गगन थापाले भने, ‘केपी ओलीसँग भोट माग्ने नैतिक आधार नै छैन’

महामन्त्री थापाले अबको पाँच वर्ष नेपाली कांग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको बताए। उनले समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली कांग्रेससँग रहेको पनि स्पष्ट पारे।

नेपालभ्युज

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन्।

प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले गत पाँच वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनुपर्ने पनि बताए।

महामन्त्री थापाले २०७४ सालयताको पाँच वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाए। उनले कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको पाँच वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताए।

महामन्त्री थापाले जनताले देश विकासका लागि जिताएर पठाएको भए पनि कम्युनिष्ट पार्टीहरुले पाँच वर्षको अवसर खेर फालेकोले त्यसको लागि जनतासमक्ष क्षमा, याचना गर्नुपर्ने बताए।

“२०७४ देखि २०७९ सालसम्म यो पाँच वर्षसम्मको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले पाएको हो। उसैले आज २०७९ सालको चुनाव गराउनु पर्दथ्यो। प्रदेश, स्थानीय, संघको चुनाव,” थापाले भने।

महामन्त्री थापाले पाँच वर्षमा कम्युनिस्टहरुले गरेको उपलब्धिको आधारमा चुनावमा जानुपर्नेमा त्यसो हुन नसकेकाले यो पाँच वर्ष खेर गयो भन्ने आफूहरुको ठम्याइ भएको बताए।

थापाले भने, “एमालेको आजको अध्यक्षले जसले जिम्मा लिनुभयो, पाँच वर्षमा एकपटक जनताको बीचमा उभिएर मैले पाँच वर्षको लागि म्याण्डेट पाएको थिएँ। मैले चलाउन सकिनँ, यसको लागि मलाई क्षमा देउ, मैले पाँच वर्ष संसद् चलाउन सकिनँ, मैले पाँच वर्षको अवसरलाई प्रयोग गर्न सकिनँ भन्ने कुराको क्षमा एकपटक नमागिकन, माफीको याचना नगरिकन जनताको बीचमा एक किसिमले भन्दा मत माग्ने नैतिक आधार पनि छैन।”

महामन्त्री थापाले अबको पाँच वर्ष नेपाली कांग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको बताए। उनले समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली कांग्रेससँग रहेको पनि स्पष्ट पारे।

“समुन्नत नेपाल निर्माण गर्ने हामीसँग संकल्प पनि छ। हामीसँग योजना पनि छ। पाँच वर्ष यही गरिनुपर्दथ्यो। पाँच वर्ष खेर गयो,” थापाले भने, “हामी अबको पाँच वर्ष खेर फाल्न चाहँदैनौँ। २०७९ देखि २०८४ सालसम्मको पाँच वर्ष यो संकल्प हामी पूरा गर्न चाहन्छौँ। यो वाचा पूरा गर्न चाहन्छौँ। यो संकल्प र वाचा पूरा गरेर हामी गएको पाँच वर्षको जुन क्षति छ, त्यो क्षतिलाई पनि पूरा गर्न चाहन्छौँ।”

महामन्त्री थापाले यसपटकको स्थानीय निर्वाचनमा कांग्रेसबाट जित्ने सदस्यहरुले श्रोत, साधनको अपचलन नगर्ने दाबी गरे। उनले अबको पाँच वर्ष विगतको पाँच वर्षभन्दा फरक रहने पनि बताए।

“अबको पाँच वर्ष गएको पाँच वर्ष जस्तो हुँदैन। कुनै पनि नेपाली कांग्रेसबाट निर्वाचित भएर आएको साथीले एउटा श्रोत साधन पनि तपाईले अपचलन गर्न पाउनुहुन्न,” थापाले भने, “कुनै पनि ठाउँमा विधि मिचेर तपाईले आफ्नो मनलाग्दी पाराले श्रोत साधनको दुरुपयोग गर्न पाउनुहुन्न।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved