नेमकिपाको सदाबहार किल्ला : यी हुन् जितका पाँच कारण

सामाजिक संरचना नै परिवर्तन ल्याउने इतिहास, सामाजिक सुधारका लागि अनवरत प्रयास, सम्पदाको संरक्षण र संवर्द्धन, बलियो सांगठनिक संरचना र कमजोर विपक्षीका कारण भक्तपुरमा नेमकिपा सदावहार विजयी बनिरहेछ।

नेमकिपाको सदाबहार किल्ला : यी हुन् जितका पाँच कारण

स्थानीय तहको निर्वाचनको दिन मध्याह्न करीब चार बजेतिर भक्तपुर नगरपालिका वडा नम्बर १ को ‘भक्तपुर क्याम्पस’ स्थित मतदान केन्द्र पुग्दा नेपाल मजदुर किसान पार्टीका मेयर उम्मेदवार सुनिल प्रजापति हातमा जुस लिएर गफिइरहेका थिए। अन्य मतदान केन्द्रमा भेटिएका उम्मेदवारको अनुहारमा पाइने तनाव, सन्देह, भय र बेचैनीको अँध्यारो उनको मुहारमा थिएन। सधैँको जस्तो मुस्कान ओठमा पोतेर शिष्टाचार व्यक्त गरिरहेका उनी विजयप्रति सुनिश्चित थिए। नभन्दै आफ्ना सुदूर प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र कासुलालाई २५ हजार आठ सय ४८ मतले पछि पार्दै २९ हजार दुई सय मतसहित उनी विजयी बने

उनीमात्र होइन, भक्तपुर नगरपालिकाका उपमेयरसहित सबै वडाका सबै तहमा नेमकिपाले एक्लो विजय हासिल गर्‍यो।

भक्तपुर नगरपालिकामा नेमकिपाले यसरी विजय प्राप्त गरेको यो पहिलोपटक भने होइन। २०३९ सालदेखि भक्तपुर नगरपालिकामा नेमकिपाले अनवरत जित हासिल गरिरहेछ। त्यति मात्र होइन, संसदीय निर्वाचनमा पनि यस क्षेत्रमा ऊ एक्लो विजयी छ। आखिर त्यस्तो के छ जसले नेमकिपालाई भक्तपुरमा यति सबल र अजेय बनाइरहेछ ? भक्तपुरमा नेमकिपाको इतिहास र गतिविधी खोतल्दै जाँदा पाँच कारण फेला पर्छन्। यो आलेखमा तिनै पाँच कारणको सेरोफेरोमा रहेर भक्तपुर नगरपालिकामा नेमकिपाको भूमिकाको चर्चा गरिनेछ।

सन् १९७१ मा भक्तपुरका ज्यापु बालिकाहरू। स्रोतः जोन हग्स, नेपाल फोटो हिस्ट्री प्रोजेक्ट, पिस कर्प्स फोटो हिस्ट्री।

१. सामाजिक संरचना बदलेको इतिहास

नेपाल मजदूर किसान पार्टी औपचारिक रूपमा २०३१ सालमा स्थापना भए तापनि भक्तपुरमा यसको इतिहास यसका संस्थापक एवं हालसम्मका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)को राजनीतिक इतिहाससँगै जोडिन्छ। उनैले खनेको बाटोमा यो पार्टी हिँडेको हो। र, त्यो मार्गको शुरुआत हुन्छ २०१९ सालदेखि।

२०१२/१३ सालदेखि नेपाल कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी फेडेरेसनबाट राजनीतिमा सक्रिय भएका रोहित (भूमिगत राजनीतिमा बिजुक्छें आफैले रोजेको नाम, यसपछि यही नाम प्रयोग गरिनेछ) २०१७ सालमा राजा महेन्द्रले शासन हातमा लिँदा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भइसकेका थिए। (का. रोहित, २०६९, पृ. १५)

त्यतिबेला भक्तपुरसहित केही जिल्लामा नेपाल कम्युनिष्ट पार्टीको किसान संगठन ‘अखिल नेपाल किसान संघ’ क्रियाशील थियो। बिजुक्छें पनि कुनै न कुनै हिसाबले किसान संघर्षसँग नजिक थिए। राजा महेन्द्रले शासन हातमा लिएपछि किसान संघर्षलाई कसरी अगाडि बढाउने भन्नेबारे बहस चल्यो। दुईओटा बाटा देखा पारे। एकथरिले पञ्चायत व्यवस्थामा प्रवेश नगरी बाहिरै बसेर विरोध गर्ने अडान राखे। अर्को बाटो भने पञ्चायत र त्यसका वर्गीय संगठनभित्र घुसेर ‘जनताको सेवा गर्ने र संगठनको विकास गर्ने तथा व्यवस्थाको विरोध गर्ने’ थियो। पञ्चायतमा नघुस्ने विचार लिनेहरू चूपचाप बसे। संगठन र पञ्चायतमा घुस्ने कार्यकर्ताहरूले ०१९ सालको पञ्चायती चुनावमा भाग लिए। (नाम नखुलेको, २०७२, पृ. ४४)

त्यसरी भाग लिनेमध्ये प्रमुख थिए, रोहित। उनले भक्तपुर नगर पञ्चायतको वडा नम्बर ८ मा सदस्यका रूपमा उम्मेदवारी दिए र निर्विरोध निर्वाचित भए। त्यसो त उनलाई पुष्पलालदेखि तुल्सीलाल अमात्यसम्मले चुनाव बहिष्कार गर्न सल्लाह नदिएका होइनन्। तर उनी भने स्थानीय निकायमार्फत ‘जनताका माझमा जाने’ विचारमा दृढ भए (प्रसाई, २०६९, पृ. ८०)। यो नै एउटा पहिलो मोड थियो, जसले आज भक्तपुरमा बलियो नेमकिपा बनाइरहेछ।

यो निर्णयलाई रोहित आफैँले भने लेनिनको सिद्धान्त अनुसरण गरेको दाबी गरेका छन्। रूसी कम्युनिष्ट क्रान्ति (सन् १९१७)का नेता भ्लादिमियर इल्यिच उल्यानोभ ‘लेनिन’ले आफ्नो पुस्तक ‘संविधान सभाको चुनाव र सर्वहारा हुकुम’मा उल्लेख गरेको ‘क्रान्तिकारी सर्वहारा पार्टीलाई पूँजीवादी संसदीय व्यवस्थामा जनतालाई उठाउन सकियोस् भनेरै त्यसमा भाग लिनुपर्छ र यो काम चुनावको बेलामा र संसद्‍मा भिन्दाभिन्दै पार्टीहरूबीच संघर्ष हुँदा गर्न सकिन्छ’ लाई आफूले अनुसरण गरेको रोहितको दाबी छ। पञ्चायती संस्थामा प्रवेश गरेको आफ्नो अनुभवलाई उनले यसरी व्यक्त गरेका छन्-

‘…२०१७ सालपछि केही क्रान्तिकारी साथीहरूले जनतालाई उठाउन र कामदार वर्गलाई शिक्षित पार्न पञ्चायत र वर्गीय संगठनको चुनावमा भाग लिए, त्यहाँ तिनीहरूले जनताको सेवा गरे र जनतालाई शिक्षित गर्न थाले।’ (का. रोहित, २०५५, पृ. ३४)

रोहितले भनेको ‘जनताको सेवा र जनतालाई शिक्षित’ पार्ने काम मुख्यत: दुईओटा थियो- किसान जनताको जीवनस्तर उकास्ने काम र किसान आन्दोलन। नेवार जातिभित्रको उच्च र सम्भ्रान्त जातबाट आएका रोहित आफैँ किसान वर्गका थिएनन्। तर उनले आफ्नो मूख्य कर्मक्षेत्र किसान वर्ग नै बनाए। उनले आफ्नो वडामा सफाइ अभियान चलाए। सडक, कुलो निर्माणलगायतका विकास गरे। त्यस्तै बालबच्चा र वृद्धहरूलाई पढाउने, हेल्थ पोस्ट खोल्ने काम गरे। बिजुक्छें र युथ लिगका अन्य सदस्यहरूको गतिविधिले आम जनताबाट बलियो साथ र सहभागिता पाए। (ढकाल र पोखरेल, सन् २०१०, पृ. १८४)

१.१ आन्दोलनको बीउ: साँढे धपाउने आन्दोलन

भक्तपुरका किसान जनताको साथ पाउने अर्को काम थियो, साँढे धपाउने आन्दोलन। नगरका साहू महाजनहरूले धर्मका नाममा डामेर छाडेका साँढे किसानका लागि आतंकसमान थिए। छाडिएका बहर वा साँढेले किसानको बाली खाने, बिगार्ने गर्न थालेपछि किसानहरूले संयुक्त रूपमा साँढे धपाउने आन्दोलन गरे। रोहितलगायतका भक्तपुर नगर पञ्चायतका जनपक्षीय पदाधिकारीहरू र किसान कार्यकर्ताहरूले बाली खाने र बिगार्ने छाडा साँढे नियन्त्रण गर्न ‘चौपाया नियन्त्रण समिति’ गठन गरे। उक्त समितिले जिल्लाभरि छरिएका ६४ओटा साँढे बटुल्यो। लिलाम नहुने भएकाले जम्मा पारिएका साँढेलाई नगरकोट पारि फटकशिला पुर्‍यायो।

सन् १९७१ ताका पचपन्ने झ्याले दरबारअघि उभिएको डामिएको साँढे। स्रोतः जोन हग्स, नेपाल फोटो हिस्ट्री प्रोजेक्ट, पिस कर्प्स फोटो हिस्ट्री।

त्यो आन्दोलन सहज भने थिएन। साँढेसँग धर्म जोडिएको थियो। स्थानीय साहूमहाजनलाई किसानको भन्दा बढी चिन्ता ती साँढेको हुन्थ्यो। त्यसैले उनीहरूले लखेटिएका साँढेलाई पुन: नगरतिर धपाइदिन्थे। किसान कार्यकर्तालाई कुट्थे पनि। तर अन्तत: किसानहरूले साँढे धपाइछाडे। त्यो आन्दोलनले एकातर्फ किसानहरूको बाली संरक्षण गर्‍यो भने अर्कोतर्फ किसानहरूमा संगठित हुनुपर्ने भावनाको विकास गरायो। (बखुन्छे, २०७५, पृ. १९)

यसबीचमा रोहितको जनप्रियता बढिसकेको थियो। उनी २०२१ सालमा पनि नगर पञ्चायतको सदस्यमा पुन: निर्वाचित भए।

१.२ भूमिसुधार आन्दोलनको जग

भक्तपुर त्यतिबेला चरम वर्गीय र जातीय रूपमा विभाजित समाज थियो। एकातिर तल्सिङहरू थिए जोसँग जमिनको स्वामित्व थियो। अर्को वर्ग थियो, मोही किसानहरूको। मोही किसानहरू तल्सिङको जग्गा खेती गरेर वर्षेनी तिरो तिर्थे। उनीहरूको अवस्था ज्यादै नै दयनीय थियो। दिनभरि काम गर्दा पनि खान नपाउने स्थिति थियो। मोही किसानलाई सधैँभरि खेती खोसिन्छ कि भन्ने डर हुन्थ्यो। तल्सिङलाई चित्त नबुझे खेती कमाउन अर्कै किसानलाई दिन्थ्यो। खेतमा अर्कै मोही किसानले मल छर्न थालेपछि आफूले कमाइरहेको खेत गुम्यो भन्ने बुझ्नुपथ्र्यो। ‘मकैका घोगा, दियालो, छ्वालीजस्ता सामग्री दिनहुँ जीवनको महत्त्वपूर्ण अङ्ग थिए। बत्ती थिएन। मट्टीतेलले टुकी बाल्न सक्ने परिवार सम्पन्नमा गनिन्थ्यो। किसानहरूका लुगा ठाउँ-ठाउँमा टालिएको हुन्थ्यो, सुरुवाल नहुने हुँदा कछाडमा नै सबै ऋतु काट्थे।’ (बखुन्छे, २०७२ पृ. ४८)

कतिसम्म भने समाजको भूबनोट पनि जात र काम अनुसार बाँडिएको थियो। ‘डकर्मी, सिकर्मी, कुम्हाले आदि जातिहरूको निश्चित जनताले जात र ठाउँ फेर्न पाउँदैनथे’ (का. रोहित, २०६९, पृ. २५)। घर हेरेरै गरीब र धनी चिनिन्थे। माथिल्लो वर्ग वा जातका मानिसहरूको घर साँझ्यो (भोटे झ्याल) वा टिका झ्यो (आँखी झ्याल) भएका हुन्थे। त्यस्ता घरहरूमा धेरैजसोको भित्री चोक हुन्थ्यो वा चोकले घेरिएका घरहरू हुन्थे। तल्लो वर्ग वा जातका जनताले त्यस्तो घर बनाउन पाउँदैनथे (का. रोहित, २०६९, पृ. २२)।

१ मंसीर २०२१ सालमा तत्कालीन पञ्चायती शासनले ‘भूमिसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन’ ल्यायो जसलाई छोटोमा ‘भूमिसुधार ऐन’ भन्ने गरिन्छ। ‘जिमिदारी उन्मूलन’ गर्ने उद्देश्य राखिएको त्यो ऐनले जमिन्दारहरूको (तल्सिङहरूको) जग्गाको हदबन्दी तय गर्‍यो भने मोही किसानहरूले कमाइ आएको जमिनमा हक स्थापित गर्‍यो। त्यो ऐनलाई अरु कम्युनिष्टहरूले ‘पञ्चायती शासन सुदृढ बनाउन गरिएको षड्यन्त्र’ भनेर विरोध गरे। तर रोहित र उनको समूहले त्यो लागू गराउन संघर्ष गर्ने निर्णय गर्‍यो।

सन् १९७१ मा धान झार्ने तयारी भक्तपुरका किसान। स्रोतः डग हल, नेपाल फोटो हिस्ट्री प्रोजेक्ट, पिस कर्प्स फोटो हिस्ट्री।

सरकारले ऐन ल्याए पनि व्यवहारमा भूमीसुधार लागू गराउन निकै कठीन थियो। राजा महेन्द्रले भूमिसुधारको घोषणा गरेपछि जग्गाको नापी शुरु भयो। जग्गाको नापी हुँदा मोही लगत राख्नुपर्थ्यो तर तल्सिङहरू त्यसका लागि तयार थिएनन्। रोहित र उनको समूहले मोहीको नाम लेखाउन संघर्ष गर्‍यो। सफाइ अभियान र साँढे धपाउने आन्दोलनबाट बनेको सांगठनिक संरचना यो सामाजिक र आर्थिक रूपान्तरणमा उपयोग भयो (ढकाल र पोखरेल, सन् २०१०, पृ. १८६)। परिणाम, सोझा किसानहरूले कमसेकम मोहीको नाम मात्र भए पनि लेखाउन सफल भए।

नापी फिल्डबुकमा मोही किसानहरूको नाम लेखिए पनि जग्गामा हक कायम गर्न सहज थिएन। तल्सिङसँग तिरो तिरेको भरपाई लिनुपर्थ्यो। तर तल्सिङहरूले बाली लिने भरपाई नदिने गर्न थाले। भरपाई माग्दा तल्सिङले कुट्ने, चोरेको आरोप लगाउने गर्थे। त्यस्ता तल्सिङविरुद्ध किसान कार्यकर्ताहरू स्वयं पुगेर बाली तिरेको भरपाई माग्ने, आफैँले नि:शुल्क भरपाई लेखिदिने, भरपाई नभएकै आधारमा जग्गाबाट निष्काशनको फैसलाविरुद्ध संघर्ष गर्ने गर्नथाले। २०२२ सालदेखि २०२४ सालसम्म चलेको भरपाई आन्दोलनका नेता रोहितका साथै बुद्धिकुमार गोसाई, ज्ञानबहादुर न्याइच्याइ, गोविन्द दुवाललगायत थिए।

आन्दोलन भने त्यहाँ रोकिएन। किसान कार्यकर्ता आएर भरपाई मागिदिने गर्न थालेपछि तल्सिङहरूले बाली नै काट्न नदिने गर्न थाले। किसान कार्यकर्ताहरूले बाली काट्ने आन्दोलन शुरु गरे। जसले बाली लगाउँछ उसैले बाली उठाउन पाउनुपर्छ भन्दै एक्लो, कमजोर तथा असहाय किसानहरूका पक्षमा किसान संगठनबाट नेता तथा कार्यकर्ताहरूको समूहगत निर्णयमा बाली काटी किसानका घरसम्म पुर्‍याइदिने काम गर्नथाले। (बखुन्छे, २०७२ पृ. ७१)

२०२१ सालको मोहियानी हक दिलाउने आन्दोलन, २०२२-२४ सम्मको भरपाई आन्दोलन, २०२७ सम्मको बाली काट्ने आन्दोलन शान्तिपूर्ण थिएनन्। खेतहरू झडपका मैदान बन्थे। किसानहरूलाई सत्ताको आड लिएर तल्सिङहरूले अनेक जाली मुद्दा लगाउँथे। किसानहरू पनि संगठित थिए। दिनभर आन्दोलनका गतिविधिमा सामेल हुन्थे। रातभर सभाहरू गर्थे जसका मुख्य वक्ता हुन्थे, कामरेड रोहित।

रोहित आफैँले ती दिनलाई आँधीबेहरीपूर्ण र सबैभन्दा सक्रिय ठानेका छन्। ती दिनबारे उनको स्मृति यस्तो छ- ‘हरेक दिन र हरेक हप्ता भनेझैं मेरो खाने र सुत्ने ठाउँ फेरिरहन्थ्यो। मेरो त्यो अवधि नै मेरो जीवनको सबैभन्दा सक्रिय बेला थियो। …त्यो जीवन सधैं आँधीबेहरीपूर्ण थियो, प्रहरी र प्रशासनको निम्ति म एक नसुल्झिएको विषय बनें, बुद्धिजीवीहरूका निम्ति एक अध्ययनको विषय र जनताको निम्ति एक आदर्श बनें।’ (का. रोहित, २०६९, पृ.३३)

भूमिसुधार आन्दोलनले दुईओटा परिणाम दियो। एक, मोही किसानहरूको जीवनस्तर ह्वात्तै उकासियो। उनीहरूको सामाजिक र आर्थिक स्तर उकासियो। अर्कोतर्फ रोहित नेतृत्वको समूहले बलियो सांगठनिक स्वरूप पायो। २०२० सालमा गुप्त रूपले किसान कार्यसमिति गठन गर्दै २०२५ सालसम्म बाबुकाजी बासुकलाको अध्यक्षतामा नेपाल क्रान्तिकारी किसान संघ बनिसकेको थियो जबकि रोहित आफैँ पुष्पलाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध थिए। (ढकाल र पोखरेल, सन् २०१०, पृ. १८८; बखुन्छे, २०७२ पृ. ६२)

सारमा, तल्सिङको निगाहमा बाँच्न विवश मोही किसानको सामाजिक स्तर उकास्ने भुमिसुधार आन्दोलनले नेमकिपा स्थापना हुने र सदाबहार विजयी हुने जग हालिदियो।

२. बलियो सांगठनिक संरचना

एउटा पार्टीलाई कुन कुन तत्वले बलियो बनाउँछ ? अमेरिकी राजनीतिशास्त्री स्यामुअल हन्टिङ्गटनका अनुसार दुईओटा क्षमताले। एउटा, आम समर्थनलाई सांगठनिक रूप दिनसक्ने क्षमता। अर्को, सांगठनिक सञ्जालको जटिलता र गहिराई खासगरी मजदुर युनियन वा किसान संगठनजस्ता सामाजिक-आर्थिक संगठनसँगको सम्बन्ध। (हन्टिङ्गटन, सन् २००९, पृ. ४०८-४१०)

समयक्रमसँगै नेमकिपाले कम्तिमा भक्तपुरमा यी दुवै क्षमता विकास गरेको पाइन्छ। रोहित र उनको सानो समूहले शुरु गरेको सफाइ कर्म र साँढे धपाउने आन्दोलनले संगठन निर्माणमा सघायो। माथि उल्लेख गरिएजस्तै किसान संघ नै गठन भयो। भूमीसुधार आन्दोलनले रोहित र उनको समूहको नेतृत्वलाई जनताले विश्वास गरे। त्यति मात्र होइन भक्तपुरका जनताको आँखामा उनी आफैँले उल्लेख गरेजस्तो आदर्श वा क्यारिस्म्याटिक नेता बन्नपुगे। हुन त उनी आफैँ पुष्पलाल नेतृत्वको पार्टीका केन्द्रीय सदस्य थिए तर भक्तपुरका जनतामाझ उनी नै सर्वोच्च नेताको रूपमा क्रमश: उदाउन थाले। त्यसको आधार पक्कै पनि किसान आन्दोलन थियो तर त्यति मात्र थिएन।

रोहित र उनको समूहले भक्तपुरका किसान जनतालाई अन्य राजनीतिक गतिविधिमा सहभागी गराउन थाले। त्यसको एउटा प्रमुख उदाहरण हो, भियतनाममाथि अमेरिकी आक्रमणको विरोधमा २०२३ साल जेठमा आयोजित प्रदर्शन। सम्भवत: त्यो जुलुस भियतनाममाथि अमेरिकी आक्रमणको विरोधमा निस्केको पहिलो जुलुस थियो। ‘२०१७ सालपछि यो नै सायद जिल्लाको पहिलो विरोध प्रदर्शन थियो। …प्रदर्शनकारीहरूमध्ये धेरैजसो किसानहरू थिए’ (श्रेष्ठ, २०७०)। त्यति मात्र होइन २०२५ सालमा नवलपरासीको सुस्तामा भएको अतिक्रमणको विरोधमा पनि भक्तपुरका किसानहरूले प्रदर्शन गरेका थिए (सुवाल, २०७५, पृ. २१)।

स्थानीय किसानहरूको हितका लागि संघर्ष गरेर आर्जन गरेको सामाजिक पूँजीलाई रोहित र उनको समूहले सैद्धान्तिक प्रचार र संगठन निर्माणका लागि प्रयोग गर्‍यो। विद्यार्थी कालदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी रोहित मूलत: माओत्सेतुङको नेतृत्वमा सन् १९४९ मा भएको चिनियाँ कम्युनिष्ट क्रान्तिबाट प्रभावित थिए। त्यसैले उनी सोभियत संघ पक्षधर कम्युनिष्ट नेताहरूको समर्थक भएनन्। तथापि चीन समर्थक पुष्पलालहरूको सिको गर्दै २०१७ लगत्तै प्रवास पनि गएनन्। बरु रात्री कक्षाहरू चलाएर किसानहरूको ‘चेतनास्तर’ उकास्ने काममा लागिरहे।

२०२७ सालमा पुष्पलालले बोलाउन पठाएपछि उनी भारत पुगे। २०३१ सालसम्म केन्द्रीय समितिको सदस्य भई काम गरे। तथापि भक्तपुरमा उनको प्रभाव यथावत रहिरह्यो। २०३१ सालमा प्रवासमै उनले ‘नेपाल मजदुर किसान संगठन’ (०४६ पछि नेमकिपा) स्थापना गरे। नयाँ पार्टी स्थापना गरेपछि रोहितलाई आफ्ना विचार प्रवाह गर्न झनै सजिलो भयो। ‘जनताको साहित्य’, ‘किसान संघर्ष’, ‘दबु’ जस्ता सामयिक संकलन र बुलेटिनहरू मार्फत उनले आफ्ना विचार प्रवाह गरिरहे। त्यस्तै ‘नेपालको कम्युनिष्ट आन्दोलनमा खोटा विचारहरूको खण्डन’, ‘रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ जस्ता पुस्तकमार्फत आफ्ना राजनीतिक विचार अन्य कम्युनिष्ट नेताको भन्दा फरक भएको स्थापित गरिरहे। उनले लेखेको ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ त पार्टीको प्रशिक्षणका लागि पाठ्यसामग्री नै बन्नपुग्यो।

२०२६ सालमा सफाइ अभियानको नेतृत्व गर्दै किसान नेता बुद्धिकुमार गोसाईं (बायाँबाट चौथो)। स्रोतः मजदुर-किसान, वर्ष १, अंक ३।

२०३६ सालमा जनमत संग्रह घोषणासँगै आम माफी दिइएपछि नेपाल फर्किएका रोहितको नेतृत्व र निर्देशनमा अगाडि बढेको नेमकिपाको राजनीतिक गतिविधिले भक्तपुरको टोल-टोलसम्म एकै खालको राजनीतिक ठम्याई राख्ने दस्ता तयार पारेको छ। समाजको पिँधसम्म पुगेको गहिरो संगठन, संगठनमा नियमित राजनीतिक कक्षाहरू, नियमित पार्टी प्रकाशनले एकैखालको चिन्तन गर्ने ठूलो समूह तयार बनाइदिएको छ। वैचारिक एकरूपता निर्माणका क्रममा फरक विचारको अस्वीकारोक्ति र बहसको वातावरण नभएको जस्ता आरोप नेमकिपालाई उठ्ने प्रश्नमध्ये एक हुन्, यद्यपि यो लेखको विषय त्यो होइन।

परिणाम, भक्तपुरमा नेमकिपाप्रति बफादार ठूलो समूह छ चाहे त्यसमध्ये पार्टी सदस्य हुन् वा नहुन्। त्यसले दुईप्रकारको वैचारिकी समानान्तर रूपमा अघि बढाइरहेको छ। एउटा हो, आफ्नो खुट्टामा उभिने भावना। पार्टी प्रशिक्षणहरूमा रोहितले बारम्बार भन्ने गर्छन्, ‘पूँजीवाद ठेक्कापट्टामा टिकेको हुन्छ।’ र, नेमकिपाले आफूलाई पूँजीवादविरोधी पार्टीको रूपमा चिनाउँछ। त्यसैले भक्तपुर नगरपालिकाले फोहोर व्यवस्थापनदेखि सम्पदा संरक्षणसम्म कुनै पनि काम ठेक्कामा गर्ने गरेको छैन। जनसहभागिता उसको मुख्य प्राथमिकता बन्ने गरेको छ। ‘आत्मनिर्भरताको प्रश्न र नेपालको विकास’ शीर्षकको सानो पुस्तिकाका लेखक समेत रहेका रोहितको प्रशिक्षणले भक्तपुरका मेयरदेखि वडा तहसम्म काम गर्ने सबै नेता-कार्यकर्ताहरूमा आफ्नै खुट्टामा उभिने भावना सबल बनाइदिएको छ। त्यसको एक उदाहरण हो, भूकम्पपछि सम्पदा निर्माणका लागि सशर्त सहयोगको अस्विकार। पाँच तले मन्दिर निर्माणमा जनसहभागिता नगरपालिकाको आह्वानको परिणाममात्रै थिएन लामो समयदेखि बनेको वैचारिकीको परिणती पनि थियो।

आफ्नो खुट्टामा उभिने यो अभ्यासमा अर्को वैचारिकीले पनि काम गरेको छ। त्यो हो- राज्य बलियो हुनुपर्छ भन्ने मान्यता। सबैथोक राज्यको मातहत ल्याउनुपर्छ र राज्यमा जनताको पहुँच र सहभागिता बढी हुनुपर्छ भन्ने चिन्तन अनुसरण गरेकाले उसले आफूले जित्ने गरेको स्थानीय तहमा त्यहाँको स्थानीय सरकारलाई बलियो बनाउने गरेको छ। त्यसैले गैर-सरकारी अवयवहरूको कमजोर उपस्थितिले पनि पार्टी सञ्चालित स्थानीय सरकार र स्थानीय जनताबीच सम्बन्ध बलियो बनाइदिएको छ। पार्टीप्रति जनताको बफादारी पनि कायम गरेको छ।

यहाँनेर बिर्सनै नहुने विषय हो, स्थानीय सरकार सञ्चालनमा पार्टीको भूमिका। स्थानीय सरकारमा निर्वाचित प्रतिनिधिहरू कहिल्यै पनि पार्टीको निर्देशनबेगर चल्ने गरेका छैनन्। त्यसैले स्थानीय सरकारले गर्ने हरेक निर्णय पार्टीको निर्णय हो। त्यसैले त हालै निर्वाचित मेयर सुनिल प्रजापतिले आफ्नो उम्मेदवारीलाई पार्टीको निर्णय भनेका थिए

भक्तपुरका जनतामा स्थापित अर्को भावना देशभक्तिको हो। ‘म अन्तर्राष्ट्रवादी हुँ, राष्ट्रवादी होइन’ भन्ने रोहितले शुरुदेखि नै देशको सार्वभौमिकताको विषयमा जनतालाई संगठित गर्ने गरेका छन्। २०५३ सालमा सम्पन्न महाकाली सन्धिविरुद्ध भक्तपुर-काठमाडौं पैदल र्‍याली, त्यो भावनाको प्रतिविम्ब हो। यही भावनाको पछिल्लो उदाहरण हो, अमेरिकी सहयोग परियोजना ‘एमसीसी’विरुद्ध नेमकिपाको प्रदर्शन जसलाई उक्त पार्टीले स्थानीय तह निर्वाचनको एजेण्डा नै बनायो।

वैचारिक एकरूपतामा आधारित बलियो संगठन भक्तपुरमा नेमकिपाको सदावहार विजयको अर्को कारण हो। संगठन, जनप्रतिनिधि, जनपरिचालन र जनसमर्थनबीचको सम्बन्ध हन्टिङ्गटनले भनेजस्तै जटिल र गहिरो छ जसले नेमकिपालाई त्यहाँको बलियो पार्टी बनाएको छ।

३. सामाजिक रूपान्तरणको अगुवा

भक्तपुरमा नेमकिपालाई सदावहार विजयी बनाउने अर्को कारक तत्व हो, सामाजिक रूपान्तरणमा उसको अगुवा भूमिका। भूमिसुधार आन्दोलनबाट किसानलाई आफ्नो खुट्टामा उभिने बनाएको नेमकिपाले आफूलाई केवल आन्दोलनमा सीमित राखेन। भक्तपुरका किसान जनताको स्तर उकास्न सामाजिक रूपान्तरणका कामको नेतृत्व पनि गर्‍यो। त्यो सामाजिक रूपान्तरणका तीन आयाम छन्- सफाइ, शिक्षा र स्वास्थ्य।

यी तीनओटै आयाममा उल्लेखनीय कार्यको शुरुआत भने २०३९ सालबाट शुरु भयो। २०३७ सालमा सम्पन्न जनमत संग्रहमा सुधारिएको पञ्चायतले विजय पाएपछि ‘सुधारिएको पञ्चायतको संविधान’ लागू भयो। सोही संविधानअनुसार २०३९ सालमा सम्पन्न स्थानीय पञ्चायतहरूको निर्वाचनमा नेमकिपाले आफ्ना प्रतिनिधिलाई उम्मेदवार बनायो। किसान नेता ज्ञानबहादुर न्याइच्याईं नगर पञ्चायतका प्रधानपञ्च (मेयर) भए।

नेमकिपाका पुराना कार्यकर्ता रविन्द्र खर्बुजाका अनुसार उनको नेतृत्वमा मूलत: दुईओटा काम भए। पहिलो, निम्न माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क गरियो जबकि सरकारले नै प्राथमिक तहसम्म मात्र नि:शुल्क गरेको थियो। “शिक्षामा प्रत्यक्ष लगानी गर्ने काम त्यतिबेलादेखि नै शुरु भएको हो”, खर्बुजा भन्छन्।

दोस्रो,  सफाइ अभियान शुरु भयो। “टोल-टोलमा बढार्ने, फोहोर व्यवस्थापन गर्ने, घर-घरमा गएर मानिसहरूलाई नङ काट्न सिकाउने, घर-घरमा भएका फोहोर फाल्ने खाडल पुरेर ईट्टा छाप्ने काम भयो”, खर्बुजा भन्छन्।

१० वर्षे प्रवास जीवनपछि भक्तपुरको दत्तात्रेय चोकमा जनताको अभिनन्दन ग्रहण गर्दै नारायणमान बिजुक्छें (रोहित)। स्रोतः मजदुर-किसान वर्ष १, अंक ३।

सफाइ अभियानको अर्को पाटो पनि थियो। त्यो हो- जात संरचनामाथिको प्रहार। नेपालीका अनुसार नेवार जाति (नेसन, राष्ट्र)  अन्तर्गतका जातहरू ६ तहमा बाँडिएका छन्- पुजारी, उच्च, उच्च निम्न, निम्न, अशुद्ध र अछूत। काम पनि त्यसै अनुसार बाँडिएका छन्। पोडे, कुल्लु च्यामे आदि जात भने अछुत र फोहोर सफा गर्ने जात मानिन्थे (नेपाली, सन् १९६५, पृष्ठ १५०)। भक्तपुरमा पनि यिनै जातका मानिसलाई सफाइकर्मममा लगाइएको थियो। २०३९ सालमा नेमकिपाका प्रतिनिधिले जितेपछि भने यो सामाजिक विभाजन कायम रहेन। खुर्बजाका अनुसार २०४२ सालमा गैर-पोडेहरूलाई पनि सफाइ कर्मममा लगाउन थालियो। गैर-पोडे जातका किसानहरूलाई सफाइ कममा लगाउनुको कारण चाहिँ पोडेहरूको आन्दोलन भएको ढकाल र पोखेरलको ठम्याई छ। लेख्छन्- ‘नेमकिपा बाहेकका अन्य राजनीतिक शक्तिहरूको आड पाएका पोडेहरूको माग पूरा गर्न नसकिने थियो। यो समस्या समाधान गर्न भक्तपुर नगरपालिकाले परम्परागत पोडे सफाइकर्मीहरूलाई हटाएर गैर-पोडे नेवारलाई सफाइकर्मीमा भर्ना गर्‍यो’ (ढकाल र पोखरेल, सन् २०१०, पृ. १९२)।

यसरी गैर-पोडे नेवार किसानलाई सफाइ कर्मममा लगाउनु सहज कार्य भने थिएन। यो आफैँमा नेवारहरूको परम्परागत मान्यताप्रति विद्रोह थियो। सफाइ कर्ममा लागेका गैर-पोडेहरूले सामाजिक आलोचना र बहिष्कारसम्म सामना गर्नुपर्ने स्थिति आएपछि पार्टीले उनीहरूको स्वीकारोक्ति बढाउन सांगठनिक प्रयत्न गर्‍यो।

“शुरुमा अलि गाह्रो भएको थियो। सफाइ मजदूरहरूलाई ‘पोडेले नगर्ने काम गर्‍यो, तिमीहरूको जात चल्दैन’ भनेर विरोध पनि भएको थियो”, खर्बुजा भन्छन्, “उनीहरूको स्वीकार्यता बढाउन नाटकहरू देखाउने आदि काम भए।”

तत्कालीन नगर पञ्चायतमा जितेपछि नेमकिपाका प्रतिनिधिहरूले गरेको अर्को महत्त्वपूर्ण काम स्थानीय जनताको चेतनास्तर बढाउन विभिन्न पुस्तक र पत्रिकाको प्रकाशन पनि थियो। भक्तपुर नगर पञ्चायतले ‘पञ्चायत’ मासिक पत्रिका शुरु गर्‍यो। जसमा माओ, गान्धीजस्ता नेताको जीवनीसँगै सफाइ कर्मीहरूको तस्वीर पनि छापिन्थ्यो। कतिसम्म भने पाश्चात्य जगतका चाणक्य भनेर चिनिइने राजनीतिक चिन्तक निकोलो मेकियावलीको चर्चित पुस्तक ‘द प्रिन्स’को नेपाली अनुवाद गराई ‘नरेश’ शीर्षकमा प्रकाशन गर्ने काम पनि भक्तपुर नगर पञ्चायतले गरेको थियो।

२०४३ सालमा भक्तपुर नगर पञ्चायतले प्रकाशन गरेको मेकियावलीको पुस्तक ‘नरेश’ को आवरण र भित्री पृष्ठ।

२०३९ सालमा शुरु भएको शिक्षामा प्रत्यक्ष लगानीको अभ्यासले ठोस आकार भने बहुदलपछि पायो। प्रजातन्त्रको पुन:स्थापनापछि भएको पहिलो स्थानीय निकायको चुनावबाट भक्तपुर नगरपालिकाले संस्कृति संरक्षण र पर्यटनको आर्थिक उपयोग थाल्यो। पर्यटनमार्फत बढेको आम्दानीले उसलाई शिक्षामा लगानी गर्न सक्ने बनायो (अर्को बुँदामा व्याख्या गरिनेछ)। २०५४ मा भएको दोस्रो निर्वाचनबाट भने नगरपालिकाले शिक्षामा प्रत्यक्ष लगानी थाल्यो। हाल नेमकिपाका तर्फबाट प्रतिनिधि सभा सदस्य प्रेम सुवाल मेयरमा निर्वाचित भएका थिए। उनी नेतृत्वको नगर परिषद्ले ३२ असार २०५६ सालमा नगरपालिकाको प्रत्यक्ष लगानी र सञ्चालनमा ‘ख्वप उच्च मावि’ स्थापना गर्ने निर्णय गर्‍यो। सोही निर्णय अनुसार १६ साउन २०५६ सालमा उक्त मावि सञ्चालनमा आयो। त्यसपछि नगरपालिकाको प्रत्यक्ष लगानी र सञ्चालनमा ख्वप नाम भएका अन्य शैक्षिक संस्थाहरू एकपछि अर्को गरी स्थापना भए। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०५७ फागुन १५ गतेदेखि ख्वप कलेज तथा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०५८ असार १८ देखि ख्वप इन्जिनियरिङ्ग कलेज सञ्चालन भयो। (खर्बुजा, २०६८, पृ. १२)

शिक्षामा गरिएको यो लगानीलाई रोहितको नाराले थप ऊर्जा थियो। २१ माघ २०५८ मा उनले भक्तपुरलाइ पहिलो साक्षर जिल्ला बनाउने र नगरपालिकामा ‘एक घर, एक स्नातक’ बनाउने प्रस्ताव राखे जसलाई नाराकै रूपमा स्थापित गरियो। नगरपालिकाले थप दुईओटा शैक्षिक संस्थाहरू स्थापना गर्‍यो। २८ कात्तिक २०६० देखि ‘प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्’बाट सम्बन्धन प्राप्त गरी ‘ख्वप बहुप्राविधिक अध्ययन संस्थान’ सञ्चालनमा आयो। त्यस्तै १२ भदौ २०६५ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धमा ‘ख्वप कलेज अफ इन्जिनियरिङ्ग’ सञ्चालनमा आयो।

अहिले भक्तपुर नगरपालिकाले ख्वप नामका पाँचओटा एवं शारदा कलेज र शारदा मावि गरी सातओटा शैक्षिक संस्था सञ्चालन गरिरहेछ।

शिक्षामा भएको यो लगानीले भक्तपुरका किसानहरूको शैक्षिक स्तर ह्वात्तै बढाइदियो। २०३० को दशकसम्म भक्तपुरका किसानमध्ये एसएलसी उत्तीर्ण हुनेहरू निकै कम थिए। यी शैक्षिक संस्थाहरूको स्थापनापछि किसानहरूले सुपथ मूल्यमा घर-आँगनमै उच्च तहको शिक्षा लिन पाए। अहिले नेमकिपाको मुख्य नारा नै नगरपालिका सञ्चालित ख्वप विश्वविद्यालयको स्थापना बनेको छ। शिक्षामा उसको प्राथमिकता कतिसम्म छ भने, आर्थिक अभावका कारण उच्च शिक्षा लिन समस्या नहोस् भनेर अघिल्लो कार्यकालदेखि नगरपालिकाले शैक्षिक ऋण दिन थालेको छ। त्यस्तै स्थानीय सरकार सञ्चालनमा आएपछि स्थानीय पाठ्यक्रम बनाउनेमध्ये पनि भक्तपुर नगरपालिका पहिलो पंक्तिमै छ।

सामाजिक रूपान्तरणका लागि नेमकिपाले भक्तपुरमा गरेको अर्को महत्त्वपूर्ण काम हो, स्वास्थ्यमा लगानी। समयक्रमसँगै भक्तपुर नगरपालिकाले तीनओटा जनस्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ। त्यस्तै आईसीयु, भेन्टिलेटर सुविधा सहितको ख्वप अस्पताल अघिल्लो कार्यकालदेखि सञ्चालनमा आएको छ। नगरपालिकाले गरेको अर्को मौलिक अभ्यास घरदैलो नर्सिङ सेवा हो।

सामाजिक रूपान्तरणमा खेलेको यी भूमिकाका कारण पनि भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको जरा बलियो बनेको छ।

४. सांस्कृतिक संरक्षणको शक्ति

साहित्यकार जगदिश शमशेर राणाले ‘नाचगानको राजधानी’ संज्ञा दिएको भक्तपुर नगरपालिका पुरातात्विक शहर हो। यहाँका पुरातात्विक सम्पदाले सिंगो नगरलाई धनी बनाएको छ। नेमकिपालाई बलियो बनाउन पनि यही सम्पदाले ठूलो टेवा दिएको छ। नगरमा आफू स्थापित भइरहन र आफ्नो राजनीतिक आजु (लक्ष्य)लाई जनतासम्म पुर्‍याउने उसले भौतिक र सांस्कृतिक दुवैखाले संस्कृतिको उपयोग गरिरहेको छ, संरक्षण, संवर्द्धन र त्यसैबाट आयआर्जन समेत गरेर।

सांस्कृतिक सम्पदा नेमकिपाका लागि एकातर्फ जनतासँग सम्बन्ध कायम राखिराख्ने र नगरपालिकाको आर्थिक स्रोतको माध्यम हो भने अर्कोतर्फ आफ्नो राजनीतिक सन्देश प्रवाहको मञ्च पनि। नेमकिपाले स्थापनापूर्वदेखि नै किसान र उच्च जातकाबीच रहेको परम्परागत सम्बन्ध (मोही-तल्सिङ)को विरोध गरे पनि सांस्कृतिक परम्परालाई भने समर्थन गर्छ जसले किसानहरूबीच अन्तर-जातीय सम्बन्ध बलियो बनाइदिएको छ (गिब्सन, सन् २०१७, पृ. ७६)। त्यतिमात्र होइन, नेमकिपाले स्थानीय परम्परागत प्याँख (नाटक), ख्याल (नाटक)हरूलाई पनि राजनीतिक सन्देश प्रवाहका लागि प्रयोग गर्ने गरेको छ। गाईजात्राको अवसरमा निकालिने गाइचा प्याँख यसको एउटा उदाहरण हो।

‘२०१७ सालपछि भक्तपुरको नाचगानको उद्देश्य विविध भयो। …भियतनाममा अमेरिकी आक्रमणको विरोध, सुस्तामा भारतीय विस्तारवादी हस्तक्षेपको विरोध, देशको समसामयिक परिस्थिति, मूल्यवृद्धिको विरोध, राजनीतिक र मौलिक अधिकारको माग आदि प्रहसन र नृत्यहरूबाट देखाइन थाले’ (बिजुक्छें, सन् २०१५, पृ. २४)

त्यसको अर्को उल्लेखनीय उदाहरण हो, २०३७ सालदेखि हरेक वर्षको बडादशैंको द्वादशी र त्रयोदशीमा सञ्चालन हुँदै आएको ‘नेपाल भाषा साहित्य त: मुंज्या’ (ठूलो सभा)। नेपाल (नेवारी) भाषामा कथा, कविता, नृत्य, नाटक, प्रहसन प्रदर्शन गरिने यो मञ्च जनताद्वारा स्थापित र जनताद्वारा नै सञ्चालित हो। हरेक वर्ष भिन्दाभिन्दै टोल आयोजक हुने यो ठूलो सभाले एकातिर आफ्नो भाषा र परम्परालाई निरन्रता दिइरहेछ भने अर्कोतर्फ किसान जनताको मुद्दा उठाउने र ऐक्यबद्धता कायम राखिरहने माध्यम बनिरहेछ। यसको नारा नै छ- जनता म्वासा, भाषा म्वाई (जनता बाँचे, भाषा बाँच्छ)।

सन् १९६३ मा बिस्का जात्रामा रथ तान्दै जात्रालु। स्रोतः नेपाल फोटो हिस्ट्री प्रोजेक्ट, पिस कर्प्स फोटो हिस्ट्री।

सरकारी संयन्त्रको प्रयोगबाट सांस्कृतिक सम्पदा संरक्षणको ठोस प्रयत्न भने २०४४ सालबाट शुरु  हुन्छ। २०४४ सालमा नगर पञ्चायतमा नेमकिपाका आशाकाजी बासुकला नगर प्रमुख भएपछि पार्टीले सफाइ र शिक्षा सँगसँगै सांस्कृतिक फाँटमा पनि काम थाल्यो। त्यसको शुरुआत थियो, मास्तर जगतसुन्दर मल्ल (वि.सं. १९३९-२००९) को प्रतीमा स्थापना गर्ने प्रयत्न। मातृभाषामा पठनपाठन गर्न पाउनुपर्छ भनेर राणाकालमै नेपाल भाषामा पढ्न, पढाउन लागिपरेका मल्ल नेवार सभ्यता र संस्कृतिका प्रचारकका रूपमा प्रसिद्ध छन्। नेमकिपाका पुराना कार्यकर्ता रविन्द्र खर्बुजाका अनुसार कात्तिक २०४४ मा तत्कालीन आशाकाजी बासुकलाको नेतृत्वमा रहेको तत्कालीन नगर पञ्चायतले मास्टर जगतसुन्दरको प्रतीमा राखिसकेको थियो। अनावरण गर्न तोकिएको मितिको अघिल्लो राति प्रशानसनले त्यो प्रतिमा काटेर लगेपछि स्थापना भने सम्भव भएन। सम्पदा संरक्षणमा नगरपालिकाको पहल भने त्यहीबेलादेखि थालियो। “पुर्खाले दिएको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने नारा त्यतिबेलादेखि नै लागू भएको हो”, खर्बुजा सुनाउँछन्।

बहुदल आएपछि भने सम्पदा संरक्षण र सम्पदाबाट आर्जनले ठोस रूप पायो। २०४९ सालको स्थानीय निकाय निर्वाचनमा पुन: ज्ञानबहादुर न्याइच्याईं मेयर भए। उनको नेतृत्वमो जगतसुन्दर मल्लको शालिक पुन: स्थापनाभयो। उनकै कार्यकालमा पर्यटक सेवा शुल्क उठाउन शुरु गरियो। “ पुरानो युगबाट नयाँ पुस्ताको सेवा गर्ने माओको सिद्धान्त अनुसार १ साउन २०५० बाट पर्यटक सेवा शुल्क उठाउन शुरु गरियो”, खर्बुजा भन्छन्, “त्यही रकमले सम्पदा संरक्षणको काम भयो। नगरपालिकाको आय बढ्दै गएपछि जीर्ण अवस्थामा पुगेको पाँचतले मन्दिर, भैरवनाथ मन्दिर लगायतका संरक्षण गर्ने, सफाइमा टेवा दिने काम भयो।”

पर्यटन सेवा शुल्कले नगरपालिकालाई सडक सफा राख्न र मन्दिर पुनर्निमाण गर्न मद्दत पुर्‍यायो जसले थप पर्यटन भित्र्यायो सँगसँगै आय पनि बढायो। यो आम्दानीले नगरपालिकालाई किसान समुदायको हितमा विभिन्न काम गर्न पनि सघायो। शिक्षामा नगरपालिकाको प्रत्यक्ष लगानीको प्रमुख स्रोत नै यही सम्पदा संरक्षण हो।

सम्पदा संरक्षण नेमकिपाको बिछट्टैको अभ्यास पनि हो। खासगरी कम्युनिष्ट पार्टीहरू परम्पराको संरक्षणमा खासै सक्रिय पाइँदैनन्। ‘ध्वंस बिना निर्माण सम्भव छैन’ भन्ने चिन्तन राख्ने भएकाले पनि कम्युनिष्ट पार्टीहरू पुरानो परम्पराको विरोध गर्छन्। तर नेमकिपाले यसैलाई नै ठूलो आड बनाइरहेछ। त्यसका दुई कारण छन्। पहिलो, पार्टीको शक्ति स्रोत बनेको भक्तपुरको किसान वर्ग त्यहाँको मानवीय सांस्कृतिक सम्पदाको सबैभन्दा ठूलो हिस्सा हो। विभिन्न जात्रा, ख्याल र बाजागाजा ज्यापु समुदायको जीवनकै हिस्सा हो। जबसम्म यो पाटोसँग जोडिँदैन तबसम्म त्यो वर्गसँग जोडिदैन। अर्को, नेमकिपाका चिन्तक, नेता एवं पथप्रदर्शक रोहितमा भक्तपुरको आफ्नो सम्पदाप्रतिको ज्ञान र मोह दुवै बलियो छ। हरिबहादुर श्रेष्ठ नामले साहित्य सिर्जना पनि गर्ने रोहितले आफ्ना पुस्तक ‘सय वर्षपछिको भक्तपुर’, ‘जेलका चिठ्ठीहरू’ लगायतमा आफ्ना पुस्तकमा भक्तपुरको मौलिक सम्पदा र संस्कृतिको गहिरो चर्चा गरेका छन्।

सम्पदा संरक्षणसँग जोडिएको अर्को पाटो हो, जनसहभागिता। माथि उल्लेख गरिएजस्तै कुनै पनि काम ठेक्कामा नदिने, जनसहभागितामा विश्वास गर्ने भएकाले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा स्थानीय जनताको भूमिका प्रबल बनाएको छ। त्यसको उदाहरण हो, भूकम्पका कारण क्षतिग्रस्त सम्पदाहरूको पुन: निर्माण तथा जीर्णोद्वार। अघिल्लो कार्यकालमा भक्तपुर नगरपालिकाले एक सय ३७ओटा सम्पदा पुन: निर्माण तथा जीर्णोद्वार गरेको छ (भक्तपुर नगरपालिका)। जर्मन सरकारले दिएको सहयोग पनि शर्तसहित भएकाले फिर्ता गरी उपभोक्ता समितिमार्फत जनसहभागितामा यी जीर्णोद्वार गरिएको हो

५. शुन्य प्राय: विपक्षी

भक्तपुर नगरपालिकामा नेमकिपालाई बलियो बनाउने अर्को तत्व चाहिँ विपक्षीको शुन्य प्राय: उपस्थिति हो। विपक्षी दलको कति कमजोर उपस्थिति छ भन्ने त स्थानीय तह निर्वाचनमा २० हजार भन्दा बढीको मतान्तरले नै देखाउँछ। आखिर किन कमजोर छन् त नगरपालिकाभित्र विपक्षी शक्ति ?

“किनभने विपक्षीसँग एजेण्डा नै छैन”, नेमकिपाका एक पूर्वकार्यकर्ता भन्छन्, “विरोधी पार्टीसँग यहाँ आएर भन्ने कुरा नै छैन। उनीहरू यो, त्यो बजेट ल्याउँछु मात्र भन्छन्। विकासको कुरा मात्र गर्छन्। त्यो भक्तपुरका जनताको राजनीतिक ईच्छा नै होइन।”

विपक्षी पार्टी कमजोर हुनुको अर्को कारण वैचारिक एकरूपता पनि हो। पार्टी पंक्तिभित्र मात्र नभई आम जनतासम्म निर्माण गरिएको भाष्यले अन्य पार्टीलाई ‘देशविरोधी, भ्रष्ट र पदलोलुप’ देख्छ।

“त्यो स्कुल अफ थटको निकै ठूलो प्रभाव छ। सुस्तादेखि महाकाली सन्धि सबैमा अन्य पार्टीलाई देशविरोधीको रूपमा चिनेको जनताले उसलाई किन भोट हाल्छ त ?”, ती पूर्व कार्यकर्ता भन्छन्।

त्यसो भए के नेमकिपा आगामी दशकहरूसम्मका लागि खतरा वा चुनौतीमुक्त छ त ? त्यसो भनिहाल्न गाह्रो छ। भक्तपुरमा २०२० वा ३० को दशकको नेमकिपा र अहिलेको नेमकिपामा व्यापक फरक छ। हिजोको नेमकिपा आन्दोलनको संवाहक हो भने अहिलेको नेमकिपा संस्थाकरण भइसकेको संरचना। हन्टिङ्गटनका अनुसार पार्टीको विकासमा प्राय: चार चरण हुन्छन्- दलबन्दी (जसमा पुरानो विचार त्यागेर नयाँ विचार राख्नेहरू जोडिन शुरु गर्छन्), ध्रुवीकरण (परम्परागत र नयाँ राजनीतिक शक्तिबीच ध्रुवीकरण), विस्तार (पार्टीको प्रभाव विस्तार) र संस्थाकरण (पार्टी संरचनाको निर्माण) (हन्टिङ्गटन,सन् २००९, पृ. ४१२-४२०)।

नेमकिपाले भक्तपुर नगरभित्र यी चारै चरण पूरा गरिसकेको छ। त्यतिमात्र नभई ऊ स्थानीय सरकार सञ्चालक पनि हो। बलियो राज्य प्रणालीमा विश्वास गर्ने भएकाले स्थानीय स्रोत-साधनमा उसले नियन्त्रण पनि कायम गरेको छ। त्यसैले भक्तपुर नगरपालिकाभित्र हिजोको तल्सिङ-मोही सम्बन्ध भत्किसकेको छ। स्रोत, साधनको उपयोग, वितरण र त्यसमा आम जनताको अपनत्व निर्माणमा पार्टीले खेल्ने भूमिकाले उसको भविष्य निर्धारण गर्छ। पार्टीका नेताहरू जनताका प्रतिनिधि भन्दा बढी नोकरशाही हुँदै गए भने आन्तरिक अन्तरविरोधका बीजहरू हुर्किँदै जानेछन्। यसै पनि नगरपालिका सञ्चालित संस्थाहरू गुनासोमुक्त छैनन्।

“ख्वप शैक्षिक संस्थाहरूमा नगरपालिकाको अतिसाह्रो नियन्त्रण, कम तलब, बढी काम, साप्ताहिक बिदाको पनि कटौती आदिले असन्तुष्टि बढाइरहेछ”, भक्तपुरका एक स्थानीय भन्छन्।

शासन संयन्त्रमा रहेको राजनीतिक शक्ति जति बढी सुन्ने र संवाद गर्ने हुन्छ त्यति उसको दीर्घायु हुन्छ भन्ने त स्थापित सत्य नै हो।

नेमकिपालाई भक्तपुरमा अर्को चुनौती, उसले अघि सार्ने एजेण्डा हो। अब भक्तपुर नगर हिजोको जस्तो किसानहरूको नगर रहेन। भूमीमा स्वामित्व, प्राविधिक शिक्षामा पहुँच आदिले हिजोको किसान वर्ग अब पेशागत अर्थउपार्जनमा आधारित मध्यमवर्ग बनिसकेको छ। “त्यसैले नेमकिपासँग नयाँ आर्थिक आयामतर्फ सोच्नुको विकल्प छैन। उसले उद्यम र आर्थिक आयका क्षेत्रमा बढी ध्यान लगाउनुपर्छ”, ती स्थानीय भन्छन्।

स्थानीय समाजको बहुमत जनताको आवश्यकता र समस्याको पहिचान, त्यसका निवारणका लागि सांगठिनक प्रयत्नले भक्तपुरमा नेमकिपाको जग बलियो बनायो। स्थानीय स्रोत, ज्ञान र संस्कृतिको उपयोगले उसलाई स्थापित गर्‍यो। संस्थाहरूको निर्माण र सञ्चालनले उसलाई परिपक्व र मजबुत बनायो, बनाइरहेछ। तर समयको भेलसँगै आउने नयाँ चुनौतीसँग जुध्न संगठनभित्र बहस र बहसलाई प्राथमिकता, नयाँ नेतृत्वको निर्माण र नयाँ-नयाँ एजेण्डाको पहिचान र प्राप्ती उसको निम्ति आगामी कार्यभार बन्नेछ।


सन्दर्भ सूची

का. रोहित। २०५५ (पहिलो: सन् १९७६)। नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन । भक्तपुर: नेपाल मजदुर किसान पार्टी।

का. रोहित। २०६९ (पहिलो)। जेलका चिठ्ठीहरू (का. नारायणमान बिजुक्छेंका चिठ्ठीहरूको संकलन)। भक्तपुर: नेपाल क्रान्तिकारी सांस्कृतिक संघ, केन्द्रीय समिति।

खर्बुजा, रविन्द्र। २०६८ भदौ-असोज। ख्वप विश्वविद्यालय स्थापनाका लागि हाम्रा प्रयासहरू। युनिभर्सिटी मासिक। भक्तपुर: जन प्रकाशन गृह।

नाम नखुलेको। २०७२ वैशाख। भक्तपुरका जनताको आन्दोलन। जनताको साहित्य, वर्ष ४२, अंक १०। भक्तपुर : नेपाल क्रान्तिकारी सांस्कृतिक संघ, केन्द्रीय समिति।

प्रसाई, नरेन्द्रराज। २०६९। रोहितको आकृति (नारायणमान बिजुक्छें ‘रोहित’को जीवनी)। काठमाडौं: एकता बुक्स डिस्ट्रिब्युटर्स प्रा. लि.।

बखुन्छे, सुरेश। २०७५ माघ। किसान आन्दोलनको एक पाटो : साँढे धपाउने आन्दोलन। ‘द एकेडेमी’, वर्ष १, अंक १। भक्तपुर : नेपाल प्राध्यापक समाज।

बखुन्छे, सुरेश। २०७३। भक्तपुरको किसान आन्दोलनको अर्थ-राजनीतिक विश्लेषण। भक्तपुर: युथ सासाइटी फर सोसियल वेलफेयर।

भक्तपुर नगरपालिका। मिति नखुलेको। सम्पदा पुन: निर्माण तथा जीर्णोद्वार। भक्तपुर: भक्तपुर नगरपालिका

सुवाल, हरिसुन्दर। २०७५ माघ। सार्वभौमिकता रक्षार्थ नेमकिपाको भूमिका। ‘द एकेडेमी’, वर्ष १, अंक १। भक्तपुर : नेपाल प्राध्यापक समाज।

श्रेष्ठ। २०७० जेठ-असार। भक्तपुरमा अमेरिकी आक्रमणविरोधी जुलुस प्रदर्शन हुँदा…। मजदुर-किसान, वर्ष २, अंक ६, पूर्णांक १२। भक्तपुर : नेपाल मजदुर किसान पार्टी, केन्द्रीय प्रकाशन विभाग।

Bijukchhe, Narayan Man (Rohit). 2015. Bhaktapur After a Century (Translated from Nepali by Kiran Maharjan, Shamsher Bahadur Nhuchhen Pradhan and Ian Gibson). Kathmandu: Ekta Books Distributors.

Dhakal, S., & Pokharel, S. 2010. Local Movements, Political Processes and Transformation: A Case Study of Bhaktapur Municipality. Occasional Papers in Sociology and Anthropology, 11, 178-201. Kathmandu: CNAS, TU.

Gibson, Ian. Suffering and Hope : Christianity and Ethics among the Newars of Bhaktapur. Kathmandu: Ekta Books Pvt. Ltd.

Huntignton, Samuel. 2009 (First Ed. 1968). Political Order in Changing Societies. Delhi: Adarsh Books.

Nepali, Gopal Singh. 1965. The Newars: An Ethno-Sociological Study of a Himalayan Community. Bombay: United Asia Publications.


Comment

One thought on “नेमकिपाको सदाबहार किल्ला : यी हुन् जितका पाँच कारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved