मोरङको निर्वाचनलक्षित ‘एकीकृत सुरक्षा योजना’ : सेनाको हवाई गस्तीदेखि बोर्डर सिलसम्म

मोरङको निर्वाचनलक्षित ‘एकीकृत सुरक्षा योजना’ : सेनाको हवाई गस्तीदेखि बोर्डर सिलसम्म
फाइल तश्वीर

विराटनगर। स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याउने भएको छ।

निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन वैशाख २७ देखि प्रशासनले उक्त एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याउने भएको हो। जसअनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउन मोरङमा करीब ६ हजार सुरक्षाकर्मीहरूको टोली परिचालन गरिनेछ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान आयोग र म्यादी प्रहरीको उक्त संयुक्त टोलीले जिल्लाभर रहेका ३०० मतदान स्थलको ८०० मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्नेछन्। सुरक्षाकर्मीहरूको उक्त संयुक्त टोलीले मतदान केन्द्रको सुरक्षाका साथै संवेदनशील भनी पहिचान गरिएका क्षेत्रहरूमा आवश्यक निगरानी र कडाई समेत गर्नेछन्। त्यसका लागि निर्वाचन सेल र कमाण्ड पोस्ट समेत गठन गरिएको छ।

निर्वाचनलाई केन्द्रित गर्दै जिल्लामा सुरक्षा समिति पनि गठन गरिएको मोरङ प्रशासनले जनाएको छ। प्रशासनका अनुसार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको संयोजकत्वमा गठित उक्त समितिले जिल्लाभर कुन ठाउँमा कति सुरक्षाकर्मी खटाउने ? र कुन मतदान केन्द्रमा कस्तो सुरक्षा रणनीति अबलम्बन गर्ने ? लगायतका कार्य गर्नेछ।

मतदाताहरूलाई शान्ति सुरक्षाको प्रत्याुभति दिलाउन मोरङमा नेपाल प्रहरीबाट १ हजार ९७२, म्यादी प्रहरीबाट ३ हजार १२४, सशस्त्र प्रहरीबाट ६८६ र राष्ट्रिय अनुसन्धानबाट ५० जनाको जनशक्ति परिचालन गर्ने तयारी रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।

नेपाली सेनाले भने अवस्था विश्लेषणका आधारमा आवश्यकताअनुसार आफ्नो टोली परिचालन गर्ने उनले जानकारी दिए। “टोलीले मतदानस्थल र मतदान केन्द्रलाई लक्षित गर्दै गस्ती र पेट्रोलिङको कार्य गर्नेछ,” उनले भने, ‘त्यसबाहेक मतदान स्थलमा शान्ति सुरक्षाको प्रत्याभूत गराउने, त्यहाँको भूगोल, जनसंख्या र मनोविज्ञान बुझ्ने तथा सुरक्षा चूनौती विश्लेषण गरी माथिल्लो निकायमा फिडब्याक दिने जिम्मेवारी पनि टोलीकै हुनेछ।”

आसन्न निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन नेपाली सेनाको हवाई गस्तीको पनि प्रबन्ध मिलाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। प्रशासनका अनुसार भौगोलिक रूपमा विकट र भारतसँग सीमाना जोडिएका स्थानीय तहका मतदान स्थलहरूमा सेनाले हेलिकप्टरबाट विशेष निगरानी गर्नेछ। केराबारी, कानेपोखरी र मिक्लाजुङलगायत विकट ठाउँहरूमा तुलनात्मक रूपमा सुरक्षाकर्मीहरूको उपस्थिति पनि बाक्लो बनाइने जनाइएको छ। निर्वाचनमा मतदान अधिकृतद्वारा नियुक्त गरिएका २४६० जना स्वयंमसेवकहरू समेत परिचालित रहने मोरङ प्रशासनको जानकारी छ।

यस्तै, मतदान केन्द्र्रमा हुनसक्ने अवाञ्छित तथा उच्छृङ्खल गतिविधि नियन्त्रणका निम्त्ति मोरङ प्रशासनले निर्वाचन हुनुभन्दा ७२ घण्टा अगावै बोर्डर सिल गर्ने निर्णयसमेत गरेको छ। अत्यावश्यक बाहेकको अवस्थामा ओहोरदोहोर गर्न नपाइने गरी वैशाख २७ देखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि बोर्डर सिल गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। उनले भने, “सीमा सिल हुँदा औषधि/उपचार र अन्य अत्यावश्यक कार्यबाहेक अवस्थामा आवतजावत गर्न पाइँदैन।”

भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिष्ट्रेटसँग मोरङ र सुनसरी जिल्लाका सीडीओको बिहीबार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको जनाइएको छ। निर्वाचनमा भने मोरङका १७ वटै स्थानीय तहहरूबाट विभिन्न पदमा कुल ४ हजार ३ सय ४६ जनाले उम्मेदवारी दिएका छन्।

जसमा पालिका प्रमुखमा ७४, उपप्रमुखमा ७०, गाउँपालिका अध्यक्षमा ६०, उपाध्यक्षमा ४८, वडाध्यक्षमा ९६२, सदस्यमा १ हजार ६४०, महिला सदस्यमा ७७० र दलित महिला सदस्यमा ७२२ जनाको उम्मेदवारी परेको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मोरङमा कुल दर्ता राजनितिक दलहरूको संख्या ३९ छ। तर उम्मेदवारी फिर्तालगायत कारणले हाल निर्वाचनमा २२ वटा दलहरू सहभागी छन्। मोरङमा कुल मतदाताहरूको संख्या भने ७ लाख १५ हजार २२३ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved