हेटौँडा उपमहानगरमा गठबन्धन हाम्रो प्रतिस्पर्धी नै होइन : अनन्त पौडेल

गठबन्धनको विकासको कुनै योजना छैन। सत्तामा बसेर गठबन्धन यो कहीँ पनि हुँदैन। माथिको निर्देशनको आधारमा मतदाताले मत हाल्नुपर्ने भन्ने छैन। गठबन्धनले जित्यो भने देशमा अस्थिरता आउँछ। एक्लाएक्लै आउनुभएको भए जस्ले जित्नु भए पनि हाम्रो शुभकामना रहन्थ्यो।

हेटौँडा उपमहानगरमा गठबन्धन हाम्रो प्रतिस्पर्धी नै होइन : अनन्त पौडेल

बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय तहको निर्वाचन सरमर्गी निकै बढेको छ। उम्मेदवारहरु जनताको घरदैलोसम्म पुगिरहेका छन्। हेटौँडा उपमहानगरपालिकामा मेयर पदमा धेरै जनाले उम्मेदवारी दिए पनि नेकपा एमालेका अनन्त पौडेल, गठबन्धनबाट मीना कुमारी लामा र राप्रपाका दीपकबहादुर सिंहबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ।

संविधानसभा सदस्यसमेत रहेका अनन्त पौडेलले अहिले मेयर पदमा उम्मेदवारी दिएका छन्। पाँच दलीय गठबन्धन बनिरहँदा नेकपा एमालेलाई जित्न निकै चुनौती रहेको विश्लेषण भइरहेको समयमा पौडेलले गठबन्धनभन्दा राप्रपा चाहिँ अगाडि आउन सक्ने बताइरहेका छन्। प्रस्तुत छ उनै एमाले उम्मेदवार पौडेलसँग नेपालभ्यूजका लागि सम्झना रिजालले गरेको कुराकानी:

निर्वाचन नजिकिदै छ, नेकपा एमालेको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएको छ। के कस्तो तयारी चल्दै छ त ?
अहिले हामी निर्वाचनको प्रचार प्रसारको क्रममा मतदाता भेटघाट गर्ने, उहाँहरुको भावना बुझ्ने, आफ्ना कुराहरु राख्ने काम गरिरहेका छौँ। आगामी दिनमा हामीले गर्ने कामहरुको बारेमा मतदातालाई जानकारी गराउने, विभिन्न कार्यक्रमहरु गर्ने गरिरहेका छौँ। प्रचारका लागि हामीसँग एकदमै कम समय छ। त्यसको सदुपयोग गरिरहेका छौँ। अझै पुग्नु पर्ने धेरै ठाउँहरु छन्। यतिबेला हामी अत्यन्तै व्यस्त छौँ।

मतदाताको भावना बुझ्ने काम गरिरहेका छौँ भन्नुभयो। तपाईंसँग यहाँको मतदाताको अपेक्षा के रहेछ त ?
यहाँको भूगोल हेरी फरक फरक अपेक्षा छ। पहिलेका ११ ओटा वडाको अपेक्षा भनेको अहिलेका साँघुरा सडकहरु फराकिला हुन्, फोहोर मैलाको व्यवस्थापन दीर्घकालीन रुपमा होस्, मेडिकल कलेज, अस्पतालहरु बनुन् भन्ने छ भने अलि दुर्गम वडाहरुको चाहिँ भौतिक पूर्वाधारका कुराहरु त्यहाँ सडक बनोस्, खानेपानीको सुविधा पुगोस्, शहरी स्वास्थ्य केन्द्रहरु राम्रा हुन्, विद्यालयको भौतिक अवस्थामा सुधार होस् भन्ने छ। फरक फरक अपेक्षा छ। तर आम अपेक्षाचाहिँ के छ भने जनप्रतिनिधिहरु बेला बेलामा उहाँहरुको घरमा पुगुन् भन्ने छ। आइदिउन्, हामीसँग भेटघाट गरुन् भन्ने छ। मत माग्ने बेला मात्र आउने अरु बेला हाम्रो घरमा नआउने भन्ने उहाँहरुको गुनासो छ। यस्ता कुराहरु मबाट अन्त्य होस् भन्ने उहाँहरुको अपेक्षा छ।

तपाईं संविधानसभा सदस्य भइसक्नु भएको मान्छे किन स्थानीय तहमा आउनुभएको ?
यो धेरै जनताको चासोको विषय बनेको छ। हाम्रा विपक्षी साथीहरुले पनि यो कुरामा धेरै चासो राखिराख्नु भएको छ। संसारमा यो कुरा धेरै देशमा प्राक्टिस छन्। राष्ट्रपति भइसकेका मान्छे पनि मेयरमा उठ्छन्। हाम्रै देशमा पनि प्रदेशका मन्त्री भइसक्नुभएकाहरु पनि मेयरमा उठ्नुभएको छ। यो आवश्यकताका कारण मैले उम्मेदवारी दिएको हुँ। मेरो इच्छा र पार्टीको आवश्यकता दुवै हो। संसद्मा हुँदा पनि जनताकै लागि कानून बनाउने हो। यहाँबाट पनि जनता कै सेवा गर्ने हो। हाम्रो यहाँ सांसदको एउटा क्षेत्र १३ ओटा मात्रै वडा हेर्ने छ। बरु मेयरले १९ ओटै वडा हेर्छ। जनताको सेवा गर्ने कुरालाई कहाँ रहेर गर्ने भन्ने कुराले फरक पार्दैन। कुनै स्वार्थले नभइ जनसेवाको भावले म यहाँ आएको हुँ।

तपाईको सपनाको हेटौँडा उपमहानगरपालिका कस्तो हो ? के छ योजना ?
मेरो लक्ष्य भनेको हेटौँडाको औद्योगिक क्षेत्रको विकास, कृषिमा आधुनिकीकरण, पर्यटकीय क्षेत्रको विकास गर्नु रहेको छ। भोलिको दिनमा टुरिजम सर्किट बनाउने योजना छ। पर्यटकहरुको बसाइ लम्ब्याउने गरी संरचना निमार्ण गर्ने योजना छ। अब नयाँ बन्ने संरचनाहरु व्यवस्थित बनाउने योजना छ। हिजो बनेका सडकहरु साघुँरा भए, अब बन्ने सडकहरु भने अबको सय वर्षसम्म पनि पुनर्निर्माण गर्न नपर्ने गरी बनाउनु जरुरी छ। यस्ता कुरामा ध्यान दिएर सुन्दर हेटौँडा बनाउने लक्ष्य छ।

यसैगरी शिक्षाको क्षेत्रमा एउटा हब बनाउने योजना छ। देशको बीच भागमा पर्ने भएकाले शैक्षिक हबको रुपमा पनि हेटौँडालाई चिनाउने योजना छ। हाम्रो यो भूभागलाई पनि हामीले भरपुर सदुपयोग गर्न सक्छौँ। समग्रतामा फोहोर व्यवस्थापन पनि हाम्रो चुनौतीको रुपमा आएको छ। हामीसँग चार प्रकारका फोहोर हुने रहेछन्। अहिलेको व्यवस्थापनले त्यो धान्दैन। त्यता पनि काम गर्नुपर्ने छ।

सडकको निर्माणमा पनि ध्यान दिनुपर्नेछ। बाइपास सडकको निमार्ण गरेर ठूला सवारीलाई व्यवस्थित गर्ने योजना रहेको छ। शहरको ट्राफिक व्यवस्थापन गर्ने गरी आकाशे पुल निर्माण, ट्राफिक लाइट निर्माण गर्ने गरी काम गर्छौँ। शहरमा सुरक्षाको प्रत्याभूति दिलाउन सीसीटीभी जडान गर्ने गर्छौँ। तीन वडामा एक दमकलको व्यवस्थापन, नागरिकको गुनासो सुन्ने हेलो सेन्टर र प्रशासन यन्त्र चुस्त बनाउने गरी काम गर्छौँ।

अहिलेसम्म पूर्वाधारको क्षेत्रमा लामो समय खर्च गर्‍यौं, काम गर्‍यौं। अब मान्छेको जीवनसँग जोडिने गरी काम गर्नुपर्छ। शहरीया गरीबहरुको तथ्यांक संकलन गर्ने र कार्ड बनाएर सेवा दिने, ‘आहा हेटौँडा’ बनाउनको लागि विज्ञ र राजनीतिज्ञ मिलेर काम गर्नुपर्छ। यी सबै कुरामा गम्भीरताका साथ लागेर हेटौँडालाई सुन्दर, शान्त, सफा र समृद्ध बनाउने मेरो योजना छ।

तपाईंका यी योजनाहरु महत्वकांक्षी भएनन् ?
त्यस्तो महत्वकांक्षी छैन। हामीले विपन्न वर्गलाई खानेपानी निशुल्क दिन्छौँ भनिरहँदा कसरी दिन्छन् भन्ने प्रश्न उठिरहेको छ। अहिले पनि खानेपानी बोर्डलाई ४/५ करोड रुपैयाँ वार्षिक अनुदान दिइने गरिएको छ। त्यहीभित्रबाट यो काम गर्न सकिने अवस्था छ। समाजका विभिन्न व्यक्तिहरुले योगदान गरेका कुराहरुलाई ताजकीकरण गर्नका लागि योजना ल्याएका छौँ।

करको दर होइन करको दायरा बढाएर हामीले यी योजनाहरु पूरा गर्ने स्रोत जुटाउने छौँ। अहिले पनि बजेट भएर पनि खर्च गर्न नजान्दा धेरै बजेट त्यसै रहेको अवस्था छ। यी बजेटलाई ठीक ठाउँमा खर्च गर्ने हो भने यसको परिणाम पनि राम्रो आउँछ। व्यवस्थापन गर्न नसकिने विषय हामीले राखेका छैनौं। हामीसँग तीन किसिमका योजनाहरु छन्। अल्पकालीन, दीर्घकालीन र एउटा तत्काल गर्नुपर्ने। अल्पकालीन योजनाहरुलाई केही समयमा पूरा गर्ने गरी काम गर्नेछौँ भने दीर्घकालीनलाई पाँच वर्ष भित्रमा पूरा गर्नेछौँ।

योजनाहरु बताइरहँदा तपाईको जित्ने आधार चाहिँ के रहन्छ ?
जित्ने आधार त नेकपा एमालेले विगतमा गरेका कामहरु नै हुन्। विपक्षीहरुले पनि अहिले कहीँ पनि गएर हामीले काम गर्न सकेनौं भन्न सकेका छैनन्। गाडीहरु हामीले स्ल्याब गरेकै बाटोमा गुड्न पाएका छन्। विद्यालयहरुको अवस्था पनि राम्रो बनाएका छौँ, खानेपानीको व्यवस्थापन गरेका छौँ, विद्युतका पोलहरु लगभग काठका पोलहरु विस्थापन गरेका छौँ, खरको छानो मुक्त गरेर जस्ताको छानो बनाउने काम गरिरहेका छौँ। जोखिमयुक्त बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्ने दायित्व अहिले हामीसँग छ।

२०४९ सालमा नगरपालिकाको रुपमा हामीले जिम्मा लिँदा जम्मा डेढ किलोमिटर मात्र पिच थियो। हेटौँडा उपमहानगरपालिकाको धेरै कामहरु हाम्रो नेतृत्वमा भएको छ। मुख्यमन्त्री डोरमणि पौडेल भइसकेपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने काम भयो। अहिले गठबन्धनले यो काममा अप्ठ्यारो पारेको छ। तर हामी निर्वाचित भइसकेपछि यसको व्यवस्थापन गर्नेछौँ। हामीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानीको क्षेत्रमा धेरै राम्रो काम गरेका छौँ। हरेक घरमा धाराबाट पानी खाने व्यवस्था गरेका छौँ। यीनै हुन् हाम्रो जित्ने आधार।

पाँच दलीय गठबन्धन बनेको छ, यसले गर्दा तपाईंलाई जित्नका लागि चुनौती छ भन्छन् नि ?
केही चुनौती छैन। यो गठबन्धन नै हैन, बन्धन नै बाँधिएको छैन। यो त केन्द्रीय सत्ताको स्वाद चाख्नको लागि माथिको नेताहरुको कुरा हो। तल्लो स्तरमा कोही पनि खुशी छैनन्। जिन्दगीभर आफ्नो पार्टी बनायो, सदस्य बनायो अनि चुनाव आउने बेलामा तँ उठ्न पाउँदैनस्, अर्कै चुनाव चिह्नमा भोट हाल् भनेर पार्टीले भन्देको कुरामा कोही पनि लाग्नेवाला छैनन्। यो बिलखबन्धन हो। गठबन्धन मेरो लागि चुनौतीको विषय होइन, यो तेस्रोमा पुगिसकेको छ हेटौँडामा।

भनेपछि तपाईंले आफ्नो प्रतिस्पर्धीका रुपमा राप्रपालाई मानेको छु भन्न खोज्नुभएको हो ?
गठबन्धनमा बिलखबन्धनमा परेका व्यक्तिहरुको अलिअलि मत त्यता जाँदा केही मत थपिएला कि भन्ने कुरा हो। गठबन्धनको साह्रै थोरै मत छ। हेटौँडामा गठबन्धनको उम्मेदवारको मत दुई हजार हो, अरुले २६ हजार मत बढी देलान् भनेर अपेक्षा गर्नु कतिसम्मको मुर्खता हो ? आफैं २० हजार भए अरुले आठ हजार थप्न सक्थे। राप्रपामा गठबन्धनको भन्दा थोरै मत बढी छ। गठबन्धनलाई अलिकति पछाडि पार्छ कि भन्ने आकलन छ। मसँग प्रतिस्पर्धा गर्नको लागि गठबन्धन र राप्रपाको प्रतिस्पर्धा छ।

नेकपा एमालेबाट नै मेयर पदमा धेरै जनाले आकांक्षा देखाउनु भएको थियो। तपाईंले पाएपछि अरु छुट्नुभयो। उहाँहरुलाई चाहिँ कसरी समेट्नु भएको छ त ?
हो, धेरै जनाले आकांक्षा राख्नुभयो। सबै जना क्षमतावान् हुनुहुन्छ। पार्टीभित्र आकांक्षा राख्नु स्वभाविक हो। मैले उहाँहरुसँग कुरा गरेँ। उहाँहरुले पनि बुझ्नुभयो। पार्टीभित्रको निर्णय प्रक्रियामा गयौँ। अन्तत: उहाँहरुले मलाई समर्थन गर्नुभयो। मेरो प्रस्तावक नै हरिबहादुर महतजी हुनुहुन्छ। समर्थक रघु खुलालजी हुनुहुन्छ। हामी सबै जना मिलेका छौँ। भित्र हाम्रो आन्तरिक समस्या केही छैन। हामी आफू मिलेपछि बाहिर लड्न मजाले सकिन्छ। हामीले जित्ने आधार यही हो। हामी मिलेर विपक्षीलाई हराउन खरो रुपमा उत्रिएका छौँ।

गठबन्धनको विकासको कुनै योजना छैन। सत्तामा बसेर गठबन्धन यो कहीँ पनि हुँदैन। माथिको निर्देशनको आधारमा मतदाताले मत हाल्नुपर्ने भन्ने छैन। गठबन्धनले जित्यो भने देशमा अस्थिरता आउँछ। एक्लाएक्लै आउनुभएको भए जस्ले जित्नु भए पनि हाम्रो शुभकामना रहन्थ्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved