स्वतन्त्र उम्मेदवार साहको प्रतिबद्धता : फोहोरलाई मोहोरमा बदल्ने अभियानदेखि गुणस्तरीय शिक्षासम्म

लोसपाबाट मेयरमा सिफारिस भए पनि एमालेबाट मेयरको उम्मेदवार बन्ने आशमा एमालेमा प्रवेश गरेका साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

स्वतन्त्र उम्मेदवार साहको प्रतिबद्धता : फोहोरलाई मोहोरमा बदल्ने अभियानदेखि गुणस्तरीय शिक्षासम्म

जनकपुरधाम। स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहले आफ्नो पाँच वर्षे योजनासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

लोसपाबाट मेयरमा सिफारिस भए पनि एमालेबाट मेयरको उम्मेदवार बन्ने आशमा एमालेमा प्रवेश गरेका साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

साह तत्कालीन राजपाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। एमालेबाट टिकट नपाएपछि पार्टी प्रवेश गरेको एक हप्तामै पार्टी परित्यागको घोषणा गरेर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी स्वतन्त्र उम्मेदवार साहले ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

साहले सार्वजनिक गरेको प्रतिबद्धतामा नगरभित्रका सबै शैक्षिक संस्थासँग समन्वय गरेर विशेष गुणस्तरीय शैक्षिक योजना बनाइने तथा असहाय र गरीब विद्यार्थीका लागि विशेष छात्रवृति योजना ल्याउने योजना समावेश छन्।

गरीबलाई स्नातक उत्तीर्ण गरेपछि रोजगारी सुनिश्चित गर्न जनकपुरधाम उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याउने, अवकाशप्राप्त ज्येष्ठ नागरिक र महिलाका लागि निःशुल्क अध्ययन स्थलको रुपमा ५ वर्षभित्र प्रत्येक वडामा सार्वजनिक पुस्तकालयको स्थापना गर्ने, शैक्षिक संस्थाको मातहतमा रहेका सम्पतिको सूचीकरण गरी वार्षिक विवरण प्रकाशन गरिने, शिक्षकको वार्षिक विवरण तयार गरेर सबैको भूमिका र योगदानको उचित सम्मान गर्ने लगायत बुँदा समावेश पनि प्रतिबद्धतापत्रमा उल्लेख छ।

त्यस्तै, नगरका सबै नागरिकलाई स्वास्थ्य बीमा, आवश्यक स्वास्थ्य सेवाको लागि हरेक टोलमा युवा र महिलालाई समावेश गराएर स्वास्थ्य स्वयमसेवक परिचालन गर्ने, नगरमा बेरोजगार महिलाको समूह बनाएर स्वास्थ्य र स्वच्छ समाजको लागि तालिम प्राप्त अभियन्ता बनाइने, मधुमेह र बाथ रोगका रोगीलाई निःशुल्क औषधि वितरण गरिने योजना साहले आफ्नो प्रतिबद्धतापत्रमा समावेश गरेका छन्।

नगरका आवश्यक स्थानमा सीसीटीभी क्यामेरा जडान गरिने, मठ, मन्दिर, मस्जिद र धर्मशाला क्षेत्रमा अनिवार्य रूपमा विशेष सुरक्षा योजना ल्याइने, आफू निर्वाचित भएको ६ महीनाभित्र डम्पिङ साइटको व्यवस्था गर्ने, नियमित फोहोर संकलन तथा व्यवस्थापन, ढल निकास, फोहोर संकलनको व्यवस्थित तरिका र बोट, बोट बिरुवा रोप्ने काम गर्नुका साथै सांस्कृतिक क्षेत्र मठमन्दिर, मस्जिद क्षेत्रको सरसफाइमा विशेष ध्यान दिने योजना पनि साहको छ।

शहरभित्रको पोखरी सफाइका लागि पोखरी व्यवस्थापन समितिको स्थापना गरेर सबैको सफाइको लागि बजेट छुट्टयाउने, नगरको २५ ओटै वडामा सफाइ अभियान सञ्चालन गरेर वार्षिक प्रतिस्पर्धा गरिने, अवकाशप्राप्त नागरिकलाई सफाइ अभियानकर्मी बनाएर जिम्मेवारी दिई अवकाशप्राप्तका लागि आम्दानीको बाटो पनि बनाउनुका साथै फोहोरलाई मोहोरमा बदल्ने अभियान सञ्चालन गरिने चुनावी प्रतिबद्धतामा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved