‘सीके राउतको वैज्ञानिक भिजनबाट प्रभावित भएर राजनीतिमा आएँ’ (अन्तर्वार्ता)

नेपालभ्युज

‘सीके राउतको वैज्ञानिक भिजनबाट प्रभावित भएर राजनीतिमा आएँ’ (अन्तर्वार्ता)

पहिलो पटक चुनावी मैदानमा होमिएको जनमत पार्टी आफैंमा नयाँ छ। पूर्वी तराईमा निकै राम्रो पकड बनाउँन सफल भएको यो पार्टीका संयोजक डाक्टर सीके राउत छन्।

सीके राउतको आफ्नै राजनीतिक इतिहास पनि छ। त्यसो त यो पार्टीले तराईका केही जिल्लामा राम्रो स्थान ल्याउने होडमा छ। त्यसमा पनि सप्तरी राजविराज नगरपालिकामा यस पार्टीले मेयर र उपमेयरको रुपमा महिलालाई अगाडि सारेको छ।

त्यसैले पनि यस क्षेत्रमा जनमत पार्टी के गर्ला भन्ने आम जनमानसमा निकै नै चासोको विषय बनेको छ। चुनावी मैदानमा होमिएकी जनमत पार्टीकी सप्तरी राजविराज नगरपालिकाकी मेयरको उम्मेदवार ममता झासँग चुनावकै सेरोफेरोमा रहेर गरिएको कुराकानीः

राजनीतिमै किन होमिनुभयो त ?

राजनीतिमा सानैदेखि नै लगाव थियो। समाजमा भएको विभेदबारे मैले आफ्नो बुबालाई भन्ने गर्थें, यो समाजमा भएको हरेक गरिबलाई पैसा दिनुपर्छ। तर मेरो बुवा भन्नुहुन्थ्यो यो समाजमा पैसा दिएर मात्र पनि समस्याको समाधान हुन सक्दैन। अधिकार पनि आवश्यक पर्ने भएकोले म राजनीतिमा होमिएकी हुँ। वुबा भन्नुहुन्थ्यो-राजनीतिमा हामिएपछि ठूलो ठूलो विकासको कार्य पनि गर्न सक्छौं। सबैभन्दा पहिला टोल, गाउँ त्यसपछि नगर, जिल्ला हुँदै हामी राष्ट्रसम्म पुग्न सक्छौं। मेरो वुबा पनि राजनीतिज्ञ हुनुहुन्थ्यो। साही प्रेरणाबाट म पनि राजनीतिमा आएकी हुँ।

भावी मेयरको रुपमा आफूलाई कसरी सक्षम सावित गर्नुहुन्छ ?

मैले राजनीति गरिरहेको थिएँ। अन्य पार्टीको क्रियाकलाप मलाई चित्तबुझ्दो लागेन। सिद्धान्त अर्कै र व्यवहार अर्कै। त्यसैले म जनमत पार्टीतर्फ आकर्षित भएँ। तराईमा भएका शोषित, जनजाति, उत्पीडन वर्गको वकालत जुन तरिकाले हुनुपर्ने थियो सोहीअनुसार भएकै थिएन। त्यसैले म त्यसबखत राजनीतिबाट टाढा तर जनतासँग घुलमिल भइरहेको थिएँ। यसै क्रममा डाक्टर सीके राउत जो वैज्ञानिक, विद्धान् तथा आफ्नो पेशाको साथै सेवा सुविधाहरू छोडेर यही शोषित पीडित, जनजातिहरूको लागि केही गरौं भन्ने चाहना लिएर यहाँ आउनुभयो, त्यो वास्तममा सार्थक थियो।

यस्ता उत्पीडन वर्गका लागि केही गरौं, अरूबाट हैन, नीति तथा कानून परिमार्जनबाटै गरौं भन्ने विषेश जनमत लिएर आउनुभएको छ। यो समग्र तराईबासीका लागि हर्षको कुरा हो। जनमत पार्टीको मुख्य कार्य नै शोषित र पीडितको जीवनस्तरलाई माथि उकास्ने भनेपछि म यस पार्टीसँग प्रभावित भएँ।

कोभिडको समयमा खानपान र स्वास्थोपचारमा पनि पनि मैले सम्पूर्ण नगरबासीलाई सक्दो मद्धत गरें। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूमार्फत ल्याएको राशनले पनि नपुगेपछि मैले व्यक्तिगत तर्फबाट पनि सक्दो सहयोग गरें।

साँचिकै भन्ने हो भने त्यसबखत अन्य कुनै राजनीतिक दलहरूले सहयोग नै गरेनन् र म राजनीतिबाट टाढै बसेकी थिएँ। तर पछि जनमत पार्टीको अध्यक्ष सीके राउतको वैज्ञानिक भिजनबाट म प्रभावित भए। वास्तवमा भन्ने हो भने अझैसम्म पनि महिलाहरू पीडित नै छन्। जबसम्म महिलाको विकास हुँदैन, तबसम्म देशको विकास हुन सक्दैन। यो कटु यथार्थ हो।

त्यसै अध्यक्ष स्वयंमले तपाईंजस्तो राजनीतिक चेत भएको र समाजमा केही गर्न सक्ने निडर महिला एउटा नेतृत्वदायी भूमिकामा पुग्नुपर्छ भनेपछि मैले मेरो उम्मेदवारी पेश गरेकी हुँ। त्यतिमात्र नभई उहाँले मेयर–उपमेयरमा नै महिला जन प्रतिनिधिका लागि उम्मेदवार बनाउनुभएको छ। यति गरेपछि उहाँले महिलाको लागि पनि केही विचार गर्नु भएको रहेछ भन्ने विश्वास लागेको छ।

वर्तमानमा विगतको जस्तो महिला उपमेयर रहने व्यवस्थामा नै परिवर्तन भएको छ। मेयर–उपमेयर दुवैमा महिला उम्मेदवारको टिकट दिनु पार्टीका अध्यक्षको महिलाप्रतिकै सम्मान हो। यसो गर्दा उहाँले महिलावर्गको उत्थान र प्रोत्सानको लागि केही सोच्नुभएको रहेछ भन्ने प्रस्टै बुझिन्छ।

चुनाव प्रचार–प्रसारमा निकै नै धेरै रकम खर्चिनुपर्ने बाध्यतालाई तपाईले कसरी लिनुभएको छ ?

जनमत पार्टी, भखरै उदाउँदै गरेको पार्टी हो। त्यसमा पनि हाम्रो अध्यक्षले सम्पूर्ण काम परित्याग गरी मूलधारको राजनीतिमा आएको त्यति धेरै लामो समय भएको छैन। त्यसैले खर्चको मामिलामा हामीलाई पार्टीले जति दिएको छ त्यसमा नै हामी लड्छौं।

अर्थको मामिलामा हाम्रो प्रस्ट धारणा छ। पार्टीले जतिसम्म गर्न सक्छ हामी त्यति नै गर्छौ। चुनाव लड्छौँ। मेरो विचारमा राजनीति कुनै लगानी होइन। आज लगानी गर्ने र जितेपछि लगानी उठाउने जुन परिपाटी नेपालको राजनीतिमा छ त्यो अन्त्य गरिनुपर्छ। हामीले आफ्नो क्षेत्रको जनतालाई यही भन्दै आएका छौं। पैसा दिएर भोट किन्नेलाई भोट नदिन पनि हामीले यहाँका स्थानीयलाई आग्रह गर्दै आइरहेका छौँ।

मधेशवादी दल, गठबन्धन र नेकपा एमालेको साख पनि त्यस क्षेत्रमा राम्रै छ। त्यसो त तपाईंलाई त्यहाँ चुनाव लड्न र विजयी बन्न निकै ठूलो चुनौती देखिन्छ नि ?

मधेशमा जनजाती र दलितको अवस्था निकै नै नाजुक छ। यस्ता अत्यन्तै पीडित वर्गलाई हेरिने नजरमा परिर्वतन आवश्यक छ। यसमा खासगरी ठूला पार्टीहरूको ध्यानै पुगेको छैनभन्दा पनि फरक नपर्ला।

यस्तोमा डा. सीके राउतले भर्खरै स्थापना गरेको जनमत पार्टीलाई विश्वास गर्नेहको जमात छ। जनमत पार्टी यहाँ साना–साना अत्यन्तै संवेदनशील व्यवहारिक समस्याहरूलाई सुझाउने प्रयत्नमा लागेको छ। त्यसले गर्दा पनि यहाँका मतदातामा जनमत पार्टीले एक किसिमको विश्वास दिलाउन सफल छ। त्यसैले पनि हामी अगाडि आउन सक्छौं भन्ने लागेको छ।

यस नगरमा तपाईंले नै चुनाव जित्छु भन्ने आधारहरू केके हुन् ?

राजविराज नगरपालिका जेठो नगरपालिका हो। जब काठमाडौं महानगरपालिका स्थापित भयो, त्यसबखत यो पनि निकै चर्चित नगरपालिकाको रुपमा स्थापित भयो। तर पनि राज्यको उपेक्षामा यो नगरपालिका पर्‍यो। राजविराज नगरपालिकामा लामखुट्टेको समस्या ठूलो छ। हुन त यो सुन्दा सामान्य समस्या भए पनि यहाँका जनताको लागि सबैभन्दा ठूलो हो। लामखुट्टे आउने अवस्था किन आयो त? फोहोर मैला व्यवस्थापन नगरेर होइन र ? त्यसैले हामीले आफ्नो घोषणापत्रमा पनि राजविराजमा फोहोरमैलाको समस्यालाई जडैदेखि समाधान गर्नेछौँ। फोहोर मैलाबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने आम जनतालाई विश्वास दिलाउन सक्छौँ।

आजको युवामा हुर्नुभयो भने पढेको धेरै हुन्छन् तर जागिर हुँदैन। जसले गर्दा उनीहरू कुलतमा फसिरहेका छन्। त्यसैले जनतालाई रोजगारीको व्यवस्था गरी यस्ता सानाभन्दा पनि साना समस्याहरूलाई हल गर्ने हाम्रो योजना छ। यति मात्र नभई हामीले यहाँका खेलप्रेमी युवाहरूका लागि अन्तर्राष्ट्रियस्तरको क्रिकेट रगंशाला पनि बनाउनेछौँ। यस्ता नयाँ योजनाहरूलाई हामीले पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छौँ। यस्तै फरक विषयहरूमा टेकेर हामीले चुनाव जित्ने आधार तयार पारेका छौँ।

अन्त्यमाः यस क्षेत्रका आम जनतालाई के भन्न चाहनुहुन्छ ?

म मेरो नगरवासी जनमानसलाई यही भन्न चाहान्छु, जनमत पार्टी निर्माणकर्ता वैज्ञानिक डा.सीके राउतसँग नयाँ भिजन छ। अन्य पार्टीका नेताहरू सतहबाट उठेर मूलधारको राजनीति गरिरहेको बेलामा सीके राउत मूलधारको राजनीतिमा माथिबाट सतहमा हामीसँग हुनुहुन्छ।

यसले राजनीतिमा पक्कै पनि आमुल परिर्वतन ल्याउनेवाला छ। त्यसैले तपाईहरू बुझ्नुहोस, म यो नगरको छोरी हुँ। मैले गरेको कामहरू तपाईहरूका अगाडि छन्। यसपालि कसैको पैसामा, कसैको कुरामा निडर भई, बिना कुनै स्वार्थ जनताको पार्टी जनमत पार्टीको तर्फबाट उम्मेदवार बनेकी छु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved