हालसम्मको मतगणनाले भन्छ- एमालेले गुमाउँदै छ १०० स्थानीय तह

२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले ६ उपमहानगरपलिकामा विजय हासिल गरेको थियो। यसपटकको निर्वाचनमा हालसम्मको गणनालाई आधार मान्ने हो भने एमाले ३ स्थानमा मात्रै विजय हुने देखिन्छ।

नेपालभ्युज

हालसम्मको मतगणनाले भन्छ- एमालेले गुमाउँदै छ १०० स्थानीय तह

काठमाडौं। स्थानीय तह निर्वाचनमा ६ महानगर र ११ उपमहानगरपालिकामा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तीन उपमहानगरपालिकामा मात्रै अग्र स्थानमा रहेको छ। स्थानीय तह निर्वाचनको मतगणना हुँदै गर्दा ६ महानगरपालिकामा एमाले पछाडि छ भने ११ उपमहानगरपलिकामामध्ये तुलसीपुर, घोराही र कलैया उपमहानगरपालिकामा मात्रै एमाले अग्रस्थानमा छ।

२०७४ को स्थानीय निर्वाचनमा २ महानगरपालिका जितेको एमाले यो पटको स्थानीय तहको निर्वाचनमा महानगरपलिाकामा जित शून्य हुने अवस्थामा पुगेको छ। हालसम्म भएको मतगणनामा एमाले ६ ओटै महानगरपालिकामा पछाडि रहेको छ। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतगणनामा नेतृत्व गर्दा अन्य पाँच महानगरपालिकामा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन्।

यस्तै, २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले ६ उपमहानगरपलिकामा विजय हासिल गरेको थियो। यसपटकको निर्वाचनमा हालसम्मको गणनालाई आधार मान्ने हो भने एमाले ३ स्थानमा मात्रै विजय हुने देखिन्छ।

२०७४ को तुलनामा एमालेलाई यो स्थानीय तहको निर्वाचनमा असर पुग्ने देखिँदा कांग्रेसलाई भने फाइदा पुग्ने देखिन्छ। हालसम्म प्राप्त गरेका मतगणनालाई आधार मान्दा कम्युनिष्ट पार्टीबीच भएको फुट र गठबन्धनको सिधा फाइदा कांग्रेसलाई पुग्ने देखिन्छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले २९४ स्थानीय तहको प्रमुख पदमा विजयी हासिल गरेको थियो। यस्तै कांग्रेसले २६६ स्थानीय तहको प्रमुख पदमा विजयी हासिल गरेको थियो। नेकपा (माओवादी केन्द्र)ले १०६ स्थानीय तहको प्रमुख पदमा विजयी हासिल गरेको थियो।

अघिल्लो स्थानीय तहको निर्वाचनलाई आधार मान्दा र अहिले भइरहेको मत गणनाको रुझान हेर्दा यो पटकको स्थानीय तहमा कांग्रेसलाई फाइदा पुग्ने देखिन्छ। आफूसँगै अन्य चार सत्तारुढ दलसँग निर्वाचनमा गठबन्धन गरेको कांग्रेसले अघिल्लो स्थानीय तहको निर्वाचनको तुलनामा कम्तिमा ५० स्थानीय तहको प्रमुख पद जित्ने अहिलेसम्मको आकडाले देखाउँछ। भने, माओवादी केन्द्रले अघिल्लो स्थानीय तहको भन्दा यो पटक केही स्थानीय तहको प्रमुख पदको संख्या बढाउँदैछ।

सत्तारुढ दलबीचको गठबन्धनको असर एमालेमा स्पष्ट देख्न सकिन्छ। निर्वाचनअघि पाँच दलीय गठबन्धनले आफ्नो पार्टीलाई कुनै असर नगर्ने एमाले नेताहरुको दाबी दाबीमै सीमित हुने देखिदैछ। अहिल्लो स्थानीय निर्वाचनभन्दा यो पटक एमालेले १०० भन्दा बढी स्थानीय तहको प्रमुख पद गुमाउने देखिन्छ। हालसम्मको मत गणनामा एक सय २७ स्थानीय तहमा विजयी भएको एमाले ६७ स्थानमा अग्र स्थानमा रहेको छ।

अग्रस्थानमा रहेका मध्ये सबै स्थानमा एमाले विजयी भएको अवस्थामा उसले १९४ स्थानीय तहमा मात्रै नेतृत्व गर्ने अवसर प्राप्त गर्नेछ, जुन अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा १०० स्थानीय तह कम हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved