युवा छँदा

अश्वेतहरूका मसिहा थिए मन्डेला

बीसौं शताब्दीको विश्व राजनीतिक रङ्गमञ्चका ‘हिरो’। अनेक उपमाले सिंगार्न सकिन्छ उनलाई। वास्तवमा उनी थिए- अश्वेतहरूका मसिहा, अश्वेतहरूका संघर्षको प्रतीक।

अश्वेतहरूका मसिहा थिए मन्डेला

नेल्सन मन्डेला अर्थात् एक गर्विलो नाम। राष्ट्रिय स्वाधीनता र मुक्ति संघर्षका कहिल्यै नबिर्सिने चम्किलो अनुहार। बीसौं शताब्दीको विश्व राजनीतिक रङ्गमञ्चका ‘हिरो’। अनेक उपमाले सिंगार्न सकिन्छ उनलाई। वास्तवमा उनी थिए- अश्वेतहरूका मसिहा, अश्वेतहरूका संघर्षको प्रतीक।

२७ वर्षसम्म काराबासको कठोर सजाय भोगेका मन्डेलाको युवाकालीन दिनहरू कसरी गुज्रिए ? नश्लीय आधारमा संसारमा कहींकतै भेदभाव हुन नदिने सपना बोकेका उनको युवावस्थाका दिनहरू संघर्षकै बीच गुज्रिएका थिए।

सन् १९१८ को १८ जुलाईमा जन्मिएका मन्डेलाको पूरा नाम थियो- नेल्सन रोहिल्हाला मन्डेला। रोहिल्हालाको अर्थ थियो- ‘रुखको हाँगा तोड्ने व्यक्ति’। यो उपनाम उनलाई पिता गेडला हेनरीले दिएका थिए। ‘रुखको हाँगा तोड्ने व्यक्ति’ को उपनाम पाएका उनले दक्षिण अफ्रिकामा युगौंदेखि वर्चस्व जमाउँदै आएको अंग्रेज शासकको शासनाधिकार तोड्ने सफलता पाए।

पिताका तेस्री श्रीमती नेक्युफी नोसकेनीको पहिलो सन्तानका रूपमा जन्मिएका उनी धनाढ्य परिवारका सदस्य थिए। उनका पिता गाउँको मुखिया थिए। पुर्ख्यौली रूपमा नै उनीहरूले त्यो अधिकार पाउँदै आएका थिए।

अंग्रेज-शासित दक्षिण अफ्रिकामा तत्कालीन समय अश्वेतमाथिको भेदभाव चरम थियो। हेल्डटाउनमा अश्वेतहरूका निम्ति बनाइएको एउटा विशेष कलेज थियो। त्यही कलेजमा अध्ययन गरेका उनले स्नातकसम्मको अध्ययन पूरा गरे। कलेजमा ओलिवर टाम्बोसँग उनको गहिरो मित्रता कायम रह्यो। सन् १९४० मा उनी २२ वर्षका लक्का युवा थिए, तिनै वर्षहरूमा उनी र टाम्बोले कलेजमा राजनीतिक क्रियाकलापलाई तेज बनाए। यो कुरा क्याम्पस-प्रशासनले थाहा पायो र दुवैलाई कलेजबाट निस्कासन गरियो। कलेजबाट निस्कासित भएपछि उनी पिता-माता रहेका ट्रान्स्कीमा गए।

अंग्रेज शासकविरुद्ध उभिएका मन्डेलालाई संघर्षको मार्गमा हिँड्न नदिन पिता-माताले प्रयत्न गर्न थाले। त्यसको निम्ति एउटा सहज उपाय थियो- विवाह। उनलाई वैवाहिक सम्बन्धमा बाँध्न बाध्य तुल्याएर संघर्षबाट विमुख तुल्याउन पिता-माता तयार देखिए। यो कुरा थाहा पाएपछि मन्डेला चुपचाप जोहान्सबर्गतिर लागे।

केही दिनसम्म जोहान्सबर्गका सडकहरूमा घुमन्तेको जिन्दगी बिताए उनले। जीवन निर्वाहका निम्ति एउटा सुनको खानीमा पालेको काम गर्न थाले। जोहान्सबर्गमा रहन थालेपछि उनको भेट वाल्टर सिसुलू र वाल्ट एल्बरटाइनसँग भयो। यी दुवैले मन्डेलाको राजनीतिक जीवनलाई गहन रूपले प्रभावित तुल्याए।

त्यसपछि उनले एउटा कानुनी फर्ममा लेखनदासको रूपमा काम गर्न थाले। सन् १९४४ मा भने उनी इवलिन मेससँग वैवाहिक सम्बन्धमा जोडिए। इवलिन वाल्टर सिसुलूकी बहिनी थिइन्।

राजनीतिप्रतिको गहिरो लगाव बढ्दै गइरहेको थियो उनमा। राजनीतिप्रतिको लगावकै कारण उनी लगत्तै अफ्रिकन नेशनल कांग्रेसमा आबद्ध भए। त्यसलगत्तै उनी, टाम्बो, सिसुलू मिलेर अफ्रिकन नेशनल कांग्रेसको युथ लिग गठन गरे। सन् १९४७ मा पनि युथ लिगको सचिवमा चयन भए।

युथ लिगको जिम्मेवारी पाएपछि उनले आफ्नो सक्षम कार्यक्षमताको परिचय दिलाउँदै गए। उनको काम गर्ने शैली देखेर अरूहरू प्रभावित बन्न पुगे। तिनै दिनहरूमा उनको कानुनप्रति गहिरो चाख बढ्दै गयो र कानुनको अध्ययनमा आफूलाई निमग्न तुल्याउन थाले। तर उनले एलएलबी भने उत्तीर्ण गर्न सकेनन्। र, वकिलका रूपमा भन्दा अटार्नीको रूपमा काम गर्नका लागि प्रमाणपत्र लिने टुंगोमा पुगे।

सन् १९५१ मा उनी युथ कांग्रेसको अध्यक्षमा चयन भए। अध्यक्षमा चयन भएपछि उनले अश्वेतहरूको कानुनी लडाइँमा सघाउ पु¥याउने हेतुले एक कानुनी फर्म स्थापना गरे। उनको कानुनी फर्म दक्षिण अफ्रिकाकै अश्वेतद्वारा खोलिएको पहिलो फर्म बन्न पुग्यो। तर एकैसाथ राजनीति र वकालत पेसालाई अघि बढाउन उनलाई मुस्किल हुँदै गयो। तिनै वर्षहरूमा उनी ट्रान्सवल कांग्रेसको अध्यक्षमा चयन भए।

त्यसो त, मन्डेलाले जुन समय अंग्रेज शासकविरुद्ध दक्षिण अफ्रिकामा विद्रोहको झण्डा उठाउने प्रण गरे, त्यतिबेला विश्वभरि स्वतन्त्रता आन्दोलनले तीव्र गति लिइरहेको थियो। चीनमा जनवादी क्रान्ति चरम विन्दुमा थियो भने भारतमा अंग्रेज शासक हटाउने आन्दोलन। मूलतः एसिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरू राष्ट्रिय स्वाधीनता र मुक्तिको आन्दोलनमा पूरै होमिएका थिए।

अंग्रेज सरकारलाई मन्डेलाको बढ्दो लोकप्रियता मन परिरहेको थिएन। उनीमाथि कुनै न कुनै किसिमको दुःख थोपर्न चाहन्थ्यो। उनलाई प्रतिबन्ध लगाउन सरकार तयार देखियो। त्यही क्रममा वर्गभेदको आरोप लगाउँदै उनलाई जोहान्सबर्गबाट निस्कासित गरियो र कुनै पनि बैठक, सभाहरूमा भाग लिन प्रतिबन्ध लगाइयो।

सरकारले तीव्र दमन चलाउन थालेपछि उनी र ओलिभर टाम्बले एउटा ‘एम’ प्लान बनाए। ‘एम’ को अर्थ मन्डेला थियो। उनीहरूले टुंगो गरे कि, कांग्रेसको संगठनलाई खण्डमा विभाजित गरेर काम गर्नुपर्छ र आवश्यक परेको अवस्थामा भूमिगत भएर पनि काम गर्नुपर्छ।

आफूमाथि प्रतिबन्ध लगाएपछि उनी क्लिपटाउन गए। र, क्लिपटाउनमा जनकांग्रेसको सभामा भाग लिन थाले। जनताको बीचमा रहेर उनले संगठनको कामलाई गति दिन थाले। अश्वेतहरूको मुक्तिका लागि संघर्ष गर्न थाले। जनतासँग धेरैभन्दा धेरै समय बिताउने मौका पाए। त्यही क्रममा जनतालाई कसरी संगठित तुल्याउने र उनीहरूलाई कसरी मुक्तिबारे सम्झाउने भन्ने कुरा गहिरोसँगले अनुभव गर्न पाए।

अश्वेत जनताका निम्ति उनी सावित हुँदै गए- आशाको उज्यालो किरण। उनको नेतृत्वमा राष्ट्रिय मुक्ति आन्दोलनले व्यापकता पाउँदै गयो। अंग्रेज शासकविरुद्ध जनता संगठित हुँदै गए। चम्किँदै गएको मुक्ति संघर्षका कारण सरकार पूरै आतंकित बन्न थाल्यो। त्यही क्रममा सरकारले रंगभेद आन्दोलनलाई समर्थन गर्ने देशभरका नेतालाई गिरफ्तार गर्न थालियो। मन्डेला र उनका साथीहरूलाई देशको विरुद्ध युद्ध गरेको र देशद्रोह गरेको आरोप लगाइयो र मुद्दासमेत चलाइयो। यो मुद्दामा मृत्युदण्डको सम्म सजाय दिइन्थ्यो।

मन्डेला र उनका साथीमाथि मुद्दा चलाए पनि सन् १९६१ मा भने उनीहरू निर्दोष सावित भए र जेलबाट रिहा भए।
सन् १९६० को शार्पविले नरसंहारपश्चात् मन्डेलाले दक्षिण अफ्रिकाको कम्युनिष्ट पार्टी (एसएसीपी) को सहयोगमा सन् १९६१ म एएनसीको सशस्त्र शाखा उमखोतों वी सिजवे (राष्ट्रका भाला) गठन गरे। शार्पविले सहरमा प्रदर्शनमा उत्रिएका मानिसहरूमाथि दक्षिण अफ्रिकी प्रहरीले व्यापक दमन ग¥यो, गोली बर्सायो, जसमा १ सय ८० जना मारिए भने ६९ मानिस घाइते भए।

शार्पविले सहरमा भएको ठुलो मानव संहारपछि मन्डेलाले सशस्त्र क्रान्तिविना मुलुक अंग्रेजहरूबाट स्वतन्त्र नहुने निष्कर्षमा पुगे। त्यही क्रममा उनले मोरक्को र इथियोपियामा गएर सैन्य परीक्षण पनि गरे। त्यसपछि अफ्रिका फर्किएका उनलाई ५ अगस्त १९६२ मा गिरफ्तार गरियो र त्यसपश्चात् १९९० सम्म रंगभेदी सरकारले काराबासमा राख्यो।
युवावस्थामै अश्वेतहरूको मुक्तिको सपना देखेका मन्डेलाको स्वप्नले लामो काराबासको सजाय र देशव्यापी रूपमा चलेको आन्दोलनपश्चात् साकार रूप लियो। सन् २०१३ मा देहावसान भएका मन्डेलालाई आज पनि संसारभरका मुक्तिगामी जनताले आदर्श व्यक्तित्वका रूपमा लिन्छन्।

सन्दर्भ-सामग्री
१. दिशासन्धान (जुलाई-सेप्टेम्बर, २०१३) को आनन्द सिंहको लेख
२. अहा! जिन्दगी (जुन, २०१०) मा आलोक आनन्दको लेख


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved