देशैभरि चुनावी चटारो, कोहीलाई भने परदेशको हतारो

स्थानीय  निर्वाचनको दिन शुक्रबार देशैभरिका बालिग नागरिक मतदानको लाइनमा छन् तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने यो उत्सवलाई बेवास्ता गर्दै विदेश जान लाइन लागेका छन् । 

देशैभरि चुनावी चटारो, कोहीलाई भने परदेशको हतारो

काठमाडौं। स्थानीय  निर्वाचनको दिन शुक्रबार देशैभरिका बालिग नागरिक मतदानको लाइनमा छन् तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने यो उत्सवलाई बेवास्ता गर्दै विदेश जान लाइन लागेका छन्।

साबिकभन्दा केही कम भीड भए पनि धेरै युवा विदेशिने तयारीमा थिए। उनीहरू आफू रहरले नभई बाध्यताले हिँड्नुपरेको बताइरहेका थिए। 

लोकतान्त्रिक अधिकार प्रयोग गरी जनप्रतिनिधि चुन्न देशैभरिका मतदानकेन्द्रमा  उत्साहपूर्वक भोट हाल्दै गर्दा केही युवा चाहिँ  विमानस्थलमा भीड गरिरहेका थिए। त्यो भीड परदेश यात्राका लागि थियो।

विदेश कतार जान विमानस्थल पुगेका पाल्पा, तानसेनका वेदप्रसाद अधिकारीले भने, “हरेक निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले आश्वासन बाँड्छन्। पटक–पटक भोट हाल्दा पनि हाम्रो अवस्था फेरिएन। त्यसैले
विदेश जानुपरेको छ।”

चुनावकै दिन कतार हिँडेका उनले नेपालभ्यूजसँग भने, ‘‘२०६४ सालयताका हरेक निर्वाचनमा भोट हाल्दै आएको थिएँ। सबै चुनावमा नेताहरूले देश विकास हुन्छ, देशमै रोजगारी दिन्छु भनेका थिए तर न त हाम्रो दैनिकी फेरियो, न केही विकास भयो। यसैले विदेश जान लागेको हुँ।’’

नेताबाट हरेक पटक जनतालाई झुक्याउने काम मात्रै भएको उनको गुनासो छ।

दक्षिण कोरिया हिँडेका अर्का युवक कृष्ण फुयालले स्वदेशमै बेरोजगार बस्दा जीवन धान्नै धौ-धौ हुन थालेपछि भोट हाल्ने रहर हुँदा हुँदाहुँदै पनि विदेशिन बाध्य हुनुपरेको बताए। “कोरोना महामारीअघि स्वदेश फर्किएको थिएँ। यहीँ बस्ने इच्छा थियो। रोजगारी नपाएपछि फेरि कोरिया फर्किन लागेको हुँ,”  उनले भने, ‘‘भोट हाल्न त मन थियो तर विदेश जानै पर्‍यो। फेरि जनताका समस्याप्रति जनप्रतिनिधिले चासो नै दिँदैनन्, सिंहदरबारको अधिकार गाउँमा आयो भन्नु मात्रै हो।”

धादिङ घर भएका सृजना सुवेदी पनि शुक्रबारै कोरिया जाँदै थिइन्। घरपरिवार छाडेर विदेशिनुपर्दाको पीडा नेताहरूले नबुझेको उनको गुनासो छ। जस कारण भोट हाल्न नपाएकोमा खासै दुःख भने नलागेको उनले सुनाइन्। उनले भनिन्, ‘‘अब चुनाएका जनप्रतिनिधिले विदेशिएकालाई स्वदेश फर्काउने योजना ल्याएर काम गरुन्। तर, राम्रो गर्लान् भन्ने आश छैन। यस कारण पनि अहिले भोट हाल्न नपाउँदा खासै दु:ख लागेको छैन।’’

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने क्रम निर्वाचनको समयमा पनि जारी रहेकाले दैनिकजसो युवा विदेश गइरहेका वैदेशिक रोजगारीमा विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन्। उनले भने, ‘‘स्थानीय तहको निर्वाचनमा पनि श्रम स्वीकृति लिने प्रक्रिया रोकिएको छैन। यसैले आज शुक्रबार पनि धेरै जना विदेशिएका छन्।’’ चुनावको समयमा अहिले भने श्रम स्वीकृति लिनेको सङ्ख्या केही घटेको उनले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved