मिथिलामा मनाइयो अक्षय तृतीया

मिथिलामा मनाइयो अक्षय तृतीया

जनकपुरधाम। मिथिलामा आज हिन्दु धर्मावलम्बीले अक्षय तृतीया पर्व मनाएका छन्। भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौँ र चनाको सातु एवं चिसो पानीको सर्वत खुवाउँदै आज जनकपुरधामसहित मधेश प्रदेशका प्राचीन मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाएको हो।

वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौँ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने हिन्दू मैथिल परम्परा छ। यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक बटुवालाई शीतलता दिने जौँ र चनाको सातु, सख्खर, चिसो पानीमा बनाइएको सर्वत र मिष्ठान्न परिकार खुवाएमा अक्षय (कहिल्यै नास नहुने) पुण्यप्राप्त हुने मैथिल (मिथिलावासीकोे) जनविश्वास रहेको छ।

पर्वमा गरीव र अभाव भोगी, खेपी रहेकालाई सातु राखिएका थैला र सर्वत राखिएको घडा सहितै दान गर्ने परम्परा समेत रहेको मिथिला परम्पराका ज्ञाता महोत्तरीको मटिहानी स्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका सहप्राध्यापक ध्रुव रायले जानकारी दिए।

अक्षय तृतीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरीवहरूलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गरे कहिल्यै भण्डार खाली नहुने भविष्य पुराणमा उल्लेख रहेको बर्दिवास–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झाले बताए।

गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पौष्ट्रिक अन्न जौँको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ।

सुख र समृद्धिको प्रतीक हुनका साथै यो पर्वले स्वास्थ्य सन्देश दिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विधानचन्द्र झाको भनाइ छ । पर्वले मौसमानुसार पौष्ट्रिक भोजन गर्न सन्देश दिनसँगै दिनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देस समेत दिएको पाका मैथिल बताउँछन्।

पर्वमा कुल पुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्ठान्न खाद्य परिकार र दक्षिणा दिएर आफू र परिवारले जीवनमा शीतलताको कामना गर्दै जौ चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ।

भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्रासन र विवाहलगायतका शुभकार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ । हिन्दू र इस्लाम परम्पराका पर्व एकै दिन पर्दा दुवै समुदायमा आज खुसी र उमङ्ग छाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved