सत्ता–गठबन्धनभित्र गम्भीर आशंका, किन आयो कांग्रेसले बेइमानी गर्ने प्रचण्ड अभिव्यक्ति ?

गठबन्धनको साझा उम्मेवारविरुद्ध भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई कांग्रेसले निलम्बन गरेको छ तर विराटनगरमा गठबन्धनका साझा उम्मेवदारविरुद्ध बागी उम्मेवारी दिएकी उपेमेयरकी उम्मेद्वार न्यौपानेमाथि भने भने माओवादी अझै नरम छ तर माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसमाथि नै आशंका व्यक्त गर्दैछन् । यो एमाले अध्यक्ष केपी ओलीले एक सातामा गठबन्धन टुटाइदिनसक्ने भनी दिएको अभिव्यक्तिसँग मिल्दोजुल्दो छ ।

सत्ता–गठबन्धनभित्र गम्भीर आशंका, किन आयो कांग्रेसले बेइमानी गर्ने प्रचण्ड अभिव्यक्ति ?

काठमाडौं। नेकपा (माओवादीकेन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस गठबन्धनप्रति इमानदार नभएको आरोप लगाएका छन्। कैलालीको कैलारी गाउँपालिकाकास्थित हसुलिया पुगेर उनले कांग्रेसप्रतिको आशंका व्यक्त गरेका हुन्।

कैलालीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन ‘क्लियर’ नभएको बताए। प्रचण्डले कांग्रेसमाथि आरोप मात्रै लगाएनन्, पार्टीबाट गाउँपालिका उपाध्यक्षमा गठबन्धनका कांग्रेस उम्मेदवारविरुद्ध बागी उठेका माओवादीका लागि भोटसमेत मागे।

कैलालीको कैलारी गाउँपालिका सत्ता-गठबन्धनबीच भागबण्डा हुँदा अध्यक्ष माओवादी केन्द्रको भागमा र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो। सोहीअनुरुप अध्यक्षमा माओवादी केन्द्रका राजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसकी भगवती चौधरीले प्रतिस्पर्धा गर्दैछिन्। तर, माओवादी केन्द्रले गठबन्धनका उम्मेदवारविरुद्ध जाँदै उपाध्यक्ष पदका लागि आफ्नै पार्टीबाट बागी उम्मेदवारसमेत उठाएको छ। बागी उम्मेदवारका रुपमा माओवादीले लक्ष्मी सत्गौवालाई उम्मेवार बनाएको हो।

काठमाडौंमा रहँदा शीर्षनेताहरूले सत्ता-गठबन्धन स्थानीय निर्वाचनका लागि मात्र होइन, त्यसपछि हुने संसदीय निर्वाचनपछिसम्मै लैजाने प्रतिबद्धता कायम हुँदा जिल्लाका कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेस इमान्दार नभएको आरोप लगाएका हुन्।

माओवादी अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकाको मेयर पदलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री रेनु दाहाल भरतपुर महानगरपालिकामा सत्ता-गठबन्धनको साझा उम्मेदवारका रुपमा मेयर पदमा प्रतिस्पर्धा गर्ने कारण पनि माओवादी केन्द्रले भरतपुरको मेयर पदलाई प्रतिष्ठाको विषय बनाएको हो।

भरतपुरमा पुत्री रेनु दाहाललाई मेयर पदमा विजयी बनाउन सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको विश्वासिलो साथ माओवादी केन्द्रले खोज्दै छ। जसको प्रतिस्पर्धा नेकपा (एमाले) का पूर्व जिल्ला अध्यक्ष विजय सुवेदीसँग प्रतिस्पर्धा हुँदैछ।

माओवादी केन्द्रलाई भरतपुरमा एमालेका सुवेदीभन्दा बढी कांग्रेसबाट स्वतन्त्र उम्मेवारी दिएका जगन्नाथ पौडेलको चिन्ता छ। मेयर जित्न कांग्रेसको समर्थन जरुरी देखेका प्रचण्ड चुनावको दिन आउँदै गर्दा थप सशंकित भएका हुन्।

तीन दिनअघि भरतपुरमा चुनावीसभा आयोजना गरी प्रचण्डले रेनुलाई जिताएमा गठबन्धन १५-२० वर्षसम्म टिकाउने नत्र भने पुनर्विचार गर्नुपर्ने आशय व्यक्त गरेका थिए तर सोही मञ्चबाट कांग्रेसका नेताहरुले गठबन्धनका साझा उम्मेदवार रेनुका लागि मत मागेका थिए।

कांग्रेसबाट प्रतिबद्धता प्राप्त गरेको तीन दिनपछि नै माओवादी केन्द्रका अध्यक्ष दाहालले गठबन्धनप्रति कांग्रेस इमान्दार नभएको आरोप लगाएका छन्। तीन दिनअघि भरतपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले स्थानीय तहको निर्वाचनमा गठबन्धन पराजित भए देश दुर्घटनामा जाने बताएका थिए, जुन त्यसपछि जनकपुर, काठमाडौं र पोखराका सभामा पनि दोहो¥याएका थिए।

भरतपुरमा गठबन्धनले रेनुलाई मेयर पदको उम्मेदवार बनाउँदै गर्दा कांग्रेसबाट जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टी निर्णयलाई अस्वीकार गरेको भन्दै उनलाई पार्टीबाट निष्काशित गरिएको छ।

कांग्रेसले गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिने आफ्ना पुराना कार्यकर्तालाई साधारण सदस्यबाट समेत निष्काशित गर्दा माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेस गठबन्धनप्रति इमान्दार नभएको आरोप लगाएका हुन्। उल्टै प्रचण्डले आफ्ना बागी उम्मेवारका पक्षमा मतदानका लागि कैलाली पुगेर आग्रह गरेका छन्।

कैलालीमा प्रचण्डले कांग्रेस इमान्दार नभएको आरोप लगाउँदै गर्दा भरतपुरको मेयर पदमा माओवादी केन्द्रबाट गठबन्धनको साझा उम्मेवार बनेकी रेनु दाहाललाई जिताउन कांग्रेसका केन्द्रीय सदस्यहरू भरतपुरको वडास्तरमा खटिएका छन्। कांग्रेसका २५ भन्दा बढी केन्द्रीय सदस्यहरू भरतपुरका वडाहरूमा अड्डा जमाएर बसेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले गठबन्धनका पक्षमा आफ्नो पार्टी इमान्दारिताका साथ लागेको बताए। “गठबन्धन भएका स्थानमा हामी इमान्दारीपूर्वक गठबन्धनका उम्मेद्वारको पक्षमा लागेका छौँ। हामीले मतदान गर्न कार्यकर्तालाई आग्रह गरेका छौँ,” साउदले भने, “गठबन्धन नभएका स्थानमा हामी मित्रवत प्रतिस्पर्धा गर्नेछौँ।” साउदले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुन सन्र्दभमा कांग्रेसमाथि अविश्वास व्यक्त गर्दै आरोपित गरेको भन्ने बुझ्न नसकेको बताए।

कांग्रेसका अर्का केन्द्रीय सदस्य शंकर भण्डारी पनि आफूहरु गठबन्धनको पक्षमा इमान्दारीपूर्वक लागेको बताउँछन्। उनले भने,“हाम्रा इमान्दारिताप्रति कसैले शंका नगरे हुन्छ।”

कांग्रेस आफू गठबन्धनप्रति इमान्दार रहेको बताउँदै गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मात्रै होइन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत कांग्रेसले आफूहरुको सम्मान नगरेको आरोप लगाउँदै आएका छन्।

पोखरामा २६ वैशाखमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका नेपालले पोखरामा रहँदा यस्तो आरोप कांग्रेसमाथि लगाएका हुन्। चुनावीसभालाई सम्बोधन गर्ने क्रममा नेपालले कांग्रेसप्रति लक्ष्यित गर्दै भनेका थिए, “कसैले दम्भ नदेखाए हुन्छ।”

पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका तर्फबाट धनराज आचार्यले मेयर पदमा प्रतिस्पर्धा गर्दैछन् भने उपमेयर पदमा कांग्रेसबाट कोपिला रानाभाटले प्रतिस्पर्धा गर्दैछिन्। कांग्रेसले पोखरा महानगरपालिकाको मेयर पद नेकपा (एकीकृत समाजवादी) लाई छोड्न नमान्दा गठबन्धनलाई महानगरपालिका भागबण्डामा समस्या आएको थियो।

अन्त्यमा पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परे पनि त्यहाँ कांग्रेसले अन्तरघात गर्ने सम्भावना रहेको बताइन्छ। उम्मेवारी दर्ताको समयमा कांग्रेस कार्यकर्ताले जिल्लाको पार्टी कार्यालयमा गरेको तोडफोडका कारण पनि त्यहाँ अन्तरघात हुनसक्ने आकलन गरिएको हो।

त्यसो त माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतकसमेत रहेका सो दलका नेता देव गुरुङ गठबन्धन दलबीच कुनै समस्या नरहेको बताउँछन्। कैलालीमा माओवादी केन्द्रका अध्यक्ष दाहालले कुनै सन्र्दभमा कांग्रेस गठबन्धनप्रति इमान्दार नभएको बताएको भए त्यस विषयमा आफूलाई जानकारीमा नरहेको बताए।

“अध्यक्ष दाहालले कुन सन्र्दभमा कांग्रेस इमान्दार नभएको बताए त्यसको जवाफ उहाँले नै दिन सक्नुहुन्छ,” गुरुङले भने, “गठबन्धन दलबीच गठबन्धन भएका स्थानमा गठबन्धनलाई नै सहयोग गर्ने निर्णय भएको छ, नभएका स्थानमा हामीबीच पनि प्रतिस्पर्धा हुन्छ।”

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसलाई ‘बेइमानी गर्नसक्ने’ भनी आशंका गरिरहँदा विराटनगर महानगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकै नेताले बागी उम्मेदवारी दिएका छन्।

विराटनगर महानगरपालिकामा गठबन्धनको निर्णयअनुसार कांग्रेसलाई मेयर पद परेको थियो। कांग्रेसले मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउँदा उपमेयर पदमा जनता समाजवादी पार्टी (जसपा)ले अमरेन्द्र यादव प्रतिस्पर्धामा छन्, जो जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।

विराटनगर महानगरपालिकाको मेयर पदमा दाबी गरेको जनता समाजवादी पार्टीले उपमेयर पद पाए पनि त्यही दलबाट मेयर पदमा गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेवारीसमेत परेको छ।

उपेन्द्रपुत्र अमरेन्द्रविरुद्ध जसपाकै जिल्ला नेता उमेश यादवले गठबन्धनका उम्मेद्वारविरुद्ध मेयर पदमा बागी उम्मेद्वारी दिँदा माओवादीकेन्द्रकी नमीता न्यौपानेले पनि उपमेयर पदमा बागी उठेकी छिन्।

गठबन्धनको साझा उम्मेवारविरुद्ध भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई कांग्रेसले निलम्बन गरेको छ तर विराटनगरमा गठबन्धनका साझा उम्मेवदारविरुद्ध बागी उम्मेवारी दिएकी उपेमेयरकी उम्मेद्वार न्यौपानेमाथि भने भने माओवादी अझै नरम छ तर माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसमाथि नै आशंका व्यक्त गर्दैछन्। यो एमाले अध्यक्ष केपी ओलीले एक सातामा गठबन्धन टुटाइदिनसक्ने भनी दिएको अभिव्यक्तिसँग मिल्दोजुल्दो छ।

माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्याय भने, “केन्द्रको निर्णयविरुद्ध जानेहरुलाई कार्वाही गर्न हामीले प्रदेश कमिटीलाई निर्देशन दिएका छौँ, कारवाही नै भयो कि भएन, जानकारी छैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved