सुदूरपश्चिममा शीर्ष नेताको चुनावी दौडधुप बढ्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले यही २६ वैशाखमा धनगढीमा र २७ वैशाखमा गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।

नेपालभ्युज

सुदूरपश्चिममा शीर्ष नेताको चुनावी दौडधुप बढ्दै

कैलाली। स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही २६ वैशाखमा धनगढीमा र २७ वैशाखमा गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका नेता एवं प्रतिनिधिसभाका सदस्य नारदमुनी रानाले जानकारी दिए।

कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा कैलालीको लम्कीचुहा, टीकापुर र गोदावरी नगरपालिकालगायतका क्षेत्रमा सत्ता साझेदार दलद्वारा आयोजित छुट्टाछुट्टै चुनावी सभामा सहभागी भई बुधबार डडेलधुरा पुगेकी छन्।

कैलालीका १३ पालिका प्रमुख उपप्रमुखमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल गरेका छन्। वडा तहका प्रत्यासीको हकमा भने यी दलबीच तालमेल हुन सकेको छैन।

नेकपा एमालेलगायतका दलले भने एकलरुपमा उम्मेदवारी दिएका छन्।

पालिका तहको प्रमुख उपप्रमुखमा गरिएको तालमेल प्रति असहमति राख्दै कतिपय तहमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved