ललितपुरमा चिरीबाबु भर्सेस हरिकृष्ण : पुरानै खेलाडी, नयाँ भिडन्त

२०७४ को निर्वाचनमा ललितपुर महानगरका खसेको कुल सदर मत, ७० हजार दुई सय ४८ मध्ये ६९.७० प्रतिशत मतमा यी दुईको मात्र कब्जा थियो। यो पटक पनि चिरीबाबु नै पुनः अर्को कार्यकालको लागि मेयरको कुर्सीमा बस्छन् या गत निर्वाचनको हारको बदला लिँदै यो पटक हरिकृष्णले कुर्सी खोस्नेछन्।

ललितपुरमा चिरीबाबु भर्सेस हरिकृष्ण : पुरानै खेलाडी, नयाँ भिडन्त

काठमाडौं। २०७४ को स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई झिनो मतले हराएका थिए। मात्रै ३२६ मतको अन्तरले हरिकृष्ण पराजित हुनुपरेको थियो। पाँच वर्षपछि फेरि यी दुई पुरानै खेलाडीबीच ललितपुर महानगरको चाबी कसले लिने भन्ने प्रतिस्पर्धा छ।

दुवै पक्ष निर्वाचनमा विजयी हुने दाबीसहित मैदानमा सक्रिय छन्। तर, दुई उम्मेदवारबीचको कडा प्रतिस्पर्धाको नतिजा ३० वैशाखको निर्वाचनले मात्रै तय गर्नेछ।

०७४ को स्थानीय तह निर्वाचनमा चिरीबाबुले कुल २४ हजार ६४२ मत प्राप्त गर्दा हरिकृष्णको मत संख्या २४ हजार ३१६ थियो। ३२६ मतको सानो अन्तरले जितको परिणाम आएपछि मत गणनामा धाँधली भएको भन्दै हरिकृष्णले मुद्दा पनि हालेका थिए। निर्वाचनमा खटिएका कर्मचारीले भोट गन्दा हिसाब बिगारिदिएको उनको आरोप थियो। तर उनले मुद्दा हारे।

चिरीबाबुका अनुसार चुनाव जिते लगत्तै हरिकृष्णले सामाजिक सञ्जालमा उनलाई बधाई दिएका थिए। त्यो पोष्ट पछि हरिकृष्णले सामाजिक सञ्जालबाट हटाए। तर, स्क्रिन सट गरेर राखेको त्यही बधाईको पोष्ट अदालतमा पेश गरेको आधारमा आफूले मुद्दा जितेको चिरीबाबुले नेपालभ्यूजलाई बताए।

यो पटक पनि महानगर प्रमुख पदका लागि यी दुई पुराना चीरप्रतिद्वन्दीले नै आ–आफ्नो पार्टीबाट टिकट पाए। ललितपुरको मेयर पदमा यो पटक पनि यी दुई मध्ये एकले जित्ने लगभग पक्का छ। त्यसैले पनि पुराना प्रतिस्पर्धीको भिडन्त यो पटक अझ रोमाञ्चक बन्ने अनुमान गरिएको छ।

हुन त निर्वाचन आयोगका अनुसार ललितपुरको मेयर पदका लागि यी दुई सहित उम्मेदवारी दिनेको संख्या १३ छ। तर, तीन स्वतन्त्रसहित अन्य साना दलका उम्मेदवारले दुई प्रमुख दल (कांग्रेस र एमाले) का उम्मेदवारको जनप्रभावलाई भेट्न कठिन छ।

एक त चिरीबाबु र हरिकृष्ण दुवै ललितपुर महानगरका मेयर पदका मात्र होइन ललितपुर राजनीति कै पुराना अनुहार हुन। अर्को तर्फ दुवैको गठबन्धनको खेलले अन्य प्रत्यासीलाई मेयर पद हत्याउन असम्भव प्राय देखिन्छ।

२०७४ को निर्वाचनमा ललितपुर महानगरका खसेको कुल सदर मत, ७० हजार दुई सय ४८ मध्ये ६९.७० प्रतिशत मतमा यी दुईको मात्र कब्जा थियो। यो पटक पनि चिरीबाबु नै पुनः अर्को कार्यकालको लागि मेयरको कुर्सीमा बस्छन् या गत निर्वाचनको हारको बदला लिँदै यो पटक हरिकृष्णले कुर्सी खोस्नेछन्।

गठबन्धनको खेल निर्णयक
मेयर पदका लागि यो पटकको प्रतिस्पर्धामा खेलाडी पुरानै भए पनि गठबन्धनको खेल र दलीय शक्ति सन्तुलनको अवस्था भने फेरिएको छ। यही गठबन्धनको खेल र राजनीतिक समीकरण नै यो पटक ललितपुर महानगरको प्रमुख पदको जितमा निर्णयक बन्ने देखिन्छ।

चिरीबाबु ललितुरमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। २०७४ मा मेयरमा विजयी हुनु अघि नै उनी तीन पटक ललितपुरको वडाध्यक्ष पदमा निर्वाचित भइसकेका थिए। जसमध्येको उनको दुई कार्यकाल २०४६ सालको जनआन्दोलन अगाडिको पञ्चायत व्यवस्थामा थियो।

अघिल्लो पटक ललितपुरको मेयर पदमा उनले एमालेसँग राप्रपाको गठबन्धन रहेको अवस्थामा पनि कांग्रेसबाट बिनागठबन्धन चुनाव लड्दै हरिकृष्णविरुद्ध जित हात पारेका थिए। गत चुनावमा एक्लै लडेर जितेका चिरीबाबुलाई यो पटक भने अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रसहित अन्य दलहरुको साथ छ। त्यसैले यो पटक पहिलेभन्दा अझ बढी मतान्तरमा आफू विजयी हुने चिरीबाबुको धारणा छ।

अघिल्लो चुनावमा माओवादी केन्द्रबाट मेयर पदमा उठेका दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए। गठबन्धनका कारण विशेषगरी त्यो मत आफूतिर आउने चिरीबाबुको बुझाइ छ। तर त्यसबेलाको माओवादी केन्द्र हाल छिन्नभिन्न भइसकेकाे छ।

“अहिले मेरो अवस्था निकै राम्रो छ। विगत पाँच वर्षको दौरानमा कसैले ‘हे’ भन्न नसक्नेगरी, आर्थिक रुपमा पारदर्शी र सुशासनमा एकदमै राम्रोसँग काम गरे। पाँच वर्षको अवधिमा नगरबासीको आकांक्षालाई धेरै नै परिपूर्ति गरेको छु। तसर्थ अहिलेको सन्दर्भमा गठबन्धनको पनि सहयोग त छँदैछ र यस्ता कुराले पनि यो पटक विपक्षीलाई सहजैसँग जित्न सक्छु भन्ने आंकलन छ,” चिरीबाबुले नेपालभ्यूजलाई बताए।
यो पाँच वर्षको कार्यकालमा आफूले गरेको कामको आधारमा फेरि पनि आफू विजयी हुने उनको विश्वास छ।

एमाले उम्मेदवार हरिकृष्ण पनि चुनाव जित्छु भन्नेमा कम विश्वस्त छैनन्। उनी यसपटक जित्न सजिलो भएको दाबी गर्छन्। उनका अनुसार चिरीबाबु पहिला मेयर भएकै कारण यसपटक उनलाई जित्न सजिलो छ। “जितेर जनताको आशा पूरा गर्न सकेका छैनन्, जनता उनीप्रति असन्तुष्ट छन्। जसले गर्दा जित मेरै हुने हो,” हरिकृष्णले सुनाए, “हाल नेतृत्व कस्तो छ भन्नेमा भर पर्छ। अहिलेको नेतृत्वमा आफ्नै कार्यकर्ता पनि सन्तुष्ट छैनन्। हामी पार्टीगत रूपमा विभाजित हुँदैनौँ। सबैको मन जितेर काम गर्छौं।”

एमालेको केन्द्रीय कमिटी सदस्य र ललितपुर जिल्ला सहइन्चार्ज समेत रहेका हरिकृष्ण पञ्चायत कालमा एकपटक वडाध्यक्षको पदमा निर्वाचित भइसकेका नेता हुन्। उनलाई यो पटक राप्रपा नेपाल, परिवार दल लगायतको साथ छ। २०७४ मा एमाले र राप्रपाको गठबन्धन थियो। यो पटक भने राप्रपाबाट अलग्गिएको कमल थापा नेतृत्वको राप्रपा नेपालको साथ हरिकृष्णलाई छ।

२०७४ सालमा ललितपुर महानगरमा कुल एक लाख १२ हजार ९२२ मतदाता थिए। यसपटक करीब १० हजार मतदाता थपिएका छन् र हरिकृष्णलाई आशा पनि यीनै नयाँ मतदाताबाट छ।

गत निर्वाचनमा मेयरको पदमा हारे पनि एमालेले २९ वडामध्ये १४ वडाध्यक्ष पदमा जित हात पारेका थियो। त्यसैले ललितपुरमा आफ्नो पार्टीको पकड हाल पनि बलियो रहेको उनको बुझाइ छ। दुई मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका चिरीबाबु र एमालेका हरिकृष्णमध्ये कसले बाजी मार्लान्? प्रतिक्षाकै विषय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved