लोसपा हावाबिनाको पन्चर साइकल हो : गगन थापा

नेपालभ्युज

लोसपा हावाबिनाको पन्चर साइकल हो : गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोसपा अब हावाबिनाको पन्चर साइकल भएकाले मधेशी जनतालाई काम नलाग्ने भनेर टिप्पणी गरेका छन्।

महोत्तरीको औहरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार यादवले आयोजना गरेको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले नेकपा एमालेका तत्कालीन अध्यक्ष केपी ओली नेतृत्वको प्रतिगमनकारी, संघीयता, गणतन्त्रविरोधी सरकारलाई समर्थन गरेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्नो साख गुमाइसकेको दाबी गरे।

मधेशी जनताको बलिदानी र संघर्षले प्राप्त भएको संविधान र संघीयतालाई समाप्त गर्न लोसपाका शीर्ष नेताहरू सत्ता र व्यक्तिगत स्वार्थका लागि केपी ओलीसँग हात मिलाएर मधेशी जनताको जनभावनासँग खेलवाड गरेको आरोप लगाए। थापाले भने, “छेपारोजस्तो रंङ बदल्ने नेताहरूलाई पहिचान गर्ने अवसर यही हो। तपाईंहरू सचेत भएर मतदान गर्नुहोला।”

लोसपाले मधेशी जनताको मत लिएर मधेशी जनताविरुद्ध लाग्नेसँग साँठगाठ राख्ने भएकोले आफ्ना स्वाभिमान, सम्मान, पहिचान र विकासको लागि कांग्रेसबाहेक पार्टीलाई मतदान नगर्न उनले आग्रह गरे।

कार्यक्रममा औहरी नगरपालिकामा मेयर पदका उम्मेदवार सुनिल कुमार यादवले मधेशवादी दलहरूले मधेश र मधेशीलाई सिँढी बनाएर सत्ता प्राप्त गर्नेबाहेक अरू केही गर्न नसकेको आरोप लगाए।

मधेशवादी दलहरूतर्फ इंगित गर्दै उम्मेदवार यादवले भने, “तत्कालीन जसपाले मधेशी जनताको मत लिएर पार्टीका लागि दिन रात खट्ने नेता कार्यकर्तालाई बाइपास गरी आफ्ना नातेदार, श्रीमती, सम्धी लगायतलाई सांसद बनाएका हुन्। के लोसपाका लागि मधेशी जनता मतदान गर्न र पार्टीका झण्डा बोक्नका लागि मात्रै हो ?’

‘शरदसिंह भण्डारी तर्फ संकेत गर्दै औहरीमा अल्पसंख्यक भएर पनि पछिल्लो ४० वर्षदेखि वहुसंख्यक माथि शासन गर्ने एक व्यतिmले यहाँका जनताका लागि अहिले सम्म के गरेका छन् ? त्यसको मुल्याङकन हामीले कहिले गर्ने ? त्यसकारण पछिल्लो ४० वर्षको हिसाबकिताब गर्ने अवसर यहि हो। तपाईहरू सचेत र सर्तक रहेर मतदान गर्नु होला’ उम्मेदवार यादवले भने। आफुले साढे ४ वर्षको कार्यकालमा औहरी नगरपालिकाको चौतर्फि विकास गरेको उम्मेदवार यादवले दाबी गरे।

ग्रामीण क्षेत्रको नगरपालिका भएकोले आफूले शून्यबाट शुरु गरेर अहिले समृद्धि र विकासको पथमा नगरपालिकालाई बढाउन बलियो अधार खडा गरेको बताउँदै उम्मेदवार यादवले भने, ” एक पटक पुनः सेवा गर्ने अवसर मागिरहेको छु। तपाईहरू मेरो पछिल्लो कार्यको मूल्याङ्कन गरी मतदान गर्नुहोला।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved