‘निर्वाचनको दिनसम्म जगन्नाथ पौडेल रेनु दाहालको समर्थनमा आउनुहुन्छ’

चितवनमा माओवादी केन्द्रको संगठन कमजोर छैन। एक्ला–एक्लै निर्वाचनमा गएको भए पनि हामीले निर्वाचन जित्नसक्ने अवस्था थियो।

‘निर्वाचनको दिनसम्म जगन्नाथ पौडेल रेनु दाहालको समर्थनमा आउनुहुन्छ’

स्थानीय निर्वाचनमा सबैको चासोको केन्द्र बन्न पुगेको छ चितवनको भरतपुर महानगरपालिका। पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेकी रेनु दाहालविरुद्ध गठबन्धन भित्रकै काँग्रेसका स्थानीय नेता जगन्नाथ पौडेलले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा पेचिलो भएको छ। यही सन्दर्भममा दाहालको निर्वाचन प्रचार कमान्डर बनाइएका बद्री तिमिल्सिनासँग पुरुषोत्तम पौडेलले गरेको कुराकानी। स्मरणीय छ, अघिल्लो स्थानीय तह निर्वाचनमा तिमिल्सिना स्वंय भरतपुर महानगरपालिकाको मेयर पदमा दाहालका प्रतिस्पर्धी थिए।

भरतपुरमा मेयरको निर्वाचन त्रिपक्षीय हुँदैछ। गठबन्धनबाट साझा उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको चुनौतीलाई कसरी सामना गर्नुहुन्छ?

निर्वाचनमा उम्मेदवारी दिने सबैको स्वतन्त्र अधिकार हो। हामी पाँच दलीय गठबन्धन भरतपुरमा धेरै बलियो छौँ। स्वतन्त्र उम्मेदवारका रूपमा कांग्रेसका नेता जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारी दिनुभएको छ। तर नेपाली कांग्रेसको र गठबन्धनको आधिकारीक उम्मेदवार रेनु दाहाल भएका कारण भरतपुरका कांग्रेसका ८० प्रतिशत कार्यकताले रेनु दाहाललाई नै मतदान गर्नुहुन्छ। निर्वाचनको दिनसम्म पौडेल पनि रेनु दाहालको समर्थनमा आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ। भरतपुर महानगरपालिकाको माहोल गठबन्धनको पक्षमा तातेको छ।

२०७४ को स्थानीय निर्वाचनमा तपाईं आफैँ पनि भरतपुर महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धी हुनुहुन्थ्यो। त्यो समयमा प्रतिस्पर्धीका रूपमा मैदानमा उत्रिँदा र अहिले मेयर पदको उम्मेदवारको सहयोगीका रूपमा खटिँदाको भिन्नता कस्तो हुँदैछ ?

यसअघिको स्थानीय तहको निर्वाचनमा मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर पदमा प्रतिस्पर्धा गरेको थिए। तर, चितवनमा पुष्पकमल दाहालको आगमन भएपछि चितवनलाई राष्ट्रिय नेताको आवश्यकता रहेको ठहर गर्दै उहाँको समर्थन गर्ने निर्णयसँगै माओवादी केन्द्र प्रवेश गरेँ। अघिल्लो निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धा गर्दा मैले राम्रो मत ल्याएको थिएँ। अहिले त्यो मत रेनु दाहालले प्राप्त गर्दै हुनुहुन्छ। त्यो समयमा भरतपुरको मेयर पदमा प्रतिस्पर्धा गर्न आउँदै गर्दा रेनु भरतपुरका लागि नयाँ अनुहार हुनुहुन्थ्यो। अहिले उहाँलाई भरतपुरका अधिकाशंले चिन्ने अवस्था छ। यस हिसाबमा पनि गठबन्धनका लागि भरतपुरको मेयर पदमा विजयी हुन सहज अवस्था छ। भरतपुर महानगरपालिका विकासमा नेपालकै लागि उदाहरण बनेको छ। पुष्पकमल दाहाल राष्ट्रिय स्तरको नेता भएका कारण उहाँको प्रभावले यहाँ ७०–८० अर्बको बजेट छ। त्यस्तै नारायणी किनारमा अहिले पाँच अर्बको तटबन्ध बनाउने परियोजना सञ्चालन भएका छन्। नारायणी नदी किनारलाई ‘सी बिच’ (समुद्री किनारा)का रूपमा अगाडि बढाइँदैछ। एशियाकै उत्कृष्ट सिटि हल भरतपुरमा बन्दैछ। अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणाधीन अवस्थामा छ। भरतपुर महानगरपालिकाका निवर्तमान मेयर रेनु दाहालले आफूलाई विकासप्रेमी व्यक्तिका रूपमा अगाडी बढाउँदाको परिणाम भरतपुरका नगरबासीले देखेका छन्।

अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका काम सञ्चालन भएको बताउनु भयो। यस्तै नारायणी किनारलाई सी बीचको मोडलमा विकास गर्ने योजना अघि बढेको विषय पनि उठाउनु भयो। रंगशालाको निर्माण कार्य अहिले रोकिएको छ भने नारायणी किनारको विकास त नेकपा (एमाले)को चितवनमा सम्पन्न महाधिवेशनका कारण अहिलको अवस्थामा आएको होइन र?

नारायणीमा भइरहेको तटबन्ध नारयणी किनारलाई लक्षित गरेर भएको छैन। भरतपुरबाट पश्चिमतर्फ जाने दोलालघाटतर्फ वर्षाको समयमा पानी पर्दा त्यहाँका बासिन्दा उठेर बस्नुपर्ने अवस्था थियो। त्यहाँ अहिले तटबन्ध निर्माणका लागि पाँच अर्बको बजेट परेको छ भने काम पनि शुरु भएको अवस्था छ। जहाँसम्म निर्माण रोकिएको रंगशालाको प्रश्न छ भरतपुर महानगरपालिकाले त्यसको जिम्मा लिएको छ। अर्थमन्त्रीले त्यसका लागि बजेट छुट्टाउँदै हुनुहुन्छ। रेनु दाहालले मेयर पद नजित्दा रंगशाला निर्माणको काम अलपत्र पर्ने खतरा हुन्छ। यस्तो अधुरा काम पुरा गर्नका लागि पनि रेनु दाहालले महानगरपालिकाको मेयर पद फेरी जित्नुपर्ने हुन्छ।

रेनु दाहालको नेतृत्वमा भरतपुरमा विकासका धेरै काम भएको तपाईंको दाबी छ। तर भरतपुरको बजार क्षेत्र, पुलचोकदेखि लायन्सचोकसम्म एउटा सार्वजनिक शौचालयको व्यवस्था पनि छैन। भरतपुरको मेयरलाई अन्य विकास निर्माणको काम गर्दा शहरी क्षेत्रमा सार्वजनिक शौचालयको आवश्यकता किन महसूस भएन?

भरतपुरमा ६ लेनको बाटो बन्दैछ त्यसका कारण भरतपुरमा भएका सार्वजनिक शौचालयलाई हामीले भत्काउनुपर्ने अवस्था आएको छ। नारायणगढको सवालमा त्यहाँ सरकारी जग्गाको अभावका कारण हामीले सार्वजनिक शौचालय निर्माण गर्न नसकेका हौँ। नारायणीको किरानमा शौचालय छ। पुलचोक र शहिदचोकमा महानगरपलिकाले मोबाइल शौचालयको व्यवस्था छ। भरतपुरभन्दा माथि आउँदा सार्वजनिक शौचालय छन् भने बन्ने प्रक्रियामा पनि छ।

६ लेनको बाटो र सिटी हल निर्माणको प्रसंग छ, त्यो केपी ओली सरकारले बजेट विनियोजन गरेका कारण निर्माण कार्य अघि बढेको बताइन्छ। मेयरको आफ्नै तदारु ताका कारण त्यो भएको होइन भन्ने एमालेको दाबी छ नि?

एमालेका साथीहरू एक सय रूपैयाँको वृद्धभत्ताबाट बढाएर चार हजार पुर्याएको दाबी गर्छन्। त्यो उनीहरूको खल्तीबाट दिएको पैसा होइन। सिटी हल र ६ लेनको बाटो माओवादी अध्यक्ष पुष्पकमल दाहाल वा रेनु दाहालको खल्तीबाट हालेको पैसा पनि होइन। यी सबै राज्यको पैसा हुन। यहाँ मुख्य प्रश्न त्यो बजेटका लागि कसले पहल गर्यो भन्ने हो। चितवनलाई नेतृत्व गरेर राष्ट्रिय राजनीतिमा धेरै व्यक्तिले प्रतिनिधित्व गरे। तर कसको पहलमा यहाँको विकास भयो त?

प्रसँग बदलौँ, आफ्नो संगठन कमजोर बनाएर अरूको बुई चढेर निर्वाचनमा माओवादी केन्द्र होमिएको छ भन्ने आरोप छ नि?

प्रतिगामी कदमका विरुद्ध गठन भएको गठबन्धनमा माओवादी केन्द्र रहेको छ। यही गठबन्धनले संसद् पुनःस्थापना गरेको छ। देशको राजनीतिले बाटो बिराएको अवस्थाबाट सही दिशामा हामी आएका छौँ। दोस्रो जनआन्दोलनबाट हासिल भएको उपलब्धिको रक्षाका लागि पनि हामीलाई यो गठबन्धन आवश्यक भएको हो।

चितवनमा माओवादी केन्द्रको संगठन कमजोर छैन। एक्ला–एक्लै निर्वाचनमा गएको भए पनि हामीले निर्वाचन जित्नसक्ने अवस्था थियो। यद्यपि यहाँ मात्रै होइन अन्य जिल्लामा पनि राष्ट्रिय आवश्यकता अनुसार गठबन्धनमार्फत नै निर्वाचनमा जानुपर्ने अवस्थाका कारण हामीले गठबन्धनबाट नै निर्वाचनमा जाने निर्णय गरेका हौँ। नेपालको संविधानलाई ध्वस्त बनाउन खोज्ने प्रवृत्तिविरुद्ध लड्न हामी एक ठाउँमा उभिएका हौँ। भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रको भागमा परे पनि यहाँका २० वडामा कांग्रेसलाई हामीले पनि भोट हाल्नुपर्ने अवस्था छ। रत्ननगर नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिकामा हामीले कांग्रेसलाई मतदान गर्नुपर्ने अवस्था छ भने राप्ती नगरपालिकामा नेकपा एकीकृत समाजवादीलाई मतदान गर्नुपर्ने अवस्था छ। गठबन्धनमा माओवादी मात्रै अरूको बुई चढेको छैन, माओवादीको बुई अरूले पनि चढेका छन्।

भरतपुर महानगरपालिकाको मेयर पद जित्ने तपाईंहरूको दाबीबीच भरतपुरमा रहेको रामबहादुर थापा एमालेमा जाँदा उहाँको प्रभावको मूल्यांकन गर्नुभएको छ कि छैन?

रामबहादुर थापाको भरतपुरमा प्रभाव भनेको शुन्यमा शुन्य जोड्दा जति प्रभाव हुन्छ त्यत्ति नै हो। भरतपुरमा गठबन्धनले मेयर पदमा उम्मेदवार बनाएको व्यक्ति आफै सक्षम भएका कारण कसैको प्रभावका कारण उहाँले निर्वाचन हार्ने अवस्था छैन।

भरतपुर मेयरका स्वतन्त्र उम्मेदवार पौडेलसँग एमालेले ‘लुज गठबन्धन’ गर्नसक्ने बताएको छ। यदि त्यस्तो भएको खण्डमा पनि तपाईंहरूले निर्वाचन जित्नसक्नुहुन्छ त?

भरतपुरमा कांग्रेसको निर्वाचन चिह्न बाहेक अर्को निर्वाचन चिह्नमा भोट हाल्दैनौँ भन्ने सानो जमातले भोट हाल्ने ठाउँ पाउनुभएको छ। हामीलाई अझै के विश्वास छ भने निर्वाचनको दिन अघिसम्म स्वतन्त्र उम्मेदवार पौडेलले आफ्नो समर्थन रेनुलाई नै गर्नुहुन्छ। यदि आउनु भएन भने पनि त्यसले हामीलाई असर गर्ने छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved