गोदी मिडिया बिनाबन्दुकका मिलिसिया हुन् : रवीश कुमार

अहिले भारतमा धावक पत्रकारिताको उदय भएको छ। यो पत्रकारिता गर्नका लागि दौडिएर आउनुपर्छ र मान्छेलाई बोक्नुपर्छ। जो कोहीले दौडिएर कार्यक्रम कहाँ सञ्चालन गर्नसक्छ, त्यसका लागि त शारीरिक हिसाबमा तन्दुरुस्त हुनु आवश्यक हुन्छ।

नेपालभ्युज

गोदी मिडिया बिनाबन्दुकका मिलिसिया हुन् : रवीश कुमार

हामी सीमाले बाँडिएका मानिस हौँ तर, हामी सीमारहित पनि छौँ। हामीले प्रयोग गर्ने शब्द र भाषालाई यो सीमाले रोक्न सक्दैन। हामी बीचको सीमा जति नै ठूलो किन नहोस्, हाम्रा भाषा र शब्द एकअर्कातिर आउने जाने क्रम चलिरहन्छ नै।

आज मलाई यहाँ आउने अवसर प्राप्त भयो, जुन ठाउँ मेर घर नजिक रहेको गण्डक नदीको माइती हो। नारायणी भैँसालोटन हुँदै चम्पारण प्रवेश गर्छ, त्यसलाई गण्डक नदी भनिन्छ। त्यही गण्डक नदीको किनारामा छ मेरो गाउँ।

मैले गण्डक नदीलाई हेर्दै गर्दा म मेरा पूर्वजलाई सम्झिन्छु। मेरा पूर्वजहरुको त्यही गण्डक नदीमा खरानी बनेर बगेका छन्। जब जब मैले गण्डक नदीलाई देख्छु, मेरो पितालाई अन्तिम पटक देखेको जस्तो प्रतित हुन्छ। मेरो पिता गण्डक नदीमा समाहित भएका थिए। त्यसैले मेरा पूर्वजहरुको रेकर्ड गण्डक नदीसँग छ गण्डक नदीको रेकर्ड नारायणी नदीसँग छ।

विश्वको जुनसुकै कुनामा जाँदा पनि गण्डक नदीको चर्चा गर्ने म आज नारायणी नदीको देशमा छु। भारतको बिहारको जीवनमा नेपाल आफ्ना नदीका माध्यमबाट निरन्तर प्रवाहित भइरहेको छ। नदी बग्दा हरेक सीमालाई तोड्दै बगेको हुन्छ। यसले हामीलाई याद दिलाउँछ, जीवनमा मुक्ति र ज्ञानको मार्गका लागि कुनै सीमा हुँदैन। नदीले मात्रै होइन हावाले पनि हामीलाई सीमाको भंगुरताको सन्देश दिएको हुन्छ तर पनि हामी सीमा निधारण गरिरहन्छौँ।

आज म काठमाडौंमा छु, यहाँ रहँदा मबाट यस्तो कुनै काम नहोस् जसले मेरो भिडिओ भाइरल बनोस्। म यहाँ कुनै विवाह समारोहमा आएको होइन। हाम्रो देशको सञ्चार माध्यमका लागि कोही विवाह समारोहमा जानु नै गलत हने गरेको छ। यदी मलाई यहाँ विवाह समारोहमा आउनै पर्थ्यो भने आयोजकसँग म आग्रह गर्थेँ, म बस्ने स्थान राम्रोसँग नसजाउनु होला, च्यातिएका कपडा राख्नु होला जसले गर्दा सञ्चार माध्यमको ध्यान मतर्फ आकर्षित नहोस्। हाम्रो देश जहाँ विवाहको योजनामा मानिसको पूरा दिन बित्छ, त्यहाँका मानिस कसैको विवाह समारोहमा सहभागी हुँदा समाचार बन्छ, त्यो पनि हंगामावाला।

म भाइरल भिडिओबाट डराएको छु। यद्यपी गोदी मिडियाको चर्चा गर्न हिमाल मिडियामा आएको छु। हामी यहाँ दुनियाँभर र भारतको सञ्चार जगतमा आएको बद्लावको चर्चा गर्न यहाँ जम्मा भएका छौँ। तर, भारतबाहिर म गोदी मिडियाको आलोचना कहिल्यै गर्दिनँ। विदेशमा देशको कुनै खराब चिजको आलोचना गर्दा देशको अपमान हुन्छ। त्यसैले म विदेशमा हुँदा देशको खराब चिजको प्रशंसा गर्नु मेरो दायित्व बन्छ। त्यसैले म यहाँ गोदी मिडियाको प्रशंसा गर्नेछु। मैले प्रशंसा गरेँ भन्दैमा तपाईंहरु गोदी मिडियालाई राम्रो नसोच्नुहोला। गोदी मिडिया भारतको आफ्नो ब्राण्ड हो। यो ब्राण्ड भारतको खोज हो, विश्व गुरुको खोज हो। मिडियाको इतिहासमा कयौँ खराब मिडियाको उदाहरण दिनसकिन्छ। तर, भारतको गोदी मिडियाको आफ्नै स्तर छ।

हालै भारतीय मिडियाका एक सञ्चालकले लात हानेर बाहिर निकाल्छु भनेर कार्यक्रममा बोले। उनको यो भनाइको तारिफ गर्नुपर्छ। ती सञ्चालक खराब व्यक्ति होइनन् भनेर सोच्नुपर्छ। यदी ऊ साँच्चै नै खराब व्यक्ति हुने थियो भने उसले अतिथिको कपडा च्यातेर बाहिर निकाल्थ्यो। म विश्वभरका मानिसलाई आग्रह गर्न चाहन्छु, भारतको गोदी मिडियालाई हेर्न भारत आउनुहोस्। यसले भारतको पर्यटन क्षेत्रलाई राम्रो हुन्छ। गोदी मिडियाको प्रशंसामा छापिएका सामग्री बिक्री हुन्छन्। पर्यटकहरुले टीभी च्यानलमा समाचार होइन, एकअर्कालाई लात हानेको देख्न पाउनेछन्। यो भारतको मिडिया मोडल हो, यो हाम्रो ब्राण्ड हो।

टीभी कार्यक्रम सञ्चालन गर्दा अतिथिलाई गाली गर्नेदेखि लिएर लात हान्नेसम्मको चर्चा भारतीय मिडियामा भइरहेको छ। लात हान्ने विषयलाई लिएर नेपालका पत्रकारले भारतीय पत्रकारसँग इर्ष्या गर्न सक्छन्, हामीलाई यस्तो विशेषाधिकार किन प्राप्त छैन भनेर। तपाईंहरुले इर्ष्या गरे पनि केही फरक पर्दैन। यदी तपाईंहरुले कुनै दिन यस्तो सुविधा प्राप्त गर्नुभयो भने पनि भारतीय मिडियाभन्दा तपाईंहरु पछाडि नै हुनुहुनेछ। यहाँ लात हान्ने स्थिति आउँदासम्म गोदी मिडियावालाहरुले गोली चलाइसकेका हुनेछन्।

म यहाँ गोदी मिडियाको ब्राण्ड एम्बासेडर बनेर आएको छु। म यहाँ गोदी मिडियाको अर्को तारिफ गर्न चाहन्छु, गोदी मिडिया बिनाबन्दुकका मिलिसिया हुन्। यो विश्व गुरुको खोज हो। सन् १९९० को सूचना क्रान्तिपछि यदी कुनै मिडियालाई गोदी मिडिया बनाउने सवालमा यदी कोही सफल भएको छ भन्ने त्यो भारत हो।

शुरुमा गोदी मिडियाले शिक्षा, स्वास्थ्यका विषयमा आवाज उठाएपछि अन्तमा यी सबै विषय हराउँछन्। मिडिया कर्पोरेट क्षेत्रले सञ्चालन गरेको छ र ती कर्पोरेटवालालाई नदी, नालादेखि पहाड सबै चाहिन्छन्। लोकतान्त्रिकताको नाममा पर्दाको पछाडि उसको असली चरित्र लुकेको हुन्छ। त्यसैले यो दबाबबाट बाहिर आउने हामी सबैको दायित्व बन्छ।

जनतालाई शिक्षित बनाउन मिडियाले वैकल्पिक बाटो खोज्न थाल्नुपर्छ। लोकतन्त्रमा नागरिक बन्ने काम फोकटको काम होइन। लोकतन्त्रमा नागरिक बन्न दैनिक यसको अभ्यास गर्नुपर्छ। यो अभ्यास सिकाउने कोही प्राध्यापक पनि हुँदैन। यो यस्तो जिम्मेवारी हो जसलाई पूरा गर्न हामी सबैले मिहिनेत गर्नुपर्छ, पसिना बगाउनुपर्छ। यो सबै प्रक्रियामा मतदान गर्नु सबैभन्दा कम शारीरिक काम हो। लोकतान्त्रिक निर्माण र हामीभित्रको लोकतन्त्रको निर्माणका लागि मतदानलाई सर्वोपरी मानिएको छ। तर, मतदान गर्नुपूर्व नागरिक हुनका लागि श्रमदान गर्नुपर्छ। जबसम्म तपाईंहरु नागरिक हुनका लागि कुनै श्रमदान गर्नुहुँदैन तबसम्म मतदान गर्ने अधिकार तपाईंलाई हुँदैन।

म दिल्लीबाट काठमाडौं आउँदै गर्दा विमानस्थलमा नै निश्चय गरेको थिएँ- मलाई जहाँ उभिएर बोल्न भनिनेछ त्यहीँ उभिएर बोल्नेछु। यसको पनि महत्त्व छ। गोदी मिडियाका कार्यक्रम सञ्चालक जसरी मलाई दौडी दौडी कार्यक्रम सञ्चालन गर्नुछैन। हाम्रो देशका कार्यक्रम सञ्चालकहरु दौडिदै आएर कार्यक्रम सञ्चालन गर्छन् र दौडिदै बाहिरिन्छन्। अनि फेरि मलाई गोदी मिडियाका रिर्पोटर जसरी दौडिएर आफ्नो कुरा भन्नु पनि छैन। हाम्रा गोदी मिडिया यति सक्कली छन् कि उनीहरुको नक्कल गर्न मलाई लाज लाग्छ। कसैले मिहिनेत गरेर खोजेको पत्रकारिकताको विधिको मलाई नक्कल गर्नुछैन। यो उनीहरुको सर्वाधिकारभित्रको क्षेत्र हो।

यति भन्दै गर्दा म यहाँ के भन्न चाहन्छु भने भारतमा उदण्ड पत्रकारितको शुरुआत भएको छ। कार्यक्रम सञ्चालक कार्यक्रम सञ्चालनका लागि दशौँ दिशामा दौडिनसक्छन्। दौडिदै कार्यक्रम सञ्चालन गर्न आउने सञ्चालकहरु योग गुरुलाई उचाल्छन्। अहिले भारतमा धावक पत्रकारिताको उदय भएको छ। यो पत्रकारिता गर्नका लागि दौडिएर आउनुपर्छ र मान्छेलाई बोक्नुपर्छ। जो कोहीले दौडिएर कार्यक्रम कहाँ सञ्चालन गर्नसक्छ, त्यसका लागि त शारीरिक हिसाबमा तन्दुरुस्त हुनु आवश्यक हुन्छ। त्यसैले जो शारीरिक हिसाबमा तन्दुरुस्त छ त्यसले मात्रै गोदी मिडियामा कार्यक्रम सञ्चालन गर्न पाउँछ।

यदी हाम्रा प्रधानमन्त्रीसँग यी सबै गोदी मिडियाका कार्यक्रम सञ्चालक काठमाडौं आए भने उनीहरुका लागि दौडिन मिल्ने ठूलो स्थानको व्यवस्था गर्नुहोला। उनीहरुलाई दौडिनका लागि प्रयाप्त स्थानको आवश्यकता हुन्छ। यदी स्थानको अभाव भयो भने उनीहरु दौडिदै तपाईंको घर आँगनसम्म आउनसक्छन्। प्रदेशमा आफ्नो देशको बासी रोटी पनि अमृत हुन्छ। त्यसैले म यो विषय उठाउँदै छु। यदी राज कपुर आज जीवित हुने थिए भने उनले फिल्म बनाउँथे होला, ‘इस देशमै गोदी मिडिया रहेता है।’

परम्परागत मान्यताका हिसाबमा सञ्चार माध्यमको काम भनेको जनमत निर्माण गर्ने हो। यसका लागि सूचनाको पवित्रता र विश्वसनियताको निकै आवश्यकता हुन्छ। गोदी मिडियाको दौडामा सूचनाको महत्त्व खास छैन। सूचनाको बदला धारणा महत्त्वपूर्ण भएको छ। यी मिडियाको उद्योगमा बिनासूचना धेरै प्रकारका धारणाको निर्माण भएका छन्। यस्ता धारणाले जनमतलाई जडमतमा बदलिदिएका छन्। चलायमान हुने जनमतको स्थानमा स्थिर हुने जडमतको विकास भएको छ। जनमत परिवर्तनशील हुन्छ, जडमतमा मान्छेले अरुले भनेका कुरामा विश्वास गर्दैन, जे कुरामा उसको विश्वास हुन्छ त्यो नै उसका लागि अन्तिम हुन्छ। जनमतलाई जडमतमा बदल्ने प्रयत्न भारतमा मात्रै भएको भने होइन यो विश्वका अन्य देशमा पनि भइरहेको छ।

अघिल्लो वर्ष यो समयमा भारतमा अक्सिजनका लागि हाहाकार थियो। कति मान्छेको अक्सिजनको अभावमा निधनसमेत भयो। विश्व स्वास्थ्य संगठनले कोभिडका कारण भारतमा कति मान्छेको निधन भयो भन्ने तथ्यांक निकालेको छ। भारत सरकारले विश्व स्वास्थ्य संगठनको तथ्यांक अस्वीकार गर्दै आफ्नो तथ्यांक सार्वजनिक गरेको छ भने भारतमा अक्सिजनको कुनै कमी नभएको दाबीसमेत सरकारको छ।

सरकारको यस्तो दाबीलाई जनताले सहजै स्वीकार गरे। स्वीकार हुने अवस्था कसरी आयो? जनताका बीच जनमतभन्दा जडमत भएका कारण सरकारको बोलीलाई जनताले स्वीकार गरे। सरकारले दिने जुनसुकै प्रकारको निर्देशनलाई मान्ने एक प्रकारको चलन स्थापित भएको छ। यदी तपाईंले सरकारले दिएको सूचनाभन्दा फरक सूचना दिनुहुन्छ भने त्यो पहिलो ह्वाट्सएप विश्वविद्यालयमा चेक जाँच हुन्छ। ह्वाट्सएप विश्वविद्यालयले दिने सूचनालाई आधिकारिक मानिन्छ। भारतमा अहिले झूटको राज चलिरहेको छ।

सन् १९९० को दशकमा भारतको मिडिया क्षेत्रको विकास हुँदै गर्दा नयाँ नयाँ मानिसको प्रवेश हुँदै थियो। नयाँ मानिसको प्रवेश हुँदा त्यसलाई हाम्रो लोकतन्त्रको विस्तारका रुपमा लिइएको थियो। सरकारी अधिनबाट सूचना निजी माध्यममा आउने प्रक्रियाको शुरुआत थियो त्यो समय। तर, हामीमध्ये कसैलाई पनि त्यो अन्दाज थिएन, यति छोटो अवधिमा हामीले धोका खान्छौँ भनेर।

१९९० कै दशक हो भारतका मानिसले सूचनाका लागि च्यालन बदल्न शुरु गरेका। सरकारी अधिकारीलाई पत्रकारका कडा प्रश्नका कारण आम मानिसमा पनि विश्वासको वातावरण सिर्जना भएको थियो। २०१४ भन्दा अगाडिको अवस्थामा जनताको यो आत्मविश्वास देखिन्थ्यो। उदाहरणका लागि निर्भया काण्ड, जहाँ मानिस सरकारविरुद्ध सडक प्रर्दशनमा उत्रिएका थिए। त्यही समय हो आन्दोलनबीचबाट रिर्पोटरले लाइभ कभरेज दिन थालेको। त्यो समयमा पनि आफ्नो प्रकारको कमजोरी थियो तर त्यो राम्रो व्यवस्था थियो। जनताको बीचमा रहेर पत्रकारिता हुने अवस्था थियो त्यो।

अहिले जनताको प्रश्नप्रति नै मिडियाले प्रश्न गर्ने अवस्था आएको छ। सरकारको निर्णयविरुद्ध सडकमा आएका कृषकलाई मिडिया आतंककारी करार गर्छ। पत्रकारिता भनेको नै जनताको पक्ष लिनु हो। गोदी मिडियाले जनविरोधी पत्रकारिताको शुरुआत गरेको छ। जब तपाईं आफ्नो समस्यालाई लिएर सडकमा आउनुहुन्छ गोदी मिडियावाला भन्छन्- भारतलाई बदनाम गर्न आन्दोलनमा आइस् भनेर। आन्दोलनका पछाडि विदेशी शक्तिको हात देख्छन्। यसरी अहिले विपक्षी विरोधी पत्रकारिताको विकास भइरहेको छ। जनता आफ्नो समस्या लिएर सडकमा आउने बित्तिकै त्यसको विरोध गोदी मिडियाले गर्न थालेका छन्। यसरी विपक्षलाई चुप गराइएको छ, अवाज उठाउनेलाई ग्याङ भनिएको छ।

जुन देशका कृषकलाई अन्नदाता भनिन्छ, उनीहरुले आफ्नो अवाज उठाउँदा आतंकवादी भनिन्छन्। मिडियाले आतंकवादी नामांकन गरेपछि किसानहरुलाई आफ्नो आन्दोलनमा पोष्टर बनाएर राख्नुपर्यो। जहाँ लेखिएको थियो, ‘हामी आतंककारी होइनौँ।’ त्यसैले त म यस्ता मिडियालाई बिनाबन्दुकवाला मिलिसिया भन्छु। जनता र सरकारबीचको पुल बन्नुपर्नेमा गोदी मिडिया जनता र सरकारबीचको पर्खाल बनेको छ। यदी नेपालमा पनि यस्तो हुन थाल्यो भने शुरुआती अवस्थाबाट नै तपाईंहरु सचेत हुनुहोला। मिडियाभित्रका अन्तर विरोध र सम्झौतासँग सावधान रहनु होला, यी विषयका विरुद्धमा अहिले देखिनै बोल्न शुरु गर्नुहोस्।

गोदी मिडियाभित्र विषयवस्तुको प्रतिस्पर्धा सकिएको छ। त्यसैको परिणाम हो कुनै कार्यक्रम सञ्चालक चिच्याएर कार्यक्रम सञ्चालन गर्छन् भने कोही लात हान्छु भन्छन् भने कोही हिन्दु रक्षक भएका छन्। गोदी मिडियाबीच अन्तर भनेको यी विषयमा मात्रै छन् विषयवस्तु सबैको समान छन्। च्यालन फरक फरक भए पनि सबै च्यानलबाट प्रसारित हुने कार्यक्रमको नाम मालिकको राजनीतिक नारामा केन्द्रित छ। म सधैँ भन्ने गर्छु यी सबै मिडियाका मालिक एक हुन्, त्यो ट्रकको पछाडि पनि लेखेको हुन्छ।

अलग अलग विषयवस्तुका लागि च्यानल बदल्ने दर्शक जो आफूलाई स्वतन्त्र र स्वायत्त सम्झिन्थ्यो, उसको स्वतन्त्रता र स्वायत्तता सकिएको छ। एउटा च्यानलमा आएको समाचारलाई अर्को च्यालनमा गएर पुनः पुष्टि गर्ने जनताको स्वाभिमानमाथि खेलवाड भएको छ। एउटा च्यानलले दिएको समाचार अर्को च्यानलमा गएर पुष्टि गर्नसक्ने जुन स्वाभिमान जनतामा थियो त्यो स्वाभिमान खोसिएको छ। नागरिक हुनका लागि उसले जुन श्रम गर्थियो अब त्यो श्रमको आवश्यकता छैन। किन भने सबै च्यानलमा एकै प्रकारका समाचार वा सूचना आइरहेका छन्। त्यसैले पुनः पुष्टिका लागि उसले अर्को च्यानल हेर्नुको पनि महत्त्व रहेन। अहिले दर्शकले च्यानल होइन च्यानलले दर्शक परिवर्तन गरेको छ।

अहिले मिडियामा समाचार होइन नेताहरुले गरेको भेट, उद्घाटन लगायतका दृश्य देख्न पाइन्छ। बजार भन्छ- प्रतिस्पर्धाका लागि हरेक चिजको छिट्टै पहिचान होस्। तर, गोदी मिडियाका लागि अलग बजार खडा गरिएको छ। त्यो बजार पनि उसको मालिकले खडा गरिदिएको हो।

भारतका टीभी च्यानलमा अब यत्ति मात्रै फरक छ, जति हिन्दु धर्म रक्षाका लागि खडा भएका विभिन्न संघसंस्थाबीच छ। मिडियाको बजार राजनीति हो। यहाँ च्यानल फरक हुनुसक्छन् तर उनीहरु सबैको विषयवस्तु एउटै हो। कार्यक्रम सञ्चालकहरु नेताहरुका नयाँ बाहुबली हुन्।

एक समय थियो जब निर्वाचनको बुथ लुट्न बाहुबली लुटेरा आउने गर्थे, अहिले गोदी मिडियाले त्यो बाहुबलीको काम गरिरहेको छ। सूचना गायब गरेर उनीहरुले जनतालाई लुटिरहेका छन्। सवाल गायब गरेर जनतालाई लुटिरहेका छन्। यति हुँदै गर्दा पनि गोदी मिडिया सम्मानित छ। जनरक्षक हुनुपर्ने ठाउँमा यी मिडिया धर्मरक्षक भएका छन् तर पनि यिनीहरु सम्मानित छन्। धर्मका आडामा गोदी मिडिया जनताको लोकतान्त्रिकता खत्तम गर्न आएको छ। गज्जबको विषय त गोदी मिडियाका पत्रकारलाई भारतमा उत्कृष्ट कार्यक्रम सञ्चालकको पुरस्कार मिल्छ। उनीहरु सम्मानित हुन्छन्।

मेडिकल पेशामा डाक्टर हुन पहिला त्यो विषयको अध्ययन गर्नुपर्छ, गोदी मिडियामा पत्रकार हुन पहिला पत्रकारिता छोड्नुपर्छ। यो नयाँ पेशा हो, जसलाई हामी पत्रकारिताको पुरानो परिभाषाबाट हामी परिभाषित गर्न सक्दैनौँ। यो केही नयाँ हो। त्यसैले त म भन्छु- विश्वलाई नयाँ प्रकारको पत्रकारिता देख्नका लागि भारत आउनुपर्छ। पहिला चीनका सस्ता समान बजारमा छरपष्ट पाइएको जस्तै अहिले गोदी मिडिया भारतका बजारमा छरपष्ट पाइन्छन्। मेरो इच्छा भविष्यमा भारतका जनताले गोदी मिडियाले रचना गरेको समाचारको दुनियाँबाट टाढा आउनेछन्।

(हिमाल मिडिया मेला २०२२ का प्रमुख वक्ता रवीश कुमारले कार्यक्रममा राखेको धारणाको केही अंश)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved