चन्द्रागिरिको चुनाव– बलशाली एमालेलाई गठबन्धन तगारो

कांग्रेस विरासत जोगाउने ध्याउन्नमा, एमाले जित हात पार्ने रणनीतिमा

क्षत्रफलको हिसाबले काठमाडौंको सबैभन्दा ठुलो नगपालिका चन्द्रागिरिमा सत्तारुढ दल पाँच दलिय गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा छ। अघिल्लो चुनावमा नेपाली कांग्रेले प्रमुख पदमा जितेको यो नगरमा अहिले भने एमालेले नतिजा हार्ने दौडमा छ। यता कांग्रेस पुन जित हाँसिल गर्दै विरासत जोगाउने ध्याउन्नमा छ।

चन्द्रागिरिको चुनाव– बलशाली एमालेलाई गठबन्धन तगारो

काठमाडौं। केही दिनयता पानी पर्न थालेपछि चन्द्रागिरिका किसानलाई मकै छर्न भ्याइनभ्याइ छ। काठमाडौं दक्षिण पश्चिम क्षेत्र चन्द्रागिरिको दहचाेकको माथिल्लो भेगवासीलाई गहुँ भित्र्याएर मकै लगाउने काममा अहिले किसान व्यस्त बनेका छन्। माथिल्लो नैकाप, दहचोक नागढुंगामाथिसम्मको तल्लो बेल्ट शहरिकरणले बाक्लो बस्ती बनिसकेको छ। माथिल्लो बेल्टमा पनि शहरिकरण र प्लटिङले ढाकिँदै छ।

नागरिक सुविधामुखी भएसँगै काठमाडौं शहर बिस्तारै फैलँदै गएपछि चन्द्रागिरिका गाउँबस्तीमा शहरले ढाकिसकेको बनिसकेको छ। बिस्तारै खेतीयोग्य जमिन घर–घडेरीमा परिणत हुन थालेको छ। तर, अझै पनि कतिपयले खेतीयोग्य जमिनमा अन्नबाली लगाइरहेका छन्। पुर्खौली थलो चन्द्रागिरि भएकाहरू धेरैको जग्गाजमिन छ। उनीहरूलाई मानो छरेर मुरी उब्जाउने यो बेला किसानलाई कामकै चटारो छ। किसानलाई गाउँमा जति कामको चटारो छ, दलहरूलाई भने चुनावको चटारो उत्तिकै छ। दलहरू गाउँगाउँमा चुनावी अभियान गर्दै हिँडिरहेका छन्।

दलका नेताहरू मतदातालाई फकाउन खेतबारीमै पुगिरहेका छन्। काम गरिरहेको अवस्थामा मतदातालाई सघाएझैँ गर्दै भोट मागिरहेका छन्। चन्द्रागिरि १ दहचोकका ६९ वर्षका कृष्णबहादुर गिरि उम्मेदवारहरू घरखेतमा आइरहेको बताउँछन्। अघिल्लो स्थानीय तह निर्वाचनमा जितेका जनप्रतिनिधिले सन्तोषजनक काम गरेको बताउँदै यसपटक पनि भोट हाल्न उत्साहित भएको उनी बताउँछन्। उनले भने ‘‘अहिले हामीलाई कामको चटारो छ। उम्मेदवारहरू खेतखेतमा भोट माग्न धाइरहेका छन्। अव जो जतिजना भोट माग्न आएपनि राम्रो उम्मेदवार भोट हाल्ने हो, म सबैलाई आफूले रोजेका उम्मेदवारलाई उत्साहित हुँदै भोट हाल्न जान अनुरोध गर्दछु।’’

मतदातालाई भोट हाल्ने तरिका सिकाउँदै दलका प्रतिनिधि

७५ वर्षीय राधिका गिरि पनि चन्द्रागिरि १ कै मतदाता हुन्। पञ्चायतकालदेखिनै मतदानमा सहभागी भइरहेको बताउने उनी यसपटक पनि भोट हाल्ने प्रतीक्षामा बसेको सुनाइन्। ‘‘हामीले जुगौदेखि भोट हाल्दै आएका छन्। कतिले राम्रो काम गरे। कतिले गर्न सकेनन्। तैपनि चुनाव आइरहन्छ। भेट त हाल्नै पर्‍यो नि’’ उनले सुनाइन्।

चन्द्रागिरिको दहचोमा स्थानीय हिँड्दै

७६ वर्षका हरिशरण पोखरेलले पनि यसअघि धेरै चुनावमा मतदान गरिसकेका छन्। हरेक निर्वाचनमा फकरफरक दललाई भोट दिँदै आएको उनी बताउँछन्। उनले सुनाए ‘‘जति पटक भोट हालियो, फरकफरक दललाई भोट हाल्दै आएका छौँ। किनकि जुनसुकै दलले पनि हामीले चाहेजस्तो काम गरेनन्। अहिलेको चुनावमा पनि अघिल्लो पटक भोट पाएकाले पाउने छैनन्।’’

कांग्रेसका उम्मेदवार घनश्याम गिरी र एमाले उम्मेदवार उत्तमबहादुर राउतको प्रचार सामग्री

बलशाली एमालेलाई गठबन्धन तगारो

क्षत्रफलको हिसाबले काठमाडौंको सबैभन्दा ठुलो नगपालिका चन्द्रागिरिमा सत्तारुढ दल पाँच दलिय गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा छ। अघिल्लो चुनावमा नेपाली कांग्रेले प्रमुख पदमा जितेको यो नगरमा अहिले भने एमालेले नतिजा हार्ने दौडमा छ। यता कांग्रेस पुन जित हाँसिल गर्दै विरासत जोगाउने ध्याउन्नमा छ।

यसअघि कांग्रेसबाटै जितेका घनश्याम गिरी गठबन्धनबाट मेयरमा उम्मेदवार बन्दा एमालेले उत्तमबहादुर राउतलाई उम्मेदवार बनाएको छ। अघिल्लो चुनावमा गिरीले २ हजार ८ सय ८८ मतले निकटतम प्रतिद्वन्द्वी एमालेलाई हराएका थिए।

एमालेबाट मेयर पदका उम्मेदवार उत्तमबहादुर राउत समुहकाे घरदैलो कार्यक्रम

गिरीले १३ हजार ३०९ मत ल्याएर जित्दा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रल्हाद कार्कीले १० हजार ४२१ मत पाएका थिए। तेस्रो स्थानमा रहेको माओवादीको पक्षमा ३ हजार ७८७ मत परेको थियो। नगरको उपप्रमुखसहित १५ वटा वडामध्ये ५ वटामा मात्रै कांग्रेसले जितेको थियो। बाँकी सबै १० वटामा एमालेले जितेको थियो। सबैभन्दा धेरै जनप्रतिनिधि एमालेकै थिए।

अहिले भने गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी एकभएर चुनाव लडेका छन्। कांग्रेस र माओवादी केन्द्रका साथै एमालेबाट विभाजित भएको एकीकृत समाजवादीको मत पनि जोडिएको छ । जसकारण नगर प्रमुखमा सहज जितका लागि एमालेलाई सत्ता गठबन्धन तगारो बनेको छ।

कांग्रेसका मेयर उम्मेदवार घनश्याम गिरी स्थानीयसँग भोट माग्दै

गठबन्धन र एमालेका दुवै लोकप्रिय उम्मेदवार

यद्यपी स्थानीयका अनुसार दुवै उम्मेदवार उत्तिकै लोकप्रिय छन्। कांग्रेसले उम्मेदवार बनाएको गिरी शिक्षक पृष्ठभूमिका हुन्। अघिल्ला मेयर समेत रहेका गिरी निर्विवाद नेता हुन्। एमालेका उम्मेदवार राउत आर्किटेक्ट इन्जिनियर हुन्। स्थानीय स्तरमा उनको छवि लोकप्रिय छ। दुवै पक्षले मतदाताबीच रहेको आफ्नो लोकप्रियतालाई चुनावको मितिसम्म कायम राख्न प्रचारप्रसार अभियानलाई तीव्रता दिइरहेको छन्।

आफ्नो कार्यकालमा चन्द्रागिरीको विकास निर्माणदेखि जनतालाई नगरपालिका तथा वडास्तरबाट हुने सेवा प्रवाहलाई चुस्त बनाएकोले यसपटक पनि आफ्नै जित हुने गठबन्धनका साझा उम्मेदवार गिरीको दाबी छ। ‘‘हामीलाई जनताले चन्द्रागिरिको विरासत पुनः सुम्पिन्छन् भन्ने विश्वास छ, किनभने हाम्रै नेतृत्वमा चन्द्रागिरिले समृद्धिको यात्रा तय गरेको हो ।’’

कांग्रेसका मेयर उम्मेदवार घनश्याम गिरी स्थानीयसँग भोट माग्दै

एमाले उम्मेदवार राउतले यसपटक आफू सहजै विजयी हुने दाबी गर्छन्। अघिल्लो २०७४ सालको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार थोरै मतले मात्रै पराजित भएको बताउँदै यसपटक नतिजा उल्टाउन सफल हुने उनको विश्वास छ। उनले भने, ‘‘अहिले देशैभर एमालेको पक्षमा माहौल। अर्को सत्तारुढ गठबन्धनभित्रै कार्यकर्ता तहसम्म असन्तुष्टि छ। यसअघिका मेयरले राम्रो काम गर्न नसकेको गुनासै गुनासो छ। यस कारण नगरवासीले विकल्प खोजेका छन्। त्यो विकल्पको रुपमा मेरो उम्मेदवारी हो।’’

गठबन्धनले उपप्रमुखमा भने राष्ट्रिय जनमोर्चाका रोशन दानीलाई उमेद्बार बनाएको छ। गठबन्धन दलको जनमतलाई सही ढङ्गले प्रयोग गराएर आफ्नो प्यानलै जितको लागि प्रयत्नरत रहेको पत्रकार समेत रहेका उपप्रमुखका उम्मेदवार दानी बताउँछन्। उनी भन्छन्, ‘‘अघिल्लो चुनावमा मतदाता शिक्षा राम्ररी दिन नसक्दा धेरै मत बदर भयो। अहिले हामीले मत माग्न जाँदा भोट हाल्ने तरिका समेत सिकाइरहेका छौँ। यस कारण धेरै मत खेर जाँदैन भन्ने आंकलन गरेका छौँ, यसमा पनि हामी गठबन्धन गरेर चुनावमा गएकाले हामीले जित हाँसिल गर्नेछौँ भन्ने विश्वास छ।’’

एमालेबाट मेयर पदका उम्मेदवार उत्तमबहादुर राउत भोट माग्दै ज्येष्ठ नागरिकसँग

के भन्छन् मेयर मेयरका उम्मेदवार ?

उत्तम कुमार राउत, नेकपा एमालेबाट उम्मेदवार

मेरो पहिलो योजना भनेको चन्द्रागिरिलाई ‘आहा’ भन्ने सहरका रूपमा स्तरोन्नति गर्ने हो । किनकि यो काठमाडौं प्रवेश गर्ने पहिलो मुख्य नाका हो। देशैभरका मानिसहरू काठमाडौं आउँदा यही ठाउँ भएरै भित्रनुपर्ने हुन्छ। नगरलाई सफा, स्वस्थ, सुन्दर र सुरक्षित सहर बनाउने लक्ष्य छ। चन्द्रागिरि सुन्दर शहर हो, यसको चौतर्फी विकास गर्न योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्छ। हामीले जितेपछि नगरपालिकाभित्र निःशुल्क फोहोर उठाउने, अनियन्त्रित रुपमा भइरहेको पानी बोरिङलाई नियन्त्रण गरेर पिउने पानीको स्थायी स्रोत खोज्ने, विद्यार्थीलाई निःशुल्क पढाउने काम गर्नेछौँ। नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा जनताले अनुभूत गर्न पाउने गरी काम गछौँ। हामीले जितेमा सडक र पार्किङलाई व्यवस्थित गर्नेछौँ । नयाँ उद्योग धन्दा सञ्चालनमा ल्याएर रोजगारीको अवसर सिर्जना गर्नेछौँ। खानेपानी र विद्युत् सेवा निःशुल्क उपलब्ध गराउने योजना हाम्रो छ। बालबालिका, युवा र महिला लक्षित योजना पनि हामी सञ्चालन गर्नेछौँ। महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायतले सुरक्षित हिँडडुल गर्न सक्ने सहरको निर्माण गरिने छ। संघीय राजधानी भन्नु मात्रै, अन्धकार छ। काम गरेर फर्कँदा अबेर रात पर्छ, श्रमिक महिलाहरूलाई गाह्रो छ, सबै ठाउँमा बत्तीको व्यवस्था गरेर, सीसीटीभी राखेर ढुक्कले हिँड्ने वातावरण बनाउँछु । सूचना प्रविधि, सीप विकास गरेर युवालाई बिदेसिनेबाट रोक्ने, प्रत्येक वडामा रोजगारी सिर्जन गर्ने योजना ल्याउनेछु।

घनश्याम गिरी, गठबन्धनका साझा उम्मेदवार

चन्द्रागिरीलाई समृद्ध नगरीका रूपमा विकास गर्न मेरो उम्मेदवारी हो। मेरो पहिलो कार्यकालमा पूर्वाधार विकास र सुशासनमा चन्द्रागिरिवासीलाई गुनासो गर्ने ठाउँ दिएको छैन। अघिल्लो पटक हुँदा थालनी गरेका राम्रा कामलाई अझ राम्रो गर्नुपर्नेछ। मैले अघिल्लो कार्यकालमा चन्द्रागिरीको विकास निर्माणदेखि जनतालाई नगरपालिका तथा वडास्तरबाट हुने सेवा प्रवाहलाई चुस्त बनाएको छु। स्मार्ट चन्द्रागिरि बनाउने काम अन्तिम चरणमा पुर्‍याएको छु।सबै वडामा स्वास्थ्यचौकी निर्माण गरी डाक्टरसहितको सेवा उपलब्ध गराउने छौँ। चिकित्सा स्वास्थ्य अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउनेछौँ। सडक फराकिलो बनाउने विषय संघीय सरकारसँग समन्वय गरी बजारवासीको चित्त बुझाएर हल गर्ने योजना छ। यसपटक पनि विगतमा मैले सम्पन्न गरेको कामको मूल्याङ्कन गरेर र मेरो कार्यकालमा सुरु भएको अपूरो योजनालाई पूरा गर्नका लागि पनि मतदाताले जिताउनुहुनेछ भन्नेमा विश्वस्त छु।

गठबन्धनबाट उपमेयरका साझा उम्मेदवार (जनमोर्चा) रोशन दानी चन्द्रागिरि १ कांग्रेसकाे वडा कार्यालयमा

११ गाविस मिलेर बनेको नगरमा ४७ हजार मतदाता

काठमाडौँभित्रको सबभन्दा ठूूलो नगरपालिका चन्द्रागिरि १६ मंसीर २०७१ मा घोषणा गरिएको हो। काठमाडौंको दक्षिण–पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी ११ गाउँ विकास समितिलाई समेटेर यस नगरपालिका बनाएको हो। नगरभरी १५ वडा छन्।

नगरभर ४७ हजार २ सय ६४ मतदाता छन्। सबैभन्दा बढी मतदाता वडा नम्बर १२ मा ४ हजार ४५१ छन्। सबैभन्दा थोरै मतदाता वडा नम्बर ११ मा १ हजार ५३९ छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved