शहर र राजनीतिको फोहोर सफा गर्न मेरो उम्मेदवारी हो : समीक्षा बास्कोटा (अन्तर्वार्ता)

के-के कुरा ठीक भएको छैन, ठीक नभएका विषयलाई सही ठाउँमा ल्याउन हामी राजनीतिमा आएका हौँ। त्यसैले काठमाडौैंको फोहोर र राजनीतिको फोहोर सफा गर्न हामीले उम्मेदवारी दिएका हौँ।

शहर र राजनीतिको फोहोर सफा गर्न मेरो उम्मेदवारी हो : समीक्षा बास्कोटा (अन्तर्वार्ता)

काठमाडौं महानगरपालिकामा विवेकशील साझाकी मेयर उम्मेदवार हुन्,  समीक्षा बास्कोटा। सत्ता गठबन्धन र एमालेले आफ्नो बलिया प्रतिस्पर्धीलाई मेयर पदको उम्मेदवार बनाउँदै गर्दा बास्कोटा पनि मेयर पदको प्रतिस्पर्धामा छिन्। बास्कोटा अधिवक्ता हुन्।

काठमाडौं महानगरमा भोट माग्न हिँडेकी उनीप्रति अघिल्लो स्थानीय निर्वाचनमा विवेकशीलको उम्मेदवारजस्तो उत्साह देखिँदैन। पाँच वर्षअघिको स्थानीय चुनावमा विवेकशील र साझा दुई अलग पार्टीका रूपमा प्रतिस्पर्धा गरेका थिए।

स्थानीय तहको निर्वाचनको सेरोफेरोमा विवेकशील साझा पार्टीबाट काठमाडौंको मेयरकी उम्मेदवार समीक्षा बास्कोटासँग पुरुषोत्तम पौडेलभागिरथी पण्डितले गरेको संवाद : 

मेयर पदमा तपाईंको उम्मेदवारी किन?

काठमाडौं शहर र राजनीति दुईओटैको फोहोर सफा गर्न मेरो उम्मेदवारी हो। हामीले छेउमा बसेर राजनीतिका विषयमा धेरै गुनासो त गर्छौं तर अब गुनासो गर्ने होइन, नभएका काम गर्नका लागि आफैं अघि सर्ने हो।

के-के कुरा ठीक भएको छैन, ठीक नभएका विषयलाई सही ठाउँमा ल्याउन हामी राजनीतिमा आएका हौँ। त्यसैले काठमाडौैंको फोहोर र राजनीतिको फोहोर सफा गर्न हामीले उम्मेदवारी दिएका हौँ।

२०७४ को स्थानीय तहको निर्वाचनमा विवेकशील र साझा दुई फरक पार्टी थिए तर पनि उनीहरूले प्राप्त गरेको मत उत्साहजनक थियो। अहिले त्यस्तो उत्साह देखिँदैन। राजनीतिलाई तपाईंहरू आफैँले पनि फोहोर बनाएको आरोप छ नि?

यसअघिको स्थानीय निर्वाचनमा विवेकशील र साझा पार्टीले जुन प्रकारले मत प्राप्त गर्‍यो, त्यो मतका आधारमा हामीले पार्टी निर्माणको जग बसाएका हौँ। आज हामी जुन अवस्थामा छौँ त्यो बेला प्राप्त गरेको मतका कारण हो।

त्यो समय हामीले प्राप्त गरेको मतले हामी कुन दिशातर्फ जाने भनेर झल्को देखाएको थियो। त्यही हिसाबले हामीले पाँच वर्ष हाम्रो राजनीतिको आधारलाई फराकिलो बनाउन खटेका थियौँ।

कुनै पनि वस्तु एक पटक चम्किन्छ, पाँच वर्षपछि त्यही तरंग रहिरहँदैन। निर्वाचनको समय आएपछि हाम्रो चर्चा फेरि यो पटक पनि चुलिएको छ।

दुई महिलालाई मेयर र उपमेयर पदमा उम्मेदवारी दिएको विषय होस् वा अन्य दलका मेयर उपस्थित सार्वजनिक कार्यक्रम होस्, हाम्रो उपस्थिति राम्रो छ। यस हिसाबले हाम्रो यो पटक कम चर्चा भएको मिल्दैन।

अघिल्लो निर्वाचनमा हामी नयाँ भएकाले चर्चा अलिक बढी नै भएको थियो। नयाँलाई सबैले चासोपूर्वक लिनुलाई स्वभाविक मान्न सकिन्छ। पाँच वर्षदेखि हाम्रो उपस्थिति समाजमा निरन्तर छ। निरन्तरको उपस्थितिका कारण हाम्रो चर्चा केही कम भएजस्तो लागेको होला तर चर्चा नै नभएको होइन।

मेयर पदमा विजयी भएपछि तपाईंले यो-यो काम गर्छु भनेर गर्नुभएको प्रतिबद्धता पूरा हुने आधार के छन्? यहाँ निर्वाचनको समयमा प्रतिबद्धता गरिन्छ तर पछि त्यसको पालना भएको पाइँदैन?

हाम्रो प्रतिबद्धता-पत्रमा पाँच वर्षमा जे गर्न सक्छौँ, त्यो मात्रै लेखेका छौँ। हामीले पानी जहाज र रेलको कुरा गरेका छैनौँ। हामीले काठमाडौं महानगरमा एक वर्षभित्र ५० ओटा सार्वजनिक शौचालय बनाउने बताएका छौँ।

हामीले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गर्छौं भनेका छौँ। आज फोहोर व्यवस्थापन हुन नसक्नुको कारण यहाँभित्रका भ्रष्टाचारदेखि धेरै कारण होलान्।

काठमाडौं अव्यवस्थित भएको यहाँ काम गर्नुपर्ने व्यक्तिहरूले काम नगर्दा यस्तो भएको हो। हामी पदमा पुगेपछि नागरिकप्रति प्रतिबद्ध भएर काम गर्न थाल्ने छौँ।

काम थालेपछि यहाँ गर्न सकिने धेरै विषय छन्। उदाहरणका लागि, हामीले भ्रष्टाचार शून्य र सुशासन कायम गर्ने भनेका छौँ। यो भन्नुको मतलब महानगरपालिकालाई डिजिटल प्रविधिमा लैजाने भनेको हो।

३२ वटै वडामा डिजिटल माध्यम भएपछि फाइल पल्टाइराख्नुपर्दैन भने एउटा सिफारिशका लागि महानगर धाइराख्नुपर्ने अवस्था आउँदैन। अहिलेसम्म मानिसले घरमै खानाको डेलिभरी भएको थाहा पाएका छन्। हामी सेवालाई पनि घर-घरमै डेलिभरी गर्ने व्यवस्था मिलाउँछौँ।

हाम्रो प्रतिबद्धतामा विश्वास गर्ने आधार छ। हामी विभिन्न पेशा गरेर आएका व्यक्तिहरू छौँ। म आफैँ एक अधिवक्ताको रुपमा काम गरेको व्यक्ति हुँ। अहिले म राजनीतिमा आएको छु।

मैले जिम्मेवारी पाएको ठाउँमा कहिल्यै पनि बेइमानी गरेको छैन। हामीले पेशामा अपनाएको इमान्दारिताका आधारमा मानिसले विश्वास गर्छन्।

तपाईंको प्रतिबद्धताप्रति शंका गर्नु पर्दैन त भन्नुभयो तर प्रतिबद्धता पूरा गर्न आवश्यक पर्ने आर्थिक स्रोत कहाँबाट जुटाउनु हुन्छ?

काठमाडौं महानगरपालिकाको गएको वर्षको बजेट १९ अर्बभन्दा बढीको छ। पूरा पाँच वर्षको बजेट हेर्ने हो भने महानगरपालिकामा ८ अर्बको बजेट बेरुजु छ।

त्यसैले काठमाडौं महानगरपालिकाले काम गर्नका लागि छुट्टै अर्को स्रोत ल्याउन आवश्यक छैन। त्यहाँ भएको बजेट नै खर्च हुन नसकेको अवस्था छ। जम्मा बजेटको ४० प्रतिशत खर्च भएको अवस्था छ। यहाँ आवश्यक भनेको स्रोतको व्यवस्थापन हो। त्यो हामी गर्छौं।

म यहाँ नयाँदिल्लीको उदाहरण दिन चाहन्छु। दिल्ली सरकारले त्यहाँ काम गर्नका लागि छुट्टै बजेट ल्याएको होइन। सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र सुशासनको व्यवस्था गर्दा मात्रै पनि भएको बजेटबाटै धेरै काम गर्न सकिँदो रहेछ भन्ने उदाहरण दिल्ली सरकारबाट हामीले लिनसक्छौँ। हामीसँग स्रोत पनि छ, साधन पनि छ तर त्यसको व्यवस्थापनको कमी छ।

बेरुजुको कुरा गर्नुभयो, गर्नुपर्ने काम नभएका कारणे बेरुजु रह्यो होला। तपाईंले आफ्नो प्रतिबद्धता पत्रमा गरेको प्रतिबद्धताअनुरुप काम गर्नु पर्‍यो भने त हालको बजेटले नपुग्ला नि त?

काम गर्न थालेपछि स्रोत नपुगेको अवस्थामा त्यसको व्यवस्थापन गर्न सकिन्छ। अहिले महानगरपालिकाको बजेट बेरुजु भएर मेयरले पैसा बैंकको मुद्दति खातामा राखेका छन्। मेयरले काम गर्नुपर्ने ठाउँमा पैसा खर्च गर्न नसकेर कहाँको मेयर पैसा बैंकमा लगेर राख्छ?

त्यसैले भएको बजेटको राम्रो व्यवस्थापन भएको खण्डमा काठमाडौं महानगरपलिकाभित्र काम गर्न स्रोतको कुनै कमी हुँदैन। महानगरपालिकाभित्र हुने भ्रष्टाचारलाई नियन्त्रण मात्रै गर्ने हो भने स्रोतको कमी हुँदैन।

अर्को, हामीले महानगरमा सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय प्रणालीमा लैजान्छौँ भनेका छौँ। त्यो गर्न सकेको अवस्थामा पेट्रोलमा हुने खर्चमा कमी आउँछ।

हामीले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्न सकेको अवस्थामा इन्धन खरिदका लागि हुने भ्रष्टाचार आफैँ हट्ने छ। त्यसैले स्रोतको कमी छैन, काम गर्ने इच्छाशक्ति भएको सक्षम व्यक्ति ठाउँमा पुग्नुपर्यो।

महानगरपालिकाको प्रमुख समस्या के-के हुन् जस्तो लाग्छ ?

काठमाडौं महानगरपालिकाको समस्याबारे मैले बोल्नुपर्छ जस्तो लाग्दैन। घर अगाडि फोहोर थुप्रिएको हुन्छ। फोहोर व्यवस्थापनको समस्या अलि अगाडि पुग्दा पार्किङ व्यवस्थित छैन। अलि अगाडि गयो सार्वजानिक यातायात उस्तै छ। धुलो धुवाँ अव्यवस्थित छ। सम्पदाहरू लथालिंग अवस्थामा छन्। मूर्ति चोरिरहेको हुन्छ। पानीको समस्या छ। सुरक्षा छैन। फुटपाथको समस्या छ। खोला नदीनालाको समस्या छ। समस्याको चाङ छ।

हामीलाई समस्या थाहा छ समस्याको समाधान पनि थाहा छ तर काम नभएको हो। त्यही भएर म धेरै भन्न चाहन्न। अहिले यहाँ कुनै एक व्यक्तिलाई २० ओटा समस्या लेख्न लगाए ४० ओटा लेख्न सक्छन्।

अहिले कोभिड महामारीले देशमै असर गरेको छ। त्यसको असर काठमाडौंको अर्थतन्त्रमा पनि परेको छ। त्यसको सामना कसरी गर्नुहुन्छ ?

काठमाडौं महानगरको सम्भावनालाई हेर्नुपर्‍यो। एउटा फोहोर व्यवस्थापनमा नै काम गर्नुभयो भने त्यहीबाट जैविक मल उत्पादन गरेर त्यो पनि एउटा स्रोत हुनसक्छ। फोहोरलाई मोहोरमा परिर्वतन गर्ने विभिन्न आइडियालाई कार्यान्वयन गर्नुपर्‍यो।

अर्को, काठमाडौं महानगर आफैँमा यस्तो पर्यटकीय सम्पदाहरूले भरिएको शहर हो। विश्वमा सूचीकृत चारवटा सम्पदा यहाँ छन्। त्यसलाई ‘ब्राण्डिङ’ गर्नुपर्‍यो।

पर्यटकीय हिसाबले यहाँ हुने जात्राहरू, पर्व, मठमन्दिर, बौद्ध बिहार, गुम्बा लगायतका सम्पदाहरूको संरक्षण गर्नुपर्‍यो र त्यसको ‘ब्राण्डिङ’ गरेर हामीले विश्व बजारमा देखाउन सक्छौँ।

आफैँ जीवन्त शहरी संग्रहालय बन्ने काठमाडौं महानगरलाई अस्तव्यस्त ध्वस्त बनाएका छौँ। पर्यटन प्रवर्द्धन गर्ने एउटा सक्षम नेतृत्व यहाँ आयो भने भोलि हामीले धेरै कुरामा ‘फोकस’ नै गर्नुपर्दैन।

यही जात्राहरूलाई ब्राण्डिङ गरेर विदेशी पर्यटक ल्यायो भने विदेशीले त्यहीँ खान्छ, त्यहाँको सम्पदा हेर्छ। हाम्रो वास्तुकला हेर्छ। नेवारी पकवान, कला, सम्पदा आफैँमा माहिर छ।  यसलाई हेर्ने र देख्ने दृष्टिकोण भएको मेयर चाहियो।

त्यो भयो भने पर्यटकीय हिसाबले एकदमै राम्रो छ। यहाँ पर्यटकहरू भित्रिन्छन। होटल व्यवसायी, रेष्टुराँ, मिष्ठान्न पसलदेखि विभिन्न ठाउँमा रोजगारीको सिर्जना हुन्छ। विदेश जानुपर्ने युवालाई पनि यहीँ रोजगारी सिर्जना गर्न सकिन्छ।

त्यस्तै, उद्यमशीलताका कक्षाहरू। हामीले १२ कक्षामै या त विद्यालय शिक्षामा नै उद्यमशीलताका कक्षाहरू दिने भनेका छौँ। भन्नुको अर्थ के हो भन्दा तपाईलाई उद्यमी बनाउने हो। इन्टरपोनोसिप विकास गराइदिने होे। हाम्रो शिक्षाले ब्रेन ड्रेन मात्र गरेको छ। त्यसलाई रोक्नका लागी हामीले यस्ता कार्यक्रम ल्याएका छौं। जसले महानगरको अर्थतन्त्र आफैले चलायमान बनाउँछ। त्यसका लागी ठुलो चिज केहि चाहिदैन।  हामी भित्र भएका स- साना चिजलाई व्यवस्थावन, ब्राण्डिङ र मार्केटिङ गर्न जान्नुपर्छ।

हाम्रोमा संसारमा नभएको कुमारी ‘जीवित देवी’  कहीँ पनि छैन। ‘जीवित देवी’ हेर्न आउने कयौँ पर्यटक हुन्छन्। धर्मको हिसाबले पनि हुन्छ। पर्यटकीय हिसाबले पनि हुन्छ।

स्वास्थ्यको क्षेत्रमा कार्ययोजना केही बनाउनुभएको छ ?

पार्टीले लिएको अवधारणा पनि शिक्षा र स्वास्थ्य हो। सँगसँगै हामीले वडा क्लिनिकको कुरा ल्याएका छौँ। अहिले पनि भन्नका लागि त छ तर वडा क्लिनिकमा ‘सिटामोल’ पनि शुद्ध पाइँदैन। हामीले भनेको वडा क्लिनिकमा कम्तिमा ‘जनरल प्राक्टिसनर एमडीजीपी’ को दरबन्दी लिएर महानगरले ३२सैं वडामा सञ्चालन गर्नेसम्भावना छ।

प्राथमिक उपचार लगायत आकस्मिक स्याहार वडा क्लिनिकमा नै पाउनुहुन्छ। कयौँ महानगर र नगरपालिकाहरूले आफ्नै एउटा अस्पतालको सम्भावना पनि हेरिरहनुभएको छ।

काठमाडौंको हकमा त्रिवि शिक्षण, वीर हस्पिटल रिफरल सेण्टरहरू हो। काठमाडौं महानगरबासी ३० लाख जनसंख्या भएको ठाउँमा यहाँको एकजना महानगरवासीलाई सेवा सुविधा दिने अस्पताल चाहिन्छ कि चाहिँदैन ? यसबारे पनि हामी विज्ञहरूसँग छलफल गरेर के गर्न सकिन्छ भन्नेबारे पनि चर्चा चलाउन सकिन्छ।

शिक्षा क्षेत्रमा के गर्ने योजना बनाउनुभएको छ ?

शिक्षा क्षेत्रमा संघीयताबाट नै बिगारेर आइसकेको छ। शिक्षालाई  जसरी बजारीकरण गरियो, यो हुनुहुदैँन। बुढानिलकण्ठ शैलीका देशैभरि पाँच सयभन्दा बढी स्कुल हुनुपर्छ। त्यसरी शिक्षाको गुणस्तर बढाउनुपर्छ र सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्छ।

महानगरभित्र रहेका ९१-९२ ओटा सामुदायिक स्कुलहरूलाई व्यवस्थित गरेर जीर्ण अवस्थामा रहेकालाई मर्ज गर्ने र शिक्षकहरूका लागि तालिम दिलाउने, स्तरोन्नति गर्ने, विद्यार्थीहरूलाई निःशुल्क पढाइदिने, उद्यमशीलताको  कक्षाहरू त्यहीँ सञ्चालन गर्ने र नजिक-नजिक भएका विद्यालयहरू मर्ज गरेर एउटा नमुना सामुदायिक विद्यालय बनाउन चाह्यो भने सकिन्छ। अहिले नगरिएको मात्र हो। हामीले त्यसरी काम गर्ने सोच बनाएका छौं।

भूकम्पपछि काठमाडौंको सास्कृतिक सम्पदाहरू भत्किएका जीर्ण अवस्थामा छन्, ती सबै निर्माण भइसकेका छैनन्। काठमाडौंको विकास निर्माणमा तपाईंका योजना के छन् ?

काठमाडौंमा विकासनिर्माणभन्दा पनि व्यवस्थापनको जरुरी हो। भूकम्पले चर्किएका घरहरू टेको लगाएर उठाइएको छ। त्यसलाई पुरानै संरचनामा हामीले फेरि उठाउनुपर्ने चाहिँ हो। साना मठ मन्दिर बिग्रिएका छन्।

यहाँ पाइला पाइलामा मठमन्दिरहरू भेटिन्छन् तर यिनीहरू अव्यवस्थित छन्। यिनीहरूलाई व्यवस्थित बनाउनुपर्ने आजको आवश्यकता हो। यहाँ धेरै नयाँ संरचना बनाउनुपर्ने छैनन्। भएका पुराना संरचनालाई त्यहीअनुसार नेवाःकला, वास्तुकला हिसाबले व्यवस्थित गरेर मात्र ल्याउनुपर्नेछ।

रानीपोखरीको हकमा स्थानीयबासी आफैँ आएर त्यसलाई पुरानै संरचनामा बनाउनुपर्ने स्थिति आयो। म मेयर भइसकेपछि भएका पुराना संरचनालाई नागरिक आएर पुरानो संरचना नै बनाइदेऊ भन्नुपर्दैन। हामी आफैँ महानगरले सकिन्छ भने ‘सफ्ट लोन’ दिएर हुन्छ कि घरका अग्रभाग चाहिँ नेवाः वास्तुकलाले सजाउने योजना छ। जुन काम गर्न सकिन्छ। यहाँको हरेक ईंटाहरूमा, काठ, ढुगांहरूमा बनाइने कलालाई बाहिर ल्याउने र त्यसलाई प्रवर्द्धन गर्छौ।

निर्वाचन अभियानको खर्च व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

हाम्रो खर्च एकदम न्यून छ। धेरै तडकभडक केही छैन। साथीहरू कसैले दुई हजार, कसैले पाँच हजार दिएको पैसा, कसैले निःशुल्क यो छापिदिन भनेको हुन्छ। उनीहरूले उठाएको रकमबाट काम गर्दै छौँ।

७ लाख ५० हजार जुन निर्वाचन आयोगले तोकिदिएको सीमा हो, त्यो भन्दा माथि जाँदैन। अझ त्यही फण्ड जुटाउन पनि हामीलाई गाह्रो छ। हामी बाहिर हिँडे पनि घरमै खाना खाएर आउँछौँ। हामी मज्जाले पानी खाँदै घुम्छौँ। त्यसैले हाम्रो खर्च एकदमै कम छ। निर्वाचन कम खर्चिलो हुनुपर्छ भन्नेमा पनि हामी स्पष्ट छौँ।

 

निर्वाचनपछि खर्च विवरण निर्वाचन आयोगलाई बुझाउने गरी तपाईंको तयारी छ ? 

तयार छौँ। सबै बिल-भौचरहरू राखेका छौँ। हाम्रो वास्तविक खर्च बुझाउँछौँ। करोड-करोड खर्च गर्नेले पो सात लाख ५० हजार बुझाउनुपर्‍यो। त्यति पनि नहुँदा जति खर्च हो, त्यति बुझाउँछौँ।

तपाईं निर्वाचित हुनुभयो भने सरकारी कार्यालयले दिने सेवा सहज र सुलभ बनाउने केही योजना छन् कि ?

मैले अघि पनि भनेको थिएँ- ‘सिस्टम डिजिटलाइज’। झञ्झट केले शुरुआत गरेको हो भने ढड्डा पल्टाउनुपर्ने, एउटा सिफारिशको लागि पनि हामी पाँच दिन पर्खिनुपर्ने। पुरानो ढड्डा पल्टाउँदा नै रुघा लाग्ने गरी पल्टाउनुपर्ने भएकाले हरेक सेवा-सुविधा लिन आउनेलाई डिजीटलाइज बनाउने। हरेक व्यक्तिले घरबाट नै सेवा सुविधा पाउने, घरबाट नै अर्डर गर्न सक्नुुहुनेछ।

म निर्वाचित भएको भोलिपल्ट महानगरमा गएर मेयरको चार तलामाथि बस्ने कुर्सी ल्याएर भुइँतलामा राख्छु र त्यहाँ अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धादेखि लिएर सबैको पहुँच हुन्छ।

मेयरलाई भेट्न चार तलामाथि होइन, पस्दा पस्दै भेट्नसक्ने बनाउँछु। बाँकी काम गर्ने साथीहरू माथि बसेर काम गर्नुहुन्छ। मेयर आफैँले ढड्डा पल्टाउनुपर्ने होइन नि ! मेयरले सबैलाई व्यवस्थापन गरेर काम लगाउने हो।

माथि बस्नु जरुरी छैन। तल बसेर पनि त्यो व्यवस्थापन गर्न सकिन्छ। काम गर्ने साथीलाई काम गर्न दिने पनि हामीले सोचिरहेका छौं।

तपाईं मेयरमा निर्वाचित हुनुभयो भने तपाईंको कार्यकाल सकिँदा महानगर कस्तो होला ?

पाँच वर्षपछि मैले यो पद छोड्दैगर्दा ३२ ओटै वडा डिजिटलाइज भइसकेको हुनेछ। नागरिकले सेवाका लागि महानगरमा आएर कुर्नुपर्दैन।  फोहोर व्यवस्थापन भएको हुन्छ। यहाँ प्रायः विद्युतीय यातायात हुन्छन्। पार्किङको झञ्झट हुदैँन किनभने बहुतले पार्किङ भवन निर्माण भएको हुन्छ। ५० ओटा भन्दा बढि सार्वजानिक शौचालय बनेका हुनेछन्, जुन अपांगतामैत्री, बालबालिकामैत्री र महिलामैत्री हुनेछ। सबै सार्वजानिक यातायात महिलाका लागि सुरक्षित र व्यवस्थित हुनेछ।

महानगरमा महिलामाथि हुने हिंसा शून्यमा झर्छ। हामीले वृक्षारोपण गरेका हुनेछौँ जसका कारण सफा अनी सुन्दर हरियाली शहर देख्न सक्नुहुन्छ। सम्पदा संरक्षित हुन्छन्। मैले उठ्छु पनि भन्नु पर्दैन, महानगरबासीले अझै महानगरलाई व्यवस्थित गर्नुपर्‍यो भन्नुहुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved