एमालेको आश : आजसम्म मात्रै बालेन, भोलिदेखि स्थापितले अग्रता लिने

एमालेका एक उपाध्यक्षले यो अन्तर भोलिदेखि घट्ने र काठमाडौं महानगरपालिकामा एमालेले जित्ने विश्वास व्यक्त गरे।

नेपालभ्युज

एमालेको आश : आजसम्म मात्रै बालेन, भोलिदेखि  स्थापितले अग्रता लिने

काठमाडौं। नेकपा (एमाले) ले काठमाडौंको मेयरमा आजसम्म बालेन्द्र शाहले अग्रता बढाए पनि भोलिदेखि यो अन्तर कम हुँदै जाने आशा गरेको छ।

करीब १५ हजारभन्दा कम मत गणना हुँदा बालेनले एमाले उम्मेद्वार केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अग्रता हासिल गरिसकेका छन्। एमालेका एक उपाध्यक्षले यो अन्तर भोलिदेखि घट्ने र काठमाडौं महानगरपालिकामा एमालेले जित्ने विश्वास व्यक्त गरे।

एमाले केन्द्रीय कार्यालय, च्यासलमा आइतबार एमालेका केही शीर्ष नेताहरू भेला भएका थिए। त्यहाँबाट एमालेका अवस्थाका बारेमा सबै महानगरबाट रिपोर्टिङ लिएका थिए। त्यस क्रममा प्राप्त सूचनाका आधारमा एमालेको अवस्था सुधार हुँदै जाने विश्वास ती नेताले व्यक्त गरेका हुन्।

एमाले महासचिव शङ्कर पोखरेलले जारी गरेको विज्ञप्ति मस्यौदा गर्नुअघि केही पदाधिकारीसहित स्थायी कमिटीका नेताहरूबीच छलफल भएको थियो। त्यहीँबाट स्थानीय नेताहरूबाट महानगरहरूको अवस्थाबारे जानकारी लिइएको थियो।

छलफलमा सहभागी ती उपाध्यक्षले दिएको जानकारीअनुसार, काठमाडौंमा अहिलेसम्म बालेन्द्र साहले पाएको मत कांग्रेसका प्रभाव क्षेत्रका हुन्। उनले कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहलाई जानसक्ने मत बालेनले काटेको एमालेको विश्वास छ।

काठमाडौंको ‘कोर सिटी’ को परम्परागत नेवार वस्तीहरूबाट स्थापितले राम्रो मत पाउने र त्यसैका आधारमा उनले अग्रता लिने एमालेको विश्वास छ। “परम्परागत नेवार वस्ती हाम्रो मुख्य भोट ब्याङ्क हो, अहिलेसम्म १, २, ३, ४, ३१ र ३२ नम्बर वडाको मत गणना हुँदैछ। ३२ को सबै गणना गरिसक्दा नै मतान्तर घट्न थाल्छ,” ती उपाध्यक्षले भने।

उनले काठमाडौं, भरतपुर र पोखरा महानगरमा आफ्नो अवस्था राम्रो बताउँदै उनले भने, “वीरगञ्जमा पनि एमालेले चुनाव जित्छ, ढुक्क हुनुस् भनेका छन् त्यहाँका साथीहरूले। अहिले नै निराश हुनुपर्ने केही छैन। पार्टी बलियो छ। गठबन्धनसँग एमाले एक्लै सामना गर्न सक्षम छ भन्ने यो चुनावले पुष्टि गरेको छ।”

विराटनगर महानगरपालिकामा मेयरमा यसै भन्न नसके पनि उपमेयर जित्ने निश्चित रहेको पनि उक्त छलफलको निष्कर्ष रहेको पनि ती नेताले जानकारी दिए। सत्तापक्ष अझै पनि आफूलाई जबर्जस्ती मत गणनामा धाँधली गरी विजय घोषित गर्ने प्रयासमा रहेकाले त्यसविरुद्ध चनाखो हुन उनले पार्टी पंक्तिलाई आग्रह गरे। उनले भने, “गठबन्धन गर्दा पनि हराउन नसक्ने अवस्था देखेपछि मत गणना रोक्ने, ढिला गर्ने खेल भइरहेको छ। एमाले त्यसको सामना गर्न सक्षम छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved