अमेरिकी डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्रमाथि दबाब

पछिल्लो समय रूस-युक्रेन युद्धका कारण इन्धन र दैनिक उपभोग्य वस्तुको अत्यधिक मूल्यवृद्धि हुँदा नेपाल र भारतको अर्थतन्त्रमा पनि समस्या देखिएको छ।

अमेरिकी डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्रमाथि दबाब

काठमाडौं। अमेरिकी डलरको भाउ निकै अकाशिएको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको भाउ नेपाली इतिहासमा सबैभन्दा बढी १२४ रुपैयाँ २५ पैसा पुगेको छ।

नेपाली मुद्रा भारतीय मुद्रासँग निर्भर रहेकाले भारतको अर्थतन्त्र कमजोर हुँदा कमजोर हुने गरेको छ। पछिल्लो समय रूस-युक्रेन युद्धका कारण इन्धन र दैनिक उपभोग्य वस्तुको अत्यधिक मूल्यवृद्धि हुँदा नेपाल र भारतको अर्थतन्त्रमा पनि समस्या देखिएको छ।

नेपाली मुद्रा भारतमा निर्भर हुने र भारतीय मुद्रा अवमूल्यन भएकै कारण नेपाली मुद्रा पनि कमजोर देखिएको अर्थशास्त्रीहरू बताउँछन्। पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षत्रीले अन्तर्राष्ट्रिय मुद्राका लागि नेपाली पूर्ण रूपमा भारतसँग निर्भर भएकाले भारतमा जे भयो हामीले पनि त्यहि व्यहोनुृपर्ने बाध्यता भएको बताए।

“हामी भारतसँग पूर्ण निर्भर छौँ। यसले भारतको मुद्रा कमजोर भएको बेला हामी पनि कमजोर हुनैपर्ने हुन्छ,” क्षत्रीले भने, “यसको फाइदा पनि छ- भारतको अर्थतन्त्रमा सुधार हुँदा हामे मुद्रा पनि बलियो हुन्छ।”

क्षेत्रीले रसिया र युक्रेनको युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा बढेको उच्च महँगीका कारण डलर बलियो बनेको बताउँछन्। डलरको भाउ बढ्दा आयातमा निर्भर नेपालजस्तो देशमा ठूलो रकम बाहिरिने क्षेत्री बताउँछन्।

अर्का अर्थशास्त्री चन्द्रमणि अधिकारी पनि अन्तर्राष्ट्रिय बजारमा बढेको उच्च महँगीका कारण डलरको भाउ बढेको बताउँछन्। “नेपाली पैसाको अवमूल्यन भएर डलरको भाऊ बढ्ने हो। अहिले यसको प्रमुख कारण नै अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि हो,” अर्थविद् डा. अधिकारीले भने, “रूस-युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भयो र डलरको पनि मूल्य बढेको हो।”

डलरको भाउ यसरी निरन्तर बढ्दा नेपाली बजारमा महँगी पनि त्यसरी नै बढ्ने खतरा रहेको अधिकारी बताउँछन्।

अर्का पूर्वअर्थसचिव रामेश्वर खनाल भने डलरको भाउ भारतसँगको सम्बन्धका कारण बढे पनि त्यसले ठूलो नोक्सान भने नगर्ने बताउँछन्। उनले भने, “डलरको मूल्य बढ्दा नेपालीहरूलाई नराम्रो हुँदैन। बरू यति धेरै भइरहेको आयात नियन्त्रण हुनछ। भाउ पाउने हुँदा निर्यात पनि बढ्न जान्छ। यस्तै पर्यटकहरूले नेपालमा खर्च गर्ने रकमको मूल्यांकन राम्रो हुन्छ।”

अमेरिकी बजारमा पनि मूल्यवृद्धि उच्च भएको छ। सञ्चारमाध्यमका अनुसार, अमेरिकी बजारमा यति बेला मूल्यवृद्धि दर ४० वर्षयताकै बढी ८.५ प्रतिशत पुगेको छ।

गत वर्ष सन् २०२१ को फेबु्रअरीमा त्यहाँको मूल्यवृद्धि १.७ प्रतिशत मात्रै थियो। जसका कारण त्यहाँको बजारमा पनि मुद्राकोे माग अत्यन्तै बढेको छ। तर, अमेरिकी केन्द्रीय बैंकले मुद्रा माग धान्न नसकेका कारण माग र आपूर्तिको सन्तुलन बिग्रिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

यसैगरी, ठूलो अर्थतन्त्र भएका देशहरूले अन्तर्राष्ट्रिय बजारमा जारी गरेको बण्डमा धेरै डलर खर्च भएकाले पनि डलरको अभाव भएको अर्थशास्त्रीहरू बताउँछन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो चार वर्षमा डलरको मूल्य भने लागातार बढेको देखिन्छ। तथ्यांकअनुसार सन् २०१८ को जनवरीमा १ अमेरिकी डलर बराबर १०१.५३ रुपैयाँ रहेकोमो सन् २०२० को अप्रिलमा आइपुग्दा १२१.६९ रुपैयाँ पुगेको थियो।

२०२० देखि २०२१ को बीचमा नेपाली बजारमा ११५ देखि १२२ रुपैयाँसम्म प्रति डलरको मूल्य कायम रहेको थियो।

सन् २०२२ को मे महीना आइपुग्दा एक अमेरिकी डलरको नेपाली मूल्य १२५ रुपैयाँ नजिक पुगेको छ। अध्ययनअनुसार आगामी पाँच वर्षसम्ममा एक डलरको नेपाली मूल्य १३५ रुपैयाँ नाघ्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved