उम्मेदवारका प्राथमिकतामा छैनन् महानगरबासी भुइँमान्छेका पीडा

“चुनावको बेला यो गर्छौं, त्यो गर्छौँ भन्छन् तर कुर्सी पाएपछि सबै बिर्सन्छन्। ढल निकास राम्रो छैन। बाटोघाटो खाल्टाखुल्टी छ। यसलाई कसले हेर्छ र ?”

उम्मेदवारका प्राथमिकतामा छैनन् महानगरबासी भुइँमान्छेका पीडा

काठमाडौं। सेतै फुलेको कपाल। मुजा परेको अनुहार। हातमा सूर्यको झण्डा बोकेका बालाजूका कृष्ण महर्जन उक्त पार्टीको घरदैलो कार्यक्रममा सहभागी थिए।

वसन्तपुरबाट शनिबार बिहान शुरु भएको एमालेको घरदैलो कार्यक्रम उनी १० मिनेट पनि उभिन सकेनन्। उनी वसन्तपुरमा भेला भएको भीडबाट अलिक पर ढुङगाको सिँढीमा गएर थचक्क बसे।

“हाम्रो समस्या कसले बुझ्छ। आफ्नो समस्या आफैँसँग छ। कसले जिते हामीलाई के ?,” मनभित्र वर्षौँदेखि गुम्सिएको व्यथाको सानो अंश मुखबाट निकाले।

“झण्डा किन हातमा बोक्नुभएको त ?” भन्ने जिज्ञासामा उनले भने, “बोक्नू भनेपछि बोकिदिनु परेन त !”

फोहोर व्यवस्थापन अहिलेको सबैभन्दा ठूलो समस्या भएको उनले बताए। भने, “पैसा तिर्दा पनि फोहोर लैजाँदैनन्। घरमा फोहोर कुहिएर गन्हाउँछ तर लिनै आउँदैनन्।”

कृष्णको छेउमै बसेकी पुतलीसडककी विनिता श्रेष्ठले पनि उनको कुरामा सहमति जनाइन्। भनिन्, “चुनावको बेला मात्र नेताले हामीलाई सम्झन्छन्, दुःख पर्दा सम्झने कोही छैन।”

खानेपानीको दुःख भएको उनले सुनाइन्। “धारामा पानी आउँदैन, चैत-वैशाखमा त झन् बोरिङको पानी पनि रातो आउँछ,” उनले भनिन्, “भाडामा बस्नेहरु पैसा तिरेर पनि पानी छैन भन्दै कराउँछन्।”

कयौँपटक शौचालय जाने पानीसमेत नभएको उनले बताइन्। “पानी हामीले ल्याउन सक्ने कुरा होइन, सरकारले पानी आउँछ आउँछ भनेको धेरै भयो। खै कहिले आउँछ पानी ?,” उनले प्रश्न तेर्‍स्याइन्।

काठमाडौं, असनकी स्थानीय गोपी महर्जन पनि दैनिक बिहान वसन्तपुर आउँछिन्। बिहानभर वसन्तपुरमा बसेर भोक लागेपछि डेरा फर्किनु उनको नित्यकर्मजस्तै भएको छ। बल्खुमा जन्मिएकी वृद्धा महर्जनको विवाह असनमा भयो। उनका दुवै छोरी त्यहीँ जन्मिए, हुर्किए। अब त दुवै विवाह भएर गइसके। पतिले नरलोक छाडेको पनि सात वर्ष भइसक्यो। घर पनि पतिको उपचार खर्चमै सकियो।

घरबाट उनी डेरामा झरेकी छिन्। परिवारमा पनि एक्ली भएकी छिन्। बिहान-बेलुका हातमुख जोर्न पनि मुश्किल भएको उनले बताइन्। गोपी महर्जनले भनिन्, “आफू दुःख गरेर खानुपरिहाल्छ। सरकारको आश गरेर केही सुविधा पाइने होइन।”

कांग्रेस जुलुसमा भेटिएकाको पनि उस्तै पीडा

१६ वैशाखमा कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह लगायत उनका कार्यकर्ता नागपोखरी र हाँडीगाउँको घरदैलो कार्यक्रम थिए।

नागपोखरी परिसरमै बक्सिङ सिकाइरहेका स्थानीय राजकुमार महर्जनले त्यसअघि सिर्जना सिंहलाई कहिल्यै देखेका पनि थिएनन्। उनलाई प्रकाशमान सिंहको श्रीमतीको रूपमा चिनेका थिए।

सिर्जना सिंहले उनीसँग भोट मागिन्। अनि नागपोखरीको मन्दिर परिक्रमा गरिन् र निस्किइन्। तर, बक्सिङ सिकाइरहेको ठाउँमा सिंह एक्कासी पुग्दा केही बेर अलमलिए।

त्यहीँ भेटिएका कृष्ण, विनिता र गोपीजस्तै उनी पनि राजनैतिक दलप्रति असन्तुष्ट छन्। “जुनै सरकार आए पनि नेता देखापर्ने चुनावकै बेला मात्र हो। जनता समस्यामा हुँदा कसैलाई चासो हुँदैन,” उनले गुनासो पोखे, “बालबालिकालाई खेल खेलाउने सार्वजनिक खेलमैदान छैन, यस्तो महानगर छ।”

महानगरले वडा स्तरमा खेल मैदान बनाएमा बालबालिकालाई खेलाउन सार्वजनिक स्थल खोज्दै हिँड्नुपर्ने बाध्यता हट्ने राजकुमारले बताए।

नागपोखरीकै स्थानीय अञ्जना खड्गीको घर पुग्ने भित्री सडक भत्किएको छ। घरअगाडिको सडक भत्काउँदा धारामा महिनौँ पानी नआएको उनले सुनाइन्, “यो सडक भत्काएपछि खानेपानी आएन। ट्याङ्करको पानी ल्याउँदा सडक यस्तो भएर दुःख पाइयो,” उनले गुनासो पोखिन्।

अब निर्वाचित जनप्रतिनिधिले चाहिँ यो समस्या हल गर्दिन्छन् भन्ने आशामा छिन् उनी।

कालोपुलका स्थानीय महेश डङ्गोल भन्छन्, “बर्खामा वर्षेनी घर-घरमा खोला बग्छ, बाढीले सोरेर ल्याएको फोहोर घरमा ल्याएर थुपार्छ।”

बाढीका कारण वर्षेनी लाखौँ क्षति पुर्‍याएको उनले गुनासो पोखे। डङ्गोलले भने, “बर्खामा एक घण्टा ठूलो पानी आयो भने बाढी पस्छ। एकपल्ट थुपारेको बालुवा, फोहोर सफा गर्न नपाउँदै फेरि आउँछ।”

अब निर्वाचित जनप्रतिनिधिले तटबन्ध गरिदिए जीवनभरि उसैलाई भोट दिने पनि उनले बताए।

विवेकशीलको अभियानमा

विवेकशील साझा पार्टीकी उम्मेदवार समीक्षा बास्कोटालगायत सो पार्टीका केही कार्यकर्ता २१ वैशाखमा क्षेत्रपाटी क्षेत्रमा घरदैलो पुगेर भोट मागिरहेका थिए। त्यहाँका स्थानीयका पनि थुप्रै समस्या छन्।

क्षेत्रपाटीकी विमला मगैयाको घरअगाडिको ढुङ्गेधारा सुकेको छ। बिहे गरेर आएको लामो समय त्यही ढुङ्गेधाराको पानी खान्थिन्।

अहिले उनकोमा खानेपानीको समस्या छैन। घरअगाडिको बाटो पनि बन्दै छ तर उनलाई ढुङ्गेधारामा सुकेकोमा ननिको लागेको छ। “घरमा खानेपानी त आइराखेको छ, बाटो पनि ठीकै छ। ढुङ्गेधारामा पानी आए हुन्थ्यो,” उनले भनिन्।”

क्षेत्रपाटीकी अर्की स्थानीय सुनीता श्रेष्ठ भनिन्, “सबैभन्दा ठूलो समस्या युवाहरु हो। युवालाई विदेशिनबाट रोक्नुपर्‍यो। उनीहरुलाई काम गर्ने प्लेटफर्म यहीँ बनाउनुपर्‍यो।” अब आउने जनप्रतिनिधिले विदेशिएका युवालाई स्वदेश फर्काउने वातावरण बनाउनसक्नुपर्ने उनी बताउँछिन्।
मेयर उम्मेदवार समीक्षाले “तराजुलाई नबिर्सनु है !” भन्दा उनले प्रश्न तेर्साइन्, “अघिल्लो चुनावमा पनि तराजुमै भोट होलेको हो। खै, तपाईंहरुले के गर्नुभयो ?”

क्षेत्रपाटीका स्थानीय अनुप श्रेष्ठले भने, “चुनावको बेला यो गर्छौं, त्यो गर्छौँ भन्छन् तर कुर्सी पाएपछि सबै बिर्सन्छन्। ढल निकास राम्रो छैन। बाटोघाटो खाल्टाखुल्टी छ। यसलाई कसले हेर्छ र ?”

अनुपले भने, “हामीले छानेको प्रतिनिधिले हाम्रो समस्या बुझेको खै? यिनीहरुले सबै टोलमा समान विकास गर्दैनन्। आफ्ना हेरेर विकास गर्छन्।”

हरेक चुनावमा आकर्षक विषय समेटेर प्रतिबद्धता गरे पनि महानगरले मतदाताको आाधरभूत आवश्यकता पूरा गर्न सकेको छैन।

आसन्न चुनावलाई लक्ष्यित गरेर राजनैतिक दलका नेताहरु घरदैलो कार्यक्रममा छन्। परम्परागत चुनावी प्रचारप्रसारलाई अनुशरण गर्दै उम्मेदवारहरु मतदाताको घरमा पुगेका प्रतिबद्धतापत्र थमाएर हिँडिरहेका छन् तर उनीहरुले थमाएको पत्रमा उनीहरुका समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता भने छैन।

विद्यासुन्दरले गुमाएको अवसर

संघीयतापछि काठमाडौंको स्थानीय सरकारको पहिलो नेतृत्व एमालेले नै पायो। महानगरका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकाल घोषणापत्रमा उल्लिखित काम नगरी कटाएकोप्रति नगरबासीको गुनासो छ।

मेयर शाक्यले कार्यकाल पूरा गर्दा काठमाडौंलाई फोहोरमुक्त गर्न सकेनन्। चुनावको मुखमा राजधानी फोहोरको डंगुर थुपारिएको देख्न सकिन्छ।

मतदाताले पनि फोहोर व्यवस्थापन हुनुपर्ने विषयलाई बढी जोड दिएका छन्। महानगरका एमालेका उम्मेदवार केशव स्थापितको प्रतिवद्धता-पत्रमा फोहोरमैला व्यवस्थापनलाई समेटेका छन्। उनले दीर्घकालीन रूपमा फोहोरमैला समस्याको समाधान गर्ने प्रतिबद्धता गरेका छन्।

कांग्रेसको प्रचार- ‘शून्य फोहोर’

कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पनि महानगरलाई ‘शून्य फोहोर’ बनाउने प्रतिबद्धता जनाएकी छिन्।

त्यस्तै, विवेकशिल साझा पार्टीकी उम्मेदवार समीक्षा बास्कोटाले पनि वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएकी छिन्।

डुबानको र खानेपानी

महानगरको अर्को समस्या वर्षातमा खोला किनाराका बस्ती डुबानको जोखिममा छन्। वर्षेनी महानगरका केही बस्ती डुबानमा पर्छन्। जसका कारण धन जनको क्षति व्यर्हाेनुपर्छ। महानगरबासीको यो समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता कुनै राजनैतिक दलसँग छैन।

एमालेले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ-सस्थासँग सहकार्य गर्ने भनेको छ। मानौँ, महानगरले तटबन्धन व्यवस्थापन नै गर्न सक्दैन।

त्यस्तै, स्थानीयको अर्को समस्या खानेपानी। मेलम्ची खानेपानी आयोजना काठमाडौंबासीको प्यास मेट्ने माध्यम हो। लामो समयदेखि शुरु भएको यो आयोजना सम्पन्न हुन निकै समय लाग्यो। मेलम्चीको पानी काठमाडौं आउने समयमा नै हेलम्बुको बाढीका कारण पानी आउन अवरुद्ध भयो। अहिले महानगरको केही स्थानमा मेल्म्चीको पानी आएको छ तर मेलम्चीको पानी अस्थायी रूपमा आएको हो।

चुनावको मुखमा आएको पानी चुनाव सकिएलगत्तै फेरि बन्द हुँदैछ। बर्खाअगावै यो पानी आउन बन्द हुने आयोजनाले जनाइसकेको छ। यसको विकल्प कुनै उम्मेदवारले पनि सोचेका छैनन्।

महानगर सांस्कृतिक सम्पदाको शहर हो। यहाँका मठ मन्दिर र ढुंगे धाराको छुट्टै महत्व छ। अहिले महानगरका धेरैजसो ढंगेधारा सुकेका छन्। ढुंगे धारामा पुन पानी आउने बनाउने योजना एमाले र कांग्रेसको उम्मेदवारसँग छैन्। विवेकशील साझाले भने ढुङ्गेधाराको संरक्षण गर्ने भनेको छ।

त्यस्तै, युवा रोजगार सिर्जना गरी युवालाई विदेशिनबाट रोक्न महानगरले काम गर्नुपर्ने स्थानीयको अपेक्षा पूर्ण गर्न एमालेले युवाको जाँगर, समृद्ध महानगरअभियान र युवासँग मेयर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। त्यस्तै कांग्रेसले युवाका लागि अवसर दिने प्रतिबद्धता जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved