भोट बैंक बनेको बनकरिया बस्तीका भन्छन्, ‘फेरि जंगलमा बस्न सक्दैनौं’

उनीहरू करीब दुई दशकदेखि उक्त क्षेत्रमा बसोबास गरिरहेका छन्। तर, कुनै पनि परिवारसँग लालपूर्जा छैन। नयाँ बस्ती क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने बस्ती हो।

भोट बैंक बनेको बनकरिया बस्तीका भन्छन्, ‘फेरि जंगलमा बस्न सक्दैनौं’

मनहरी (नयाँबस्ती)। मनहरी गाउँपालिकाको वडा नम्बर ४ नयाँबस्तीमा २१ घर वनकरिया परिवार बस्छन्। वनकरिया नेपालको लोपोन्मुख जाति हो। मकवानपुरको मनहरी–४ मा बस्ने वनकरियाहरूले हरेक निर्वाचनको सम्मुखमा “लालपूर्जा दिलाइदिन्छौं” भन्ने आश्वासन पाउँछन्।

उनीहरू करीब दुई दशकदेखि उक्त क्षेत्रमा बसोबास गरिरहेका छन्। तर, कुनै पनि परिवारसँग लालपूर्जा छैन। नयाँ बस्ती क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने बस्ती हो।

“हामी यहाँ वर्षौंदेखि बस्दै आइरहेका छौं। हामी यहीँ बस्यौं, हाम्रो छोरा नाती पनि यहीँ बस्छन् तर हामी बसेको ठाउँको लालपूर्जा अहिलेसम्म वनेको छैन,” ६७ वर्षीया गोमा वनकरिया भन्छिन्, “हामी पछिका छोरानातीले गरेर खाने बाटो सरकारले देखाइदिनपर्छ। हामी फेरि जंगल नै गएर बस्न सक्दैनौं। हामीलाई अहिले बसिरहेको जग्गाको लालपूर्जा सरकारले दिलाइदिनु पर्छ।” ओडारबाट बस्तीमा आएका वनकरियाहरूलाई कुन बेला सरकारले लखेट्छ भन्ने पिरलो छ।

वनकरिया बस्ती खोला किनारमा भएको बस्ती हो। बस्तीको एकापटि खोला छ भने अर्को पटि निकुञ्जको जंगल छ। “जंगलबाट हामी यहाँ आयौं। जसोतसो जीवन चलिरहेको छ,” ८० वर्षीय वीरसिंह प्रजा भन्छन्, “पानी परेपछि खेती गरिरहेको जमिनको भर हुन्न। ४ पटक भोट दिएँ तर परिवर्तन भएन। फेरि पनि चुनाव आयो। नेताहरू आएर लालपूर्जा दिन्छौं भन्छन्, अब विश्वास नै लाग्न छोड्यो।”

वनकरिया समुदायमा विद्यालय टाढा हुँदा पनि ठूलो समस्या भएको स्थानीय रामकुमार लामाले बताए। “हामीले अब आफैं काम गरेर खान सक्छौं। सरकारले जग्गाजमिन हाम्रो नाममा गर्ने हो भने हामीलाई अरु केही चाहिँदैन,” उनले भने, “यहाँको विद्यालयमा पनि उस्तै समस्या छ। सडकको अवस्था पनि कमजोर छ। विद्यालय र सडकको स्तरोन्नति गर्ने हो भने हामीले हाम्रो जीविका सहज रूपमा गर्न सक्ने थियौं।” उनले कृषिको प्रचुर सम्भावना रहेकोले सबै तहको सरकारले यस क्षेत्रमा काम गर्नुपर्ने बताए।

नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार वनेका प्रकाश थापाले स्थानीय सरकारका कारण केही परिवर्तन भए पनि वनकरिया बस्तीमा ठोस परिवर्तन हुन सकेको नसकेको स्विकार गर्छन्। “केही प्रयासहरू भएका छन् तर अपेक्षित रुपमा परिवर्तन हुन सकेको छैन,” उनले भने, “यो बस्तीको मुख्य माग भनेकै लालपूर्जाको हो। उनीहरूले भोगचलन गरेको जग्गा आफ्नो नाममा हुनु पर्छ भन्ने नै हो। यसका लागि हामी अझै पनि पहल गर्छौं। यो विषय संघीय सरकारको विषय हो। यसले पनि केही जटिलता थपेको छ।”

मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेतीले पनि लालपूर्जा पाउने विषयमा गाउँपालिकाले धेरै नै पहल गरेको दाबी गरेका छन्। नेकपा एमालेको तर्फबाट फेरि पनि अध्यक्षमा उम्मेदवारी दिएका उनले आफ्नो कार्यकालमा वनकरिया बस्तीमा पर्याप्त काम गरेको दाबी गरे। “यसअघिको सरकारले लालपूर्जा वितरण गर्ने गरी काम गरेको थियो तर गठवन्धन सरकार वनेपछि नयाँ आयोग वनेकोले काम हुन सकेको छैन,” उनले भने। उनले यहाँको वस्तीलाई स्थायी गराउनका लागि संघीय सरकारसँग पटक पटक पहल भए पनि सफल नभएको बताए।

गाउँपालिकाले वनकरिया समुदायको आयआर्जनका लागि एउटा होमस्टे समेत बनाइदिएको छ। वनकरिया समुदाय मकवानपुरकै चिनारी भएकोले यस समुदायको अध्ययन गर्नका लागि पुग्नेहरूले होमस्टे प्रयोग गर्ने उप्रतीले बताए।

मदताता शिक्षाको अभाव

स्थानीय तहको निर्वाचन हुने भएपछि वनकरिया बस्तीमा आफूलाई भोट माग्नको लागि धेरै दलका प्रतिनिधी पुगे पनि यसरी भोट हाल्ने भन्ने कुरा सिकाएका छैनन्। एक स्थानीयले भने, “आउँछन् हामीलाई भोट दिनुस् भन्छन् तर कसरी भोट दिने भन्ने कुरा चैं सिकाएका छैनन्।”

मतदाता शिक्षाको अभावले नेपालमा धेरै मतहरू बदर हुने गरेका छन्।

यो पनि 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved