बुद्ध जयन्ती विशेष : कथा

बुद्धलाई हुर्काउने आदर्श विमाता

जो सिद्धार्थ गौतमकी आमा मायादेवीको निधनपछि उनको आमा बनिन्; जो बुद्धको शिष्य बनिन् र सिंगो जीवन संघमा बिताइन्, उनै आदर्श आमाको कथा।

बुद्धलाई हुर्काउने आदर्श विमाता

“…पच्छिमे च भवे दाजि जाता देवदह पुरे।
पिता अञ्जन सक्को मे, माता मम सुलक्खणा
ततो कपिलवत्थुस्मिं, सुद्धोदनघरं गता।।”

(…यस अन्तिम जन्ममा हामी सबै देवदह नामक पुरमा जन्मियौं। मेरा पिता अञ्जन शाक्य हुनुहुन्छ र माता सुलक्षणा। त्यसपछि म कपिलवस्तुमा शुद्धोदनको घर गएँ।)

कपिलवस्तुको पूर्वमा बग्ने रोहिणी नदीको पूर्वपट्टि पनि शाक्यहरू बस्दथे देवदह नामक निगम (उपनगर)मा। निगमको नाम देवदह किन राखियो भन्ने बारे हामीलाई यस्तो बताइन्छ- ‘देव’ राजालाई भनिन्छ र ‘दह’ जलाशय वा पुष्करिणीलाई। राजाहरूको आमोद–प्रमोद–विहारका लागि बनाइएको त्यस पुष्करिणीलाई देवदह भनियो र कालान्तरमा त्यस पुष्करिणीको वरिपरिका क्षेत्रलाई पनि देवदह भन्न थालियो। त्यस निगमका अधिपति थिए अञ्जन शाक्य। तिनकी रानीको नाम सुलक्षणा थियो। तिनी यथा नामे तथा गुणे नारीरत्न थिइन्। तिनकै कुक्षिबाट बुद्ध जन्माउने महामाया र आफ्नो दूध खुवाएर उहाँलाई हुर्काउने महाप्रजापती जन्मिएका थिए।

न्वारान गर्ने दिनमा ज्योतिषीहरूले कान्छी छोरीको शरीरका लक्षण देखेर भविष्यवाणी गरेका थिए कि यदि यिनले कन्या जन्माइन् भने तिनी कुनै चक्रवर्ती सम्राटकी अग्रमहिषी हुनेछिन् र छोरा जन्माए तिनी चक्रवर्ती सम्राट् हुनेछन्। यिनी धेरैजनाकी अगुवा हुनेछिन्। यसकारण यिनको नाम महाप्रजापती राखे बेस होला।

ज्योतिषीहरूले सुझाएका त्यस्तो नाम मातापितालाई पनि मन परेकाले नवजात कन्याको नाम महाप्रजापती (संस्कृत महाप्रजावती- धेरै सन्तानवली) नै राखियो। गौतम तिनको कुलगोत्र हो।

अञ्जन र सुलक्षणाले आफ्ना पुत्रीहरूलाई युग–सुहाउँदो शिक्षण–प्रशिक्षण दिन–दिलाउन कुनै कसर बाँकी राखेनन्। राम्ररी पोषित पालित–संस्कृत ती राजकुमारीहरू युवावस्थामा पुग्दानपुग्दा आसपासका क्षेत्रका सुन्दरीहरूमा परिगणित हुनथाले। तिनीहरूका गुण र लावण्य–चर्चा कपिलवस्तुमा पनि पुग्यो र त्यहाँका राजा शुद्धोदनले आफ्ना पुरोहितद्वारा बिहेको प्रस्ताव पठाए।

आफ्नो जातीय शुद्धताउपर गर्व गर्ने शाक्यहरू सकभर अन्य जातिसँग वैवाहिक सम्बन्ध जोड्दैनथे तिनताका। एउटा वरेण्य शाक्यले बिहेका लागि छोरीहरू मागेको कुरा सुनेर अञ्जन–सुलक्षणा निकै हर्षित भए र आफ्ना ज्योतिषीहरूसँग सल्लाह गरे। दुवैतिरका ज्योतिषीहरूले पनि मुण्टो जोरे। कपिलवस्तुका ज्योतिषीहरूले माने कि दुवै राजकुमारीहरू शुभ लक्षणयुक्त छन् र यिनलाई प्रसिद्ध पुत्र–पुत्रीहरूकी आमा हुने गौरव प्राप्त हुनेछ।

आफ्ना ज्योतिषीहरूबाट राम्रा कुरा थाहा पाएपछि राजा शुद्धोदनले बडा धूमधामसाथ ती दुवै राजकुमारीहरू- महामाया र महाप्रजापतीसँग बिहे गरे।

महामाया र महाप्रजापतीसँग बिहे गरेर राजा शुद्धोदन निकै सन्तुष्ट र प्रसन्न थिए। बिहे गरेको दुईचार वर्ष त तिनले मोज–मस्तीमा बिताइदिए तर समय बित्दै जाँदा तिनलाई सन्तान जन्माउन नसकेकाले चिन्ता हुन थाल्यो। तिनले निकै पूजापाठ गराए, यज्ञ गराए, दान–दक्षिणा दिए तर काम लागेन। अन्ततः हार खाएर, “प्रभु इच्छा बलीयसी” भन्दै सन्तोष गरी बस्ने प्रयास गरे। रानीहरूको दुःखबारे सोचेर दुखी हुने फुर्सद कसलाई थियो ! कोही खुलेर नबोले पनि दुर्भगा (बन्ध्या) महिलाको कदर कतै हुँदैन। प्रजा पनि अपवाद त थिएनन्।

माइतीघर देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनीको शालवनमा पुग्दा प्रसवपीडा शुरू भएपछि परिचारिकाहरूले रानीलाई एउटा शालवृक्षमुनि लगेर तिनको वरिपरी कपडाको पर्खाल (कनात) बनाइदिए।

बिहे भएको लगभग बीस वर्षपछि, एकदिन, महाप्रजापती गौतमीले पतिलाई आफू गर्भवती भएको कुरा बताइन्। राजाले थाहा पाएपछि सारा रनिवासले थाहा पायो र क्रमशः कपिलवस्तुवासीहरूले पनि थाहा पाए। राजा प्रसन्न ! कान्छी रानी प्रसन्न ! प्रजा प्रसन्न तर जेठी रानी ! तिनी पनि प्रसन्नजस्तै देखिन्थिन्। जे होस्, समय आएपछि महाप्रजापतीले एउटी कन्या जन्माइन्। तिनी जन्मिएपछि सारा प्रासाद आनन्दमग्न भएकोले तिनको नाम नन्दा (आन्ददायिनी) राखियो।

बहिनी महाप्रजापतिले छोरी पाएको केही मासपछि दिदी महामाया पनि गर्भवती भइन्। त्यस्तो समाचार सुनेर सबै गदगद् भए। एक–दुई दिनपछि महाप्रजापती फेरि गर्भिणी भएको समाचार आयो र चारैतिर आनन्दै–आनन्दको वर्षा हुन थाल्यो।

सन्तान–सुख पाउने दिन नजिक आउन लाग्दा महामायाले माइत जान चाहिन्। राजाले तामझामसाथ तिनलाई बिदा दिए। माइतीघर देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनीको शालवनमा पुग्दा प्रसवपीडा शुरू भएपछि परिचारिकाहरूले रानीलाई एउटा शालवृक्षमुनि लगेर तिनको वरिपरी कपडाको पर्खाल (कनात) बनाइदिए। महामायाले रूखको एउटा शाखा समातेर बल लगाइन्। छोरो जन्मियो। त्यस सद्यःजात शिशुले सात पाइला हिंडेर ब्रह्मस्वरमा भन्यो-

“जरा-मरणको नाशक श्रेष्ठ वैद्यजस्तो म उत्पन्न भएको छु।
म लोकमा ज्येष्ठतम हुँ, सर्वलोक–श्रेष्ठ हुँ, म उत्तम नेता हुँ।
यो मेरो अन्तिम जन्म हो-
यदा सप्तपदां गत्वा ब्रह्मस्वरमुदाहरि।
जरामरणविघातो भिषग्वर इवोदगतः।।
ज्येष्ठोऽहं सर्वलोकस्य श्रेष्ठो लोक विनायकः
इवं च जातिर्मम पश्चिमा (ति)।।”
त्यति भनेर त्यो शिशु मुस्कुरायो।

वैशाख पूर्णिमाको त्यो दिन, त्यस्तो शिशु पाउँदा, आफै धन्य भयो !

नवजात शिशुका साथ महामाया कपिलवस्तु फर्किन्। पाँचौं दिन त्यस शिशुको नाम सिद्धार्थ राखियो। छोरा जन्माएको एक सातापछि महामाया दिवंगत भइन्। शुद्धोदनले कान्छी रानी महाप्रजापतीलाई महिषी–पदमा प्रतिष्ठित गरिदिए। पटरानी–पद प्राप्त गरेको केही दिनपछि महाप्रजापती गौतमीले पुत्र–लाभ गरिन्। अर्का राजकुमार जन्मिएकाले सारा कपिलवस्तु आनन्दविभोर भएकोले त्यस शिशुको नाम नन्द (आनन्ददायक) राखियो। छोरा जन्माएपछि महाप्रजापती गौतमीले यस्तो काम गरिन् जो सामान्य विमाताले गर्ने कल्पना पनि गर्न सकिंदैन। तिनले आफ्ना सद्यःजात पुत्र नन्दको खानपान र स्याहार–सुसारको जिम्मा धात्रीहरूलाई दिएर, दिवंगता दिदीका छोरा सिद्धार्थको लालन–पालनको जिम्मा स्वयं लिइन्। तिनको दूध, नन्दले होइन, सिद्धार्थले खाने भए।

सोह्र वर्ष पुगेपछि सिद्धार्थको बिहे यशोधरासँग भयो। महाप्रजापती गौतमी प्रसन्न भइन्। उनन्तीस वर्षका हुँदा सिद्धार्थले छोरा पाए- राहुल। महाप्रजापती प्रसन्न भइन्। त्यसपछि लगत्तै सिद्धार्थले गृहत्याग गरे। महाप्रजापती गौतमी अरूभन्दा धेरै दुखी भइन् किनकि तिनले सिद्धार्थलाई आफ्ना सन्तानहरूभन्दा धेरै माया गरेकी थिइन्।

छोरा जन्माएपछि महाप्रजापती गौतमीले यस्तो काम गरिन् जो सामान्य विमाताले गर्ने कल्पना पनि गर्न सकिंदैन। तिनले आफ्ना सद्यःजात पुत्र नन्दको खानपान र स्याहारसुसारको जिम्मा धात्रीहरूलाई दिएर, दिवंगता दिदीका छोरा सिद्धार्थको लालन–पालनको जिम्मा स्वयं लिइन्। तिनको दूध, नन्दले होइन, सिद्धार्थले खाने भए।

घर छोडेको सात वर्षको अन्त्यतिर सिद्धार्थ गौतम, बुद्ध भईकन कपिलवस्तु आउनुहुँदा पिता–विमाताले उहाँको प्रथम दर्शन पाएका थिए। न्यग्रोध नामक शाक्यको उद्यानमा बस्नुभएका बुद्ध, अर्को दिन भिक्षाचारका लागि निस्कनुभयो। त्यस्तो समाचार पाएपछि राजा शुद्धोदनले बुद्धलाई आफ्नो प्रासादमा लगे। प्रासादको झ्यालमा बसेकी महाप्रजापती गौतमीले बुद्धलाई देखेर सोच्न थालिन्- “छोरा कति राम्रा भएछन् ! यिनी यहाँ रहन्जेल मैले गर्नुपर्ने कर्तव्य गरेकै थिएँ, यहाँसम्म कि पान–सुपारी पनि आफ्नै हातले दिन्थें। अब यिनी ज्ञानी (बुद्ध) भइसके रे ! अब यिनलाई के दिए बेस होला ! अब त यिनलाई कुनै वस्तुको आवश्यकता नै छैन। भिक्षापात्र हातमा नै छ, त्यो चाहिएन। बरू एक जोर लुगा दिए बेस होला। लुगा त लुगा तर, कस्तो लुगा ! सामान्य लुगा त पण्यशालाबाट किनेर ल्याए पनि हुन्छ। त्यस्तो लुगा त जो कोहीले पनि दिन सक्छ। म छोरालाई आफ्नै हातले बुनेको कपडा दिनेछु।”

भलाकुसारी भोजन गुनासा- व्यथाका कुरा भएपछि बुद्धले महाप्रजापती गौतमीको उपस्थितिमा शुद्धोदनसँग भन्नुभयो- “महाराज ! उठ्नुहोस्, प्रमाद नगर्नुहोस्, सुचरित धर्माचरण गर्नुहोस्। धर्माचारी पुरूष यस लोकमा र परलोकमा, दुवै ठाउँमा सुखपुर्वक बस्दछ…।”

गाथाद्वारा त्यस्तो उपदेश दिएर तथागतले पिता शुद्धोदनलाई सकृदागामी र विमाता महाप्रजापती गौतमीलाई स्रोतापत्तिफलमा प्रतिष्ठित गराउनुभयो। उपदेश दिएर तथागत न्यग्रोधाराम फर्कनुभयो। महाप्रजापती गौतमीले तुरून्तै बजारबाट राम्रो कपास मगाइन् र त्यसबाट आफै सूत कातेर, प्रासादमै तान राखेर कहिले आफूले बुनेर त कहिले तन्तुकारद्वारा तुन्न लगाएर राम्रो कपडा तयार पारिन् र त्यसलाई सुगन्धित पानीमा भिजाएर सुगन्धित पारिन्। त्यसरी कपडा तयार भएपछि महाप्रजापती गौतमीले राजासँग् बिन्ती गरिन्- “आर्य ! मेरो ज्ञानी पुत्रलाई म यो चीवर दिन चाहन्छु।”

“हुन्छ महारानी ! सारथी र आरक्षी खटाइदिन्छु, जाऊ !”

न्यग्रोधाराम पुगेर तिनी तथागत बसेको ठाउँमा पुगिन् र अभिवादन गरेर एकातिर बसिन्। तथागतले तिनीतिर हेर्दा तिनले- “भन्ते ! यो एक जोर कपडा आफै धागो कातेर, मैले नै तानमा बुनेकी हुँ। कृपया यो स्वीकार गर्नुहोस्।”

“गौतमी ! राम्रो काम गर्‍यौ। यो कपडा संघलाई देऊ। संघलाई दिए म पनि पूजित हुन्छु र संघ पनि।”

महाप्रजापतीले तीन-तीनपटक कपडा स्वीकार गर्न भनिन्। तथागतको उत्तर तीनै पटक त्यस्तै रह्यो। तथागतको आदेश मान्दै गौतमीले त्यो स्वनिर्मित वस्त्र संघलाई दान दिइन् र प्रासादतिर लागिन्। केही दिनको बसाइमा तथागतले गौतमीका पुत्र नन्द र आफ्नै पुत्र राहुललाई काषायवस्त्रधारी बनाइदिनुभयो। राजगृह फर्कने क्रममा मल्लराज्यको अनूपियाको आम्रवनमा गई बस्नुभयो। त्यताको बसाइमा उहाँले आनन्द आदि ६ राजपुत्र र उपालि नामक नापितलाई पनि प्रव्रजित गरिदिनुभयो।

सिद्धार्थले काषाय वस्त्र धारण गरे पनि मन बुझाउनका लागि छोरी-छोरा नन्दा-नन्द र नाति राहुल थिए कपिलवस्तुमा। बुद्धत्व प्राप्ति-पश्चात् उहाँले नन्द र राहुललाई प्रव्रजित गरिदिंदा शुद्धोदन र महाप्रजापती त भग्नहृदय भए नै, बिहेका लागि तयार भएर बसेकी नन्दा र एकमात्र पुत्र गुमाएकी यशोधराको कस्तो हाल भयो होला !

प्रौढावस्थामा पाएका छोराहरू गुमाउनुपर्दा शुद्धोदन सुर्ताले अस्वस्थ हुन थाले। तिनी बिरामी भएको समाचार सुनेर वैशालीमा बस्नुभएका तथागत केही श्रावकहरूका साथ कपिलवस्तु पुग्नुभयो र केही दिन बसेर धर्मोपदेश दिनुभयो। शुद्धोदनको देहावसान भएपछि तथागत फर्केर फेरि वैशाली जानुभयो।

छोरा र नाति गुमाएर दुखी भएकी महाप्रजापती गौतमी पतिको मृत्युपछि एकदमै अनाथ भइन्। तिनको मन सांसारिकताबाट उचाट हुन थाल्यो र तिनले पनि प्रव्रज्या लिने विचार गरिरहेकै अवस्थामा कुनै बहुश्रुत-बहुपठित ज्ञानीले तिनका कानमा यस्ता कुरा पारी त दिए-

नग्गा नदी अनुदका, नग्गंरट्ठं अराजिका।
इत्थीपि विधवा नग्गा यस्सापि दस भातरो।।

(पानी नभएको नदीजस्तै राजा नभएको राष्ट्र नांगो हुन्छ। विधवा स्त्री पनि नांगी नै हो, भलै त्यसका दजना दाजुभाइ किन नहोऊन्।)

धजो रथस्स पञ्ञानं,
धूमो पञ्ञामग्गीनो।
राजा रट्ठस्स पञ्ञाणं
भत्ता पञ्ञाणमित्थिथा।।

(रथका चिह्न झण्डा हो, आगोको चिह्न धूवाँ हो, राष्ट्रको चिह्न राजा हो र स्त्रीको चिह्न पति हो।)

यस्ता कुरा सुनेपछि महाप्रजापतीलाई प्रासादमा बशीरहन मनै लागेन र तिनले पनि प्रव्रज्या लिने अठोट गरिन् र तथागत वैशालीतिर लाग्नुअगावै उहाँसामु पुगेर प्रव्रजित हुने अभीप्सा प्रकट गरिन्। तर बुद्ध नारीजातिलाई मुण्डी देख्न चाहनुहुन्थेन। त्यसकारण उहाँ मान्नुभएन। महाप्रजापतीले तीन–तीनपटक अनुरोध गर्दा पनि बुद्ध नमानेपछि तिनी अत्यन्त दुखी भएर प्रासाद फर्किन्।

तथागत वैशालीतिर लागेपछि महाप्रजापती गौतमीले नापित बोलाउन लगाएर आफ्नो मुण्डन गराइन् र काषायवस्त धारण गरिन्। तिनकै देखासिकी गरी पति-परित्यक्ता (अर्थात् जसका पति बुद्धानुगामी– गृहत्यागी भइसकेका थिए) पाँचसय महिलाहरूले पनि केश मुडाएर काषायवस्त्र धारण गरे। त्यसपछि ती पाँचसय मुडुलीहरूकी अगुवा गौतमीले राजकाज हेर्ने मानिसहरूलाई आफूहरू वैशाली जाने कुरा बताइन्। तिनीहरूले उनको यात्रा सुखद हुने व्यवस्था गरिदिए तर गौतमी लगायत ती महिलाहरूले रथ-शकट आदिमा यात्रा नगरी पैदल हिंड्ने निश्चय व्यक्त गरे।

कपिलवस्तुदेखि वैशाली (भारत, बिहार, मुजफ्फरपुर जिल्लाको वर्तमान वसाढ नामक गाउँ)को दूरी एकाउन्न योजन बताइएको छ। त्यत्रो लामो दूरी, सुख–सुविधामा बसेकी ८० वर्षकी विधवा र तिनका सहयात्रीहरूले कसरी तय गरे होलान् त्यस युगमा ! संवेदना भएका मानिसले सोच्ने कुरा हो। तिनीहरूको खानपान र सुरक्षाको व्यवस्था कपिलवस्तुले गरिदिएको भए पनि मौसमको मार र पदयात्राको पीडा त ती मुडुलीहरूले नै सहनुपरेको थियो। जे होस्, तिनीहरू तथागत बस्नुभएको ठाउँ–वैशालीको महावन्–स्थित कूटागारशालामा पुग्दा तिनीहरूका शरीर धूलि–धूसरित, खुट्टा सुन्निएका र आँखा अश्रुपूरित थिए। तिनीहरूलाई त्यस्तो अवस्थामा गन्धकुटीको ढोका–बाहिर उभिएका देखेर सबैलाई आनन्दित पार्ने श्रमण आनन्दले सोधे- “गौतमी ! तपार्इं यस्तो अवस्थामा यहाँ किन उभिनुभएको ?”

महाप्रजापतीले दुखेसो पोखिन्- “भन्ते आनन्द ! भगवान् हामी नारी जातिलाई प्रव्रज्या दिन मान्नुहुन्न। हामी आफूखुसी मुडुली भई, काषाय वस्त्र धारण गरी, कपिलवस्तुदेखि यहाँ वैशालीसम्म हिंडेरै आएका हौं। भगवानप्रति अगाध श्रद्धा छ हाम्रो। लौ न ! कुनै उपाय गरी हाम्रो दुःख–हरण गरिदिनुहोस्।”

“शान्त हुनुहोस् गौतमी ! म प्रयास गरूँला। म नफर्कुञ्जेल तपाईंहरू यहीं उभिइरहनुहोला” भन्दै आनन्द कोठाभित्र पसे र तथागतलाई प्रणाम गरी एकातिर बसे। तथागतका आँखामा जिज्ञासाका भाव देखेर तिनले भने- “भगवन् ! नारीजातिलाई पनि प्रव्रज्या लिने अनुमति दिए बेस हुन्थ्यो।”

तथागतको उत्तर थियो- “आनन्द ! यस्ता कुरामा तिमीले चासो नलिए बेस।”

आनन्दले तीन-तीन पटक अनुरोध गर्दा पनि तथागत नमानेपछि तिनले उहाँलाई घेर्ने उपाय सोचेर सोधे- “भन्ते ! के गृहत्याग गरी तथागतको धर्ममा प्रव्रजित हुने नारीले स्रोतापन्न, सकृदागामी, अनागामी र अर्हत्त्व प्राप्त गर्न सक्छन् ?”

“सक्छन्” तथागतको छोटो उत्तर थियो।

“भन्ते ! यदि त्यसो हो भने तपाईंकी सानी आमा महाप्रजापती गौतमी तपाईंकी बहूपकारी हुनुहुन्छ। तपाईंकी जन्मदात्री आमाको देहावसानपछि तपाईंलाई पाल्ने-पोस्ने र आफ्नो दुधमुखे छोरा धात्रीहरूलाई सुम्पेर तपाईंलाई आफ्नो दूध खुवाउने गौतमी बाहिर उभिनुभएको छ।उहाँलाई प्रव्रज्या लिने अनुमति दिए बेस होला।”

आनन्दका त्यस्ता कुरा सुनेर तथागतले मुस्कुराउँदै भन्नुभयो- “आनन्द ! तिमी वाग्मी छौ। मलाई घेरिहाल्यौ। गौतमीले आठ गुरूधर्म स्वीकार गरिन् भने तिनले प्रव्रज्या पाउनेछिन्।”

“भगवन् ! ती आठ गुरूधर्म के हुन् ?”

“आनन्द ! सयवर्षपहिले उपसम्पदा पाएकी भिक्षुणीले भर्खरै प्रव्रज्या पाएका भिक्षुलाई सम्मान दिनुपर्नेछ।”

“भगवन् ! यो त पहिलो शर्त भयो। शेष शर्तहरू पनि बताइदिनुहोस्।”

“भिक्षुहरूको आवास नजिकै छैन भने त्यस्ता ठाउँमा भिक्षुणीहरूले वर्षावास गर्नुहुँदैन। प्रत्येक मासको आधा समय अर्थात् १५-१६ दिन ज्ञानार्जनका लागि खर्चिनुपर्ला…भिक्षुणीले कुनै अवस्थामा पनि भिक्षुप्रति आक्रोश पोख्न पाउनेछैन। भिक्षुणीले भिक्षुको गुरू हुने प्रयास गर्न हुन्न। गौतमीले यी आठ शर्त मान्दछिन् भने यही तिनको उपसम्पदा होस्।”

आफ्नो उद्देश्यमा सफल भएका आनन्द मुस्कुराउँदै बाहिर आए। तिनको उज्यालो मुख देखेर महाप्रजापतीमा आशा पल्लवित हुन थाल्यो। गौतमीका आँखामा जिज्ञासाका भाव देखेर आनन्दले भने- “गौतमी ! भगवान्ले आठ शर्त राख्नुभएको छ। मान्न तयार छौ भने तिमी अहिलेदेखि नै प्रव्रज्या पाएकी मानिनेछौ।”

“भन्ते ! प्रव्रज्या पाउनका लागि म भगवान्का आठ होइन साठ शर्त पनि मान्न तयार छु। मैले कष्ट–हरण गर्नुभयो, आभारी छु। भन्ते ! जसरी नुहाएको व्यक्तिले कमलको माला, जूहीको माला अथवा मोतीको माला पायो भने त्यसले जसरी आफ्नो शीर निहुराई, त्यसलाई धारण गर्दछ, त्यस्तै गरी म पनि ती गुरू धर्महरूको पालना गर्नेछु।”

गौतमीका त्यस्ता कुरा सुनेर आनन्दित भएका आनन्दले तथागतलाई गौतमीको स्वीकारोक्तिबारे बताउँदै भने- “भन्ते ! अब तपाईंकी विमाता उपसम्पन्न हुनुभयो।”

एकदिन गौतमीले तथागतसँग सोधिन्- “भन्ते ! मसँग कपिलवस्तुबाट पाँचसय शाक्यपुत्रीहरू आएका छन्। मैले त तपाईंको कृपा–प्रसाद–स्वरुप उपसम्पदा पाएँ तर, ती दुखियाहरू त त्यसै बसेका छन्। तिनीहरूसँग म कस्तो व्यवहार गरूँ ?”

भगवान्ले भिक्षुहरूलाई एकत्र गराएर भन्नुभयो- “आयुष्मान्हरू ! अबदेखि भिक्षुहरूले भिक्षुणीहरूलाई प्रव्रजित गर्ने अनुमति दिन्छु।”

भगवान्को आदेश पाएपछि भिक्षुहरूले भिक्षुणीहरूलाई विधिवत् उपसम्पन्न गरे। त्यसरी उपसम्पन्न भएका भिक्षुणीहरूले केही समयपछि महाप्रजापती गौतमीसँग भने- “आर्या ! तपाईं उपसम्पन्ना हुनुहुन्छ भने हामीहरू विधिवत् उपसम्पन्ना भएका हौं।”

आफ्ना सँगिनीहरूको त्यस्तो भनाइ सुनेर गौतमी निकै दुःखी भइन्। तिनले नवउपसम्पन्नाहरूको कुरा जसकोतस आनन्दलाई बताइन्। आनन्दले तथागतलाई बताए। तथागतले मुस्कुराउँदै भन्नुभयो- “आनन्द ! मैले तिमीलाई पहिले पनि भनेको थिएँ र अहिले पनि भन्दैछु- गौतमीले आठ गुरूधर्म स्वीकार गर्नासाथ तिनी उपसम्पन्ना भएकी हुन्।”

गौतमीको उपसम्पदाबारे भिक्षुणीहरू मात्र मुखर भएका थिएनन्। तिनको उपसम्पदाबारे भिक्षुहरूले सोचेका थिए कि तिनको उपसम्पदा विधिवत् भएको होइन, तिनको संघ–प्रवेश सही तरिकाले भएको होइन। तिनका कुनै आचार्य वा उपाध्याय छैनन्। मनमा यस्तो विचार राखेर तिनीहरूले गौतमीसँग उपोसथ र पवारना (व्रत र वर्षावासपछि गरिने संस्कार) गर्नमा संकोच गर्न थाले। तथागत जेतवनमा हुँदा तिनीहरूले भने- “भन्ते ! महाप्रजापती गौतमीले स्वयं रंगेर चीवर पहिरिनुभएको हो। उहाँका कुनै आचार्य र उपाध्याय हुनुहुन्न। हामीलाई उहाँसँग उपोसथ वा धार्मिक क्रियाकलाप गर्न संकोच हुन्छ।”

भिक्षुहरूका त्यस्ता कुरा सुनेर तथागतले भन्नुभयो- “भिक्षु हो ! तिमीहरू यसो किन भन्दछौ ? महाप्रजापती गौतमीलाई आठ गुरूधर्म मैले नै दिएको हुँ। उनी तिनलाई आत्मसात गरेर त्यसै अनुसार चलिरहेकी छन्। म नै उनका आचार्य–उपाध्याय हुँ। क्षीणाश्रवसँग संकोच गर्नुहुँदैन। जसका मन–वचन–कायबाट दुष्कृत हुँदैन, जो यी तीनै स्थानबाट सँवरयुक्त छ, त्यसलाई म ब्राह्मण भन्दछु।”

गौतमीबारे भगवान्को त्यस्तो भनाइ सुनेर श्रमणहरूले शीर निहुराए।

एक समय तथागत वैशालीको महावन–कूटागारशालामा बस्नुभएको थियो। अवसर छोपेर महाप्रजापती गौतमी त्यता गइन् र शास्तालाई अभिवादन गरी एकातिर उभिइरहिन्। तिनले त्यस्तै अवस्थामा तथागतसँग यस्तो अनुरोध गरिन्- “भन्ते ! मलाई छोटकरीमा धर्मोपदेश दिए आत्मसात गर्न मलाई सजिलो हुनेथियो।”

करूणाकरले भन्नुभयो- “गौतमी ! जुन धर्मले तिमीलाई सरागमा पुर्‍याउँदछ, संयोगमा पुर्‍याउँदछ, संसारवृद्धिमा पुर्‍याउँदछ, असन्तोषमा पुर्‍याउँदछ, प्रपञ्चवासमा पुर्‍याउँदछ, आलस्यमा पुर्‍याउँदछ, त्यो धर्म, धर्म होइन भनी जान्नू।”

“अनि धर्म के हो त भन्ते ?”

“गौतमी ! जुन धर्मलाई तिमीले- ‘यस धर्मले विरणमा पुर्‍याउँदछ, सरागमा होइन, विमुक्तिमा पुर्‍याउँदछ, महालोभमा होइन, सन्तोषमा पुर्‍याउँदछ, असन्तोषमा होइन, एकान्तवासमा पुर्‍याउँदछ, प्रपञ्चवासमा होइन, निरालसमा पुर्‍याउँदछ आलस्यमा होइन’ भनी जान्नेछौ तब तिमीले मान्नुपर्छ कि- ‘यही धर्म हो, यहीं विनय हो र यही शास्ताको शासन पनि हो।”

एकसमय प्रजापती गौतमीलाई सन्चो भएन। तिनको अवस्था बुझ्न स्थविर भिक्षुहरू तिनी भएको ठाउँमा गए र सोधे- “गौतमी ! के तपाईंलाई सञ्चो छैन ?”

“आर्य ! मलाई सञ्चो छैन, म बिरामी छु। यस्तो अवस्थामा तपाईंले धर्मोपदेश दिए बेस हुनेथियो।”

“भगिनी ! भिक्षुणीहरू बस्ने ठाउँमा गई तिनीहरूलाई उपदेश दिन वर्जित छ।” भन्दै संकोच मानेर उपदेश नदिईकन फर्किए। गौतमीको अस्वस्थताबारे थाहा पाएपछि तथागत त्यहाँ जानुभयो र त्यहाँ ओच्छ्याइराखेको आसनमा बस्दै सोध्नुभयो- “गौतमी ! के तिमीलाई सन्चो छैन ?”

“भन्ते ! पहिले–पहिले म बिरामी हुँदा स्थविर भिक्षुहरू आएर उपदेश दिनुहुन्थ्यो र मलाई सञ्चो हुन्थ्यो। अहिले त भगवान्ले निषेध गर्नुभएको छ भन्दै संकोच मानी उहाँहरू उपदेश दिनुहुन्न। त्यसैकारण मलाई सञ्चो हुँदैन।”

“हो गौतमी ! निर्धारित स्तर प्राप्त नगरेकाले उपदेश दिनु हुँदैन। प्रतिष्ठा पाउने लालसामा अचेल जो कोही पनि उपदेश दिन तम-तयार हुन्छन्। त्यो राम्रो कुरा होइन। बरू, म तिमीलाई उपदेश दिन्छु, लौ सुन !”

तथागतले उपदेश दिनुभयो। गौतमी खुस भइन्। तथागत फर्केर जानुभयो। आफ्नो स्थानमा पुगेर उहाँले भिक्षुहरूलाई भन्नुभयो- “भिक्षु हो ! भिक्षुणीहरू बिरामी भएको समयमा तिमीहरूले तिनीहरू बस्ने ठाउँमा गएर उपदेश दिए हुन्छ। अन्य समयमा त्यता गए दोषी ठानिनेछ।”

एक समय तथागत श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवनाराममा बस्नुभएको थियो। समय विचार गरेर महाप्रजापती गौतमी आफ्ना पाँचसय भिक्षुणीहरूका साथ त्यहाँ पुगिन् र एक छेउमा उभिएर भनिन्- “भन्ते ! हामीहरूलाई उपदेश दिनुहोस्। अनुशासित गर्नुहोस्। भन्ते ! हामीलाई धार्मिक कथा सुनाउनुहोस्।”

तिनताका स्थविर भिक्षुहरू आ-आफ्नो पालोमा भिक्षुणीहरूलाई धर्मोपदेश दिन्थे तर, आयुष्मान् नन्दक भने आफ्नो पालोमा भिक्षुणीहरूलाई उपदेश दिन चाहन्नथे। गौतमीको धर्मोपदेश–सम्बन्धी अनुरोध सुनेपछि तथागतले आनन्दसँग सोध्नुभयो- “आनन्द ! भिक्षुणीहरूलाई उपदेश दिने पालो आज कसको हो ?”

“भन्ते ! आ–आफ्नो पालोमा, भिक्षुणीहरूलाई, सबैले उपदेश दिइसके। तर, आयुष्मान् नन्दक भने भिक्षुणीहरूलाई उपदेश दिन चाहनुहुन्न।”

“किन ?”

“भन्ते ! त्यो त उहाँले नै बताउनुहोला।”

“नन्दकलाई बोलाउन लगाऊ।”

नन्दक आएपछि तथागतले कारण सौध्नुभयो। जवाफमा उनले भने- “भन्ते ! कारण तपाईं भगवान्लाई थाहा छ।”

“तैपनि हामी तिम्रो मुखबाट सुन्न चाहन्छौं।”

“भन्ते ! अनेक-अनेक जन्मपहिले म पाँचसय दासहरूको नाइके भएको बेलामा महाप्रजापती गौतमी र यी पाँचसय भिक्षुणीहरूसँगै दासीकर्म गर्दथेँ। महाप्रजापती गौतमी त्यस जन्ममा मेरी पत्नी हुनुहुन्थ्यो। अर्को जन्ममा म राजा भएँ र महाप्रजापती गौतमी मेरी अग्रमहिषी र यी पाँचसय भिक्षुणीहरू मेरो रनिवासमा बस्थे। यस्ता कुरा अतीतदर्शी भिक्षुहरूले भन्नेछन् कि ‘पहिलेका आफ्ना स्त्रीहरूलाई आयुष्मान् नन्दकले अझैसम्म छाडेका छैनन्। त्यस्तो आक्षेपबाट बच्नका लागि म तिनीहरूदेखि टाढा रहन चाहन्छु।”

नन्दकको उत्तर सन्तोषजनक भए तापनि तथागतलाई थाहा थियो कि नन्दककै उपदेश सुनेर ती पाँचसय भिक्षुणीहरूलाई धर्मको वास्तविक ज्ञान हुनेछ। त्यसकारण तथागतले भन्नुभयो- “नन्दक ! तिमी ब्राह्मण (पापरहित) हौ। यसकारण उपदेश देऊ। भिक्षुणीहरूलाई अनुशासित गर, धार्मिक कथा सुनाऊ।”

शास्ताको स्पष्ट आदेश पाएपछि नन्दक- “हुन्छ भन्ते !” भन्दै गए र अर्को दिन पूर्वाह्नमा चीवर पहिरी, पात्र–चीवर ग्रहण गरी भिक्षाचारका लागि श्रावस्तीतिर लागे। भोजनोपरान्त एकजना अरू साथी लिई तिनी जेतवननजिकै राजा प्रसेनजितद्वारा निर्माण गराइएको राजकाराम पुगे, जहाँ ती पाँचसय भिक्षुणीहरू बस्दथे। त्यहाँ तिनले ती भिक्षुणीहरूलाई- “भगिनी हो !” भन्दै उपदेश दिए। त्यो दिन कृष्णपक्षको चतुर्दशी उपोसथको दिन थियो। तिनले दोस्रोपटक शुक्लपक्षको उपोसयको दिनमा धर्मोपदेश दिए।

दुई पटक उपदेश सुनेपछि कतिपय भिक्षुणीहरू अर्हत् भए। प्रव्रज्या लिएको सातौं वर्षपछि आर्य–मार्गफल प्राप्त गरे।

तथागत श्रावस्तीमा हुँदा एक दिन, भिक्षु–भिक्षुणी उपासक–उपासिकाहरूको उपस्थितिमा उहाँले यस्तो घोषणा गर्नुभयो-

“भिक्षु हो ! मेरा रात्रज्ञा भिक्षुणी–श्राविकाहरूमध्ये महाप्रजापती गौतमी अग्र छिन्।”

धार्मिक क्रियाकलापमा व्यस्त रहँदा-रहँदै आयुको एकसयबीस वर्ष पुग्ने बेलामा गौतमीले विचार गरिन् कि “अब परिनिर्वाण हुने उचित समय आएको छ। अतः म विहारमा गई, भगवान्को अनुमति लिन्छु। साथ-साथै सबै आदरणीय उत्तम ब्रह्मचारी स्थविरहरूलाई पनि सूचित गर्नुपर्ला। मैले भगवात् बुद्ध र युगल श्रावकहरू- सारिपुत्र र महामौद्गल्यायन परिनिवृत्त भएको देख्न पाउनेछैनँ र न राहुल, नन्द, आनन्द र महाकाश्यपजस्ता स्थविरहरू परिनिवृत्त भएको देख्न पाउनेछु।”

भनिन्छ महाप्रजापती गौतमीले त्यस्ता कुरा सोचिरहँदा पृथ्वी डगमगाएको थियो। अनि जसरी गौतमीले आफ्नो परिनिर्वाण सोचेकी थिइन् त्यस्तै गरी ती पाँचसय भिक्षुणीहरूले पनि त्यसै समयमा त्यस्तो कुरा सोचेका थिए। दुवै तर्फका सोचाइ मिलेपछि गौतमी र ती भिक्षुणीहरू तथागत बस्नुभएको ठाउँतिर गए। पाँचसयएक भिक्षुणीहरूको जत्था तथागतको बासस्थानतिर जाँदा प्रजावर्गमा कुतूहल जाग्यो। गौतमीको परिनिवृत्त हुने अठोट सुनेर, सांसारिकतामा रमाउने आइमाईहरू छाती पिट्दै रून थाले। तिनीहरूको हो-हल्ला सुनेर श्रद्धालु उपासिकाहरूले घरबाट बाहिर निस्की तिनका पाउमा ढोगी विलाप गर्न थाले। गौतमी तिनीहरूलाई सम्झाउँदै-बुझाउँदै अगाडि बढिरहिन्। तर, ती अवीतरागी महिलाहरूको रूदन रोकिएन।

विहारमा पुगेर महाप्रजापती गौतमीले तथागतको पाउमा ढोग्दै आफूले सोचेका कुरा बताइन्। तिनले सुगतसँग क्षमा माग्दै यस्ता मार्मिक कुरा भनिन्- “भन्ते भगवान् ! अन्तिम दर्शन गर्न आएकी हुँ। त्यसकारण म तपाईंका चक्रांकित पाउमा शीर राखेर ढोग्न चाहन्छु। हुन त म तपाईंकी आमा हुँ, तर अर्कै किसिमले विचार गर्ने हो भने, तपाईं मेरा पिता हुनुहुन्छ किनकि तपाईंद्वारा प्रवर्तित धर्मको अनुसरण गरेर म तपाईंकी धर्मपुत्री भएँ। जसरी मैले बाल्यकालमा तपाईंलाई पालन-पोषण गरी तपाईंको रुपकायलाई संवर्धित गरें, त्यस्तै गरी तपाईंले मेरो धर्मकायलाई संवर्धित गराइदिनुभयो। केही क्षणका तृषा मेटाउन मैले आफ्नो दूध खुवाएर तपाईंको पालन-पोषण गरें तर, तपाईंले सधैंका लागि तृषा मेटाउने अजरामरणरुपी दूध खुवाएर मेरो पालन–पोषण गर्नुभयो। भन्ते ! यस संसारमा नारी जातिले मान्धाताजस्ता राजाकी पट्टमहिषी वा जननी भनाउनु कुनै ठूलो कुरा होइन तर, यस संसारमा बुद्धमाता भनाउन पाउनु नै अत्यन्त ठूलो कुरो हो। आफ्नो कर्तव्यपरायणताका कारण नै मैले बुद्धमाताको जस्तो महनीय नाम पाएँ। यति ठूलो नाम कमाइसकेपछि अब मलाई केही चाहिन्न। म परिनिवृत्त हुन चाहन्छु। चालीसवर्षे यस भिक्षुणी-जीवनमा मबाट कुनै अपराध भएको छ भने, अनुकम्पा गरी क्षमा गरिदिनहोला। नारीजातिले पनि भिक्षुणी हुन पाउनुपर्छ भनी अधिकार माग्दा कुनै त्रुटि वा च्युति भएको थियो भने, करूणानिधान भगवान्ले क्षमा गरिदिनुहोला। भगवान् ! तपाईकै आदेश अनुसार मैले भिक्षुणीहरूलाई शिक्षा दिएँ। त्यसमा कुनै त्रुटि भएको थियो भने पनि क्षमा पाऊँ…।”

महाप्रजापती गौतमीको त्यस प्रकारको क्षमा याचना सुनेर दयासागर दशबलले भन्नुभयो- “गौतमी ! अक्षम्य अपराध गरेका मानिसलाई त क्षमा गरेको छु भने तिमीजस्ती साध्वीबारे के भनूँ जो आफ्नो कर्तव्य पूरा गरी परिनिवृत्त हुन चाहन्छ।”

तथागतसँग त्यसरी बिदा मागेर महाप्रजापती गौतमीले राहुल, नन्द र आनन्दलाई यसरी सम्बोधित गरिन्- “हे पुत्र हो ! बुद्धानुगामिनी भएर मैले धर्म र संघको चालीस वर्षसम्म सेवा गरें। अब म परिनिवृत्त हुन चाहन्छु। भगवान्ले अनुमति दिनुभयो। अब तपाईंहरू पनि अनुमोदन गरिदिनुहोस्।”

गौतमीका त्यस्ता कुरा सुनेर शोक र आश्रवरहित भइसकेका तिनीहरू धार्मिक चिन्तन गर्दै स्थिर रहे। तिनीहरूले विचार गरे कि यो संसारै असार हो। यहाँ कुनै वस्तु स्थिर छैन। यहाँसम्म कि जिन (बुद्ध)की आमा पनि परिनिवृत्त हुँदैहुनुहुन्छ। सबै संस्कार अनित्य हुन्। कठिन प्रयार गरेर त्यतिञ्जेल स्थिर रहेका आनन्दले धेरै खप्न सकेनन् र तिनले विलाप गर्न थाले- “हाइ ! गौतमी चिरशान्तिमा जाँदै हुनुहुन्छ। बुद्ध पनि दाउरा सकिएको आगौझैं परिनिवृत्त हुनुहोला…।”

आनन्दले त्यसरी विलाप गर्न थालेको सुनेर गौतमीले भनिन्- “हे बुद्धानुगामी पुत्र ! तपाईं गम्भीर श्रुतसागर हुनुहुन्छ। हर्षको बेलामा विषाद गर्नु उचित होइन। हे पुत्र ! तपाईंकै कारण मैले बुद्धको शरणमा गएर निर्वाण प्राप्त गर्न लागेकी हुँ। हे तात ! तपाईंकै जोडबलका कारण बुद्ध, हामी नारीजातिलाई प्रव्रज्या दिन सहमत हुनुभयो। यसकारण हे पुत्र ! दुःखी नुहुनुहोस्, तपाईंको परिश्रम फलदायी हुनेछ…बुद्धानुगामी तपाईंहरूसँग मेरो यो अन्तिम भेटघाट हो। अब म त्यहाँ जाँदैछु जहाँ गएको कसैले देख्दैन।”

त्यति भनेर गौतमी चुप हुनासाथ भिक्षुणीहरूकी अगुवाले भन्न थालिन्- “हामीहरूप्रति सदा अनुकम्पा गर्ने हे गौतमी ! तपाईंले आर्जन गरेको पुण्य–सुरभिका कारण हामीहरू पनि आश्रवक्षया भयौं। हाम्रा सबै क्लेश भस्म भइसकेका छन्। भवतृष्णाहरू नष्ट भइसकेका छन्। हामीहरू बन्धन चुँडाल्एिका हस्तिनीहरूजस्तै मुक्त भई विहार गर्दछौं…।”

गौतमीलाई त्यति भनिसकेपछि तिनले तथागतसँग आफूहरू पनि परिनिवृत्त हुने अनुमति मागे। तथागतले- “जे उचित ठान्छौ, त्यहीं गर” भन्नुभयो।

भिक्षुणीहरूले पनि त्यसरी अनुमति पाएपछि गौतमी र ती भिक्षुणीहरू तथागतलाई वन्दन गरी फर्किन लाग्दा तथागत पनि सानी आमालाई तिनको कोठासम्म पुर्‍याउन जानुभयो। कोठाभित्र पस्तुअगि गौतमीले बुद्धसँग यसो भनिन्- “हे लोकनाथ ! म अन्तिम पटक तपाईंको दर्शन गरिरहेकी छु। अब उप्रान्त म तपाईंको अमृताकार अनुहारको दर्शन र सुकोमल पाउको, वन्दनाको क्रममा, स्पर्शन पाउने छैनँ। आज म शान्तिमा जाँदैछु।”

“गौतमी ! यथार्थ धर्मका साक्षात्कार गरिसकेपछि अब तिमीलाई अरू केही चाहिंदैन।”

त्यति भनी तथागत फर्किनुभयो। गौतमी परिनिर्वाणका लागि समाधिस्थ हुन लाग्दा तिनलाई माया गर्ने उपासिकाहरूले छाती पिट्दै विलाप गर्न थाले- “हे शरणदात्री नाथ ! हामीलाई छाडेर परिनिवृत्त नहुनुहोस् ! हामी नतशिर भई तपार्इंलाई ढोग्दै याचना गर्दछौं।”

त्यसरी रूने–कल्पिने उपासिकाहरूका शीर सुम्सुम्याउँदै गौतमीले भनिन्- “हे पुत्री हो ! मारका वशीभूत भई विलाप नगर। यहाँका सबै वस्तु अनित्य हुन्। सबैको अन्त्य वियोगमा नै हुन्छ…।”

त्यति भनेर गौतमी समाधिमा लीन भइन् र बसी–बसी परिनिवृत्त भइन्।

तिनी परिनिवृत्त भएकी थाहा पाएर तथागतले श्रुतसागर आनन्दलाई बोलाएर भन्नुभयो- “आनन्द ! आमा परिनिवृत्त हुनुभएको समाचार भिक्षुहरूलाई सुनाऊ !”

शास्ताको आदेश अनुसार आनन्दले, अश्रुपात गर्दै, प्रकम्पित स्वरमा भिक्षुहरूलाई बोलाउँदै भने- “चारै दिशा र नजिकका भिक्षुहरू ! एकत्र हुनुहोस्। शास्ताको अन्तिम शरीरलाई जसले आफ्नो दूध खुवाएर संवर्धित गर्नुभएको थियो, उहाँ गौतमी, सूर्योदयको समयमा ताराहरू गएझैँ शान्तिमा जानुभयो। बुद्धमाताका नामले प्रख्यात महाप्रजापती गौतमी स्वयं पनि त्यस स्थानमा जानुभयो- जुन स्थानमा पुग्नेको गति स्वयं बुद्धले पनि देख्न सक्नुहुन्न। जो सुगतप्रति श्रद्धावान हुनुहुन्छ, जो महामुनिका प्रिय शिष्य हुनुहुन्छ, तपाईं सबै बुद्धमातालाई सम्मान दिनुहोस्।”

आनन्दको आह्वान सनेर टाढा–टाढाका भिक्षुहरू पनि त्यहाँ एकत्र भए। सबै मलामी एकत्र भएपछि गौतमीको शवयात्रा शुरू भयो। त्यो शवयात्रा अति विशिष्ट प्रकारको थियो। तिनको शवयात्रामा धर्म सेनापति सारिपुत्रलगायत, बुद्धधर्मका प्रवर्तक स्वयं शास्ता सम्मिलित हुनुहुन्थ्यो।

शवदाह–क्रिया सकिएपछि आनन्दले गौतमीका नजलेका हाड एकत्र गरी एउटा पात्रमा राखेर तथागतलाई दिए। अस्थि–पात्रलाई समातेर उहाँले भन्नुभयो- “जसरी सारवान् महान् वृक्ष रहेर पनि त्यसका शाखा–प्रशाखाहरू, अनित्य भएकाले जान्छन्, त्यस्तै गरी भिक्षुणीसंघ रहेर पनि गौतमी परिनिवृत्त भइन्। माता यसरी परिनिवृत्त हुँदा पनि मलाई कुनै शोक छैन। संसार–सागरबाट पार भएकी सन्तापबाट दूर भएकी, कुनै शोक नभएकी गौतमी शान्तिपूर्वक परिनिवृत्त भइन्।

“उनी पण्डिता, महाप्राज्ञी–पृथुलप्राज्ञी थिइन्।…उनी आफ्नो पूर्वजन्मबारे पनि जान्दथिन्। उनले आफ्ना दिव्यचक्षुलाई शुद्ध पारेकी थिइन्। सबै आश्रव समाप्त पारिसकेकी तिनको अब पुनर्जन्म हुँदैन…।”

०००

महाप्रजापती गौतमीको महानता यसैबाट सिद्ध हुन्छ, तिनको शवयात्रामा बुद्ध मलामी हुनुहुन्थ्यो भने, स्वयं बुद्धको परिनिर्वाण हुँदा उहाँको शवयात्रामा कुनै बुद्ध मलामी थिएनन्।

यस्ती महान् बुद्धमाता महाप्रजापती गौतमीको मन्दिर छ कहीं ?

छ भनें मैले यहींबाट साष्टांग प्रणाम गरें।

छैन भने भजनिया बौद्धहरूले बताउनुपर्छ –

किन छैन ?


Comment

One thought on “बुद्धलाई हुर्काउने आदर्श विमाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved