प्रिय कथा

बादशाहको अटोग्राफ

बादशाह र महारानी ध्यानस्थ हुन लागेपछि पुजारी बाहिरियो। मन्दिरभित्र उनीहरूबाहेक कसैलाई पस्ने इजाजत थिएन। यता बादशाह ध्यानमा बसे। उता महारानी बसिन्। घण्टौँको पूजा–आराधनापछि बादशाहले आँखा खोले। बादशाह स्यवम्ले घण्टा बजाए। महारानीले पनि आँखा खोलिन्।

बादशाहको अटोग्राफ

(रचनागर्भः माघ १९ को शाही कदमपछि राजा आफ्नो पक्षमा समर्थन बढाउन देशका मुख्य सहरमा डुल्न थाले। राजाको स्वागतार्थ जनता सडकपेटीमा लाइनबद्ध देखिन्थे। जनताका अनेकथरी मागमा राजाले ‘हुन्छ हुन्छ। अँ अँ। मैले बुझेँ।’ मात्र भनेको सुनिथ्यो। कुनै सहरको यस्तै माहोलमा एक युवती राजाको अटोग्राफ लिन अटोकापी तेर्‍स्याउँदै थिई भने राजा अटो (हस्ताक्षर) दिँदै थिए।

२०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुगेको थियो। सहरमा हजारौँ/लाखौँ मानिसको जुलुस निस्कन थालेको थियो। दलहरूका झण्डाले सडक/चोक राताम्य भएको थियो। पछि एक मासिक पत्रिकामा देखेँ– एउटी युवती अविरले राताम्ये भएर विद्रोहको झण्डा उचालिरहेकी थिई।

राजाले दरबार छाड्नुअघि पत्रकार सम्मेलन गरी ‘मैले मेरो नासो छाडेको छु’ भनेर श्रीपेच जिम्मा लगाए। राजनीतिक दल, सञ्चारमाध्यम र सर्वसाधारणमा अनेक आशङ्का थिए। के राजाले सजिलै दरबार छाड्लान् ? सेनाले राजाको पक्ष लिने त होइन ? यस्तै आशङ्काबीच राजाले राति १० बजेतिर दरबार छाडे।

के राजाले सामान्य अवस्थामा दरबार छाडेका थिए ? उनीभित्र बदलाको भावना जागेको थिएन ? संसद् ब्युँताउने घोषणा गर्दा आफैँले ब्युँत्याएको संसद्ले २४० वर्षको शाहीसत्ता फाल्ने कुरा उनले सोचेको थिए होलान् र ?

यिनै सन्दर्भ र यस्तै प्रश्नहरू मेरो दिमागमा आइरहन्थे। आँखा आएका ती दृश्य र मनमा भावहरूलाई व्यक्त गर्ने क्रममा जन्मिएको कथा हो– ‘बादशाहको अटोग्राफ’। राजासँग अटोग्राफ लिइरहेकी त्यो युवतीलाई राजाकै विरोधमा विद्रोहको झण्डा उचाल्ने युवतीमा रूपान्तरित गर्नु मानिसको द्वैध चरित्र देखाउने प्रयास पनि हो। यो कथा ‘बादशाहको अटोग्राफ’ कथासङ्ग्रहभित्र सङ्ग्रहित छ।)

दरबारको माथिल्लो झ्यालबाट शक्तिशाली दूरबीनले बादशाहले एकपटक सडक नापे।

साँझ छिप्पिँदै गएको थियो। गाडी फाट्टफुट्ट मात्रै चलेका थिए। सडकमा ठूलो जुलुस उठेको थियो। त्यो जुलुस समुद्रको उत्ताल छाल–तरङ्गझैँ किनारा नाघ्ने प्रयास गर्दै थियो। अर्थात् जुलुस दरबारतिर आउँदै थियो। जुुलुसमा बेजोडसित नारा लागेको थियो। घन्किएको नाराको गेडा के थिए, त्योचाहिँ बादशाहले राम्ररी ठम्याउन सकेका थिएनन्।

भित्रैबाट कसैले सुनाइदियो, ‘सरकार ! नजर होस्, त्यो जनलहर हाम्रै पक्षको हुनसक्छ। दूरबीनले नजर लगाइबक्स्योस्।’

बादशाहले एक झोक्का निराशा ओकले, ‘तालुके, तँ अझै मलाई ढाँट्न अगि सर्छस् ? कति ढाँट्छौ ? मलाई सिध्याउने नै तिमीहरूको मनसाय छ हैन ?’

तालुकेले बादशाहलाई अझै ढाडस दियो, ‘सरकार ! हाम्रो पक्षको विशाल जुलुसले नगर परिक्रमा गर्दैछ रे। सुसमाचार टेलिफोनमा आएको आयै छ।’ तालुकेतिर नजर लगाएर बादशाह बोले, ‘कुनचाहिँ वीर रहेछ, यस्तो अवस्थामा मेरा पक्षमा नाराजुलुसको अगुवाइ गर्ने ?’

बादशाहको प्रश्न सुनेपछि दुवै हात जोरेर तालुके निहुरियो, ‘सरकार, यसबारे मैले राम्ररी बुझ्न पाएको छुइनँ। समय पनि मिलेको छैन। अब छिट्टै यथार्थ बुझेर सरकारका जुनाफमा समाचार टक्रयाउँछु।’

बादशाहले भने, ‘केको समय चाहियो ? समय नपाएर यो सब बर्बाद भएको हो ? अँ, कुरा भएको छ कि छैन तालुके ? प्रधानमन्त्रीसँग कुरा गरेर मेरा हजुरमा छिट्टै यथार्थ जानकारी पेश गर्।’

अनि सोचे, ‘के गर्नु, हिजो मेरो पैतालाको धूलो चाट्न पाए हुन्थ्यो भन्नेहरू आज मसँग सम्पर्कविच्छेद गरेर बसेका छन्। मेरा दिन सकिएकै हुन् त !’ तत्क्षण महारानी हाजिर भइन्, ‘के नजर लगाइबक्सेको ? सुकला होस्। अब चिन्ता गरेर केही हुँदैन। हजुरलाई उतिबेला प्रजा छाडा छाड्नु हुन्न, यिनीहरूले एकदिन हाम्रो टाउकामा टेक्छन् भन्दा केही सुनिबक्सेन। अब पीर गरेर के गर्नु ! जुलुस दरबारभित्र पस्न सक्दैन। सेनाले हाम्रो सुरक्षा गर्छ।’

महारानीले त्यो समुद्रतुल्य जुलुस राम्ररी हेर्नै पाएकी थिइनन्। सुनेको भरमा भनेकी थिइन्। बादशाहले महारानीलाई जुलुसतिर हेर्न भने। दूरबीन महारानीलाई हस्तान्तरण गरे। महारानीले शक्तिशाली दूरबीन आफ्नो आँखामा लगाइन्। उनले देखिन्– जुलुस राँकिएको छ बादशाहको विरोधमा। निषेधित क्षेत्रको सेरोफेरोमा सडक बलेको छ। धूवाँको मुस्लो देखिएको छ। जुलुस दरबारनजिक आई नै सकेको छ। सुरक्षाकर्मी उनीहरूलाई बलपूर्वक ठेलिरहेका छन्। उनीहरूको बलबुताले जुलुस रोक्न भ्याइरहेको छैन।

मलिन मुखमण्डल बादशाहतिर फर्काएर महारानीले भनिन्, ‘महाराज, अब यो दरबारमा बस्न धेरै समय छैन। उतिबेलै मैले ‘त्यतिजाबो आन्दोलन दबाऊँ’ भन्दा मानिबक्सेन। अब उनीहरू माथि परे। हामी तल पर्‍यौँ। आन्दोलन हाम्रो काबुभित्र छैन अब।’

बादशाहले महारानीपट्टि मायालु नजर तेर्‍स्याएर भने, ‘महारानी, यस्तो अवस्था आउला भनेर मैले संविधानको ‘बाधाअड्चन फुकाऊ’ धारा प्रयोग गरेकै होइन। हामीलाई पनि उचित स्थान देलान् भनेर गरेको हुँ। आज यस्तो भयो के गर्ने ? सारा विपत्तिको दोेष मै मात्र बोकूँ ? के गल्ती मैले मात्रै गरेको हुँ ?’

फेरि तालुके देखापर्‍यो, ‘सरकार ! अब हाम्रो केही सीप चल्दैन। प्रधानमन्त्री हाम्रो विपक्षमा छन्। उनलाई दरबारको विपक्षमा उभिन बाध्य पारिएको छ। हाम्रा पक्षमा बोलिदिने कोही छैन सरकार ! नगरको भित्री भागमा सय/पचास मानिसहरू महाराजको पक्षमा जुलुस निकालिरहेका छन् भन्ने सुसमाचार छ। तिनीहरूलाई समेत अब कहाँ घेराबन्दीमा पार्ने हुन्। दरबारअगाडिको जुलुस हाम्रो हैन रहेछ सरकार। अब हामी के गरौं ! मौसुफका लागि हामी यो ज्यान बलिदान गर्न तयार छौँ।’

बादशाह जोडसित रिसाए, ‘भुत्राको बलिदान ? केही गर्नु पर्दैन तालुके। अब दिउँसै ओछ्यान लगाएर सुत्। अब तैँले यहाँ सुत्नु नै कति छ र ! दरबारमा तेरा सुत्ने दिन पनि सकिए।’

बादशाहको सन्की कुराले तालुकेको पारो चढेको थियो। तर केही भन्नु उचित देखेन। चुप लागेर बस्यो। जुलुसको चर्को नाराले बादशाह पानीपानी भए। उनले महारानीको हातबाट दूरबीन आफ्नो हातमा लिए। फोकस मिलाएर सडक नाप्न थाले। सडकमा झलमल्ल बत्ती बलेको थियो।

अचम्म ! साह्रै अचम्म ! बादशाहले देखे– आपूm दुई वर्षअघि देश दौडाहामा जाँदा मुलुकको पश्चिम क्षेत्रमा भेटिएकी एउटी स्कुले छात्रा उफ्रीउफ्री कराइरहेकी थिई। झण्डा हल्लाइहल्लाई आफ्नो स्वरमा ऊर्जा थपिरहेकी थिई। उसमा यौवन फुलेको थियो।

तैपनि बादशाहको शङ्का निवारण भएन। महारानीलाई दूरबीन हस्तान्तरण गर्दै भने, ‘महारानी, त्यो अगाडि देखिएकी सुन्दरीलाई तिमीले चिन्यौ ? अलि राम्ररी नजर लगाऊ त।’

महारानीले दूरबीन घुमाएर नजर लगाउँदै भनिन्, ‘महाराज, हजुर र म देश दौडाहामा जाँदा त्यो सुन्दरी महाराजको अटोग्राफ माग्दै थिई। सडक किनारामा उभिएर आफ्नो नोटबुक हजुरतिर तेस्र्याउँदै भन्दै थिई, ‘सरकार ! यसमा सरकारको बाहुलीको हस्तलिपि पाऊँ।’ हजुरले अत्यन्त प्रफुल्ल मुद्रामा त्यो सुन्दरीको अटोकापीमा अटोग्राफ बक्सेको थियो।’

तत्क्षणै बादशाहले देश दौडाहामा जाँदा खिचिएका तस्बिर मगाए र हेरे। हो, उही हो। त्यही सुन्दरी हो, जो महाराजको हस्तलिपिलाई अमूल्य ठानेर माग्दै थिई। आज उही सुन्दरी बादशाहकै विरोधमा आकाश रन्काइरहेकी छे। अब के भन्नु ! बादशाहलाई लाग्यो, अब घोडाबाट ओर्लिने बेला भएछ। त्यो पनि स्वाभाविक नभएर जबर्जस्ती।

महाराजले सत्ता र शक्तिको अनुभव गरे। ओहो ! त्यतिखेर सारा मुलुकै उल्टिएर महाराजको पाउको धूलो पछ्याउँदै थियो। कोही विरोधीहरू देखिएका थिएनन्। आफ्नो स्वागतार्थ केराका थुम्बाहरूको प्रवेशद्वार बनाएर पञ्चकन्याहरू माला अर्पण गर्न उत्साहित थिए। जनताको कुहिरीमण्डल उपस्थितिले शान्ति मागेको थियो र महाराज आफ्नो हातले ‘शान्ति शान्ति’ भन्दै शान्ति बाँड्दै हिँडेका थिए। बालबालिका, बृद्ध र युवा हात पसारेर शान्तिकै भीख मागिरहेका थिए। महाराजको मुखबाट ‘शान्ति’ प्राप्त गरिरहेकै थिए। आज तिनीहरू कसैलाई शान्ति नचाहिने भएछ ! धत् कृतघ्न प्रजा !

बादशाहका आँखा सडकबाट अघाए। अब उनलाई त्यतापट्टि झुक्किएर पनि हेर्न नपरोस् भन्ने लाग्यो। महारानीको हात समातेर उनी खोपीभित्र पसे। धपक्कै बलेको कोठालाई उनले अँध्यारो देख्यो। भाउन्न भएर आयो। हठात् काउचमा ऊ मदहोशी तरिकाले बसे।

उनी एकोहोरो बोल्दै थिए, ‘यो दरबार रक्षार्थ खटिएका सिपाही पनि हाम्रा विपक्षमा भइसके ? किन ताक्दैनन् गोली त्यो सुन्दरीको वक्षस्थलमा ! यसरी दुई रूप देखाउनु हुन्छ कसैले ? महारानी, त्यसको नोटबुकबाट मेरो अटोग्राफ फिर्ता गर्न लगाऊ। त्यस कृतघ्न सुन्दरीको नोटबुकमा मेरो अटोग्राफको औचित्य समाप्त भइसक्यो।’
महारानीले भनिन्, ‘नोटबुक ऊसँग छ महाराज ! मैले कसरी उसको नोटबुक हात लगाउने ?’

बादशाह बोलेनन्।

पर्दा पन्छाएर उनले दरबारको प्राङ्गणमा हेरे। जताततै सन्नाटा मात्र। अझ मृत्यु सन्नाटाजस्तो। सिपाहीहरू हतियार तल झारेर बारतिर ओइलाएर उभिएको देखे।
उनलाई त्यो दरबार भूतको दरबारजस्तै लाग्यो। बेचैन भएर फेरि उठे र हेरे। जुलुस धेरै निकट आइरहेको थियो।

‘केको निषेधित क्षेत्र ! यो त भन्ने कुरा मात्र हो।’ यस्तै लाग्यो उनलाई।

जुलुस आगो बनेर आइरहेको थियो। आफ्नो सुरक्षा गर्न खटिएकाहरू हतियार तल झारेर आत्मसमर्पणको मुद्रामा उभिइरहेका थिए। जुलुस दूरबीनबिना नै राम्रोसित देखिने स्थानमा आइसकेको थियो। जुलुसको अगुवाइ गर्दै थिई उही सुन्दरी। बादशाहले हेर्न सकेनन्। सक्दै सकेनन्। उनी त्यो ठाउँबाट हटे। लामो सुस्केरा छाडेर सोफामा बसे।

जनबलको अगाडि बादशाहको सैन्यबलको केही सीप चलेन। आखिर दरबार छाडेर हिँड्नु नै पर्‍यो। सयौँ वर्षदेखि चलिआएको सनातनी शासन व्यवस्था तोडियो।

बादशाहीतन्त्रको अवसान भयो। दरबारबाट निस्कने बेला बादशाहले महारानीलाई भने, ‘महारानी, अब हाम्रा दिन सकिएछन्। के अब हामी यो दरबार फर्कँन पाऊँला ?’
महारानी बोल्न सकिनन्। आँखामा विषाद भाव मात्र देखियो। एकछिनपछि भनिन्, ‘महाराज, हजुरले यति सजिलै दरबार छाड्ने निर्णय गर्नुभयो, त्यो नै हाम्रा लागि घातक भयो। कराउनेहरू कराइरहन्थे। अझै पनि सेनाको एक हिस्सा हाम्रै पक्षमा छ भन्ठान्छु म त। खै, हजुरले सेना प्रमुखसँग केही खुसामद नै गर्नुभएन।’

बादशाह बोले, ‘महारानी अब कसैको केही जोर चल्दैन। जनता सडकमा ओर्लेपछि हामीभन्दा शक्तिशाली राजाले पनि ज्यान जोगाएर भाग्नुपरेको छ।’ अन्तिममा महारानी बोलिन्, ‘शासन व्यवस्थाको निर्धारण विधिले गर्छ कि मुढेबलले महाराज ? सडकको आन्दोलन र तमासाले देश चल्ला र ?’

बादशाहले घाँटीको कस फालेर भने, ‘महारानी, अब यो देश चल्नु र नचल्नुमा हाम्रो कुनै सरोकार छैन। छिट्टै दरबार छाड्नु नै हाम्रा लागि श्रेयष्कर छ।’

बादशाही शासनको बर्खास्तीपछि एकादेशको त्यो देशमा अनेक अनेक बहुरङ्गी दलका बेढङ्गी नेताहरू सत्तामा आए। देशको शासनसत्ता उनीहरूले कब्जा गरे। देशमा हुने नहुने सबै काम भए।

बादशाह र महारानी खुब धर्मकर्ममा लागेका थिए। बादशाह दम्पत्ति बुढ्यौली वयमा पुगिसकेका थिए। दुवैका कपाल सेतै भएका थिए। अनुहार चाउरिएको थियो। शरीरको बल कमजोर हुँदै गएको थियो।

बादशाह समर्थकहरूको ठूलै झुण्ड लिएर धर्मका खातिर देशाटन गरिरहन्थे। मन्दिरमा पसेर घण्टौँ घण्टा पूजामा लीन हुन्थे। देवतासँग उनको के पुकारा हुन्थ्यो, त्यो उनलाई बाहेक कसैलाई थाह हुने कुरा भएन।

एकदिन नदी किनारको विशाल एक देवीको मन्दिरमा बादशाहका दम्पत्ति पूजामा लीन थिए। बाहिर सुरक्षाकर्मी सुरक्षार्थ तैनाथ थिए। पूर्व बादशाहको हैसियतमा राज्यले उसलाई सुरक्षाको राम्रै प्रबन्ध गरेको थियो।

पुजारी विधिपूर्वक पूर्व बादशाहलाई पूजा गराइरहेको थियो। वातावरण अत्यन्त रमणीय थियो। मन्दिरको बगैँचामा अनेकथरी फूल फुलेका थिए। तिनको बास्नाले वातावरणलाई निकै मोहक बनाएको थियो। वन्य पंक्षीहरूको चिरबिर र वनबाट आएको मन्दमन्द बतासले झन् जो कोहीको मन नतान्ने कुरै भएन।

बादशाह र महारानी ध्यानस्थ हुन लागेपछि पुजारी बाहिरियो। मन्दिरभित्र उनीहरूबाहेक कसैलाई पस्ने इजाजत थिएन। यता बादशाह ध्यानमा बसे। उता महारानी बसिन्। घण्टौँको पूजा–आराधनापछि बादशाहले आँखा खोले। बादशाह स्यवम्ले घण्टा बजाए। महारानीले पनि आँखा खोलिन्।

बादशाह बोले, ‘महारानी, यति शक्तिशाली देवीको दर्शन, पूजा र ध्यान गरियो। केही वर त मागेरै जाऊँ न। तिमी के वर माग्छ्यौ ?’ महारानी बोलिन्, ‘महाराज, शासनबाट बाहिरिएको बाह्र वर्ष पुग्नै लाग्यो। देशमा राम्रो थिति बसेको पनि छैन। मलाई त लाग्छ– प्रजा अहिलेका नेतादेखि नै दिक्कवाक्क भएका छन्। अब हामीलाई शासनसत्तामा विराजमान भएको हेर्न चाहन्छन्। देवीसँग यही वर माग्नुपर्छ।’

आसनबाट अलि चट्पटाएर बादशाह बोले, ‘तिमीले ठिकै भन्यौ महारानी। मैले हरेक मन्दिरमा यही वर मागिरहेको छु। तर खै पुगेको ?’

महारानीले भनिन्, ‘पुग्छ महाराज। एकदिन अवश्य पुग्छ। सारा देवीदेवताले हाम्रो बिन्ती सुनिरहेका छन्। त्यसैले त दल र नेताको मति भ्रष्ट हुँदै गएको छ।’

बादशाह थोरै मुस्कुराए। भने, ‘पुग्छ मात्र हैन महारानी ! पुग्नु पर्छ।’

खुसीले बादशाह पुनः मुस्कुराए। उनले मनको लड्डु घिऊसँग मज्जाले खाए।

पूर्वबादशाह दम्पती मन्दिरबाट बाहिरिए। सुरक्षाकर्मीले बादशाह दम्पत्तिको सवारी चलाए। सडकमा उनीहरूको अत्याधुनिक कार उनीहरूलाई पर्खिबसेको थियो। बादशाहले चस्मा झिकेर आँखा पुछे। उनका आँखा पर सडकपेटीमा पुगे। देखे– बाह्र वर्षअघि उनकै अटोग्राफका लागि लाइन बसेकी स्कुले केटी।

देखे– दश वर्षअघि दरबारअगाडिको सडकमा उनको विपक्षमा बेस्मारी नारा लगाइरहेकी सुन्दरी।

देखे– आज उमेरले एक परिपक्व महिला। जो एक झुण्ड मानिसको अगुवाइ गर्दै नारा लगाउँदै थिई– ‘महाराजको जय होस्। महारानीको जय होस्।’
देखेर बादशाहले घुटुक्क थुक निले।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved