सबैलाई छ चुनावी चटारो, छैन थापा दम्पतीलाई

देशमा प्रजातन्त्र आएदेखि नै भोट हालेका छैनन् बलबहादुरले। राजनीतिक दलप्रति उनलाई न विश्वास छ न त रूची नै। चुनावको दिन पनि थापा दम्पती भोट नखसाइ फलफूल बेच्नै व्यस्त रहे।

सबैलाई छ चुनावी चटारो, छैन थापा दम्पतीलाई

काठमाडौं। वैशाखको उखरमाउलो गर्मी। काठमाडौंमा पनि तातेको सडक। सडकभन्दा बढी तातेका मान्छेहरू। सबैलाई चुनाव लागेको छ। तर लागेको छैन ६३ वर्षीय बलबहादुर थापा मगरलाई।

दिउँसो १२ बजेतिर काठमाडौं गौशालाको ‘वेद विद्या आश्रम मतदान केन्द्र’ नजिकै श्रीमती मनमाया मगरसँगै फलफूल बेचिरहेका भेटिए।

यसरी भोट नखसाएको यो पहिलोपटक भने होइन। कति वर्ष भयो? फुर्सदमा औंला भाँचेरै गन्नुपर्छ।

“पञ्चायतकालमा प्रधानपञ्च चुन्ने बेलामा एक पटक भोट हालेको थिएँ, त्यसपछि आजसम्म कसैलाई भोट हालेको छैन”, उनले सुनाए।

कारण हो, उनलाई राजनीतिक दल र तिनका नेताप्रति न त विश्वास छ, न त आशा नै।

“मलाई नेताहरू कोही पनि मन पर्दैनन्। एमाले उस्तै, कांग्रेस उस्तै”, थापाको गुनासो छ, “जुन सरकार आए पनि हामीलाई के सुख छ र ? नयाँ पनि कसरी चुन्ने ? कसैको मनभित्र पस्न सकिँदैन, को राम्रो को नराम्रो छुट्याउनै गाह्रो ।”

त्यसो त थापालाई भोट खसाउने रहर नै नभएको पनि होइन। गाउँसम्म जान लाग्ने भाडा सम्झेरै उनको मन मर्‍यो। काठमाडौंबाट उनको गोरखाको स्याउलेबजारस्थित उनको घरसम्म जान आठ सय भाडा लाग्छ। नेताले सुखदुःख सोधीखोजी गरेको भए भोट खसाल्न जाने उनकाे इच्छा रहेछ। तर कसैले उनकाे साेधीखाेजी नै गरेनन्, उनी पनि खाेज्दै गएनन्।

खासमा सक्दो दुःख गर्दा पनि जीवनस्तर नउकासिँदा दुखी छन् उनी। २०५८ सालमा काठमाडौं आइपुगेका थिए, सानो संसार बसाउने सपना देखेर। सामान्य लेखपढ गर्न सक्ने थापाले फलफूल व्यापार गरे। त्यतिबेलादेखि उनको दैनिकीमा केही परिवर्तन आएको छैन। बल्खुबाट बिहान चार बजे फलफूल ल्याउँछन्। बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म दम्पती नै सडकमा फलफूल व्यापार गर्छन्। फेरिएको छ त केवल, बजार भाउ। शुरूमा एउटा कोठाको भाडा सात सय तिर्थे, अहिले तीन ओटाको आठ हजार।

“जुनसुकै नेता आए पनि हाम्रो अवस्था उस्तै छ”, थापा आक्रोश पोख्छन्, हामीले नेतालाई हेर्न त हामीलाई पनि नेताहरूले हेर्नुपर्‍यो नि ! जनताको दुःख नबुझ्ने नेतालाई कसले हाल्छ भोट ?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved