प्रदेश १ मा ४३ जना उम्मेदवार निर्विरोध, एमालेका बढी

प्रदेश १ मा ४३ जना उम्मेदवार निर्विरोध, एमालेका बढी

विराटनगर। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश १ बाट ४३ जना उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।

प्रमुख दलहरू सहित अन्य साना दल र स्वतन्त्र रुपमा उठेका वडाध्यक्ष, खुला सदस्य र महिला सदस्य पदका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्।

प्रदेशभरिबाट १ जना वडाध्यक्ष, २ जना खुला सदस्य, ६ जना महिला सदस्य र ३४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्विरोध निर्वाचित हुनेहरूमा नेकपा (एमाले) का १५, नेपाली कांग्रेसका १३, नेकपा (माओवादी केन्द्र) का ९, स्वतन्त्र ५ र राष्ट्रिय जनमुक्ति पार्टीका १ जना उम्मेदवार छन्।

सबैभन्दा बढी प्रदेश नं. १ को ताप्लेजुङमा १० जना उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयको तथ्यांक छ। तथ्यांक अनुसार जिल्लागत वर्गीकरणको आधारमा पाँचथरमा ५, इलाममा ५, संखुवासभामा ३, तेह्रथुममा ३, धनकुटामा ३, भोजपुरमा ३, झापामा २, सुनसरीमा २, उदयपुरमा २ तथा मोरङ, खोटाङ, सोलुखुम्बु र ओखलढुंगाको १-१ जना उम्मेदवारलाई जनताले सर्वसम्मति रुपमा आफ्नो जनप्रतिनिधी चयन गरेका छन्।

जसअनुसार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ मा वडाध्यक्षमा छेतेन लामा शेर्पासहित सदस्यहरूमा फुपु लामु शेर्पा, विपना सम्बाहाम्फे, टासी शेर्पा र बाङ्गया शेर्पा निर्विरोध निर्वाचित भएका कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार निर्वाचित उनीहरू सबै स्वतन्त्र उम्मेदवार हुन्।

यस्तै, ताप्लेजुङबाट फक्ताङलुङ गाउँपालिका–६ मा नेपाली कांग्रेसकी दलित महिला सदस्य मञ्जु कार्मी, मिक्वाखोला गाउँपालिका–३ मा दलित महिला सदस्य लछिमायाँ विश्वकर्मा, सिरिजंघा गाउँपालिका–८ मा दलित महिला सदस्य सीतादेवी सार्की, मिक्वाखोला गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) की दलित महिला सदस्य सरिता गहते र फुङ्लिङ नगरपालिका–५ मा नेकपा (एमाले) की दलित महिला सदस्यमा गंगा दर्नाल पनि निर्विरोध निर्वाचित भएकी छन्।

यस्तै, नेकपा (माओवादी केन्द्र) बाट पाँचथरको फालेलुङ गाउँपालिका–४ मा कविता विक, फालेलुङ गाउँपालिका–८ मा अमृता शंखर, फिदिम नगरपालिका–३ मा बुधमाया नेपाली, फिदिम नगरपालिकाकै वडा नंं. १३ मा सीता गिरी वर्देवा दलित महिला सदस्यमा निर्वाचित भएकी छन्।

यसैगरी इलामको देउमाइ नगरपालिका–१ मा नेकपा (एमाले) का विष्णुमाया नेपाली, माङ्सेबुङ गाउँपालिका–६ मा धनकुमारी विश्वकर्मा, सन्दकपुर गाउँपालिका–१ मा दिलमाया कामिनी पनि दलित महिला सदस्यमा निर्विरोध भएकी छन्। रोङ गाउँपालिका–४ मा महिला सदस्यमा एमालेबाट मीनादेवी तामाङ निर्विरोध भएकी छन् भने दलित महिला सदस्यमा माइजोगमाई नगरपालिका–२ बाट कांग्रेसकी रुपा देवी दियाली र माङसेबुङ गाउँपालिका–५ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट तिलरुपा सबेहाङ निर्विरोध भएकी छन्।

यस्तै झापाको कचनकवल गाउँपालिका–४ मा कांग्रेसबाट दलित महिला सदस्यमा बिजली दास र मेचीनगर नगरपालिका–११ मा एमालेबाट रञ्जिता नेपाली निर्विरोध भएका छन्। यसका साथै मोरङको केराबारी गाउँपालिका–१ को महिला सदस्यमा कांग्रेसकी कमला राई निर्विरोध निर्वाचित हुँदा दलित महिला सदस्यमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ मा कांग्रेसकै बिमलादेवी मोची र हरिनगर गाउँपालिका–५ मा माओवादीकी सुखियादेवी पासवान निर्विरोध भएकी छन्।

धनकुटाको चौबिसे गाउँपालिका–८ मा पनि माओवादीकी रत्नमाया परियार, पाख्रिबास नगरपालिका–९ मा कांग्रेसकी डम्बरमाया दर्जी र साँगुरीगढी गाउँपालिका–७ मा कांग्रेसकै कुमारी विश्वकर्मा निर्विरोध भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उनीहरू सबै दलित महिला सदस्य पदमा निर्वाचित भएका हुन्।

यसबाहेक तेह्रथुमको आठराई गाउँपालिका–५ मा एमालेकी निर्मला धौलाकोटी, मेन्छयायेम गाउँपालिका–१ मा कांग्रेसकी प्रवृत्ति विक र लालीगुराँस नगरपालिका–७ मा कांग्रेसकै मनकुमारी कामी पनि दलित महिला सदस्यमा निर्वाचित भएको कार्यालयको तथ्यांकले देखाएको छ।

तथ्यांकअनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ को दलित महिला सदस्यमा एमालेकी अम्बिका विश्वकर्मा, वडा नंं. ४ को महिला सदस्यमा एमालेकै चिप्मा भोटे र मकालु गाउँपालिका–२ मा कांग्रेसकी सविना जैरु दलित महिला सदस्यमा निर्वाचित भएकी छन्। यस्तै भोजपुरको आमचोक गाउँपालिका–७ मा माओवादी केन्द्रकी रत्नमाया परियार, रामप्रसाद राई गाउँपालिका–८ मा एमालेकी तिर्थदेवी कामी र हतुवागढी गाउँपालिका–३ मा एमालेकी लक्ष्मी विश्वकर्मा पनि दलित महिला सदस्यमा निर्वाचित भएकी हुन्।

यसैगरी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा माओवादीकी सर्मिला मगर, खोटाङको खोटेहाङ गाउँपालिका–५ मा एमालेकी बच्चिमाया परियार, ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ मा एमालेकै डल्लीमाया विश्वकर्मा, उदयपुरको रौतामाई गाउँपालिका–१ मा एमालेकी फुलमाया विक र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ मा माओवादीकी देवकुमारी कामी समेत निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेश १ मा ६ पालिकाको दलित महिला सदस्यमा कसैको पनि उम्मेदवारी दर्ता नभएको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले बताए। उनले निर्विरोध निर्वाचित भएकाहरूलाई पनि निर्वाचन सम्पन्न भएर मतगणना सकिएपछि अन्य निर्वाचितसँगै प्रमाणपत्र प्रदान गरिने जानकारी दिए।

देशभर भने ३ गाउँपालिका अध्यक्षसहित ३९० जना निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ३५ हजार २२१ जनप्रतिनिधी छनौटका निम्त्ति वैशाख ३० गते निर्वाचन हुँदैछ। निर्वाचन भने कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved