पत्रकारलाई ओलीको प्रश्न : तपाईं मा‌ओवादी हो ?

उनले विषबमनको निरपेक्ष ठेकेदार गठबन्धन भएको टिप्पणी गरे।

नेपालभ्युज

पत्रकारलाई ओलीको प्रश्न : तपाईं मा‌ओवादी हो ?

 काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गर्ने आलोचनाको शैलीमाथि प्रश्न गर्ने पत्रकारलाई दलीय पत्रकारको संज्ञा दिएका छन्। आज एमालेको पार्टी कार्यालय तुल्सीलाल स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले ओलीले गर्ने आलोचनाको शैलीबारे चासो राखेका थिए।

कार्यक्रममा पत्रकारले ‘गठबन्धनका नेताहरूले लामो समयसम्म गठबन्धन जाने भनिराख्दा एमाले त्यसबाट आत्तिएर विषबमन गरिरहेको हो ?’ भनेर प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफ दिँदै उनले आफूले ठीक ढंगले आलोचना गरेको दाबी गर्दै त्यसलाई विषबमन नभनिने बताए।

उनले गठबन्धनले झूटा, नचाहिँदा, बकवास कुरा गरिरहेकाले विषबमनको निरपेक्ष ठेकेदार गठबन्धन भएको टिप्पणी गरे। ‘‘मैले ठीक ढंगले आलोचना गरेको छु,त्यसलाई विषबमन भनिँदैन,” उनले भने, ‘‘विषबमन भनेको झूटा, नचाहिँदा कुराहरू, बकवास गर्ने कुराहरूलाई भनिन्छ। न हामीसँग विष छ न हामीलाई बमन गर्नुपर्ने आवश्यकता छ। त्यसकारण यो त गठबन्धनको काम हो, गठबन्धनको कुरा कताबाट तपाईंले यता ल्याउनुभयो ?”

ओलीले गठबन्धनका नेताहरूले भन्ने गरेको जस्तै सवाल जस्ताको त्यस्तै आफूमाथि सोधिएको टिप्पणी गर्दै उल्टै पत्रकारलाई सोधे, ‘‘तपाईं माओवादी हो ?” पत्रकारले होइन भनेपछि ओलीले पुन: गठबन्धनको आलोचना शुरु गरे।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै उनले जनतालाई तर्साएर गठबन्धनले भोट मागिरहेको बताए। जनताले भयरहित रूपमा चुनावमा सहभागी हुन पाउनुपर्ने बताउँदै उनले प्रचण्डले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनी तर्साएर भोट मागिरहेकोमा आपत्ति जनाए।

यसैगरी उनले उक्त कार्यक्रममार्फत निर्वाचन आयोगले मतपत्र हरियो बनाएकोमा पनि असन्तुष्टि पोखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved