा बालबालिका आउने गरे पनि आकस्मिक कक्ष कम हुँदा निकै समस्या भएको थियो,” उनले भने।

तर चौधरी फाउन्डेशनले गरेको सहयोगले निकै राहत मिलेको उनले बताए।

उनका अनुसार, तीन सय बेड क्षमता भएको कान्ति बाल अस्पतालमा अब २५ ओटा आकस्मिक कक्ष भएको छ, अब छिट्टै अस्पताल पाँच सय हुँदै हजार बेडसम्म पुग्ने छ र त्यसैगरी आकस्मिक कक्षको क्षमता पनि बढाइने छ।

स्वास्थ्य सचिव डा.रोशन पोखरेलले सरकारी अस्पतालको आकस्मिक कक्ष ऐना भएको र शुरुमा बिरामीलाई त्यहीँ लगिने भएकाले सरकारी अस्पतालको आकस्मिक कक्षलाई स्तरोन्नति गर्दै लैजानुपर्ने कुरामा जोड दिए।

अहिले कान्ति अस्पताल तीन सय बेडमा सञ्चालन भइरहेकोमा अब छिट्टै नै स्वास्थ्य मन्त्रालयले पाँच सय बेड क्षमतामा लैजाने योजना गरेको समेत उनले बताए।

त्यस्तै सोही अस्पतालमा कार्यररत बाल रोग विशेषज्ञ डा.प्रकाश जोशीले ११ ओटा इर्मेजेन्सी कक्ष थप भएकोमा खुशी व्यक्त गर्दै कान्तिमा २५ ओटा बेड पनि अपुग हुने र आकस्मिक कक्षमा आएको २६ औं बच्चालाई कता पठाउने भन्ने प्रश्न गरे।

चौधरी फाउन्डेशनका उपाध्यक्ष निर्वाण चौधरीले परिवारको चाहनाअनुसार नै आकस्मिक कक्षको स्थापना गरिएको बताए।

अझै पनि नेपालको बाल मृत्युदर निकै भएकाले यसलाई कम गर्न कान्ति अस्पतालको भूमिका पनि धेरै रहेको र यो कुरा मध्यनजर गर्दै आकस्मिक कक्षको स्तरोन्नति गरिएको चौधरी फाउन्डेशनकी महासचिव सारिकादेवी चौधरीले बताइन्।

बालबालिकाको उपचार हुने देशकै जेठो अस्पतालमा अब २५ बेडको आकस्मिक कक्ष भएको र यो संख्यालाई बढाउँदै लैजानुपर्ने राज्यमन्त्री उमेश श्रेष्ठले बताए।

पहिल्यै  देखिने ठाउँ भनेकै इर्मेजेन्सी भएकाले एउटै बेडमा दुई-तीन जना बिरामी राख्ने बाध्यतालाई हटाउदै लैजानुपर्ने समेत उनले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved