कर्णाली अपडेट : दोहोरिएका अनुहारलाई मतदाताले पत्याएनन्

कर्णालीका नतिजा आएका सबैजसो स्थानीय तहमा नागरिकहरुले नयाँ अनुहारलाई नेतृत्वमा ल्याएका छन्।

कर्णाली अपडेट : दोहोरिएका अनुहारलाई मतदाताले पत्याएनन्

सुर्खेत। कर्णालीका नागरिकले दोहोरिएका अनुहारलाई स्थानीय तहको निर्वाचनमा पराजित गराएका छन्। २०७४ सालको निर्वाचनमा पालिका जितेका अनुहारलाई नागरिकहरुले कम विश्वास गरेका हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सुर्खेतको बराहताल गाउँपालिका अध्यक्षमा विजयी भएका तेजबहादुर बस्नेत वडामा नै पराजित भएका छन्।

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष जितेका डम्बरबहादुर शाहीलाई उनीविरुद्ध बागी उम्मेदवारी दिएका मोहनबहादुर केसीले पराजित गरे।

कालिकोटकै नरहरिनाथ गाउँपालिकामा अध्यक्षका उम्मेदवार भएका धीरबहादुर बिष्ट पराजय नजिक छन्। उनको ठाउँमा कांग्रेसका नगेन्द्र बिष्टको विजयी हुने सम्भावना बलियो रहेको छ।

एमालेबाट २०७४ सालको निर्वाचनमा कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख जितेका जसीप्रसाद पाण्डेलाई एकीकृत समाजवादीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवार बनेका कमलबहादुर शाहीले पराजित गरेका छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस दैलेखका चार ओटा पालिकामा विजयी भएको थियो। यसपटक पुराना अनुहार दोहोर्‍याउँदा तीन ओटा पालिकामा पराजय भोगेको छ।

सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा २०७४ सालको निर्वाचनमा विजयी भएका एमालेका गोविन्द पुन यसपालीको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर बुढाथोकीभन्दा झण्डै दोब्बर मतले पछाडि छन्। उनी पराजय नजिक पुगेका छन्।

दैलेखको गुराँस गाउँपालिकामा नेपाली कांग्रेसका खेमराज वलीले हार व्यहोरेका छन्। त्यहाँ एमाले विजयी भएको छ। डुंगेश्वर गाउँपालिकामा नगेन्द्रबहादुर मल्ल र नौमुले गाउँपालिकामा भदे बुढा पनि पराजित भएका छन्।

कर्णालीका नतिजा आएका सबै स्थानीय तहमा नागरिकहरुले नयाँ अनुहारलाई नेतृत्वमा ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved