जगन्नाथको बागी उम्मेदवारीले रेनुलाई लाभ, एमालेले गुमायो यसअघि जितेका तीनओटा वडा

नेपालभ्युज

जगन्नाथको बागी उम्मेदवारीले रेनुलाई लाभ, एमालेले गुमायो यसअघि जितेका तीनओटा वडा

काठमाडौं। भरतपुर महानगरपालिकाको मेयरका लागि त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ। गठबन्धनबा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल मेयरकी प्रमुख दावेदार हुन् भने नेकपा एमालेबाट विजय सुवेदी अर्का प्रतिस्पर्धी। यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल पनि भरतपुरमा कमजोर देखिएका छैनन्।

यो समाचार तयार पार्दासम्म भरतपुर महानगरपालिकामा २९ हजार चार सय ४६ मत गणना भएको छ। जसमा दाहालले दश हजार सात सय ४८ मत प्राप्त गरेकी छन् भने सुवेदीले आठ हजार आठ सय ४२ मत प्राप्त गरेका छन्। यस्तै पौडेलको चार हजार आठ सय ८३ मत रहेको छ।

भरतपुरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले सुवेदीलाई फाइदा पुग्ने विश्लेषण गरिए पनि पौडेलको उम्मेदवारीले हालसम्मलाई दाहाललाई नै लाभ पुगेको देखिएको छ। यसअघिको निर्वाचनमा पनि भरतपुरमा कांग्रेसले माओवादी केन्द्रले चुनावी तालमेल गरेका दिए। अन्तिम समयमा गएर भएको तालमेलका कारण असन्तुष्ट कांग्रेसी कार्यकर्ताले एमालेका तत्कालीन उम्मेदवार ज्ञवालीलाई मत दिएका थिए।

यो पटक पनि कांग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा तालमेल गरेका छन्। यद्यपि, असन्तुष्ट कांग्रेस कार्यकर्ताले कांग्रेसबाट बागी उम्मेवारी दिएका पौडेललाई मतदान गर्दा त्यसको प्रत्यक्ष असर सुवेदीलाई परेको चितवनका राजनीतिक विश्लेषक प्रेम रिमाल बताउँछन्।

“अघिल्लो पटक एमालेलाई मतदान गरेका कांग्रेसी कार्यकर्ताले यो पटक मतदान गर्ने चुनाव चिह्न पाउँदा त्यसको असर एमालेलाई गरेको देखियो। यद्यपि, यो नै अन्तिम परिणाम होइन,” रिमालले भने।

६ ओटा वडाको मतदान सम्पन्न हुँदा गठबन्धन दलको नेतृत्व गरेको नेपाली कांग्रेस पाँचओटा वडामा विजयी भएको छ। नेकपा एमाले भने एक वडामा सीमित भएको छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा गणना सम्पन्न भइसकेका यी ६ वडामध्येमा तीनओटा वडामा कांग्रेस र तीनओटा वडामै एमाले विजयी भएको थियो। वडा नम्बर १, ३ र ६ मा यसअघिको स्थानीय तहको निर्वाचनमा कांग्रेस विजयी हुँदा २, ४ र पाँचमा एमाले विजयी भएको थियो। तर, यो पटकको वडा नम्बर ३ बाहेकमा एमाले विजयी हुन सकेन।

यसअघि भएको स्थानीय निर्वाचनमा भरतपुरको वडा नम्बर एकमा कांग्रेसले एघार सय ७७ मत ल्याएर निर्वाचन जितेको थियो भने उसको प्रतिस्पर्धी एमालेले एघार सय ६३ मत ल्याएको थियो। माओवादी केन्द्रले ६ सय २१ मत प्राप्त गरेको थियो। यो पटक गठबन्धन (कांग्रेस) ले यो वडामा तेह्र सय ९७ मत प्राप्त गरेको छ भने एमालेले तेह्र सय १३ मत ल्याएको छ।

यसअघि एमाले विजयी भएको वडा नम्बर २ मा यो पटक गठबन्धन (कांग्रेस) ले दुई हजार ९९ मत प्राप्त गर्दा एमालेले दुई हजार ६५ मत प्राप्त गरेको छ। यसअघि यो वडामा एमालेले उन्नाइस सय २६ मत प्राप्त गर्दा कांग्रेसले तेह्र सय ५४ मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले सात सय ७० मत ल्याएको थियो।

भरतपुर वडा नम्बर ३ मा यसअघि कांग्रेसले पन्ध्र सय ३० मत ल्याउँदा एमालेले आठ सय ३८ मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले दुई सय ९९ मत प्राप्त गरेको थियो। यो पटक एमालेले सोह्र सय ६६ मत प्राप्त गर्दा गठबन्धनबाट कांग्रेसका उम्मेवदारले जम्मा एक हजार ४९ मत प्राप्त गरेका छन्।

यस्तै भरतपुर वडा नम्बर ४ मा यसअघिको निर्वाचनमा एमाले सत्र सय २० मत प्राप्त गरेकोमा कांग्रेसले १७ सय १३ मत प्राप्त गरेको थियो। यो वडामा माओवादी केन्द्रले ९ सय ३१ मत प्राप्त गरेको थियो। यो पटक यस वडामा गठबन्धन (कांग्रेस) उम्मेदवारले पच्चिस सय ३० मत प्राप्त गर्दा एमालेले सोह्र सय ३३ मत प्राप्त गर्यो।

भरतपुर वडा नम्बर ५ मा यसअघिको निर्वाचनमा एमालेले सत्र सय ८० मत प्राप्त गरेको थियो भने कांग्रेसले सोह्र सय ७९ मत प्राप्त गर्दा माओवादी केन्द्रले चार सय ३२ मत प्राप्त गरेको थियो। यस पटक गठबन्धन (कांग्रेस) उम्मेदवारले दुई हजार ७२ मत प्राप्त गर्दा एमाले उम्मेदवारले उन्नाइस सय ५१ मत प्राप्त गरे।

भरतपुर वडा नम्बर ६ मा यसअघिको स्थानीय तहको निर्वाचनमा कांगे्रसले तेइस सय १९ मत प्राप्त गरेका थिए। एमालेले यो वडामा कमजोर प्रर्दशन गर्दा नौ सय ४ मत प्राप्त गर्दा माओवादी केन्द्रले चौध सय ८० मत प्राप्त गरेको थियो। यो पटक गठबन्धन (कांग्रेस) उम्मेदवारले यो वडामा सत्ताइस सय ३५ मत प्राप्त गर्दा एमालेले एक्काइस सय १७ मत प्राप्त गरेको छ।

कांग्रेसको गड मानिएको वडा नम्बर ३ मा एमाले विजयी हुँदै गर्दा यसअघि राम्रो रहेको अन्य वडा भने एमालेले गुमाएको छ। बलियो रहेको वडामा नै एमाले पराजित हुँदा भरतपुर महानगरपालिकामा एमालेतर्फबाट मेयरको उम्मेदवार बनेका विजय सुवेदीलाई धक्का लागेको छ। सुदेवीले यसअघिको स्थानीय तहको निर्वाचनमा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार रहेका देवी ज्ञवालीले प्राप्त गरेको जति मत ल्याउन नसक्दा उनका मुख्य प्रतिस्पर्धी रेनु दाहाललाई फाइदा पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved