स्थानीय चुनाव २०७९

बाँकी काम पूरा गर्न पुनः उम्मेदवारी दिएको हुँ : मदनसुन्दर श्रेष्ठ (भिडिओ)

नेकपा (एमाले) को तर्फबाट मध्यपुरथिमि नगरपालिकाको मेयर उम्मेदवार भन्छन्- बहुमत नहुँदा शिक्षा, स्वास्थ्य र सहकारीको ऐनहरू बनाउन नसक्दा अलि पछाडि रह्यौँ कि जस्तो लागेको छ । त्यसैले बहुमत सहितको कार्यकालको दाबी गरिरहेका छौँ ।

बाँकी काम पूरा गर्न पुनः उम्मेदवारी दिएको हुँ : मदनसुन्दर श्रेष्ठ (भिडिओ)

नेकपा (एमाले) को तर्फबाट मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठसँग सुनीता साखकर्मी र समृद्धा केसीले गरेको कुराकानी ।

तपाईं पुनः मेयरको दाबेदार बन्नुभएको छ । यसपटक नयाँ प्रतिबद्धता के-के छन् ?

मैले पाँच वर्षको अनुभव संगालेँ । त्यो अनुभवलाई संगालेर अधुरा काम पूरा गर्ने योजना मैले बनाएको छु । आम रुपमा सबै पालिकामा हुने सडक, ढल, खानेपानीको कुरा मैले गरिनँ । त्यो त सबै पालिकामा भएको छ, मैले नि गरेको छु । सबैले गर्नुपर्छ नै । तर यो भन्दा पृथक रुपमा गरेका कुराहरूलाई पूर्णता दिने योजना बनाएको छु ।

पाँच वर्षे कार्यकालमा मध्यपुरथिमि नगरपालिका सम्पदा संरक्षणमा अब्बल र एक नम्बरमै रह्यो । काठमाडौं, भक्तपुर, ललितपुर त सम्पदा बस्ती थिए नै तर २०७४ देखि २०७८ सम्म सम्पदा बस्तीको रुपमा परिचित भएर पुनर्निर्माण भएको मध्यपुर थिमि नगरपालिका अग्रणी रह्यो । त्यसका बाँकी काम पूरा गर्ने योजना बनाएको छु । काठमाडौंमा दुई ओटा पोखरी बन्यो भने भक्तपुरमा दुई ओटा बन्यो तर मैले १७ ओटा पोखरी बनाएँ । पोखरीहरू उत्खनन गरेर पुनर्निर्माण गरेँ । भूमाफियाले हडपेर घडेरीको रुपमा विकास गर्न खोजेको कमलपोखरीको १५ रोपनी जग्गा फिर्ता ल्याएर त्यसमा बोटिङ गर्ने गरी डुंगा सयर भइरहेको छ । यस्ता सम्पदाको बाँकी कामहरू पूरा गर्ने योजना छ ।

स्वास्थ्यको क्षेत्रमा हामीले नमूना काम गर्‍यौँ । अरू पालिकामा १५ बेडको अस्पताल सञ्चालन गर्न गाह्रो भएको अवस्थामा मध्यपुरथिमि नगरपालिकाले एक सय बेडको अस्पताल सञ्चालन गर्दै आएको थियो । कोभिडको बेलामा अक्सिजन प्लान्ट आफै निर्माण गर्ने, पीसीआर ल्याबहरू स्थापना गर्ने काम अहिलेसम्म निरन्तर चलिरहेको छ । एचडिओ, आइसीयु, भेन्टिलेटर लगायत सबै सुविधा विस्तार गर्‍यौँ । त्यसलाई देखेर नेपाल-कोरिया मैत्री अस्पतालमा कोरियाली सरकारबाट ८.५ मिलियन डलर (१ अर्ब ५ करोड रुपैयाँं)बराबरको सहयोगलाई तीन सय बेडको अस्पताल निर्माण गर्छाैँ । क्याथ ल्याब, सिटिस्क्यान सहितको पूर्वाधारयुक्त तीन सय बेडको अस्पताल निर्माण गर्छाैँ । त्यसको आधारमा नर्सिङ सेवा र मेडिकल कलेज स्थापना गर्ने आधारशिला तयार गर्छाैँ ।

फोहोरमैला व्यवस्थापनमा हामीले नमूना काम गरिरहेका छौँ । जापानी प्रविधि भित्र्याएर घर-घरबाट आउने फोहोरलाई व्यवस्थापन गरेर कम्पोस्ट मल बनाइरहेका छौँ । त्यो मल यति राम्रो भयो कि राष्ट्रपतिको कार्यालय, पूर्व प्रधानमन्त्रीको करेसामा, रामेछापको गाउँपालिकाहरूमा, थानकोटपारि बंगुर खेतीहरूमा सबैतिर प्रयोग गरिरहेका छौँ । अबको लक्ष्य भनेको पाँच वर्षे कार्यकालमा नगरपालिकाको एउटा वडामा सीमित नराखि नौ ओटै वडाका सबै नगरपालिकामात्रै नभई देशैभरी यो प्रविधि फैलाउने योजना छ । उपत्यकाको फोहोरमैला व्यवस्थापन नमूना रुपमा गर्न सकिन्छ । ओखरपौवा र बञ्चरो डाँडामा सीमित हुन पर्दैन भन्ने योजनासाथ लागिरहेका छौँ ।

अर्काे योजना जग्गा एकीकरणको छ । उपत्यकामा जग्गा एकीकरणको योजना लागू गर्ने नगरपालिका मध्यपुरथिमि नगरपालिका हो । यसले चारओटा आयोजनाहरू उपत्यका विकास प्राधिकरणले सञ्चालन गरिरहेको थियो । त्यसलाई हामीले तीनओटा फिर्ता ल्याएका छौँ । उपत्यका विकास प्राधिकरण आवश्यकता नभएकोले खारेज हुनुपर्छ भनिरहेका छौँ । सातओटा जग्गा एकीकरण आयोजनाहरू सञ्चालन गरिरहेका छौँ । पुरानो सम्पदा बस्तीलाई पुरानै रुपमा बनायौँ भने नयाँ वस्तीलाई योजनाबद्ध विकासको रुपमा शहरीकरणको लागि ११ ओट योजना सञ्चालन गर्न खोजिरहेको छु ।

अपांगताको क्षेत्रमा काम गरिरहेको छु । तीन तहको अपांगताको विद्यालयहरू नेपालको एउटै नगरपालिकाले चलाइरहेको छ- मध्यपुरथिमिले । शारीरिक, मानसिक र बौद्धिक अपांगता रहेका बच्चाहरूलाई तीनओटा फरकफरक विद्यालय सञ्चालन गरिरहेका छौँ । त्यसलाई एउटै छानोमुनि ल्याएर फराकिलो विद्यालय सञ्चालन गर्ने मेरो योजना छ ।

युवाहरूलाई खेलकुद र ज्येष्ठ नागरिकको लागि वृद्धाश्रमजस्ता विषय पाइपलाइनमा छन् । यी अधुरा काम पूरा गर्न मैले दोस्रो कार्यकालको लागि पनि उम्मेदवारी दावी गरेको छु ।

तपाईंले बनाउनुभएको योजना पूरा हुने आधार के छन् ? नारामै सीमित हुने हुन् कि ?

यो नारा मात्रै होइन । मैले काम गरिरहेको छु । काम गरेको पुष्टि पनि गरिसकेको छु । यो सम्भव छ भनेर देखाइसकेको कुरालाई बिस्तार मात्रै गर्न बाँकी हो । फोहोरमैला व्यवस्थापन एउटा वडामा गरिसकेका छौँ, नौ ओटै वडामा विस्तार गर्न सम्भव छ । गन्धरहित रुपमा फोहोर व्यवस्थापन गर्न सकिन्छ भनेर देखायौँ । १०० बेडको अस्पताल बनाएर नमुना रुपमा देखायौँ भने तीन सय बेड सञ्चालन गर्न बजेट व्यवस्थापन भइसकेको छ । मेरो आश्वासन होइन । आधार तयार गरिसकेपछि अगाडि बढ्न पूर्णताको लागि योजना बनाएको छ । यो नारामा सीमित रहँदैन, कार्यान्वयनमा आउँछ ।

तपाईंले गर्नुभएका यी प्रतिवद्धता पूरा गर्न आवश्यक बजेट कसरी जुटाउनुहुन्छ ?

पाँच वर्षमा मध्यपुरथिमि नगरपालिका बजेटमा धेरै विस्तार नगरी दायरालाई विस्तार गरेका छौँ । करको दायरा विस्तार गरेका छौँ । उपत्यकाको १८ ओटा नगरपालिका सन्दर्भमा हाम्रो अत्यन्त धेरै बजेट रहेको छ । हाम्रो ३ अर्ब ३६ करोडको बजेट रहेको छ । हामीले स्रोतहरू व्यवस्थापन गरेका छौँ ।

तपाईंको नगरपालिकाको प्रमुख समस्याहरू के-के हुन् ?

शहरीकरण हुँदै आएपछि घरहरू धेरै निर्माण हुँदा नक्सापास गर्न समस्या रहेको छ । फोहोर व्यवस्थापनको समस्या थोरै छ । खानेपानीको विस्तार गर्नुपर्ने समस्या रहेका छन् । यी सामान्य कुरा भयो । नियमित रुपमा हुँदै जाने कुरा भयो । बहुमत नहुँदा शिक्षा, स्वास्थ्य र सहकारीको ऐनहरू बनाउन नसक्दा अलि पछाडि रह्यौँ कि जस्तो लागेको छ । त्यसैले बहुमत सहितको कार्यकालको दाबी गरिरहेका छौँ ।

मध्यपुरथिमि नगरपालिकाको वासिन्दालाई समस्या पर्दा गुनासो नसुनिदिने, अलि सम्पर्कमा नआउने समस्या भोगेको पनि सुन्यौँ । यस्तो समस्या किन भयो ? व्यस्त भएर हो या असिस्टेन्ट नभएर हो ?

असिस्टेन्ट त छ  तर फोन नउठ्ने सन्दर्भमा म अनसेभ नम्बरको फोन उठाउँदिन । उठाउन भ्याउँदिन पनि । मेसेजहरू आउँदा चिनजानका साथीहरूसँग आवश्यक रह्यो भने कल ब्याक गर्छु । अनसेभ नम्बरबाट फोन गरेर मेरो उठ्दैन । भ्याउँदा पनि नभ्याउने रहेछ । अनि खराब खालको फोन पर्‍यो भने दिनभरी टेन्सन हुने, माइन्ड डाइभर्ट हुने भएकोले असिस्टेन्ट मार्फत र कसैको मार्फत आउँदा सहज हुने गरी व्यवस्थापन गरेका छौँ । यस्तो कुरामा म अलि रुखो छु । हुने कुरा चाहिँ हुन्छ भनेर तुरुन्तै गरिदिहाल्छु । नहुने कुरालाई यो-यो कारणले हुँदैन भनेर फिर्ता गरिदिहाल्छु । त्यसैले रुखोपन देख्नुभयो । म आश्वासन दिएर झुलाउने कुरामा विश्वास गर्दिनँ । त्यसैले नसक्ने कुरालाई अहिले सकिँदैन भनेर फिर्ता गरिदिँदा रुखो भयो कि भनेर भेट्नै नचाहने भन्ने कुराहरू हुन्छ । नहुने कुरालाई नेताहरू मार्फत् आउन खोज्छन् । अनि समय दिएन भनेर गुनासो दिन्छ । समग्रमा म फिल्डमा नै बढी घुम्ने मेयरको रुपमा रहन्छु । तीन घण्टा अफिसमा बस्छु, अरू बाँकी समय फिल्डमा नै हुन्छु । त्यतिबेला भेटघाट हुँदा समस्या राख्ने गरेका छन् । तर अनिश्चित रुपमा भेटघाट गर्ने कुरामा मैले आफुलाई टाढै राखेको छु ।

कार्यालयको सेवा सुविधा सहज र सुलभ बनाउन कस्तो भूमिका खेल्नुहुन्छ ?

कार्यालयलाई सहज र सुलभ बनाउन प्रविधिलाई बढी प्रयोग गरेको छु । अहिले सुशासन र प्रशासनमा अलि कडा रुपमा प्रस्तुत भएको छु । भ्रष्टाचारमा दोस्रो नम्बरमा आउने नगरपालिकालाई सुशासन र विकास निर्माणमा उत्कृष्ट तेस्रोमा ल्याएका छौँ । यो नक्सापासमा धेरै बदनाम थियो । इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम अनलाइनबाट हुने गरेर राखिदिएका छौँ । करहरूको सिस्टममा पनि अनलाइन गरिदिएका छौँ । कति उठ्यो भन्ने एक क्लिकमा देखिने गरी सबै कुरालाई व्यवस्थापन गरेका छौँ । चुस्त र दुरुस्त बनाउन प्रयास गरिरहेका छौँ । मेरो टेबलमा एउटा पनि फाइल रहँदैन । किनभने हुने काम तुरुन्तै हुन्छ, नहुने काम हुँदैन भनेर फाइल फरवार्ड गर्दिहाल्छु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved