विमानस्थलमा बम राखेको ‘थ्रेट कल’ गर्ने व्यक्ति खोज्दै प्रहरी

विदेशबाट फोन आएकाले अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलमार्फतसमेत अनुसन्धान गरिने प्रहरीले बताएको छ। नेपाली भाषामै बमको जानकारी दिएका ती व्यक्तिले मुस्लिमले गर्ने अभिवादन गर्नुले कतै जातीय हिंसा भड्काउने योजना त होइन भन्ने अनुसन्धानको विषय बनेको छ।

विमानस्थलमा बम राखेको ‘थ्रेट कल’ गर्ने व्यक्ति खोज्दै प्रहरी

काठमाडौं। ‘सलाम वालेकुम, त्रिभुवन विमानस्थलको डोमेस्टिक टर्मिनलभित्र विभिन्न ठाउँमा ६ ओटा बम राखिएको छ, ती बम २ घण्टाभित्रै फाट्छ,’ विहान ९: ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोन गरेर अज्ञात व्यक्तिले थ्रेट दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टेलिफोन एक्सचेन्जमा आएको त्यो फोनबारे टर्मिनल ड्युटी अफिसर (टीडीओ)ले  सूचना पाएलगतै विमानस्थल प्रशासनलाई खबर गरे। त्यसको केही समयपछि त्यही नम्बरबाट पुन: फोन आयो। पाकिस्तानी नम्बरबाट आएको फोनमा ती व्यक्तिले भने, ‘सलाम वालेकुम, त्रिभुवन विमानस्थलको डोमेस्टिक टर्मिनलभित्र विभिन्न ठाउँमा ६ वटा बम राखिएको छ। ती बम २ घण्टाभित्रै फाट्छ।’

त्यो फोन कलले विमानस्थलको सुरक्षा व्यवस्थालाई ठाडै चुनौती दिएको थियो। विमानस्थल जस्तो संवेदनशील स्थानमा राखिएको भनिएको बमको हल्लाले सिङ्गो मुलुक नै सशंकित भन्यो।

यस्तो ‘थ्रेटकल’ ले विमानस्थलमा हंगामा मच्चियो। त्यो सूचना विमानस्थल प्रशासनले विमानस्थल सुरक्षा कार्यालयलाई सर्कुलर गर्‍यो। सुरक्षा प्रमुख एसएसपी भीम ढकालले नेपाल प्रहरीको बम डिस्पोजल टोलीलाई खबर गरे। नेपाली सेनाको बम डिस्पोजल टोली कहाँ पनि सूचना पुग्यो।

लगत्तै एयरपोर्ट आपतकालीन योजनामार्फत विमानस्थल प्रहरीले ९ : ५२ बजे विमानस्थलभित्र रहेका यात्रुहरूलाई बाहिर निस्कन माइकिङ गर्‍यो। ‘बम राखिएको हल्ला’ले त्रसित यात्रुहरूको भागाभाग मच्चियो। यात्रुहरूलाई हतारहतार बाहिर निकालियो। केही बेरमै दुवै सुरक्षा निकायको डिस्पोजल टोली घटनास्थलमा आइपुग्यो। तालिमप्राप्त कुकुरसहितको टोलीले सर्च अपरेसन शुरु गर्‍यो।

त्यतिबेला १० बजिसकेको थियो। डिस्पोजल टोलीले सुरक्षाजाँच क्षेत्र, यात्रु प्रतिक्षास्थल तथा यात्रु बस्ने ठाउँदेखि शौचालयसम्म शंकास्पद बस्तुको खोजी गर्‍यो। कुकुरसहितको टोलीबाट विमानस्थलको चौर, पार्किङ क्षेत्रदेखि अन्तरकुन्तरसम्म खोजी भयो।

तर झन्डै ११ः१० बजेसम्म १ घण्टा खोजी गर्दा पनि केही भेटिएन। विमानस्थलमा बम नभएको पुष्टि भएपछि सुरक्षा निकायले विमानस्थल पुन: सञ्चालन गर्न अनुमति दियो। विमानस्थल प्रशासनले उडान पुनः सञ्चालनको तयारी गर्दै यात्रुलाई विमानस्थल प्रवेश गराउने तयारी गर्‍यो।

बमको हल्लापछि विमानस्थलबाट बाहिर निकालिएका यात्रुलाई भित्र आउन माइकिङ भयो। त्यतिबेला सवा ११ बजेको थियो। त्यतिबेलासम्म विमानस्थलमा ठूलो भीड लागिसकेको थियो। बिहान मौसम खराब थियो। धेरै स्थानमा विमान उड्न सकेको थिएन। फेरि बमको हल्लापछि धेरै उडान स्थगित भयो। यसकारण विमानस्थलबाहिर ठूलो भीडभाड देखिएको थियो।

११ः३० बजेबाट उडान सुचारु भयो।

सर्च अपरेसनपछि कुनै शंकास्पद वस्तु फेला नपरेपछि विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले सञ्चारकर्मीसँग घटनाबारे बताए। ‘‘सूचना पाएलगतै हामीले सम्पूर्ण यात्रुलाई विमानस्थलबाट बाहिर निकाल्यौँ। यात्रुको सुरक्षा पहिलो दायित्व थियो। विमानस्थलका कर्मचारी पनि बाहिर निस्किए। त्यसपछि बम डिस्पोजल टोली आइपुग्यो। र उसले काम थालनी गर्‍यो। तर केही शंकास्पद बस्तु भेटिएन,’’ सिटौलाले भने ‘‘यसबारेमा किन कसले के उद्देश्यले यसरी अफवाह फैलाएका रहेछन्। यो बारेमा नेपाल प्रहरीका विभिन्न टोलीहरू सीआइवी, अपराध अनुसन्धान महाशाखालगायतले अनुसन्धान गरिरहेको छ।’’
विमानस्थलभित्र बम नभेटिए पनि सेनाले बाह्य क्षेत्रमा भने अझै सर्च अपरेसन जारी राखेको छ। शंकास्पद व्यक्ति तथा वस्तुको बारेमा जानकारी गराउन यात्रुलाई आग्रह गरिएको छ।

‘बम राखिएको’ भन्दै थ्रेट कल पाकिस्तानी नम्बरबाट आएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए। फोनबारे प्रहरीको केन्द्रीय अनुसन्धान विभागले अनुसन्धान गरिरहेको उनले बताए।

पास्कितानी नम्बर भए पनि सोही देशबाट आएको वा अन्यत्रबाट आएको हो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी उनले दिए। विदेशबाट फोन आएकाले अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलमार्फतसमेत यसबारे अनुसन्धान गरिने उनले बताए।

सुरक्षा निकायका अनुसार फोन गर्नेको उद्देश्य तर्साउने मात्रै देखिएको छैन। जातीय हिसाबले ‘इस्लाम धर्मावलम्बी’लाई बदनाम गर्न समेत खोजेको देखिन्छ। किनकि फोन गर्नेले ‘सलामवालेकम’ भन्दै अभिवादन गरिएको थियो। नेपाली भाषामै बमको जानकारी दिएका ती व्यक्तिले मुस्लिमले गर्ने अभिवादन गर्नुको कतै जातीय हिंसा भड्काउने योजना त होइन भन्ने अनुसन्धानको विषय बनेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved