‘धार्मिक असहिष्णु’ आरोपित मोदी बुद्धभूमिमा

२०१९ मा दोस्रो पटक प्रधानमन्त्रीमा विजयी हुनका लागि मोदीले मुस्लिम विरुद्ध हिन्दुत्वको नारालाई प्रवर्द्धन गरेको आरोप छ। यही वर्ष मोदी भारतको प्रधानमन्त्री भएको आठ वर्ष पुग्यो। ‘हेट क्राइम टयकर्स’ संस्थाले गरेको एक अध्ययन अनुसार गएको चार वर्षमा भारतमा मुस्लिम विरुद्ध चार सय हिंसा गरिएको बताउँछ।

‘धार्मिक असहिष्णु’ आरोपित मोदी बुद्धभूमिमा
फाइल फोटो

भौरहवा। बुद्ध पूर्णिमाको अवसर पारेर बुद्ध जन्मभूमि भ्रमण आउँदै गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक इतिहास रक्त रञ्जित छ। २००२ मा गुजरातमा धार्मिक दङ्गा हुँदा उनी मुख्यमन्त्री थिए।

गुजरातको धार्मिक दङ्गामा परि एक हजार ४४ मानिसको निधन भएको थियो भने २५ सय घाइते र दुई सय २३ मानिस बेपत्ता भएका थिए। यसरी निधन हुनेमा सात सय ९० मुस्लिम र दुई सय ५४ हिन्दू थिए। गुजरातका हिन्दूवादीलाई मोदीले हिंसाको छुट दिँदा पनि उक्त घटना घटेको आरोप उनीमाथि लाग्ने गरेको छ। गुजरात दङ्गामा मोदीको भूमिकालाई लिएर उनी मुख्यमन्त्री हुँदासम्म अमेरिका लगायतका अन्य पश्चिमा देशले आफ्नो देश भ्रमणमा प्रतिबन्ध समेत लगाएको थियो।

२०१४ मा प्रधानमन्त्रीमा नियुक्त भए यता पनि उनी माथि धार्मिक भेदभावको आरोप लाग्दै आएको छ। मोदी भारतको प्रधानमन्त्री हुनुअघिसम्म भारतको प्रमुख चुनौती गरिबी, आर्थिक अभाव र भ्रष्टाचारलाई मानिन्थ्यो। यी समस्या समाधान गर्ने वाचा सहित मोदी प्रधानमन्त्री भएका थिए। गरिबिलाई मुख्य चुनौती मान्ने भारतमा मोदीको उदयसँग धार्मिक असहिष्णुता त्यहाँको प्रमुख चुनौतिका रुपमा लिइन्छ। २०१९ मा दोस्रो पटक प्रधानमन्त्रीमा विजयी हुनका लागि मोदीले मुस्लिम विरुद्ध हिन्दुत्वको नारालाई प्रवर्द्धन गरेको आरोप छ। यही वर्ष मोदी भारतको प्रधानमन्त्री भएको आठ वर्ष पुग्यो। ‘हेट क्राइम टयकर्स’ संस्थाले गरेको एक अध्ययन अनुसार गएको चार वर्षमा भारतमा मुस्लिम विरुद्ध चार सय हिंसा गरिएको बताउँछ।

१० जुन २०२० मा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सन् २०१९ को विश्वभर भएका मुख्य धार्मिक हिंसा र धार्मिक स्वतन्त्रता सम्बन्धी एउटा प्रतिवेदन प्रकाशन गर्‍यो। २७ पृष्ठको उक्त प्रतिवेदनमा भारतीय प्रधानमन्त्री मोदीले भारत र दक्षिण एशियामा नै धार्मिक स्वतन्त्रताको हनन गरेको आरोप लगाएको छ। अल्पसङ्ख्यक धार्मिक समुदायप्रति भारत सरकारको व्यवहारका विषयमा प्रतिवेदनमा कडा आलोचना गरिएको छ।

फरक धर्म र विशेषगरी भारतमा बस्दै आएको मुस्लिम सम्प्रदायप्रति मोदी र उनको प्रशासन निर्मम रहँदै आएको छ। सन् २०१९ को अन्त्यतिर उनी नेतृत्वको सरकारले ल्याउन चाहेको नागरिकहरूको राष्ट्रिय दर्ता (एनआरसी) भारतमा रहँदै आएको मुस्लिम समुदाय लक्षित रहेको आरोप लागेको थियो। व्यापक विरोधमाझ मोदी सरकारले त्यो नीति कार्यान्वयनमा आउन नसके पनि ल्याउने प्रयास यद्यपि रहेको बताइन्छ।

त्यसो त मोदी र उनी नेतृत्वको सरकार धर्मप्रति मात्रै होइन आफ्नो नीतिको विरोध गर्ने समूह वा समुदायप्रति पनि कडा रुपमा प्रस्तुत हुँदै आएको छ। २०२१ मा भएको कृषि आन्दोलन त्यसको एक उदाहरण हो। मोदी सरकारले कृषि सम्बन्धी ल्याएको तीन कानून कृषक हीत बाहिर रहेको बताउँदै आन्दोलनमा उत्रिएका कृषकलाई दबाउन मोदी प्रशासनले निकै ठूलो बल प्रयोग गर्‍यो। कृषि उपज, व्यापार एवं वाणिज्य विधेयक २०२०, कृषक आश्वासन तथा कृषि सेवामा करार विधेयक २०२० र आवश्यक वस्तु विधेयक २०२० सरकारले पारित गरेको विरोधमा कृषक आन्दोलित थिए।

‘चलो दिल्ली’ नारासहित करिब ५० हजार व्यक्ति सडकमा उत्रिएपछि मोदी सरकारले कृषकको आवाज सुन्नुको सट्टा उनीहरूको फरक मतलाई अस्वीकार गर्दै दमनमा उत्रिएका थिए। भलै आन्दोलन समझदारीमा त उत्तर प्रदेश, राजस्थान लगायतका भारतका पाँच राज्यमा फेब्रुअरी महिनाबाट भएको निर्वाचन अघि आन्दोलन सम्झौतामा टुङ्गियो तर आन्दोलन टुङ्गिनुअघि सात सयभन्दा बढी किसानको मृत्यु भएको थियो।

मोदीको विदेश यात्राको समयमा उनले गर्ने सम्बोधनमा नछुटाई गौतम बुद्धको नाम उच्चारण गर्छन्। बुद्धसँगै उनले लिने अर्को नाम महात्मा गान्धीको पनि हो। बुद्ध र गान्धी अहिंसाका पक्षपाती हुँदा मोदी भने धर्मका नाममा हिंसालाई बढवा दिने व्यक्ति भएको आरोप छ।

सन् २०२१ को संयुक्त राष्ट्र संघको सभालाई सम्बोधन गर्ने क्रममा मोदीले भारतलाई ‘सबै प्रजातन्त्रको आमा’ भएको दाबी गरे। मोदीले भारतलाई प्रजातन्त्रको आमा भनेर सम्बोधन गर्दा दक्षिण एशियाको धार्मिक सहिष्णुता सम्बन्धी प्रतिवेदनमा यस क्षेत्रकै असहिष्णु देशमध्येमा भारत अग्र स्थानमा छ।

बुद्ध जन्मस्थल लुम्बिनी विश्व शान्तिको प्रतीक हो। बुद्ध आफै सम्यक दृष्टिकोणका प्रचारक थिए। सम्यकले सबैलाई समभाव राख्न सक्ने अर्थ दिन्छ। बुद्ध पूर्णिमाका दिन बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा आउने मोदीलाई सबैलाई समभावका दृष्टिले व्यवहार नगरेको आरोप लाग्दै आएको छ।

लघुताभाष दोहोरिने खतरा

“नेपाल त्यो भूमि हो जसले गौतम बुद्धलाई जन्म दिएर विश्वलाई चकित बनाएको थियो,” प्रधानमन्त्रीका हैसियतमा पहिलो पटक नेपाल भ्रमणमा आउँदा नेपालको संविधानसभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भनेका थिए। १८ साउन २०७१ मा मोदीले संविधानसभालाई सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमा जन्मिदा विश्व चकित भएको बताउँदा नेपालका सभासद् आफै पनि चकित थिए। बुद्ध भारतमा जन्मिएको दाबी भारतीयबाट आउने सन्दर्भमा मोदीको सम्बोधनपछि बुद्ध नेपालमा नै जन्मिएको प्रस्ट भएको भन्दै उनीहरु चकित भएका थिए।

बुद्धका विषयमा मोदीले दिएको अभिव्यक्तिको नेपालमा सकारात्मक हिसाबमा लिने जति थिए भने उनको अभिव्यक्तिमा ताली पड्काउने नेपालका सभासद्हरू र मोदीको आलोचना गर्ने पनि उत्तिकै थिए। आलोचना गर्नेहरूकै एउटै भनाई थियो, “नेपालका सभासद्ले लघुताभासपूर्ण व्यवहार देखाए। बुद्ध नेपालमा जन्मिएको प्रमाणित तथ्य हो। त्यसका लागि मोदीको अभिव्यक्तिको मोहरको आवश्यक थिएन ।”

तर, संविधानसभा सदस्य रहेका गुरु प्रसाद बुर्लाकोटी भने लघुताभासपूर्ण व्यवहारका विषयमा भएको आलोचना स्वीकार गर्दैनन्। “बुद्धको जन्मका विषयमा अन्तर्राष्ट्रिय स्तरमा भ्रम थियो, भारतीय सञ्चार माध्यम लगायतले बुद्ध भारतमा जन्मिएको दाबी गर्दै आएको अवस्था थियो,” बुर्लाकोटी भन्छन्, “त्यस्तो अवस्थामा भारतकै प्रधानमन्त्रीले नेपाल भ्रमणका क्रममा बुद्ध नेपालमा जन्मिएका थिए भनेका हुनाले सभाहलमा ताली बजेको हो।”

त्यही संविधानसभालाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणका लागि आफू नेपाल आउने बताएका थिए। २०७१ सालमा लुम्बिनी भ्रमणका लागि नेपाल आउने बताएका मोदी ८ वर्षपछि लुम्बिनी भ्रमणमा आउँदैछन् आज।

२५६६ औँ बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमण गर्न लागेका हुन्। लुम्बिनी भ्रमण गर्ने मोदी भारतका पहिला प्रधानमन्त्री हुनेछन्। लुम्बिनी भ्रमणका क्रममा मोदीले नेपालस्थित भारतीय दूतावासको लगानीमा बन्ने बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास गर्नेछन्। विश्वका धेरै देश अमेरिका, बेलायत, जपान, चीन, जर्मन लगायतका देशले लुम्बिनीमा आफ्नो लगानीमा गुम्बा निर्माण गरे पनि भारतको नाममा लुम्बिनीमा कुनै गुम्बा छैन। कलकत्ताको नाममा लुम्बिनीमा गुम्बा त छ तर त्यो राष्ट्रको भन्दा राज्यको नामले परिचित छ।

मोदी भारतीय दूतावासले निर्माण गर्ने विहारको शिलान्यास गर्न मात्रै नेपाल आएका हुन्? त्रिभुवन विश्वविद्यालय एशिया अध्ययन केन्द्रका निर्देशक मृगेन्द्र कार्की यसमा धार्मिक र सांस्कृतिकसँगै राजनीतिक कारण पनि रहेको बताउँछन्। लुम्बिनी क्षेत्रमा विश्वका अन्य देशसँग शक्ति राष्ट्र अमेरिका र चीनको पनि उपस्थिति हुँदा बुद्ध धर्मको संरक्षक जस्तो व्यवहार गर्ने भारतलाई लुम्बिनीमा उपस्थिति अपरिहार्य बन्दै गएको बताए।

“लुम्बिनीमा अन्य देशको उपस्थिति बढ्दा केही किलोमिटर मात्रै टाढा रहेको भारतको उपस्थिति यहाँ थिएन,” सिनासका निर्देशक कार्की भन्छन्,“भूराजनीतिक रुपमा भारतलाई यहाँ आफ्नो उपस्थिति बढाउनु पर्ने आवश्यकताका कारण पनि मोदीले लुम्बिनीको भ्रमण गरेका हुन्।”

मोदीको भ्रमणसँग यस क्षेत्रको धार्मिक महत्त्व निश्चय पनि बढ्नेछ। नेपाल आउने पर्यटकमा आज पनि भारतीय पर्यटकको सङ्ख्या बढी रहेको तथ्य हामी माझ छ। २०७५ मा मोदीले मुक्तिनाथको भ्रमण गरेसँगै त्यहाँ भारतीय पर्यटक बढ्दै जाँदा लुम्बिनी दर्शनका लागि पनि भारतीय आउने धेरैको विश्वास छ। भारतका हिन्दू पर्यटकको चासो पशुपति क्षेत्र, जनकपुर र मुक्तिनाथ क्षेत्रमा बढ्दा मोदीको लुम्बिनी भ्रमणसँगै यस क्षेत्रमा पनि धार्मिक पर्यटक बढ्ने यहाँका स्थानीय बताउँछन्।

लुम्बिनी भ्रमणमा आउँदै गर्दा मोदी भारतको कुशिनाथको बाटो आउनेछन्। बुद्ध सर्किटको अवधारणा विकास गनुपर्ने बताउने मोदी बुद्धले निवाणा प्राप्त गरेको स्थानबाट जन्म भएको स्थानमा आएर त्यो सन्देश दिन लागेका विश्वास गरिन्छ। मोदीको लुम्बिनी भ्रमणको बहुआयामिक महत्त्व भए पनि मोदी आएकै कारण बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने पुनः पुष्टि भएको लघुताभास भने नेपालीले राख्नु हुँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved