परीक्षा हलबाट भारी संख्यामा मोबाइल फोन बरामद भएपछि केन्द्राध्यक्ष निलम्बन

नेपालभ्युज

परीक्षा हलबाट भारी संख्यामा मोबाइल फोन बरामद भएपछि केन्द्राध्यक्ष निलम्बन

सर्लाही । सर्लाहीको एक माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रको परीक्षा हलबाट भारी संख्यामा प्रतिबन्धित सामग्री बरामद भएपछि केन्द्राध्यक्षलाई निलम्बन गरिएको छ।

जिल्ला परीक्षा समन्वय समिति सर्लाहीले एक निर्णय गर्दै बरहथवा नगरपालिका वार्ड न ५ स्थित श्री चक्रजनता माध्यमिक विधालय का केन्द्राध्यक्ष रामबहादुर राय लाई निलम्बन गरेको हो। चक्र जनता माविको परीक्षा केन्द्रमा केन्द्राध्यक्षकै मिलोमतोमा परीक्षा आचारसंहिताको व्यापक उल्लंघन भइरहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवा, बरहथवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापासहितको टोलीले परीक्षा हलबाट ४७ थान स्मार्टफोन मोबाइल, चिट, गाइड, गेस पेपर, नोटबुक र किताबलगायत सामग्री परीक्षा हलबाट बरामद गरेको थियो।

परीक्षा हलबाट परीक्षा अमर्यादित बनाउने वस्तु बढी नै देखिएकाले केन्द्राध्यक्षलाई निलम्बन गरिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।

परीक्षा हलबाट बरामद भएको सबै मोबाइल फोन सिल गरेर इलाका प्रहरी कार्यलय बरहथालाई बुझाउन केन्द्राध्यक्ष रायलाई निर्देशन दिइएको थियो। तर बरामद भएको मोबाइल फोनमध्ये केही थान सम्बन्धित निकायको निर्देशनबिना नै अटेर गर्दै विधार्थीहरूलाई बुझाएपछि केन्द्राध्यक्ष फेरिएको गौतमले बताए। भोलिदेखि हुने एसईई परीक्षाका लागि त्यसै विद्यालयका सहायक प्रधानाध्यापक रामबालक सिंहलाई जिम्मेवारी दिइएको छ।

हिजो नै बरहथवा नगरपालिकास्थित मुक्तेश्वर गणेश मावि मुर्तियाबाट निरीक्षक नम्रता दाहाल, महेन्द्र रत्न जगरनाथ लक्ष्मिनिया मावि सीतापुरबाट निरीक्षकद्वय शिला अधिकारी र श्रीकिशुन ठाकुर तथा सरस्वती मावि हजरियाबाट दिनेश दाहाल र रमेश दाहाललाई निष्काशित गरिएको थियो।

परीक्षा हलभित्र मोबाइल फोन फेला परेपछि श्री वेणी भोला नमूना माध्यमिक विधालयमा अध्ययनरत एक विद्यार्थीको एक दिनको परीक्षा रद्द गरिएको गोडैता नगरपालिका वार्ड न ५ रामवन मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष ब्रहमानन्द साहले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved