हेटौंडामा आचारसंहिता उल्लंघन बढ्यो, चुनावी कार्यक्रममा सरकारी गाडीसहित स्वास्थ्यमन्त्री

हेटौंडामा आचारसंहिता उल्लंघन बढ्यो, चुनावी कार्यक्रममा सरकारी गाडीसहित स्वास्थ्यमन्त्री

हेटौंडा। पछिल्लो समय निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरू बढ्न थालेका छन्।

केही दिनअघि मात्र बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आचारसंहिता उल्लंघन गर्दै नेकपा माओवादी केन्द्रको चुनावी कार्यक्रमहरूमा सहभागिता जनाएकी थिइन्। बुधबार उनलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। मन्त्री मोक्तान चुनावी अभियानमा खटिएको तस्विरहरू सामाजिक सञ्जालमा देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। आयोगले २४ घण्टाभित्र प्रमाणसहित जवाफ दिन भनेको छ।

यता संघीय स्वास्थ्य मन्त्री विरोध खतिवडा पनि आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीमा प्रहरीको स्कर्टिङसहित गठबनधनको घोषणा पत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए।

मन्त्रीको यो गतिविधिमा भने आयोगले ध्यान दिएको छैन। यसैबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत पनि केही दिनअघि नेकपा एमालेको चुनावी कार्यक्रममा सहभागी भएपछि विरोध आएको थियो।

सार्वजनिक पदमा रहेका मेयर एमालेको चुनावी सभामा सहभागी भएका थिए। यता आजै नेकपा एमालेका हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा अध्यक्षका उम्मेदवार तथा निवर्तमान वडाध्यक्ष अनिल बानियाँले निर्वाचन आचारसंहिताविपरीत स्थानीयलाई जस्ता सहयोग गरेको आरोप लगाउँदै स्थानीयले जस्ता जफत गरेर प्रहरीकोमा बुझाएका छन्।

यद्यपि उनले बुधबार पत्रकार सम्मेलन गर्दै वडाबाट चैत्र १० गते नै बजेट निकासा भइसकेको र उपभोक्तहरूको २० प्रतिशत लगानी हुने भएकाले उनीहरूले पैसा जुटाउन समय लागेकाले ढिला भएको बताए।

वडाबाट चैत्र १० गते नै बजेट निकासा भइसकेकाले अहिले वडाको केही भूमिका नभएको बताए। “उपमहानगरपालिकाको योजनामा नै समावेश भएर बजेट छुट्याइएको कार्यक्रम हो त्यही कार्यक्रम हामीले गरिरहेका छौं”, उनले भने, “जनताको २० प्रतिशत लागत सहभागितामा हुन लागेको काम हो। उहाँहरूले पैसा जुटाउन नसकेर केही ढिला भएको हो।”

२१ घरधुरीका लागि खरको छानो विस्थापन कार्यक्रम अन्तर्गत वडाले बजेट उपलब्ध गराएको थियो। १० लाख लागतको योजनामा वडा तथा नगरपालिकाले ९ लाख रुपैयाँ छुट्याएको थियो भने स्थानीयको एक लाख बराबरको लागत सहभागिता थियो।

जफत गरिएको जस्ता प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ भने १ जेठमा स्थानीयलाई वितरणका लागि पठाइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved