यसपटक मतपेटिका साटिने सम्भावना छैन: डिल्लीरत्न श्रेष्ठ

‘सेक्युरिटी सिल’लाई एकचोटि खोलेपछि पुनः प्रयोग गर्न सकिँदैन। त्यस्तै, यसमा एउटा कोड नम्बर पनि हुन्छ, त्यो कोड नम्बरहरू एउटा सिलदेखि अर्काे सिलसँग जोडिँदैन। मतदान गर्ने बेलादेखि मत गन्ने बेलासम्म ती नम्बरहरू मिल्छन् भने कुनै पनि शंका गर्नुपर्दैन।

यसपटक मतपेटिका साटिने सम्भावना छैन: डिल्लीरत्न श्रेष्ठ

हेटौंडा। स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको छ। निर्वाचन गराउन सबै मतदान केन्द्रमा कर्मचारीहरू खटिइसकेका छन्।

मतदाता परिचयपत्र वितरणको काम शुरु भइसकेको छ। सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको छ। निर्वाचनलाई भयरहित, निष्पक्ष र स्वस्थ बनाउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम तयारी गरिरहेको छ।

निर्वाचनको समयमा हुन सक्ने अस्वाभाविक गतिविधि नियन्त्रणका लागि सबै संयन्त्रहरू परिचालित छन्। मौन अवधि शुरु भइसकेकोले पनि नियमनकारी निकाय सचेत बनेको छ। निर्वाचनको अन्तिम तयारी, सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनको अवस्थालगायत विषयमा रहेर मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठसँग नेपालभ्यूजका लागि सम्झना रिजालले गरेको कुराकानी:

मकवानपुरमा निर्वाचनको तयारी कसरी गरिरहनुभएको छ ?

अब अहिले हामीले मतदान अधिकृत लगायतका कर्मचारीहरूको टिम बनाएर मतदान केन्द्रमा खटाइसकेका छौ। उहाँहरू मतदान स्थलसम्म पुगिसक्नुभएको छ। यसमा केही सर्फल सूचनाहरू जारी गर्नुपर्ने हुन्छ। मौन अवधि शुरु भइसकेको छ। यस्तो अवस्थामा त्यहाँ केही निषेधित गतिविधि होला भन्ने कुरामा चनाखो रहँदै सूचना दिने काम भइरहेको छ।

मौन अवधिमा जिल्लामा आचारसंहिता उल्लंघनका घटनाहरू कत्तिको भइरहेका छन् ?

अब अहिलेसम्ममा हामीलाई त्यस्तो किसिमको सूचना आएको छैन। हामीले निरन्तर राजनितिक दल र उम्मेदवारहरूसँग छलफल गरिरहेका छौँ। आचारसंहिता पालना गर्ने कुरामा सबै सचेत हुनुहुन्छ। प्रतिबद्धता जनाउनुभएको छ।

प्रशासनसँग कसरी समन्वय भइरहेको छ ?

प्रशासनसँग हामी निरन्तर समन्वयमा छौँ। धेरै राम्रो छ। सुरक्षाको विषयमा जिल्ला प्रशानसदेखि सुरक्षा निकायसँग समन्वय भइरहेको छ। निर्वाचनलाई शान्त र सुरक्षित तरिकाले सम्पन्न गराउन काम भइरहेको छ। जिल्लाका सबैतिर खटिनुभएका सुरक्षाकर्मीहरूसँग पनि हामी निरन्तर सम्पर्कमा छौँ।

मतदान प्रकृयामा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई कस्तो व्यवस्था छ ?

हामीलाई माथिबाट नै सवारी पासको विषयमा एउटा निर्देशिका प्राप्त भएको छ। असक्त, गर्भवती र साना शिशु भएका व्यक्तिहरूलाई हामीले सवारी पास उपलब्ध गराएका छौँ। अशक्त तथा अपांगता भएका व्यक्तिहरूलाई लाइन बस्नु नपर्नेसमेत हामीले व्यवस्था गरेका छौँ।

मतदानको समयदेखि मतगणनासम्म सुरक्षा चुनौती कत्तिको देख्नुभएको छ ?

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एउटा सुरक्षा समिति गठन भएको छ। उहाँहरूले दिनुभएको जानकारीको आधारमा हामीले काम गर्छौँ। उहाँहरूले मकवानपुरका संवेदनशील स्थानहरू समेत छुट्याएर काम गरिरहनुभएको छ। त्यहीअनुसारको सुरक्षाकर्मीहरू पनि परिचालन गर्नुभएको छ। सामान्यतया सुरक्षाको क्षेत्रमा हामीले गम्भीर अवस्था देखेका छैनौँ। तर सुरक्षा प्रबन्धको हिसाबले हामी पूर्ण तयारी अवस्थामा छौँ। जनपथ, सशस्त्र, आर्मी सबै खटिएका छन्।

मकवानपुरमा राजनीतिक दलदेखि मतदाता सबैले आचारसंहिताको पालना कत्तिको गरेको पाउनुभयो ?

गत निर्वाचनहरूमा बाजागाजा बजाउने, दलको चुनाव चिन्हहरू राख्ने, सार्वजनिक स्थलमा वाल पेन्टिङहरू गर्ने जस्ता कुराहरू हामीले देखिरहेका थियौँ। अहिलेको आचारसंहिताले त्यस्ता सम्पूर्ण कुराहरू रोक्यो। जस्तो- चुनाव प्रचारप्रसारमा कपडाहरूको प्रयोग नगर्ने, वाल पेन्टिङका कुराहरूलाई रोक्यो। सार्वजनिक स्थललाई कुनै पनि उम्मेदवारको पक्ष र विपक्षमा प्रयोग गर्न नपाइने भएको छ। ती कुराहरूमा पत्रकारहरूले नै निकै चासो दिनुभयो, अनुगमन गरिदिनुभयो।

उहाँहरूले लेख्नुभएको कुरालाई नै हामीले प्रमुख सूचनाको स्रोतको रुपमा लियौं। र त्यही अनुरुप हामीले राजनीतिक दल र उम्मेदवारहरूसँग कुरा गर्‍यौं। तुलनात्मक रुपमा भन्दा आचारसंहिताको राम्रो पालना भएको छ। यसको मतलब हुँदै नभएको होइन। शून्य छ भन्ने कुरामा म दाबी गर्न सक्दिनँ। धेरै राम्रो अवस्थामा छ आचारसंहिता पालना।

आचारसंहिता उल्लंघनको घटनाहरू छैनन् भन्दा भन्दै पनि ३१ ओटा उजुरी परेको छ, यी आएका उजुरीहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले खासै ध्यान दिएन भन्ने गुनासो छ नि? 

आचारसंहिता उल्लंघनको विषयमा मान्छेहरूको अपेक्षा तपाईंले कसैको जागिरैबाट निकाल्नुहुन्छ भने हामी उजुरी गर्छाैं नत्र किन गर्ने भन्ने रहेछ। तर, कुनै पनि व्यक्तिलाई सजाय दिने भन्ने कुरा उसको कसुरमा भर पर्ने कुरा हो। सामान्यतया कर्मचारीको हकमा कस्तो आयो भने उहाँहरूले सामाजिक सञ्जाल प्रयोग गर्ने बेलामा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा लेखे भन्ने उजुरी आएको थियो।

उहाँहरूसँग हामीले स्पष्टीकरण माग्यौं। स्पष्टीकरण मागेका कर्मचारीहरूलाई हामीले निर्वाचनसम्बन्धी कुनै पनि जिम्मेवारी दिएका छैनौं। र अर्काे कुरा उहाँहरूलाई सचेत गराएका छौँ। उहाँहरू आफैंले पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। योचाहिँ कर्मचारीको हकमा भयो।

राजनीतिक दलको हकमा सार्वजनिक पोलहरूमा दलको झण्डा राखेको भनेर उजुरी परेको थियो। हाम्रो अनुरोध पछि हटाउनुभयो। केही सार्वजनिक स्थानमा राखिएका चिन्हहरू पनि हटाउनुभएको छ। तुलनात्मक रुपमा म फेरि भन्छु अघिल्ला निर्वाचनभन्दा अहिले आचारसंहिता पालना भएको छ।

चुनावलाई पारदर्शी बनाउन सीसी क्यामेरा जडानका कुरा पनि आएका थिए। मकवानपुरमा के छ अवस्था ?

मैले मकवानपुरमा योभन्दा अघि दुई ओटा निर्वाचनमा भाग लिएँ। हामीले मतदान स्थलबाटै जुम लाइभ गरेका थियौं। गणनासम्मका कुरा सबै हामीले जुममार्फत लाइभ गरेका थियौं। अहिले निर्वाचन आयोगले नै सीसी क्यामेरा राखेर यसमा आबद्ध गराउन सबैतिर जोड्नुभएको छ। हेटौँडा उपमहानगरपालिकासहित सबै पालिकामा हामी जोडिनेछौँ।

विगतमा मतपेटिका फेरबदलका समाचारहरू पनि आउने गरेका थिए, के यो सम्भव छ ?

त्यसलाई एकचोटि खोलेपछि पुनः प्रयोग गर्न सकिँदैन। त्यस्तै, यसमा एउटा कोड नम्बर पनि हुन्छ, त्यो कोड नम्बरहरू एउटा सिलदेखि अर्काे सिलसँग जोडिँदैन। मतदान गर्ने बेलादेखि मत गन्ने बेलासम्म ती नम्बरहरू मिल्छन् भने कुनै पनि शंका गर्नुपर्दैन।

मान्छेहरूमा एक किसिमको भ्रम छ। पहिला हामीसँग सुरक्षा सामग्री बलियो थिएन। लाहा छाप लगाउने सिस्टम थियो। त्यसबाट मान्छेको खास विश्वास आर्जन गर्न सकिएन। तर अहिले पछिल्लो दिनहरूमा अन्तर्राष्ट्रिय मापदण्डका प्रविधिहरूको प्रयोग गरेका छौँ। जस्तै त्यसमा एउटा ‘सेक्युरिटी सिल’ छ।

त्यसलाई एकचोटि खोलेपछि पुनः प्रयोग गर्न सकिँदैन। त्यस्तै, यसमा एउटा कोड नम्बर पनि हुन्छ, त्यो कोड नम्बरहरू एउटा सिलदेखि अर्काे सिलसँग जोडिँदैन। मतदान गर्ने बेलादेखि मत गन्ने बेलासम्म ती नम्बरहरू मिल्छन् भने कुनै पनि शंका गर्नुपर्दैन।

बाकस साट्ने सम्भावना छैन। त्यसमा कुनै किसिमको छेडखानी भएको छ भने या त सिल काटिएको हुन पर्छ या त बाकस फुटाइएको हुनुपर्छ। त्यो भयो भने सबैले देख्छौँ। अन्तर्राष्ट्रिय मापदण्डको कुरालाई विश्वास गर्नुपर्छ। बाकस साटिने सम्भावना शून्य छ।

मतदाता नामावलीमा नाम भएर पनि मतदान गर्न आउन नपाउनेहरूको नाममा अरुले मतदान गरिदिन्छन् भन्ने पनि चर्चा हुन्छ नि ?

त्यसैका लागि त सम्बन्धित दलका प्रतिनिधिहरू त्यहीँ बस्नुहुन्छ, कर्मचारीहरू हुनुहुन्छ।

पहिलो कुरा त कुनै पनि मतदाताको मतदाता नामावलीमा नाम हुनुपर्‍यो। यसको लागि निर्वाचन आयोगले नै मतदाता परिचयपत्र वितरण गरेको छ। मतदाता चिन्ने प्रमुख आधार नै मतदाता परिचयपत्र हो। मतदाता परिचयपत्र हराएको अवस्थामा आफ्नो परिचय खुल्ने कागजात पेश गर्नुपर्ने हुन्छ। अहिलेको निर्वाचनमा यो कुरा सम्भव छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved