ओलीको अपीलभित्र कांग्रेसमाथि कटाक्ष : एक तीर दुई निशाना

कांग्रेस घोषणापत्रको प्रतिवाददेखि आफ्नो सरकारको प्रशंशासम्म

प्रमुख प्रतिद्धन्दीको रूपमा कांग्रेसलाई उभ्याएका उनले कांग्रेसमाथि १० बुँदामा प्रहार गरे। ‘कांग्रेसकै कारण एमालेले अघि बढाएको विकास र समृद्धिको यात्रामा अवरोध पुगेको’ निष्कर्ष समेत ओलीले निकालेका छन्। उनले मतदातालाई आफ्नो दलको निर्वाचन चिन्ह सूर्यमा मतदान गर्न मात्र आग्रह गरेनन्, कांग्रेसलाई मत दिने विचार बनाएर बसेका मतदातालाई समेत रुख चिन्हमा भोट नहाल्न आग्रह गरे।

ओलीको अपीलभित्र कांग्रेसमाथि कटाक्ष : एक तीर दुई निशाना

काठमाडौं। स्थानीय तह निर्वाचनको मतदानको दिन आउन पाँच दिन बाँकी रहँदा नेकपा एमालेले आफ्नो पार्टीलाई भोट हाल्न अपील गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले अपिल सँगै सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसको चुनावी घोषणापत्रको जवाफ समेत दिएका छन्।

एमालेले निर्वाचन अघि मतदातालाई ‘अपील गर्ने’ कार्यक्रम राखेको संभवत पहिलो पटक हो। निर्वाचनअघि नयाँ अभ्यास गरेकाले एमालेको अपिललाई विभिन्न पक्षबाट चासोका साथ हेरिएको थियो।

झन्डै ५० मिनेटलामो समयमा नौ पृष्ठको ६७ बुँदे लिखित अपील वाचन गरेका ओलीले आफ्ना पार्टी सरकारमा हुँदा गरेका कामको फेहरिस्त मात्र सुनाएनन्, कांग्रेसप्रति तीतो ओकले। अपीलमा ओलीले कांग्रेसबाहेक अरू दललाई खासै महत्व दिएनन्। प्रमुख प्रतिद्धन्दीको रूपमा कांग्रेसलाई उभ्याएका उनले कांग्रेसमाथि १० बुँदामा प्रहार गरे।

‘कांग्रेसकै कारण एमालेले अघि बढाएको विकास र समृद्धिको यात्रामा अवरोध पुगेको’ निष्कर्ष समेत ओलीले निकालेका छन्। उनले मतदातालाई आफ्नो दलको निर्वाचन चिन्ह सूर्यमा मतदान गर्न मात्र आग्रह गरेनन्, कांग्रेसलाई मत दिने विचार बनाएर बसेका मतदातालाई समेत रुख चिन्हमा भोट नहाल्न आग्रह गरे।

यसअघि ९ वैशाखमा (मतदानको २१ दिनअघि) एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको थियो। त्यसको दुईदिनपछि ११ वैशाखमा कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको थियो। अध्यक्ष ओलीले कांग्रेसको घोषणा पत्र सार्वजनिक भएलगतै टिप्पणी गर्दै आएका थिए। दुईदिनपछि मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘पागलहरूको प्रलाप’को संज्ञा दिएका थिए। कांग्रेसको घोषणा पत्रमा एमालेलाई गाली गर्ने र मुख छाड्नेबाहेक केही उल्लेख नगरिएको भन्दै ओलीले संविधान र आफ्नो दलको घोषणापत्रबाट चोरी गरेको समेत आरोप लगाएका थिए।

यसअघिका आमसभाहरूमा कांग्रेसविरुद्ध कडा अभिव्यक्ति दिने गरेका ओलीले आइतबार लिखित ‘आम मतदातामा अपिल’ पत्र मार्फत नै कांग्रेसको आलोचनासहित आफूलाई मत मागे।

कांग्रेसको २० वर्ष र एमालेको ७ वर्ष सरकारको तुलना

बहुदलीय शासन व्यवस्थाको स्थापनापश्चात् करिब ३२ वर्षको अवधिमा कांग्रेसले २७ वर्ष सरकारमा बसे पनि केही गर्न नसकेको बरु सत्ताको चरम दुरुपयोग गरेको ओलीको आरोप छ। करिब ७ वर्ष आफ्नै नेतृत्वको सरकार र करिब तीन वर्ष संयुक्त सरकारमा सहभागी भई जम्मा करिब १० वर्ष आफ्नो दलले सरकारमा रहने अवसर पाएका ओलीले बताएका छन्। तर, कांग्रेसले करिब २० वर्ष आफ्नै नेतृत्वको सरकार सहभागी भई करिब २७ वर्ष सरकारमा रहेको भन्दै देशलाई संसारको गरिब देश, विपन्न देश, अभावग्रस्त देशको सूचीमा लगेको बताए।

एमाले अध्यक्ष ओलीको अपील  

राजतन्त्रसँग आफ्नो घाटी जोडिएको र दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेर गठबन्धन सरकार चलाएकै ओलीको आरोप छ। ओलीले अपीलमा भने, ‘‘नेपाली काग्रेसले निरङ्कुश राजतन्त्रसँग आफ्नो घाटी जोडिएको सार्वजनिक घोषणा गरेको सर्वविदितै छ। कांग्रेसकै नीति र अकर्मण्यताका कारण सशस्त्र दन्द्वका लागि मार्ग प्रशस्त भएको यथार्थ हो। कांग्रेसले जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन।”

ओलीले भने, “अहिले पनि दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेर गठबन्धन सरकार चलाएकै छ। ऊ जनादेशमा विश्वास गर्दैन। सकेसम्म मुद्दा मामिला, छलकपट, षड्यन्त्र र मिलावटबाटै सत्ताभोग गर्न चाहन्छ। आफूलाई लोकतान्त्रिक शक्ति भन्दै लोकतन्त्रको चरम उपहास गर्दा पनि उसलाई लज्जाबोध हुँदैन। ऊ जनतामाथि विश्वास गर्दैन।’’

कांग्रेसको घोषणापत्रको प्रतिवाद

कांग्रेसले घोषणापत्रमा ‘नेकपाको सरकार’ले सर्वसत्तावादी र अधिनायकवादी शासन गर्न उद्धत रहेको आरोप लगाएको थियो। सार्वजनिक सम्पत्ति माथि लुटतन्त्र मच्चाउँदै नेकपाको सरकारले भ्रष्टाचार, अनियमितता र अपारदर्शीताको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान राख्दै आएको समेत कांग्रेसको आरोप छ।

कांग्रेसको घोषणापत्रमा एमालेमाथि आरोप

जसप्रति ओलीले कृषि र औद्योगिक क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि भौतिक पूर्वाधार निर्माण, व्यापक रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार गरेको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल र नेपालीको सम्मान अभिवृद्धिका क्षेत्रमा अभूतपूर्व र साहसिक सोच एवम् भिजन, योजना, कार्यक्रम, परियोजना र सुधारका अभियानहरूको कार्यान्वयन आत्मविश्वासका साथ आरम्भ गरेको समेत दाबी छ।

अपिलमा भनिएको छ, ‘‘सुख्खा बन्दरगाह, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामहरूको निर्माण अभियान थालेर मुलुकलाई औद्योगीकरणको मार्गमा तीव्र गतिमा अग्रसर गराइएको थियो।

कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने, निर्यात वृद्धि गर्ने र कृषकलाई सम्पन्न बनाउने उच्च आकाङ्क्षाका देशलाई कृषि सुपरजोनमा बग्गीकरण गरी परम्परागत निर्वाहमुखी कृषि २२ साथ हामीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना देशव्यापी रूपमा कार्यान्वयनमा ल्यायौँ। उत्पादनको सम्भाव्यताका आधारमा पकेट, ब्लक, जोन र प्रणालीलाई आधुनिक, व्यावसायिक र सम्मानित कृषि प्रणालीमा रूपान्तरण गर्ने अभियान थाल्यौ।’’

एमाले अध्यक्ष ओलीको अपील 

कांग्रेस र संसदीय मूल्य-मान्यता

कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाएको ओलीले बताएका छन्। कांग्रेसले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको समेत आरोप लगाए। कांग्रेसले घोषणा पत्रमा ‘एमालेले संविधानको भावना र सर्वोच्च अदालतको ऐतिहासिक फैसला विपरीत पटकपटक प्रतिनिधिसभा विघटन हुनुमा केवल प्रधानमन्त्री मात्रै होइन, राष्ट्रपतिको भूमिका पनि बदनियतपूर्ण र दुराशययुक्त देखिन्छ’ भन्ने गरेको टिप्पणीलाई समेत एमालेले जवाफ दिँदै यस्तो आरोप लगाएको हो।

संसद् विघटनपछि सर्वोच्च अदालतले पुनःस्थापना गरी नयाँ सरकार गठनका सन्दर्भमा दिएको आदेशप्रति लक्षित गर्दै ओलीले भने, ‘‘संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो। राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार ग¥यो। कांग्रेसले संसद्लाई बन्धक बनायो, स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍यायो।’’

कांग्रेसले भने संविधानको रक्षा र प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षरसहितको दाबी पेस गर्दा पनि षड्यन्त्रमूलक रूपमा जालसाजी गरी राष्ट्रपतिले सरकार गठन गर्ने संवैधानिक अवसर नदिएपछि न्यायिक निरूपणका लागि कांग्रेस र पाँच दलीय गठबन्धनसँग सर्वोच्च अदालत जानु भन्दा अर्को विकल्प नभएको घोषणा पत्रमा भनेको थियो।

काँग्रेसमाथि ओलीको कटाक्ष

१, देश–जनता–राजनीतिलाई चरम अन्धकारमा धकेल्न सशस्त्र द्वन्द्वलाई मार्ग प्रशस्त गर्ने।

२, राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्‍यो। संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो। संसद्ले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास गर्‍यो।

३, निजामती सेवा नै खलबलिने गरी निजामती कर्मचारीलाई बर्खास्त गर्ने, राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने, प्रहरी सङ्गठनमा प्रचलित ऐन नियमको दायरा उल्लङ्घन गर्दै नियुक्ति र बढुवा गरी सुरक्षा सङ्गठनलाई तहसनहस पार्ने।

४, सरकारी उद्योगहरूलाई निजीकरणको बहानामा कौडीको मूल्यमा बेची राष्ट्रिय सम्पत्ति दोहन गर्ने। काँग्रेस देशलाई गरिबी, विपन्नता, अभाव, लघुताभास र अनिश्चयको दुष्चक्रमा राखेर जनतामाथि शासन गर्न चाहन्छ।

५, राणा, राजा र काँग्रेसको सरकारले देशको विकास र जनताको सुख समृद्धिका लागि कुनै योजना अगाडि बढाएनन्। सरकार कहिल्यै आधुनिकता र उत्कृष्टतातर्फ केन्द्रित रहेन।

६, कांग्रेसले नै जनताको सत्ता राजालाई बुझायो। अहिले पनि दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेर गठबन्धन सरकार चलाएकै छ। सकेसम्म मुद्दा मामिला, छलकपट, षड्यन्त्र र मिलावटबाटै सत्ताभोग गर्न चाहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved