स्थानीय निर्वाचन नजिकिँदा बढ्यो कोरोनाको जोखिम

भारतमा ओमिक्रोनको नयाँ भेरियन्ट ‘बीए २.१२’ संक्रमण बढ्दै गइरहेको छ। स्थानीय चुनाव भएका कारण भारत गएका नेपाली फर्किएसँगै संक्रमण भित्रिने सम्भावना पनि उच्च रहेको जनस्वास्थ्य विज्ञहरूले बताएका छन्।

स्थानीय निर्वाचन नजिकिँदा बढ्यो कोरोनाको जोखिम
फाइल तस्वीर ।

काठमाडौं। स्थानीय निर्वाचन नजिकिएसँगै कोरोना भाइरस संक्रमणको जोखिम पनि बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ। नेपालमा स्थानीय निर्वाचनका लागि भारतबाट घर फर्कनेको संख्या बढ्दै जाँदा जोखिम पनि बढेको हो।

एकातिर भारतमा ओमिक्रोनको नयाँ भेरियन्ट ‘बीए २.१२’ संक्रमण बढ्दै गइरहेको छ। स्थानीय चुनाव भएका कारण भारत गएका नेपाली फर्किएसँगै संक्रमण भित्रिने सम्भावना पनि उच्च रहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले पनि छिमेकी मुलुकहरुमा पछिल्ला दिनमा संक्रमण बढ्दै गएपछि नेपालमा पनि जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा अपनाउन अनुरोध गरिरहेको छ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा हालसम्म संक्रमित हुनेको संख्या नबढेको जानकारी दिए। संक्रमण दर ०.३५ प्रतिशत रहेको उनले बताए।

उनले भने, “अहिले हाम्रोमा संक्रमण बढेको देखिँदैन। चुनाव ठीक समयमा भएको छ। सक्रिय संक्रमितको संख्या पनि धेरै छैन। यति भनिरहँदा पनि निर्वाचनमा बढी भीडभाड हुने र भारतबाट पनि नेपाल आउँनेको संख्या बढिरहेकाले संक्रमणको जोखिमलाई ध्यानमा राखेर अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिकदूरी कायम गरेर चुनाव सम्पन्न गर्नुपर्छ।”

मान्छेको भीडभाड हुने ठाउँमा संक्रमणको जोखिम उच्च हुने र कोरोनाविरुद्धको खोप नलगाएको व्यक्ति अझ बढी जोखिममा हुने उनको भनाइ छ।

त्यस्तै सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि हाल नेपालमा कोरोना संक्रमणको भयावह अवस्था नभए पनि स्वास्थ्यको मापदण्ड अपनाएर भोट हाल्न जानुपर्ने सुझाव दिए।

मुख्य कुरा भारतमा संक्रमणको अवस्था कस्तो छ र त्यहाँबाट नेपाल आइरहेका संक्रमित भएर आए भने उनीहरुले आफ्नो परिवार र हुलमुलमा गए भने उनीहरुबाट संक्रमण फैलिन सक्ने जोखिम धेरै भएकाले स्वास्थ्यका मापदण्ड अपनाउने विषयमा धेरै ख्याल राख्नुपर्ने कुरामा उनले जोड दिए।

डा. पुनका अनुसार, निर्वाचनले गर्दा हुने भीडभाडका कारण संक्रमण बढ्ने सम्भावना हुन्छ तर पहिलो र दोस्रो लहरजस्तो भयावह अवस्था अब शायदै आउँदैन होला।

“अहिले भइरहेको हुलमुलबाट संक्रमण फैलियो भने शुरुमा खोप नलगाएका व्यक्तिहरु जोखिममा पर्छन्,” उनले भने, “अझै पनि केही समूहले खोप लगाएका छैनन् भने दोस्रो मात्रा लगाएका ज्येष्ठ नागरिकले तेस्रो मात्रा नलगाउने पनि धेरै छन्। र, पाँच देखि ११ वर्षसम्मका बालबालिकाले पनि अहिलेसम्म खोप पाएका छैनन्। त्यसैले पनि उनीहरु उच्च जोखिममा रहेकाले सर्तकता अपनाउन आवश्यक छ।”

अब आउँने कोरोनाको लहर तेस्रो लहरजस्तै भए पनि त्यो बेला पनि खोप नलगाएका ज्येष्ठ नागरिकको मृत्यु धेरै भएको उनले बताए। अहिले पनि उनीहरु नै जोखिम समूहमा रहेको भन्दै उनले सबैलाई खोप लगाउन अनुरोध गरे।

त्यस्तै, पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो लहरमा बालबालिकाहरु संक्रमति हुँदै जानेको संख्या धेरै भएकाले अब आउने लहरमा पनि उनीहरु जोखिममा पर्नसक्ने भएकाले भीडभाड गर्दा जोखिम समूहलाई ध्यानमा राख्नुपर्ने कुरामा समेत उनले सुझाव दिए।

त्यस्तै मन्त्रालकी प्रवक्ता डा. संगीता कौशल मिश्रले पनि भारतमा संक्रमण बढ्दो र नयाँ–नयाँ भेरियन्ट देखिरहेकाले नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सर्तकता अपनाउँदै स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरिन्।

“कोभिड–१९ को जोखिम बढेको वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा विशेष सावधानी अपनाउने आवश्यक समवन्य गर्ने र निगरानी चुस्त पार्नेजस्ता कार्यहरु गर्न अनुरोध छ,” उनले भनिन्।

स्वास्थ्यकर्मी पनि स्थानीय चुनावमा खटिनुपरेकाले सोही दिन खोप अभियान कार्य सञ्चालन गर्न नसकिने समेत उनले जानकारी दिइन। प्रसूति र अन्य आकस्मिक सेवाहरु सञ्चालन गर्न सबै अस्पतालहरुलाई उनले अनुरोध गरेकी छन्।

नाकामा कडाइ

भारतमा संक्रमणको संख्या वृद्धि भएसँगै नेपाल र भारत सीमा नाकामा सतर्कता अपनाउन शुरु गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले निर्वाचन नजिकिएसँगै भारत गएका नेपाली आउने क्रम बढिरहेकाले सिमानाका जमुनाहामा ‘हेल्थ डेक्स’ स्थापना गरी एण्टिजेन परीक्षण र खोप लगाएको नलगाएको पत्ता लगाई नलगाएको पाइएमा खोप दिएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए।

उनले भने, “निर्वाचन भएकाले हिजोसम्म भारतबाट आउनेको संख्या धेरै थियो, त्यसैले हामीले केही कडाइ गरेका थियौँ। खोप दिने र एण्टिजेन परीक्षण गरिहेका थियौँ तर पोजेटिभ हुनेको संख्या भने निकै कम छ। अब चुनाव सकिएपछि पुनः नाका खुल्ने र हेल्थ डेक्स पुनः सञ्चालन गरिने छ।”

अझै ३२ प्रतिशत नागरिक खोप लगाउन बाँकी

नेपालको कुल जनसंख्याको ३२ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाउन बाँकी नै छ। हालसम्म कुल जनसंख्याको १ करोड ९७ लााख ३५ हजार १५३ (७७ प्रतिशत) जनाले पूर्ण मात्रा खोप लगाएका छन् भने २ करोड २३ लाख ४४ हजार ९८० (७६ प्रतिशत) जनाले पहिलो मात्रा खोेप लगाएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, खोप अभियान शुरु भएदेखि हालसम्म चार करोड २४ लाख १० हजार ८२० मात्रा खोप लगाइसकेको छन्। तीमध्ये एक करोड ८९ लाख ७० हजार ९८५ जनाले पहिलो मात्रा र एक करोड ८७ लाख ३५ हजार १५३ जनाले दोस्रो मात्रा खोप लगाएका छन्।

नेपालमा १८ वर्ष माथिका लक्षित समूहको ९७ प्रतिशतले पहिलो मात्र र ८६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

त्यस्तै, आजसम्म ३७ लाख ४ हजार ६८२ जनाले बुस्टर डोज लगाइसकेका छन्।हालसम्म नेपालमा ११ लाख १९ हजार १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ११ हजार ९५२ जना संक्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

होम आइसोलेशन र संस्थागत आइसोलेशन गरेर देशभरि जम्मा १ सय ८७ जना रहेका छन्। भेन्टिलेटरमा हुनेको संख्या शून्य रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved