हेटौंडामा गठबन्धन र एमालेको आन्तरिक असन्तुष्टि उपयोग गर्ने दाउमा राप्रपा

हेटौंडामा गठबन्धन र एमालेको आन्तरिक असन्तुष्टि उपयोग गर्ने दाउमा राप्रपा

हेटौंडा। कुनै समय थियो, मकवानपुरमा राप्रपाको हैसियत निकै बलियो थियो।

राजसंस्थाको अन्त्यसँगै कमजोर हुँदै गए पनि त्यो प्रभाव कमल थापा मन्त्री हुन्जेलसम्म कायमै थियो। समय फेरियो, राप्रपा अध्यक्षमा पराजित भएपछि अलग पार्टी स्थापना गरेका थापाको पार्टी राप्रपा नेपालले मकवानपुरको कुनै पनि स्थानीय तहमा उम्मेदवारी दिएको छैन।

राप्रपा नेपालले उम्मेदवारी नै नदिइरहँदा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरिरहेको छ। नेकपा (एमाले) र सत्ता गठबन्धनबीचको तीव्र प्रतिस्पर्धाको मझधारबाटै राप्रपाले स्थान बनाउने उसको दाबी छ। आफूले पहिले गरेका कामको आधारमा जनताले मतदान गर्ने विश्वास राप्रपा उम्मेदवारहरूको छ।

“मेरो उम्मेदवारी विशुद्ध जनताको सेवाका लागि हो। मैले यसअघि पनि जिल्ला विकास समिति सभापति हुँदा गरेको कामको स्मरण अहिले पनि जनताले गर्छन्,” राप्रपाको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर उम्मेदवार दीपकबहादुर सिंह भन्छन्, “जनताले चाहना गरेकै भएर मैले उम्मेदवारी दिएको हो। मैले जितेँ भने जनताकै सेवा गर्ने हो। भ्रष्टाचारमुक्त हेटौंडा बनाउने हो।”

२० वैशाख साँझ आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले जनप्रतिनिधि भएपछि जनताको लागि काम गर्ने योजना पेश गरे।

“धेरै ठूला योजनाहरू मसँग छैनन्,” उनले भने, “सामान्य काम गरे मात्रै पनि हेटौंडाका जनताले महसूस गर्नेछन्। अहिले ठूलो कुरा गरेर हुन्न। जनताले विकास चाहेका छन्। म त्यो पूरा गर्न सक्छु।”

असन्तुष्ट मत दान्ने दाउ

हेटौंडामा गठबन्धन र एमालेको उम्मेदवार तय हुँदै गर्दा दुवै पक्षमा चरम असन्तुष्टि देखिएको थियो।

गठबन्धनमा रहेको असन्तुष्टि छताछुल्ल भएको थियो। एमालेभित्र रहेको असन्तुष्टि सतहमा नआए पनि स्पष्ट देखिन्थ्यो। अहिले पनि हेटौंडा उपमहानगरपालिकाको मेयर दाबी गरेको कांग्रेसभित्र असन्तुष्ट समूह उल्लेखनीय छ। कांग्रेसको आन्तरिक विवादकै कारण पनि गठबन्धनको मत प्रभावित हुन सक्ने आंकलन गरिएको छ।

यिनै असन्तुष्ट मत तान्ने दाउमा राप्रपा छ। अनन्त पौडेललाई टिकट दिइनु हुन्न भन्ने पक्षको मत पनि राप्रपाको नजरमा छ। आन्तरिक रुपमा दुवै पक्षसँग कुराकानी भइरहेको राप्रपाका एक नेताले बताए।

“असन्तुष्टहरू दुवै पक्षमा छन्। हामीले उहाँहरूसँग कुराकानी गरिरहेका छौं,” राप्रपाका ती नेताले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved